२३ असार २०७९ बिहीबार
कला

न्याय दिन खोजे सकिन्छ

व्यक्ति-व्यक्तित्व

न्यायाधीशले न्याय दिन खोजे न्याय दिन सक्छ। यो ठहर हो– न्यायाधीश कुलबहादुर श्रेष्ठको, जो ४२ वर्षको सरकारी जागिरे जीवनमा २८ वर्ष त न्याय सेवामा नै बसे। कुलबहादुर श्रेष्ठ १९८८ साल वैशाख ११ गते बागलुङमा कृष्णबहादुर र डम्बरकुमारीका जेठा छोराका रूपमा जन्मिएका हुन्। कुलबहादुरअघि त्यो दम्पतीबाट चारवटा छोरी जन्मिएका थिए। त्यसपछिको छोरो, कति स्नेह र लावण्य पायो होला त्यो शिशुले, अनुमान गर्न सकिन्छ।

९२ वर्ष लाग्नु पूर्वसन्ध्यामा कुलबहादुरले आफ्नो भोगाइका सबै कुइनेटा (सुखदुःख) कसरी छिचोले, त्यसको सङ्क्षिप्त रूपमा ‘जीवन र न्याय’ नाममा एउटा कृति प्रकाशन गरेर नेपाली समाजलाई उत्कृष्ट उपहार दिएका छन्। ९१ वर्ष लामो कालखण्डमा उनले अनेक उकाली, ओराली, उचाइ, गहिराइ, घुम्ती, भन्ज्याङ पार गरेका छन्।

यो प्रकाशन सरसर्ती पढ्दा यी सबै आरोहअवरोह छ्याङ्गै हुन्छन्। यो पुस्तिकाको सम्पादन मेरै गाउँ दधिकोटका अनन्य मित्र प्रखर पत्रकार घनश्याम खड्काले गरेर मलाई पनि गौरवान्वित गराएका छन्। कुलबहादुर श्रेष्ठको लामो जीवन यात्रामा भोगेका अनेकौँ सप्ठेरा–अप्ठेराको सङ्क्षिप्त सँगालो हो यो ‘जीवन र न्याय’। १५६ पृष्ठको यो कलेबरमा धेरै कुरा खाँदखुँद गरिएको छ। थोरैमा धेरै अटाउन चानचुने सिपले भ्याउँदैन।

कुलबहादुर श्रेष्ठको सुदीर्घ जीवन यात्राका मिठा–नमीठा, तिता–टर्रा, अमिला–कट्मेरा, गुलिया, लोभ्याउने स्वादिला अनुभव एवम् अनुभूतिका थुप्रा–थुप्रा, घटना–दुर्घटना, परिघटना, सुघटना जति लेखे पनि सकिँदैनन्। उनकी आमाले एकदिन सोधिछन् कुलबहादुरलाई, ‘तँ ठुलो भएपछि के बन्छस् भनेर ।’ कुलबहादुरले हठात् हाकिम भनेर उत्तर दिएछन्। चार वर्षको छोराको हाकिम हुने अठोट सुनेर बैदारकी श्रीमती डम्बरकुमारी बुर्लुक्क उफ्रिछन् अनि छोरालाई छातीमा टाँसिछन्। तर बिडम्बना १९९४ सालमा सुत्केरी हुन नसकी मरिछन्।

अब कुलबहादुरले आमाको तातो काख गुमाए। बाबु कृष्णबहादुरले अर्को विवाह गरे। नयाँ आमालाई रिझाउन सकेनन् कृष्णबहादुरले। घरबाट भागे, फेरि फर्किए। बागलुङ त्यतिखेर पनि सम्पन्न जिल्ला थियो। आफ्नै जिल्लाको तामाखानीबाट धाउ झिकेर टकमरी गर्थे।

दुई जनाबाट २५ जना?

उर्बरा माटो छ बागलुङको। धातुका खानी पनि छन्। त्यतिबेला नै सम्पन्न जिल्ला, त्यो उर्बरा माटोलाई त्यहीँका ओमप्रसाद गौचन र प्युठान झिमरुखका कुलप्रसाद कौजस्ता सपुतहरूले उज्यालो फैलाउने अविश्रान्त प्रयन्त गरे, पाठशाला खोले, धेरै युवालाई पढाए, ठुलो गुण लगाए। अब कुलबहादुरको बिहेको प्रसङ्ग आयो, प्युठानको बिजुवारमा केटी पाइयो भनेर। पाँच दिन हिँडेर बिजुवार पुग्दा सल्लाह नै नगरी दिदीको बिहे गर्न लागेको भनी दुइटा भाइले केटी भगाएछन्। तब रित्तै फर्किए।

केही समयपछि बागलुङकै श्री लक्ष्मीदेवीसँग बिहे भयो। १७ वर्षको केटो, १५ वर्षकी केटी। कुलबहादुरका बाबुले मासिक ११ रूपैयाँ तलब आउने लेखनदासमा जागिरे लगाए। त्यो दम्पतीले तीन छोरा तीन छोरी जन्मायो। अहिले छ नाति, छ नातिनी, सात पनातिपनातिनी गरी २५ जना पुगे। पृथ्वीमाताले दुई जनाबाट २५ जनालाई पाल्नुपरेको छ। कुन कष्टले पाल्ने होला दुई जनाका २५ सन्ततीलाई।

कुलबहादुर र श्रीलक्ष्मीदेवीका जेठा छोरा राममनोहर श्रेष्ठ, माइला कल्याण श्रेष्ठ र कान्छा पुकारचन्द्र श्रेष्ठ एवम् तीन छोरी छन्। जेठाले इन्जिनियरिङ, माइलाले कानुन, कान्छाले मेडिकल साइन्स अध्ययन गरे। जेठाले विद्यावारिधिसमेत गरी बैंककमा एआइटीमा पढाएर, पेन्सन पकाएर अहिले पनि ससम्मान एआइटीमै बसेका छन्। माहिला कल्याण नेपालका प्रधानन्यायाधीश भई ससम्मान अवकास जीवन बिताइरहेका छन्। कान्छा डाक्टर पुकार मिर्गाैला र कलेजोजस्ता मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरका प्रमुख छन्। छोरीमध्ये माइलीले स्नातकोत्तर गरिन्। दुइटी बुहारी घर चलाएर बसेका छन् भने कान्छी बुहारी राष्ट्रिय संघीय सेवामा कार्यरत छिन्। दुइटी छोरीलाई उच्च शिक्षा दिन नसकेकोमा कुलबहादुर अहिले पनि पश्चाताप् गर्छन्।

कोसँग सुत्यो कोसँग

लेखनदासबाट सेवा प्रारम्भ गरेका कुलबहादुर जिल्ला न्यायाधीश भई अहिले पेन्सन खान्छन्। उनी गम्भीर स्वभावका, उच्च, उदात्त र शालीन छन्। डोल्पा जिल्लामा मालअड्डा खडा गरी क्रियाशील गराउने काम कम चुनौतीपूर्ण थिएन। त्यति बेला डोल्पा धवलागिरि अञ्चलअन्तर्गत पथ्र्याे। बाटोघाटोको सारै असुविधाका कारण कर्णाली अञ्चलमा सारियो। जिल्ला सदरमुकाम दुनैसम्म अहिले पनि सडक यातायात पुगेको छैन भने ५५/५६ वर्षअघि के कस्तो होला।

कौमास्टर साहेब र ओमप्रसाद गौचनहरूका कारण कुलबहादुरहरू साँच्चै मणि नै भए। उनले न्याय गर्दा अन्याय गर्नेले कहिल्यै मुद्दा जित्दैनथ्यो। प्रमाण ऐन आएपछि निमुखा गरिबलाई प्रमाण जुटाउन धौधौ भयो। यस्तोमा आफै लागे प्रमाण जुटाउन। कुलबहादुरका एकजना मित्र युक्तप्रसादले मिलेर बुटवलमा व्यापार गरौँ भनेछन् तर कुलबहादुर त्यता लागेनछन्। युक्तप्रसादले करोडौँ कमाएछन्।

मिलेर काम गरेको भए कुलबहादुर पनि करोडपति हुँदा हुन् तर आजका कुलबहादुर हुन पाउँदैनथे। कुलबहादुर डोल्पामा माल अड्डा स्थापना र सञ्चालन गर्न जाँदा ढोरपाटनजस्ता अनेकौँ खतरनाक डाँडाकाँडा काटेर जानुपथ्र्याे। यो २०१८ साल कात्तिकको कुरा हो। ६१ वर्षअघि बाग्लुङबाट डोल्पा जानुपर्ने। २० हजार फिट अग्ला हिमशिखर पार गरेर डोल्पाको दुनै पुग्नुपर्ने।

बाग्लुङको मालअड्डा फुटेर डोल्पामा पनि मालअड्डा स्थापित भयो। यता कुलबहादुर लोकसेवा आयोग पास गरेर पदोन्नति भई तहरिर मुखिया भएछन्। क्रमशः कामु हाकिम खरिदार भएपछि उनको सरुवा डोल्पा मालको हाकिममा भयो।

उनी आफ्नो टोलीसहित डोल्पातिर लागे। २० हजार फिट अग्ला हिमशिखर पार गरेर जानुपर्ने। हुकामको मैकोटका कठोर ठाउँ पार गरेर जानुपर्ने। त्यो लेकमा आकाशमुनि रात काट्नुपर्ने। एउटा तारआली टोली आइपुगेछन् त्यहीँ। त्यो टोलीमा उपप्रधानपञ्च पनि रहेछन्। उनीसँग अनेक अनुनय विनय गरी राति बाँच्ने उपाय खोज्दा पाँच जना भरिया महिला पनि आइपुगेछन्। उपप्रधानले कुलबहादुरहरूलाई ती पाँच जना महिलाको माझमा घुस्रिएर रात काट्ने भनेछन्। त्यहीँ घुस्रिएर एउटाको तातोले अर्को तात्ने र नमर्ने उपाय रहेछ त्यो। राति कोल्टे फर्कंदा एउटी भरिया महिला रिसाएर छुट्टिई रे। गनाउने रे ती भरिया महिला।

बसेको टक्रक्क तर मरेको

बाटामा कोको भेट भए कोको। साधारण बटुवादेखि खम्पा विद्रोहीसम्म। त्यतिबेला त्यता बैंक पुगेको थिएन। डोल्पामा न तलब न सुरक्षाको स्थिति थियो। अब सरकारी खर्चको पैसा लिन बागलुङ नै आउनुपर्ने। कुलबहादुर नगद रकम लिएर आए अनि फर्के डोल्पा। फर्कंदा थाङ्गको जंगल काटेर जानुको विकल्प थिएन। बाटोमा एउटा चौतारी भेटिएछ। दुईजना टुक्रुक्क बसेका रहेछन् त्यहाँ। त्यस्तो ठाउँमा मान्छे भेटिँदा भरोसा नै भयो। सोधेछन् तीमध्ये एउटालाई, त्यही पनि जवाफ आएनछ। तब प्रहरीले नजिक गई कोट्याउँदा पुर्लुक्क पल्टिएछ। छामी हेर्दा त मरिसकेको रहेछ त्यो मान्छे।

अर्को मान्छे पनि उस्तै मरिरहेको। तब हिँड्यो त्यो टोली। आधा रातमा गाउँ पुगेछ। त्यो गाउँ जिल्ला पञ्चायतका सभापति कमल बुढाको रहेछ। आधा रातमा तातोपिरो खाना ख्वाएछन् कुलबहादुरको टोलीलाई। एवम् रितले काल कट्दै गयो। कुलबहादुरको सरुवा बागलुङ मालमा नै भयो। धवलागिरि अञ्चलाधीश मकरबहादुर बान्तवाले एउटा अस्पताल बनाउन कुलबहादुरलाई माध्यम बनाएछन्।

दुई लाख रूपैयाँ लाग्ने अस्पताल बनाउन ९० हजार मात्र रहेछ। त्यति पैसाले अस्पताल बनाउन सम्भव छैन भनेपछि अञ्चलाधीश आगो भएर रिसाएछन् कुलबहादुरसँग। जेनतेन प्रकारेण अस्पताल बनेछ। एक दिनको बाटो हिँडेर गल्कोटबाट ढुंगा ल्याएर अस्पताल बनेछ। अब कुलबहादुरलाई अन्चलाधीशको आँखा नपर्ने ठाउँमा सरुवा हुन मन लागेछ र जिल्ला न्यायाधीश रिद्दिमानन्द बज्राचार्यसँग सल्लाह गर्दा न्याय सेवामा प्रवेश गर्न सल्लाह दिएछन्। लोक सेवा आयोग खुलेछ, जाँच दिएछन् र मुस्ताङ जिल्लाको सरकारी वकिलमा नियुक्ति भएछ उनको।

नेपालगन्ज सम्मेलनमा सुटुक्क

न्याय सेवामा गएपछि कुलबहादुर मुस्ताङ, म्याग्दी, स्याङ्जा र तौलिहवाका न्यायाधीश भएछन्। त्यसपछि महान्यायाधिवक्ताको कार्यालय, विशेष प्रहरी विभाग आदि अनेक चौरासी घुम्नुपरेछ। विराटनगरमा भएको विमान अपहरण काण्डमा ३० लाख भारु लुटिएको मुद्दा पनि कुलबहादुरले हेर्नुपरेछ। सो काण्डमा चक्रप्रसाद बास्तोला, दुर्गा सुवेदी र नरेन्द्र ढुंगेलको मुद्दा, राजाउपर बम प्रहार जस्ता अनेकौँ मुद्दाबारे कुलबहादुरले सामना गर्नुपर्यो। तर सबै मुद्दामा कुलबहादुरले शिर झुकाउनु परेन। उनको इमान्दारीले बचायो। मनमोहन अधिकारीको नक्सलवादी मुद्दा, झलनाथ खनाल, चित्रबहादुर केसीउपरका अनेक राजनीतिक मुद्दा हेर्नुपर्‍यो।

यी मुद्दामा सबै महानुभावहरूले सफाइ नै पाए। नेपालको भूमिसम्बन्धी संगठन अनेक प्रकारका छन्। मोहियानी हकका पनि धेरै प्रकारका छन्। देवान सिंह राई हत्याकाण्ड, पञ्चायत पक्ष र इतर पक्षको ज्यान मुद्दा पनि पक्षविपक्षबीच जे तर्क भए पनि व्यवस्था विरोधी हो भने न्याय पाउन कठिन थियो। पञ्चायतको प्रतिपक्षको मुद्दा छ भने पञ्चायत पक्षले जित्ने, नवलपरासीमा पुलिस र डाँका मिले भन्ने भएपछि प्रहरी अफिसर परिवर्तन भयो। जिल्ला न्यायाधीशसँग नयाँ प्रहरी अफिसरले सल्लाह गरी ८५ जना डाँकालाई थुन्दा जिल्ला सम्हालियो। कुलबहादुर जिल्ला न्यायाधीश थिए। पछि उनले मुद्दाहरूमा मेलमिलाप गराउने नीति अपनाए।

फलस्वरूप राम्रो नतिजा आयो। नेपालगन्जमा भएको न्यायाधीशहरूको सम्मेलनमा प्रधानन्यायाधीशले लुकीलुकी कुलबहादुरको तर्क सुनेका रहेछन्। दुर्गम क्षेत्रमा बसेको एउटा न्यायाधीशले राम्रो न्याय दिएको भनी प्रशंसा गरेछन्। उनी स्याङ्जामा छँदा पनि मेलमिलापको माध्यम अपनाउँदा सकारात्मक प्रभाव परेछ। उनको तौलिहवा सरुवा भएछ। त्यहाँ जालसाँजी धेरै हुँदो रहेछ। तौलिहवालाई वकिलहवा पनि भनिँदो रहेछ। स्याङ्जामा पनि त्यस्तै, वकिलको बिगबिगी। यसरी न्यायपालिकाको सेवा गर्दा कुलबहादुरको प्राथमिकतामा मेलमिलाप परेछ। वकिलहरूले कुलबहादुरको विरोध गरेछन्। तर उनीहरूको केही लागेन।

कत्ति राम्रो इन्साफ

कुलबहादुरको बहस प्रधानन्यायाधीशले गुप्त रूपमा सुनिरहेका रहेछन् र भनेछन्, ’एकजना दुर्गम क्षेत्रका न्यायाधीशले कति सोचविचारपूर्वक इन्साफ गरेका रहेछन्’ भनेपछि उनको सरुवा नवलपरासीमा भएछ। हाम्रो मुलुकको त्यस बेलाको अवस्था हेर्दा अन्यायमा परेको गरिबले मुद्दा जित्न कठिन देखेर मेलमिलाप गराउने नीति उनले अपनाएछन्। उनको तौलिहवा सरुवा भएछ। त्यहाँ रु २५ हजारको एउटा मुद्दा आएछ। एउटा गरिबले २५ हजार ऋण किन लियो भन्ने खुल्दुली परेछ उनलाई। प्रमाणले बादीले जित्ने, बादीले जित्दा न्याय मर्ने ठानी उनले त्यो तमसुकको त्रुटि हेर्न थालेछन्।

तमसुकमा टाँसेको हुलाक टिकट छापिएको मिति तमसुक गरेको ६ महिना पछिको रहेछ। त्यही प्रमाणको आधारमा सो मुद्दा किर्ते ठहर गरी गरिबलाई जिताएछन्। यसरी कुलबहादुरले आफ्नो विवेक प्रयोग गरी न्यायलाई मर्न नदिएको धेरै ठाउँमा पाइन्छ। उनको सरुवा सुर्खेतमा पनि भएछ।

जहाँ जाँदा पनि असहाय पक्षलाई वकिलको आवश्यकतादेखि गरिबको पक्षमा पैरवी गर्न सरकारी वकिल राख्नुपर्ने ठहर गरी राजाकहाँ बिन्तीपत्र दिँदा त्यो स्वीकृत भएछ। यसरी कुलबहादुर श्रेष्ठले आफ्नो लामो जीवन न्यायको पक्षमा, सत्यको पक्षमा उभिएर बिताए। यस्तो न्याय सेवा नितान्त आवश्यकता छ। 

प्रकाशित: ७ जेष्ठ २०७९ ०९:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App