१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

काठको मुढामाथि ठोकिएका अनगिन्ती सिक्काहरू

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानपरिसरमा एक अजिब खालको कला प्रदर्शित छ। निकै ठूलो गोलाकार मुख भएको करिब चारफुटजति अग्लो काठको मुढामा थरीथरीका मेटलका सयाैँ सिक्काहरू मूलतः ठोकिएको अवस्थामा देखिन्छन्। यो काठको मुढामा यसबाहेक अरू केही छैन। यो मूर्तिकला होइन, हिजोआज यस्ता कलालाई कन्सेप्चुयल–इन्स्टलेसन कला भन्ने प्रचलन छ।

अझ यसलाई पब्लिक आर्ट वा साइलेन्स–इन्टरयाक्टिभ कला भने पनि हुन्छ। कलाकारचाहिँ रवीन्द्र श्रेष्ठ हुन्। वर्षमा एकचोटि गरिने यो कला राष्ट्रिय कला प्रदर्शनीको एउटा भाग हो। यस कला–प्रदर्शनीमा रहेका सयौँ कलाहरू प्रदर्शन कक्षभित्र सजिएर रहँदा पनि यो चाहिँ आफैले आफूलाई बाहिर उभ्याएको अवस्थामा देखिन्छ। घामपानी सहेरै पनि यो बाहिर नै छ।

अहिले विश्वमै समसामयिक कलाको क्षेत्रमा कलाको स्वरूपले धेरै परिवर्तन गर्दागर्दै कलामाथिको अवधारणा, अनि यसको विशेषताले पनि व्यापकता पाउँदै आएको छ। यस्ता कलामा विशेष गरेर कलाकारले सिर्जना गरेको कलासँगै, निश्चित समय, निश्चित अनुकुल ठाँउ (समसामयिकताको प्रत्याभूति दिन) आदिलगायत भावकसँगको मौन–संवादलाई पनि गाँसेर सम्पूर्णतामा कलालाई पस्कने प्रचलन छ।

आजको यस्तो कलामा भावक कला हेर्न आउने नभई कलाको एक अभिन्न भागका रूपमा समावेश हुन्छन्। कलाभित्र आफू हुनुले कलामाथि अपनत्व हुन्छ। यसो हुँदा कला बुझिनँ भन्ने सन्र्दभ आउने कुरा नै हुँदैन। निश्चित समय, निश्चित अवस्था, निश्चित स्पेस आदिमा तत्काल देखापरेका घटना, दुर्घटना, शून्यता, हुलहाल वा कुनै पनि वातावरणमा कलाकारको सिर्जना थपिँदा दृश्यावलोकन हुने कला नै समग्र–कला हो।

यसको भोलिपल्ट त्यो कला मर्छ अनि त्यही स्वरूपजस्तै अर्कै स्पेस र वातावरणमा, अवस्थामा यसले अर्कै अर्थ राखेर, त्यही कला तर अर्कै रूपमा प्रकटन हुन्छ। यसकारण पनि यस्ता कलाहरू सिर्जना गर्ने कलाकारले थरीथरीका स्पेस र उपयुक्त समय खोजीखोजी हिँड्ने गर्दछन्। यो एउटा कलामा चलेको नयाँ अवधारणा हो।

हिजोआज कलामाथि आममान्छेको पहुँचका लागि हिँडिरहने सडक, किनमेलका लागि दैनिक जानैपर्ने हाटबजार, मल (डिपार्टमेन्ट स्टोर) आदि ठाँउमा कलालाई राखेर प्रदर्शन गर्ने प्रचलन पनि छ। यसैले यसलाई पब्लिक आर्ट, कम्युनिटी आर्ट वा स्ट्रिट आर्ट आदि भनिने प्रचलन पनि छ। हिजोआज कलाकारहरू आफूलाई अलग पहिचान बनाउन सिर्जना, प्रस्तुति, विषय, माध्यम, विचार र अवधारणामा खेल्न थालेका छन्। यसर्थ यस्ता कलाहरू हुने गरेको कलाभन्दा अलग देखिन्छन्।

यसैले यस्ता कलाहरूलाई हेर्दाखेरि चित्र वा मूर्तिजस्तै देखिए तापनि यस्ता कलालाई  अनेकौं नाम–उपनाममा चिनिन थालिएको छ। धेरै कलाकारहरूले यस्ता कला बनाउन चुनौती लिन चाहँदैनन्, सक्तैनन्। यसो हुँदा कुनै पनि सामुहिक कला प्रदर्शनीमा यस्ता कलाहरू एउटा दुइटा मात्र देखिन्छन्। रवीन्द्रचाहिँ यो नेपाली समसामयिक कलाको क्षेत्रमा अनि यो मामलामा अब्बल रूपमा देखापरेका छन्।

यो कला प्रदर्शनीमा योे एउटा कलाबाहेक अन्य सबैथरीका अनेक कलाहरू विधागत रूपमा विभिन्न प्रदर्शन कक्षमा सजिएर रहेका छन्। कतै फोटोग्राफी, कतै कार्टुन, कतै मूर्तिकला, कतै चित्रकला यसैमा पनि परम्परागत वा समसामयिक, लोककला, हस्तकला सबैले सानाठूला ठाउँ पाएका छन्। मूलतः यो एउटामात्र कला बाहिर खुला आकासमुनि सर्वसाधारणका लागि झ्वाट्ट देखिने ठाँउमा राखिएको छ।

यो कलाले प्रदर्शन कक्षभित्र गुम्सिएको अनुभव गर्नु पनि यसको स्वभाव हो। यसर्थ एकदुई दिनभित्रै बस्दा, आफू गुम्सिएको अनुभव गर्दा यसले आफू बाहिर आउने जमर्को गरेको हो। यसर्थ तेस्रो दिनदेखि यो कला आफै बाहिर खुला आकासमुनि आएको हो। कलाको यो रूप पनि आममान्छेका लागि थोरै अनौठो लागे पनि अहिले समसामयिक कलाको नयाँ धारमा यस्ता कलागत प्रवृत्तिलाई स्वाभाविक नै मानिन्छन्।

कला प्रदर्शनीमा क्युरेटर राख्ने प्रचलन

अहिले नेपालमा राम्रोगरी कला प्रस्तुत गर्न, कलाको गुणात्मकता वृद्धि गर्नकै लागि विज्ञ क्युरेटर राख्ने प्रचलन छ। विश्व कला–बजारमा क्युरेटरको अवधारण आएको धेरै भइसकेको छ। नेपालमा भने यता केही वर्षदेखि यो क्षेत्रलाई पनि विस्तारै व्यापकता बनाइँदै छ। प्रदर्शन गर्न राम्रा ज्ञान भएका सिर्जनशील व्यक्तित्वलाई क्युरेटरका रूपमा राख्ने प्रचलन छ।

राम्रो कलाकृति छान्ने, उपयुक्त कलालाई उपयुक्त ठाँउमा राख्ने, कस्तो रङको (भित्ता, भुँइ, छत वा अस्थायी बोर्ड) पृष्ठभूमिमा कसरी कुन कलासँग कुन कलालाई मिलाएर राख्ने, कलाको साइज, रङ, कलाको प्रकृति, शैली र स्वरूपलाई कसरी सन्तुलनमा राख्ने, सहयोग हुने लेखनलाई कहाँ कसरी समायोजन गर्ने, सुमधुर सङ्गीतमय वातावरणमा भावकले सुविधापूर्वक अवलोकन गरोस् भन्ने चाहनामा बसेर कलालाई अवलोकन गर्न मेच र कुर्सीहरू राख्ने, ठूला हलहरूमा टाढाबाट पनि कलालाई अवलोकन गर्न सकिने वा नजिकबाट यसलाई शान्त वातावरणमा हेर्न ससाना कोठाहरूको निर्माण गर्ने, कलाका शैक्षिक प्रक्रिया कसरी समायोजन गर्ने आदि धेरै कुरा गर्ने गरिन्छ। जुन क्युरेटरको सिर्जनशीलतामा भर पर्ने हुन्छ।

खुसीकै कुरा हो, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले पनि यसको व्यवस्था यसपल्ट गरेको छ। हिजोको र आजको कलामा राम्रै दखल भएका कलाकार रवीन्द्र श्रेष्ठलाई क्युरेटरको उत्तरदायित्व बहन गर्ने अवसर मिलेको छ। उनले राम्रा–नराम्रा, परम्परागत–समसामयिक चित्र, मूर्ति, हस्तकला, लोककला आदिलाई भाँती मिलाएर प्रदर्शन कक्षभित्र नै समायोजन गरेका छन्। नराम्रै चित्र वा मूर्ति पनि राम्रो ठाउँ पाउँदा राम्रै देखिएका छन्।

पहिला यो रवीन्द्रको काम पनि प्रदर्शनकक्षभित्रै थियो रे। कलाकारकै अनुसार भित्र अनुकुल नभएर, यसले पार्ने प्रभावको अनुकुलता मिलेन भनेर उनले नै बाहिर सारेका हुन्। बाहिर पनि धेरै ठाउँका उपयुक्त स्पेस खोजेपछि उनको यो प्रस्तुति उनैको इच्छाअनुसार प्रदर्शन कक्ष जाने बाटोमै राखिएको छ। उनले यो आफ्नोे कला आफैले बाहिर राखेका हुन्। त्यहाँको व्यवस्थापनले केही गरेन भन्ने गुनासो त एकातर्फ छँदै छ।

कलाकारले कृति जन्माइसकेपछि आफैले उपयुक्त ठाउँ खोजी प्रदर्शन गर्नुले नेपाली कलाको इतिहासमा यसले थुप्रै अर्थ बोक्ने गर्दछ। मूलतः यो राष्ट्रिय कला प्रदर्शनी २०२२ सालमा नेपाल ललित कला संस्थाको जन्म भएपश्चात् हरेक वर्ष यसरी नै आयोजना गर्ने प्रचलन छ। जन्मेकै साल अर्थात् २०२२ साल पौष १० गते शुभारम्भ भएको यो पहिलो राष्ट्रिय कला प्रदर्शनीले आजसम्मै निरन्तरता पाएको छ। पछि नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको जन्म भइसकेपछि पनि सोही स्वरूपमा (अलिकति पनि फरक नपारी) यसलाई निरन्तरता दिँदै आएको छ।

२०२२ को यो राष्ट्रिय कला प्रदर्शनीमा कलाको क्याटलग छापिएकोचाहिँ देखिँदैन। तर एक वर्षपछि निकालिएको नाफाको मुखपत्रमा चाहिँ प्रदर्शनीका केही झलकहरू हेर्न सकिन्छ। जसको मुखपत्रमा अति कलात्मक आवरण–कला देखिन्छ। जुन कलाकार लैनसिंह बाङदेलले बनाएका हुन्। रमाइलो कुरा यस बेलाको यो मुखपत्रमा तेजबहादुर चित्रकारजस्तै केशवप्रसाद मल्ल, आर. के. मानन्धर, आर. डि. बज्राचार्यआदिका समसामयिक दृश्यचित्रहरू पनि देखिन्छन्।

कलाकार तेजबहादुर चित्रकारको विषयमा त यसपछि पनि  कैयौं जानकारीहरू निरन्तर रूपमा सार्वजनिक भइरहेका छन्। तर यी दुई कलाकारहरूको चित्रबारे चाहिँ यसपछिका दिनमा कहिल्यै पनि खासै उल्लेख भएको देखिँदैन। कलाकार उत्तम नेपालीसँगसँगै यसै बेलाका वा अझ उनीभन्दा पहिलाका जे. जे. स्कुल अफ आर्ट, मुम्बइबाट कलामा विधिवत शिक्षा लिएर आएका हिरण्यध्वज जोशीका अमूर्त दृश्यचित्रहरू पनि देखिन्छन्। तर यसपछिका दिनहरूमा भने कहिल्यै पनि उनका कला कतै उल्लेख भएको देखिँदैन।

कलाकार उत्तम नेपाली सक्रिय कलाकारमात्र होइनन्, नेपाली समसामयिक कलाको एक अलग धार समातेका महत्त्वपूर्ण कलाकार हुन्। यसर्थ उनको चर्चा आज पनि हामी गरिरहेका छौं। यद्यपि सिलसिलेवार कलाको इतिहास हामीसँग छैन। बनाउने चासो पनि लिएका छैनौं। 

प्रसङ्ग कहाँ मात्र हो भने जसरी यो कला प्रदर्शनीलाई निरन्तरता दिइँदै आइयो, यसैलाई अति आवश्यक हुने यो कला र कलाकार सम्बन्धी जानकारीको अभिलेखनचाहिँ शुभारम्भ नै गरिएन। यो परम्परा आजका दिनसम्म पनि कायमै छ। यो पुरानो सोचलाई निरन्तरता दिँदै आज हुने गरेको राष्ट्रिय कला प्रदर्शनीमा पनि कला र कलाकारबारेका सामान्य जानकारी पनि कतै अभिलेखन गर्ने काम गरेकोे देखिँदैन।

आज नेपाली समसामयिक कलाको क्षेत्रमा रवीन्द्रको अनौठो कलाको स्वरूप हेर्दै गर्दा यसैलाई कलात्मक रूपमा व्याख्या गर्न अफ्ठ्यारो र गाह्रो पर्ने स्वाभाविक नै हो। लेख्नेका लागि अनि कलाकारहरूका लागि पनि यसलाई बुझ्न, व्याख्या विश्लेषण गर्न पक्कै पनि गाह्रो परेकै हो।

यसैको इतिहास र अग्रज कलाकारका कलाहरूसँग तुलनात्मक रूपमा व्याख्या विश्लेषण हुने परम्परा पनि रहेन। चासो र आवश्यकता पनि महसुस गरिएन। यसो गर्न चाहिने आवश्यक सूचनाहरू पनि प्राप्त भएन। यसो हुँदा आजका यस्ता कलाहरू सही ढङ्गमा व्याख्या–विश्लेषण हुन सम्भव भएको पनि देखिँदैन। फलस्वरूप हिजोका कला र कलाकारहरू मरेर गएजस्तै आजका यस्ता महत्त्वका कलाहरू पनि त्यही बाटोमा जाँदै छन् भनेर सोच्न पर्दा कटक्क मुटु दुखेर आउँछ। यसर्थ यस्तो कला अभिलेखन गर्ने सोच आज पनि नदेखिँदा हामी कलाको विकास कसरी गर्न खोजिरहेका छौं भन्ने गम्भीर प्रश्न खडा भएको देखिन्छ।

अलिकति पछाडि फर्केर हेर्दा २०२२ सालको अवस्थामा कला अनि कलाकारको आम मान्छेमा पहुँच थिएन। कलालाई धर्ममार्फत अवलोकन गर्नुपर्थ्यो। दिनचर्याका विभिन्न संस्कारलाई चाहिने विविध कलाका रूपहरूलाई आफैले सिर्जना गर्ने अनि आफै सहभागी हुँदा संस्कारको एक अभिन्न अङ्गका रूपमा प्रयोग भइरहेको कलालाई अवलोकन र आत्मसात गर्ने मात्र गरिन्थ्यो।

अर्कोतर्फ भक्तिभाव, पूजाआजाका लागि कला आधारबिन्दु बन्थ्यो। देवीदेवताको रूपमा राखेर हेर्दा पनि कलालाई परोक्ष रूपमा अवलोकन गरिरहेकै हुन्थ्यो। यस अर्थमा मात्र यस्ता विभिन्न प्रकारका कलाहरू आमभावकसँग नजिक हुन्थे। आज देखिनेजस्ता सहजै प्रदर्शन कक्षमा गएर हेर्न सकिने अवस्थामा कलाहरू थिएनन्। ललित कला संस्थाको जन्म हुनु र त्यसबखत भएको यो प्रतियोगितात्मक राष्ट्रिय स्तरको कला प्रदर्शनीले नेपाली कला विकासको सन्दर्भमा ठोस आधारभूत जग बसालेको थियो। यसभन्दा पहिला कलाकारहरू घरघरमै कलाको सिर्जना गर्दथे ।

केही कलाहरू आफ्नै प्रयासले सानासाना रूपमा प्रदर्शनी हुँदा उनका कलाहरू सर्वसाधारणले हेर्न पाउँथे। अन्यथा नेपालका कलाहरू आममान्छेका लागि पहुँचमा थिएनन्। पुरातात्त्विक सम्पदा र केही परम्परागत कलाहरू सङ्ग्रहालयमा हेर्न पाए पनि विशेष गरेर अहिलेका जस्ता कलाहरू हेर्न भने नेपालमा कुनै ठाउँ थिएन।

साँचो अर्थमा भन्दा समसामयिक कलाबारे त्यसबखत आम मान्छेलाई राम्ररी जानकारी पनि थिएन। यस्तो अवस्थामा यस्ता कला प्रदर्शनी निरन्तर भइरहनुचाहिँ सर्वथा सकारात्मक कुरा हो। यसर्थ पनि नेपालको कला इतिहासमा यो राष्ट्रिय कला प्रदर्शनीले ठूलो अर्थ राखेको छ। 

करिब ५७ वर्षअगाडि नाफाको जन्म हुनुले कलाको विकासमा निकै ठूलो अर्थ राख्दछ। किनकि यसैले सुरु गरेको यो राष्ट्रिय कला प्रदर्शनीले आम मान्छेलाई नेपाली कला हेर्न, अवलोकन गर्न ढोका खोलिदिएको थियो। यसपछिका दिनमा अन्य समसामयिक कलाकारहरू पनि यस्ता कलाको प्रदर्शनी गर्न उत्साहित भएको देखिन्छ।

नभन्दै आज यस्ता सामूहिक कला प्रदर्शनी र एकल कला प्रदर्शनीहरू व्यापक रूपमा हुन थालेका छन्। आजको अवस्थामा हेर्दा यस्तो कला सजिलै हेर्न पाउने स्थिति खडा भएको कुरा सामान्य जस्तो लाग्न थालेको देखिन्छ; बरु यसलाई अवलोकन गर्ने भावकको चाखचाहिँ घट्दै गएको देखिन्छ। यो नयाँ देखिएको समस्याको बखेडालाई कसरी हल गर्ने हो भन्ने आजको थप चुनौती बन्न गएको छ।

यस्तो अवस्थामा नेपालभरिका कलाकारका सिर्जनालाई सार्वजनिक गर्ने उपयुक्त ठाँउको रूपमा यो राष्ट्रिय कला प्रदर्शनीको उदय भएको थियो। त्यसबखत यस्ता प्रदर्शनीका माध्यमबाट वर्षौंदेखि कुना काप्चामा थन्किएर रहेका कलाहरूले सार्वजनिक हुने अवसर पाएका थिए। यही अवसर झ्याङ्गिँदै जाँदा अहिले धेरै अपरिपक्व कलाहरूले पनि कला प्रदर्शनीमा रजाइँ गर्न पाइरहेका छन्। रोकतोक र छेकछाकको सम्बन्धित निकायबाट कुनै परिपाटि नहुँदा धेरैजसो गुणस्तरका कलाहरू हिजोआज राष्ट्रिय कला प्रदर्शनीमा हेर्न पाइँदैन। 

पहिले कला प्रदर्शनीका लागि यस्तो ठाँउको व्यवस्था गरिदिँदा अवलोकन गर्न चाहने भावकका लागि एउटा अवसरजस्तो बनेको थियो। अहिले यस्ता ठाँउमा अपरिपक्व कलाहरूको प्रदर्शन ठेलमठेल हुँदा राम्रा र गुणस्तीरय कलाहरू भित्र पस्न नपाउने स्थिति बन्न थालेको छ। अनि आम भावक पनि यस्ता कला हेर्न किन जाने भनेर अवलोकन गर्न नजाने स्थिति बनेको छ। यसो हुँदाहुँदै पनि केही राम्रा कलाहरू यस कला प्रदर्शनीमा हेर्न चाहिँ पाइन्छ। राम्रा कलाहरूमध्ये रवीन्द्रको कला पनि हो।

पुनः काठको मुढाको सन्दर्भ

राष्ट्रिय कला प्रदर्शनी अनि यसले अवसरहरू जुराइदिएपछि अनेक किसिमका कलाहरू प्रदर्शन हुन थालेको छन्। रवीन्द्रको कला पनि यसमध्ये एक हो। रवीन्द्रको यो काम धेरै सन्दर्भबाट महत्त्वपूर्ण रूपमा देखा परेको छ। काठमाडौंको किलागल, बाङ्गेमुडामा अवस्थित वास्याःदेगः जहाँ काठमा अनगिन्ती सिक्काहरू आस्थाका साथ ठोकिएका अवस्थामा छन्।

आममान्छे बढो भक्तिका साथ त्यहाँ जान्छन्; भगवानको पूजा–अर्चनाका साथ यसरी सिक्कालाई ठोक्छन् र ‘मेरो दुखेको दाँत निको होस् भगवान्’ भनेर प्रार्थना गर्छन्। यसोगरे दुखेको दाँत निको हुन्छ भन्ने लोकोक्ति छ। आम समुदायको काठमा ठोकिएका अनगिन्ती सिक्काहरूमाथि आस्था छ। यस्ता स्रोतका रूपमा रहेको रवीन्द्रको यो काम कलाप्रेमी आममान्छेको चासोको विषयका रूपमा परम्परा, धर्मसँग गाँसिएर आएको देखिन्छ।

यो परम्परागत मान्यतालाई आजको स्थितिमा हेर्दा देखिने कलाको अवधारणागत प्रत्याभूतिमा समेत प्रभाव देखापरेको छ। बाह्य आँखाले हेर्दाखेरि सामान्य मुढाजस्तो मात्र देखिए तापनि कलाकारलाई यस्तो काम गर्न झन्डै ८ वर्ष लागेको थियो। ससाना यस्ता कला पहिले सन् २०१४ मै बनाएर प्रदर्शनसमेत गरिसकेको भए पनि वास्तविक खोजेजस्तो रूपमा चाहिँ यो काम आज देखापरेको छ। यसअघि यही काम पनि तारागाउँ म्युजियम परिसरमा प्रदर्शित भइसकेको छ। 

पैसालाई यसरी ठोकठाक गरी भत्काउने उपक्रम गर्न हुन्छ कि हुँदैन? कानुनले यसलाई छेक्छ कि? धर्मको नाममा यसरी सिक्कालाई काठमा ठोक्दा, यसमाथिको आस्था र आममान्छेको विश्वास विकसित हुँदा यो सामाजिक मूल्य मान्यता बन्न गएको छ। तर यसरी सामान्य मान्छेले पनि यसो गर्न मिल्छ कि मिल्दैन भन्नेजस्ता अनेकौँ कुराहरू रवीन्द्रले यो कला बनाउनुभन्दा अगाडि सयौँपल्ट सोचेका थिए। अनि आँट र भरोसाका साथ यो उनको काम बन्न गएको थियो।

यो काम फत्ते गर्नका लागि बोराका बोरा विभिन्नप्रकारका सिक्का बटुल्न नै उनलाई वर्षौ लागेको थियो। यसो हुँदा पनि यो कृति जन्माउन उनलाई धेरै समय लागेको थियो। यसमा उनले ठूलै आँट, ठूलै खर्च बेहोरेको सन्दर्भ पनि अचम्मैका साथ देखापरेको छ। बाल्यकालदेखि आफैले महसुस गरिरहेको ५ पैसा र १० पैसाको महत्त्व, यसले दिने आनन्द, यी पैसाको त्यस बेलाको मूल्यभार, यसलाई अर्थ, माया, र आवश्यकताका साथ संरक्षण गर्ने परम्परा आज सम्झँदा रमाइला र चाखलाग्दा सम्झनाका रूपमा उनका मथिङ्गलमा सलबलाएका देखिन्छन्।

आज ती सिक्काको मूल्यभार झन्डै शून्यमा झरेको अवस्थाले उनका मनमा अनैकौँ विचारहरू जन्मेको सन्दर्भ पनि यो कलासँग गहिरो रूपमा जोडिएको छ। जीवनसँग बाधिएका त्यति बेलाका क्रियाकलाप, त्यति बेला पाँच पैसाको सिक्का पाउँदा केके नै गर्न सकिन्थ्यो। भगवान्को मूर्तिसँगै बसेर कसैले पाँच पैसा चढाउँदा टिपेर कुदिहाल्ने उनको बालककालको दिनचर्यासँग पनि उनको यो कला जोडिएको छ।

हाम्रो सामाजिक मूल्यमान्यता, संस्कार र संस्कृतिले बनाइदिएका नियमहरू मूल कानुनभन्दा शक्तिशाली देखेपछि उनको मनमा उब्जेका अनेकौँ प्रश्नहरू पनि यो उनको कामसँग गाँसिएका छन्।

ग्लोबलाइजेसनको सन्दर्भमा जब आमभावकले उनका मुढामा उनैले राखिदिएका सिक्काहरूलाई हतौडीले ठोकीठोकी आफ्नो सहभागिता जनाइरहेका थिए, यति नै बेला विदेशी भावकहरूले चाहिँ आफैले लिएर आएका डलरका सिक्का, जर्मनका सिक्काहरूलाई यसैमा ठोकिदिँदा यो आफैमा कलाकारले सोचेभन्दा धेरै अलग भएर एउटा अनौठौ कोल्याबोरेटिभ कलाको रूपमा पनि देखा परेको छ। समयको परिवर्तनसँगै पुराना कुरालाई अभिलेखन गर्ने, यो एउटा इतिहास जस्तो पनि बन्न गएको कलाकार स्वयम्को दावी पनि छ।

कलाकारको आफ्ना दुईहात अनि दर्शक, भावकका सयौँ हातले निर्माण भएको यो कला आमसमुदायको सम्पत्तिजस्तो हुँदा पनि यसले सार्वजनिक स्थलमा डेरा जमाएकोजस्तो भएको हो। अझ यस्तै प्रतिकृतिका रूपमा कसैले यस्तै कलालाई ठमेलको एउटा स्थानमा राखिदिँदा पनि कलाकार यो मेरो कला चोरी भयो नभनेर अझ आममान्छेले यसलाई सकारेको सन्दर्भ बोकेर खुसी हुन्छन्। यो आफैमा पनि नौलौ ढङ्गको सोच मान्नुपर्छ।

आज कला चोरेको आरोपमा, कला चोर्न हुन्छ हुँदैन आदि बहस उठिरहेको सन्दर्भमा यो कला चाहिँ एक अलग मान्यता लिएर उभिएको देखिन्छ। यो कला बनाउँदै जाँदा आफ्नै नियन्त्रणमा समेत नरहेको र वातावरणले अन्य कलाभन्दा सर्वथा अलग रूपमा उभ्याएको पनि अनुभूत गर्न सकिन्छ।

यही बीचमा रवीन्द्रको अर्को एउटा अचम्मको काम अर्थात् क्युव ग्यालरीमा भइरहेको सामुहिक कला प्रदर्शनीमा पनि प्रदर्शित छ। हेर्दाखेरि एउटा क्यानभासमा चाइनाको झण्डा बनेको देखिन्छ। झण्डाको चित्रमाथि वस्तुलाई बाहिरबाट स्ट्रापले बाँधेजस्तो गरी बाँधिएको छ। जहाँ ‘मेड इन नेपाल’ लेखिएको छ।

घरमा पुगेपछि अन्य वस्तुको यस्ता स्ट्राप फालिएजस्तै यसको स्ट्राप फालिदिने हो। अनि चित्र मात्र टाँगेर राख्ने हो, जहाँ ‘मेड इन नेपाल’ कहीँ पनि देखिँदैन। यो झण्डा भएको हुनाले यो चित्रमा उनले आफ्नै नामको सिग्नेचर पनि गरेका छैनन्। वस्तुसँग गाँसिएको सन्दर्भ उठाउँदा उनको यो कला सस्तो मूल्यमा राखिएको छ। सँगैका चित्रहरूको पाँच लाख र अझ एउटा त पच्चीस लाख मूल्य राखेकोे सन्दर्भमा उनको यो ठूलै साइजको चित्रको मूल्य मात्र बीस हजार राखिएको छ। यो पनि एउटा अर्थको साथ देखा परेको छ।

यो चित्र आफै एउटा प्रोजेक्ट रूपमा रहेको हुँदा यस्तै प्रकारका पचासवटा झण्डाका चित्रहरू बनाउने योजना रहेको दावी छ। यसको एक अलग फेरि अर्को एक कला प्रदर्शनी पनि गर्ने उनको योजना छ। सिङ्गो झण्डाजस्तो देखिने यो कला चाइनाले सस्तो र आकर्षक वस्तु बनाएर विश्वभरि नै गरेको व्यापारसँग जोडिन गएको सन्दर्भलाई उनले जोड्न खोजेका छन्।

उनका बुबामुमा धेरै वर्ष तिब्बतमै बसेर काम गर्दाको अवस्था, सम्झना आदिसँग पनि यो उनको कला गाँसिएको देखिन्छ। करिब १७ वर्ष उनका आमा बाबु तिब्बतमा बसेर काम गरे। रवीन्द्रको यो कला हेरिरहँदा विश्व कला–बजारमा सन् १९५५ मा ज्यास्पर जोनले बनाएको फ्ल्याग नामक चित्रले मच्चाएको तहल्का याद भएर आउँछ। उनले यसपछि अनगिन्ती यस्ता झण्डाका चित्रहरू बनाएका थिए।

मूलतः उनी प्रिन्ट मेकिङका राम्रा कलाकार थिए। यस बेला कलाकारको भनाइ पनि गजबै रूपमा आएको थियो। उनी भन्थे–यो डिजाइन होइन, यो आफै आएको हो, यसर्थ यो मेरो होइन (भावार्थ–मैले बनाएको काम होइन)। कुराहरू जुन दिमागमा पहिले देखि नै छ (भावर्थ– भइरहेका कुराहरू, नयाँ कुरा होइनन्)। रमाइलो सन्दर्भमा उनी भन्ने गर्दथे। अर्थात् यो मैले नयाँ कुरा गरेको होइन, सबै कुरा यथावत छ, म एउटा माध्यम बनेजस्तो। सन् १९१७ तिर डुचेम्प पनि यस्तै कुरा गर्दथे। बनाइएका वस्तुहरू, बजारमा उपलब्ध वस्तु, प्रकृतिले बनाइदिएका यावत वस्तुहरूलाई मैले मिलाएर राखिदिएको मात्र हो।

यदि यो आफै मिलेको छ भने मेरै पनि जरुरत छैन। अर्थ केलाउँदै जाँदा नौलो ढङ्गबाट कलाकारहरू कता जान खोज्दै छन्, कसरी आफ्ना निजी अवधारणालाई आम भावकमा पुर्‍याउन खोज्दै छन् भन्ने कुरा यी र यस्तै कलाहरूबाट चरितार्थ हुन खोज्दै छ। सम्भवतः यी र यस्तै कलाहरूबाट रवीन्द्र धेरै नै प्रभावित भएका मात्र होइनन्, नौलो कलाको धारलाई स्थापना गर्न खोजेका हुन्।

(लेखक मुकेश मल्ल कलाकार/कला समीक्षक हुन्)

प्रकाशित: ७ जेष्ठ २०७९ ०३:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App