१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

मूल्यहीन श्रम

कविता

सूर्यप्रसाद लाकोजू

झिसमिसे उज्यालो लिएर निस्कन्छु म

जिन्दगीका असंख्य गोरेटोहरूमा

आलोक छर्न

दिनभर पसीनाको पोखरीमा पौडी खेल्छु

अनुहारमा खुशी पोत्न

अनि साँझ बोकेर घर पस्छु।

दिनभर छिना र हथौडालाई सारथि  भाकेर

लडाइँ लड्छु  ढुङ्गासँग अनि

थुपार्छु गिटीसंगै भविष्यका सुन्दर सपनाहरू

कहिलेकाहीं

बगाइदिन्छ बाढीले

गिटीसँगै मेरा अनन्त सपनाहरू

रोएर खोला बगे पनि गालामा

फर्कन्नन बगेका आशाहरू।

लाग्छ,

मेरो पसिना मूल्यहीन भएको छ

जति बेचे पनि श्रम

नाबालखको पेटमा

सारङ्गी रेट्न छोड्दैन

सहधर्मिणीको आँखामा

खुशीको फूल फुलाउन सकेको छैन

छत छ

घमाइलो दिनमा

घाम हाँस्छ

वर्षातमा

रुन्छ वर्षा

सँगै रुन्छौ हामी।

चलेका हात

लम्केका गोडा

के गर्‍यौ खै तिमीले

सोध्न मन लाग्छ कहिलेकाहीं

आफ्नै मनसित।

जिन्दगी

सूर्योदयको शिशु किरणसँगै

निस्किएर

बूढो साँझ  बनेर फर्कन्छ

तर पनि

कहिल्यै यौवन फक्रेन

अभावको कुहिरोभित्र हराएका

हामी एकगाँसका लागि

तड्पिएर दुखको घाममा

जीवन सुकाउन बाध्य छौं।

प्रजातन्त्रको शीतल छाया

लोकतन्त्रको न्यानो घाम

अथवा

गणतन्त्रको सर्वोच्च शिखरले

अभावको तिखो काँडा

कतै पर हुत्याउन सकेन

व्यवस्थाले काँचुली फेरि पनि

हाम्रो अवस्था जस्ताको त्यस्तै छ।

सोच्छु,

सुन फल्ने याम

एक दिन त अवश्य आउनेछ

हामी र हामीजस्ता कर्मवादीहरूको

जीवनमा पनि एकदिन

अवश्य वसन्त छाउनेछ

आजकल यही सोचेर

अधैर्य मनलाई

धीरताको ओछ्यानमा

सुताउने गरेको छु।

प्रकाशित: ३१ वैशाख २०७९ ०९:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App