९ जेष्ठ २०७९ सोमबार
कला

बुद्धिमानको बुद्धि

बालकथा

देवकी केसी

बुद्धिमान कक्षा पाँचमा पढ्छ। ऊ पढ्नमा साह्रै तेजिलो थियो। सानै उमेरमा उसको बौद्धिक र तार्किक क्षमता देखेर स्कुलमा सबैले बुद्धिमानको क्षमताको प्रशंसा गर्दथे। साहित्य सिर्जनामा पनि बुद्धिमान निकै अब्बल थियो। प्रत्येक शुक्रबार स्कुलमा हुने अतिरिक्त क्रियाकलापमा भोलिपल्टको शुक्रबार कविता प्रतियोगिता हुने र त्यसका लागि सहभागी हनु चाहने विद्यार्थीले कविता लेखेर ल्याउनुपर्ने सूचना शिक्षकले गर्नुभयो।

बुद्धिमानले पनि त्यसैका लागि भनेर मेरो देश शीर्षकमा एउटा कविता तयार गरेर ब्यागमा राख्यो। बुद्धिमानले धेरै राम्रो कविता लेख्ने कुरा उसको साथी अनिललाई थाह थियो। अनिललाई पनि स्कुलको कविता प्रतियोगितामा भाग लिन मन थियो। बुद्धिमानको कविता चोरेर प्रतियोगितामा भाग लिए त पक्कै पुरस्कार पाउँछु भन्ने सोचेर उसले बुद्धिमान कक्षाबाट बाहिर निस्केको बेला उसको ब्यागबाट कविता लेखेको कागज निकाल्यो र त्यसमा उसले कविताको शीर्षक पनि अर्कै लेख्यो अनि आफ्नो नाम लेख्यो।

एकक्षणपछि कविता प्रतियोगिता कार्यक्रम सुरु भयो। केही प्रतियोगीहरूले कविता वाचन गरेपछि अनिलको पालो आयो। माइक समातेर अनिलले कनिकुथी कागजमा हेरेर कविता वाचन गर्दै थियो। उसका अनुहार रातो र हातगोडा काँपिरहेका थिए। उसको कविताको भाव र शीर्षक फरक थियो। उसले कविता हेरेर पनि शुद्ध वाचन गर्न सकिरहेको थिएन।

बुद्धिमानलाई त आफ्नो कविता पूरै कण्ठ थियो। उसले थाह पाइहाल्यो अनिलले आफ्नो कविता चोरी गरेको रहेछ भनेर। त्यसपछि कविता वाचन गर्ने पालो आयो बुद्धिमानको। माइकको अगाडि उभिएर बुद्धिमानले शिक्षकहरू र साथीहरूलाई सम्बोधन गर्दै भन्यो-आजको कविता प्रतियोगिताकै लागि मैले मेरो देश शीर्षकमा एउटा कविता लेखेर ब्यागमा राखेको थिएँ। त्यो कविता कसैले चोरी गरेछ। तैपनि मलाई पूरै कविता कण्ठ छ। म वाचन गर्दछु।

बुद्धिमानले कवितालाई उत्कृष्ट हाउभाउ शैलीमा स्पष्ट तरीकाले वाचन गर्‍यो। उसको कविता सबैले ध्यान दिएर सुने र सबैले वाहवाह भन्दै ताली पिटे।

बुद्धिमानको कविता वाचन गर्ने शैलीबाट प्रष्ट भयो कि अनिलको कविताको शीर्षक र भाव नमिल्नु र उसले कविता शुद्ध वाचन गर्न नसक्नु, डरले काँप्नुको कारण। बुद्धिमानको कविता कसले चोरी गरेको हो भन्ने सबैले चाल पाए। सबैले अनिललाई हेर्न थाले। किनकि बुद्धिमान र अनिलले वाचन गरेको कविता एउटै थियो मात्र शीर्षक फरक थियो।

एकक्षणपछि कविता प्रतियोगिताको नतीजा निर्णायक शिक्षकले सुनाउनुभयो। प्रथम बुद्धिमान नै भयो। पुरस्कार पाउने लोभले बुद्धिमानको कविता चोरेकोमा अनिललाई निकै नरमाइलो लाग्यो। स्कुलको प्रधानाध्यापकले कविता प्रतियोगितामा विजेता हुने सबैलाई पुरस्कार वितरण गरेपछि माइकबाट केही कुरा भन्न थाल्नुभयो।

भाइबहिनीहरू हो, आज म तिमीहरूलाई बौद्धिक चोरीबारे पनि केही भन्छु। नेपालको संविधानमा बौद्धिक सम्पत्ति कसैको किताब,पर्चा,लेख,शोधपत्र, नाटक, गीत,कविता आदि रचना अनुपयुक्त तरीकाले यदि कुनै व्यक्तिले प्रयोग गर्छ भने त्यसलाई बौद्धिक चोरी मानिएको छ र यसमा संविधानले कसुरको मात्रा अनुसार जरिवाना र कैद दुवै सजाय तोकेको छ।

यस्ता अरूका रचना चोरी गरेर बिक्रीवितरण र प्रकाशन गरिएका सामग्रीहरू पनि जफ्त हुने र त्यसबाट जसको वास्तविक रचना हो सो व्यक्तिलाई परेको नोक्सानीको समेत क्षतिपूर्ति दिनुपर्ने व्यवस्था संविधानले तोकेको छ। केही समय पहिले विश्वविद्यालयका प्राध्यापकहरू यसरी बौद्धिक चोरीमै संलग्न भएकै कारण कारवाही गरिएको थियो। आजभोलि मानिसहरू आफ्ना मौलिक रचनाभन्दा पनि बौद्धिक चोरीमै बढी संलग्न रहेको देखिन्छ। यसले व्यक्तिको व्यक्तित्व र बौद्धिक क्षमतामा समेत ह्रास ल्याउँछ।

आजको यस कविता प्रतियोगिता पनि विद्यार्थी भाइबहिनीहरूकै क्षमता विकासका लागि भएको हो। यहाँ पनि बौद्धिक चोरीको प्रत्यक्ष असर अनिलमा स्पष्ट देखियो। तर, बुद्धिमानले यहाँ आफ्नो कुशल क्षमता प्रस्तुत गर्न सफल भए। जसले आफ्नो सिर्जना गर्छ, उसले राम्रै ज्ञान हासिल गर्छ। चोरी गरेर कहाँ राम्रो ज्ञान हासिल गर्न सकिन्छ र?

प्रधानाध्यापकले बौद्धिक चोरीबारे बताएपछि अनिल लगायत सबै यस विषयमा स्पष्ट भए। आफूले पुरस्कार पाउने प्रलोभनमा परेर चोरी गरेको कुरा अनिलले सबैसामु स्विकार्दै अब यस्तो गल्ती नगर्ने अनिलले बतायो। उसको कुराले सबै खुसी भए। त्यसपछि शिक्षकहरूले सबै विद्यार्थीलाई चकलेट बाँड्नुभयो। विद्यार्थी सबैले खुसी भएर चकलेट खान थाले।  

प्रकाशित: २९ वैशाख २०७९ १४:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App