९ जेष्ठ २०७९ सोमबार
कला

हकुवा

लघुकथा

ढाकामोहन बराल

धान काट्न ठिक्क छ तर उसलाई राजधानी जान हतार भयो। थाहा छैन, कतिबेला झुक्याउने हो बादलले। पोहोर पनि हकुवा नै भएको थियो। के गर्नु दुई वर्षदेखिको चक्कर छ तर सफल भएको छैन। यसपालि हुन्छ भन्ने आशा छ। पाकेको धान पनि छोड्न तयार छ ऊ।

पढाइ पनि छुट्यो भन्ने कि छुटायो भन्ने थाहा छैन। पाउन मुस्किल यहाँको जागिर पाए पनि दैनिकी धान्दैन। जति आदर्शको गफ गरे पनि पढाइको महत्व दैनिक जीवन सहज बनाउने आधार न हो, जागिर खाने माध्यम न हो हामी मध्यम वर्गका लागि। रात्रि बसबाट झरेर सिधै खिचापोखरी हानियो र मेनपावर अफिसमा गयो।

यसपटक अलि भरोसा पनि थियो। एक महिनाअघि मात्र अन्तर्वार्ता लिन उतैबाट आएको थियो दारीवाला सेठ। चुनावमा भोट दिंदा लगाएको नङपालिस जस्तो रंग लगाइदिएको थियो हातमा।

‘सर, मेरो आयो पार्सपोर्ट?’ उसले सोध्यो।

मेनपावरको मान्छेले भन्यो,‘आउन त आयो भाइ तर भिजा लागेन। तीन महिनापछि आऊ। फेरि अर्को अन्तर्वार्ता लिनुपर्छ।’

उसले भन्यो,‘सर,मेरो तीन महिनाअघि जम्मा गरेको पैसा र ब्याज के गर्ने!’

मेनपावरको मान्छे झोक्किंदै ‘कस्तो मान्छे होला। काम गरि त राछु। विदेश जान सजिलो हुन्छ त भाइ। हैन भने अहिले पासपोर्ट लैजाऊ। तीन महिनापछि पैसा लिन आऊ। हुन्छ एकपटक फेरि प्रयास गर्छु’ भन्यो र सिधै नयाँ बसपार्कतिर लग्यो।

गाउँ पुग्दा त असिनासहित मुसलधारे पानी परेको रहेछ। पोहोर त कुनिउँमा पसेर पानीले हकुवा मात्र बनाएको थियो तर यसपालि असिनाले बोटमा नै चुटेर सबै सक्यो।

नरेको चिया पसलमा श्रीकान्तले ‘गोपालेले एक हप्ताअघि काट्न हुने भएको धान नकाटेर सबै खतम बनायो। आफू त परदेश जाला तर बुढीमाउ के खाएर बाँच्ने हुन अब।’ भनेको सुन्यो। ऊ मन भारी बनाउँदै घरतर्फ लाग्यो।

प्रकाशित: २९ वैशाख २०७९ १२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App