९ जेष्ठ २०७९ सोमबार
कला

अनुशासन

लघुकथा

म्यामराज राई

दसैं–तिहार महोत्सव–२०१८,कोमाजावा पार्क एक्लै गएँ। कर्मभूमिमा नेपालीद्वारा आयोजित महोत्सव पहिलोपटक हेर्न जुरेकोमा असाध्य गर्व महसुस भयो।

मध्यान्ह बाह्र बजेको टन्टलापुर घाम ३७ डिग्री सेल्सियस थियो। एबिसु रेल स्टेसनमा ओर्लें। हिंडेर एक घण्टा लाग्ने बाटामा बस चढ्नुपर्थ्यो। बस पर्खिन बस रोकिने ठाउँमा उभें। मेरो पछाडि छसात जना जापानी आइपुगे। लामबद्ध उभे। त्यसपछि आठ–दश जनाको एउटा नेपाली समूह थियो।

‘छ वर्षको जापान बसाइमा हरक्षेत्रमा राम्रो सिस्टमले चलेको देखेको छु।’ समूहबाट भलाद्मी जस्तो देखिनेले आवाज निकाल्यो।

‘हो नि,म सबै नियम पालना गर्छु।’ सारीमा ठाँटिएकी एक चेली बोलिन्।

अर्कै ग्रहबाट आए जतिकै तँछाडमछाड आवाज निकालिरहेका थिए। कसैले ट्रेन चढ्दा लामबद्ध चढिने संस्कार राम्रो लाग्छ त कसैले सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा प्राथमिकताको सिट बाहेकमा पनि वृद्धवृद्धालाई छोडिदिने चलन राम्रो आदि। आआफ्नो जापान बसाइको अनुभव बाँड्दै थिए। मानौं, बिनास्टेज ठूलो धनराशिको वादविवाद प्रतियोगिता हुँदैछ।

बीस मिनेटको पर्खाइपछि बस आयो। म चढ्ने धुनमा थिएँ। मभन्दा पाँच मिनेटपछि आएका अर्थात् पन्ध्र मिनेट कुरेर चढ्दै गरेका जापानीहरूलाई पछाडि पार्दै त्यो समूहकाहरू बस चढे,जसरी बाँदरको हूलले मकै चिथोर्न दौडिन्छ। त्यो समूह एक त पछि आएको थियो। अर्को कुरा लाइनमा उभेका थिएनन्। उनीहरूको भनाइ र गराइ नमिलेको देख्दा नेपाली भएकोमा लज्जाबोध गरें।

प्रकाशित: २९ वैशाख २०७९ १२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App