६ जेष्ठ २०७९ शुक्रबार
कला

अन्तर संवाद

निबन्ध

बोधराज पौडेल

बाटाको एउटा कुनामा मकै पोलिरहेको समय आगोको रापले पोलिरहेको छ मन। मकैका दानामा कोइलाको कालो टाँसिएजस्तै अन्धकार छ भविष्य। तरपनि उज्यालो खोजिरहेका छन् आमाहरू, बाटाको कुनाबाट छोराछोरीको सुन्दर भविष्य। दिनभरिको थकन र अनिदो नहुँदो हो त पहरा दिँदो हो निन्द्राले जून, तारा बनेर। तर, दिनभरि कामको बोझले थाकेको शरीर झ्याप्प निदाउँछ उसैगरी। जसरी औंसीको रातमा विश्राम गर्छ आकासमा जून।

धुवाँको मुस्लो शान्त आँखामा छिरेर पिरो गराउँछ। यति मात्र कहाँ हो र खसाल्छ आँसुका ढिक्काहरू। छेकिन्छन् परपरका दृश्य। भ्रममा समाउन पुग्छ जल्दै गरेको आगोको कोइला। आँखामा भएको पीडा हातमा थपियो। देखिएका सबै दृश्य बन्द भए। तलाउमा जल छल्के जस्तै टनाटन भरियो आँखा। यिनै आधार टेकेर रोकिएको छ मन छोरीछोरी भनेर। नत्र कसरी थापिंदो हो, आमाको मन।

यो मनले धुवाँ र राप कहिल्यै भनेन। न त भन्यो चैत्रको हुरी। खडेरी पनि त सहेकै हो। यो अभाव भएर सधैं आइरहन्छ। यसको मुलबाटो मेरो घरको आँगनबाट नै जोडिएको छ। त्यही भएर त होला ऊ आउँदाजाँदा यतै विश्राम गरेर जान्छ। म यसलाई अगालिरहन्छु आफ्नै छोराछोरीजस्तै। ऊ पनि झुम्मिइरहन्छ छोराछोरी भएर।

बाटोमा जीविका चलाउन देख्नेलाई सजिलो छ। भाडा तिर्नु पर्दैन। पानी, वृत्ति चाहिन्न। साहुको गनगन छैन। भर्खरै बिसाएको धोक्रो बोकेर नगर प्रहरीले तीन कोस पर कुदाएको कसैले देख्दैन। धोक्रो खोसिएका दिन घरको चुलो बल्दैन। भाँडालाई थाहा छ, चामलबिना भात पाक्दैन। तर, जनताको सुरक्षा लागि खटिएका नगर प्रहरीलाई यो कुरा थाहा छैन। ऊ वेतनमुखी छ, सोच्छ अरूलाई पनि मलाई जस्तै सजिलो छ। मैले कर्तव्य मात्र निर्वाह गरेको हुँ। अरूको गाँस खोसेको छैन।

बाटामा कुनै मूल्य नपाएको धोक्रो प्रहरी कार्यालय पुगेर बहुमुल्य हुन्छ। धोक्रो १५ रुपैयाँमा बजारमा पाइन्छ। तर, कार्यालयमा पुगेर त्यो एक हजार पाँच सयको बन्छ। जसलाई जरिवाना भनिन्छ। सामान ठुलो ठाउँमा पुगेपछि आफैं उच्च मूल्यमा परिणत हुँदो रहेछ। छोराछोरी भोलि ठुलो मान्छे भएको हेर्ने आमाको सोचजस्तै।

दिनभरिको मेहनतले भर्दैन पुष्ट पारेर पेट। बेलाबेलामा मुखमा धुवाँ नछिरेको हैन, तर त्यसले अघाउँदैन दाम्रिएको पेट। बरु त्यो धुवाँले निकाल्न खोज्छ पेटमा भएको वस्तु। जीवनको सारजस्तै तितो बनेर। पेट पुष्ट देखियोस् भनेर बाँध्नुपर्छ पटुकी, ढाड दुख्छ भन्ने त खालि बहाना हो।

दैनिकी यही हो चल्दैछ सासजस्तै। न रोकिन्छ, न सजिलो तरीकाले चल्छ। पेट पाल्ने त भन्नु मात्र हो, कम्ता गाह्रो छ यो एक मुठी सास अल्झाउन। कोइलाबाट खरानी झारेजस्तै झार्नु छ छोराछोरीको दुख। खोस्रीखोस्री हटाउनु छ उनीहरूको अन्धकार।

आफ्ना छोरीछोरीजस्तै आउँछन् ग्राहक। कुनैकुनैको हातमा खैनीको प्याकेट र चुरोटको ठुटो देख्दा झस्किन्छ मन। आफ्नै छोराछोरीले बोकेजस्तै। आफैंसँग झस्किन्छ मन, कुलतको बाटोमा लागे कि भनेर? यही शंकाले बेलाबेला छोराछोरीको लुगा धुँदा गोजीमा छिर्छ हात। पैसा नभएको थैलीमा हात छिरेजस्तै। कहिलेकाहीं चान्केचुन्के भेटिएझैं भेटिन्छ खैनीको अंश। भ्रम र यथार्थ के हो मन केही जान्दैन। यो आँखाले बालकै देख्छ जुँगारेखी बसेको छोरालाई। अबोध बालिका सम्झिन्छ पर सरिसकेकी छोरीलाई।

रातमा मनसँग संवाद हुन्छ, यिनै छोराछोरीको बारेमा। सपना छ यी छोराछोरी ठुलो मान्छे भएको हेर्ने। सधैं धुवाँले ढाकेको आँखाले देखेको दृश्य कति सफा देखिने हो। हरेक रात आउने सपना यही हो। बाँकी कुरा त चलेकै छ, बिहानको सूर्योदय जस्तै निरन्तर।

बढिरहेको छ जवानीसँगै उनीहरूको फर्माइस। ग्राहकले ठुलो घोगा मकै रोजेजस्तै। सबै ग्राहको भागमा ठुलो मकै नै पर्छ भन्ने कुनै ग्यारेन्टी छैन। कसैलाई सानो पनि पर्न सक्छ। बजारमा छानिएका मकैका घोगा बराबर कहाँ हुन्छन्? चौरासी पूजाका लागि राखिएका मन्दिरका मूर्ति जस्तै। प्रकृतिको रित पनि त हातका औंलाजस्तै बराबर हुँदैनन्। सत्य यही हो। आमाहरू यसरी नै भाग्य र भविष्यको तुलना गर्छन्।

छोराछोरीलाई साथीहरूकै तुलनामा हिँड्नु छ। त्यही रवाफ र सानका साथ। तगारीमा पोलिएको मकैले कसरी धान्छ ओदानको तौल, त्यो उनीहरूलाई थाहा छैन। आमाको फोक्सोमा बढ्दै गरेको दम र आँखाबाट ओझेल पर्दै गएको संसारबारे जान्ने फुर्सद कहाँ छ र? उनीहरू व्यस्त छन् आफ्नै संसारमा।

चाउरिंदै गरेको छालाले कति दिनसम्म धान्ने हो मुहारको हाँसो। नदीजस्तै बगिरहेका सपनाहरू कसरी लाग्ने हुन् किनारा? चिन्ताले घुटुक्क पिलाउँछ होसको दवाई। दमको दवाई किन्ने त पैसा पनि 

 

 

 

हुनुप¥यो नि!

आफ्नै आँखा अगाडिबाट टाढिदै गएको छ छोराछोरीको दृश्य। धान्न छोडेको छ आमाको कमाइले। प्रलोभनको आशामा मौरीको घारतिर बढेका पाइलाहरू टोकाइबाट घाइते भएर नफर्किए हुने हो। सबैसँग हारे पनि मनसँग हार्नु हुँदैन। एउटा बाँच्ने आशा यही हो। मृत्यु पर्खनका लागि।

धुमिल बन्दै गएका छन् सपनाका रङहरू। मेटिंदै गएको गोरेटोमा कसरी खोज्ने होला पदचापको चिन्ह? सताउन थालेको छ मनले शरीरसँग। कति खेल्छ यो मन? मुढो भएर शरीर हलचल गर्न नसक्दा पनि उडेर पुग्छ हिमालको कावा खान। मन अचेल स्वार्थी बन्दै छ छोराछोरीजस्तै। शरीरले अधिनमा राख्न खोज्दा खोज्दै पनि अनियन्त्रित हुन्छ मन छोराछोरी बनेर।

सपनाजस्तै लाग्छ उनीहरूलाई काखमा खेलाएको। त्यो तगारीको आगो जस्तै भएका छन् अहिले छोराछोरी। पहिला बाल्न कठिन र बालेपछि आफैंलाई पोल्न सक्ने। बाल्दा पोल्ने र नबल्दा धुवाँउने। कहिलेकाहीं धिक्कार्न मन लाग्छ आफैंले खर्च गरेको समयलाई। फेरि सम्झन मन लाग्छ त्यो खेर जाने समयको के चिन्ता! काप्न थालेका ओठले बाँध्न सक्दैन दाँतको कटकट आवाज। बाहिर प्रस्ट निस्कन्छ।

छोराछोरी गुँड छोडेर उडे। आफूले खेलेर जीर्ण भएको गुँड सम्झेनन्। बाल्यकालमा हरेक रात छोराछोरी छामेको हात अहिले आफ्नो पैतालामा पुग्न छोडेको छ। उनीहरूको सहारा भएको हात आफ्नै शरीर भित्तोविना थाम्न सक्दैन। पिठ्यूँमा बोकेर हिंडाएका केटाकेटी यतिपर भए भन्न कठिन छ। जहाँसम्म आमाको आवाज पुग्दैन। एकै आवाजमा मौरीको रानामा झुम्मिएझैं झुम्मिने ती छोराछोरीसँग चाहेर पनि बोल्न सकिंदैन। सकियो भने पनि कर्कश ध्वनिमा काम छैन किन फोन गरेको? भन्ने पहिलो वाक्य सुनिन्छ।

आफ्नै शरीरको भार थेग्न छोडेका खुट्टाले कसरी थेगुन छोराछोरीको माया। कचेराले ढाँकिदै गरेका आँखामा झिंगाले गोलो बनाएको छ। आखिर खानाको लोभ कसलाई नहुने रहेछ र! नत्र किन बस्थे होलान् आँखाको कचेरामा झिंगा?

बल गरेर खोकेर निकालौं लाग्छ अल्झिरहेको एक मुठी सास। खकार निकाल्न खोक्दा जिब्रोमा टासिएर औंलाले फाल्नुपरेको अवस्थामा सास बाहिर आउन सकेन। मासु सुकेर हड्डीमा टासिएको छालाझैं भएर बसिरह्यो। नत्र त खकारजस्तै हातले झड्कारेर पर फाल्न मन नभएको कहाँ हो र।

अचेल हरेक समय मनसँग संवाद हुन्छ, छोराछोरीसँग हुँदैन।  

प्रकाशित: २४ वैशाख २०७९ १२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App