२१ मंसिर २०७९ बुधबार
कला

'जीवनसँगीबाटै लेखनमा ऊर्जा थप्ने कार्य भएको छ'

साहित्यकार सुमित्रा न्यौपाने विशेषत कथा लेख्छिन्। उनको जीवनसँगी महानन्द ढकाल पनि साहित्यकार नै भएकाले अरू केही नारी लेखकलाई जस्तो उनलाई असहज छैन। यद्यपि घरपरिवार, छोराछोरी, जागिर र सामाजिक उत्तरदायित्वको कारण महिलाले हरेक चुनौतीको सामना गर्दै लेख्नुपर्ने बाध्यता छ। नारी लेखकको अवस्था बुझ्न मैले उनीसित केही  कुरा सोधेको थिएँ। जसलाई यहाँ  प्रस्तुत गरिएको छ-

१) नारीलाई लेख्न कतिको सजिलो छ?

 -पुरुषप्रधान समाजमा महिलाले पुरुषले सरह सेवासुविधा र समय प्राप्त गर्न निकै गाह्रो छ। प्रकृतिले समेत कतिपय काम र जिम्मेवारी महिलाले नै गर्नुपर्ने गरी छुट्याइदिएको छ। जुन जिम्मेवारी महिला आफैंले पूरा गर्नुपर्छ। बाँडेर गरौं भन्नै मिल्दैन। कतिपय बाँडेर गर्न मिल्ने कामहरू पनि हामी आफैंले गर्नुपर्ने बाध्यता बनिदिन्छ। कतै समाज, संस्कृति र संस्कार बाधक बनेको देखिन्छ भने कतै अशिक्षा र अज्ञानता। महिलालाई घरपरिवार, छोराछोरी, जागिरको मेलोमेसो र सामाजिक उत्तरदायित्व पूरा गरेर लेखक बन्न पुरुषलाईभन्दा महिलालाई निकै गाह्रो छ तर पनि महिलाहरू हरेक चुनौती सामना गर्दै अगाडि बढिरहेका छन्।

२) घरपरिवार श्रीमान बाट तपाईले कतिको साथ–सहयोग पाउनुभएको छ?

 - महिला पुरुष एक रथका दुई पांग्रा हुन भनेर त्यसै भनिएको होइन। सबै कुरामा साथ र सहयोग रहने भएर नै भनिएको हो। हामी दुवै दिनभरि आआफ्नो काममा व्यस्त रहन्छौं। मेरो श्रीमान् महानन्द ढकाल राम्रो साहित्यकार हुनुहुन्छ। आधा दर्जन बढी साहित्यिक कृति प्रकाशित गरिसक्नुभएको छ। विधागत जानकारी राख्ने भएकाले साहित्यको लेखनमा मलाई सहयोग नगर्ने कुरै भएन। जीवनसँगीबाटै लेखनमा ऊर्जा थप्ने कार्य भएको छ। मेरा कथाको पहिलो पाठक मेरो श्रीमान् हो। विदाको दिनमा मैले लेखेका कथाको सम्पादन गरिदिनुहुन्छ।

३) नारी र पुरुषको लेखाइमा फरक पाइन्छ कि?

  -सबै मानिस एकनासका हुँदैनन्। सबैको बौद्धिकता पनि एकनासको हुने कुरै भएन। त्यसैले पुरुष र महिलाका लेखाइभन्दा पनि हरेक मानिसको बौद्धिकता र स्वभावले लेखाइमा प्रभाव पार्छ। नारी र पुरुष भएको आधारमा नभएर रुचि, चाहना, स्वभाव र क्षमताले लेखनमा फरक पार्ने गर्छ। लिंगले लेखनमा फरक पार्दैन।

 ४) समाजमा नारी लेखकप्रति कस्तो व्यवहार पाउनुभएको छ?

  -हाम्रो सबै समाज एकनासको छैन। सबै समाजमा महिला र पुरुषको स्थान उस्तै पनि छैन। मैले माथि पनि भनिसकें, पुरुषप्रधान समाजमा महिला र पुरुषको स्थान समान छैन। महिलाको लेखन क्षमतामाथि अविश्वास गर्ने मानिसहरू सबै समाजमा छन् तर पनि म जुन समाजमा छु त्यहाँबाट सधैं स्नेह, हौसला र सम्मान पाएको महसुस गरेको छु। विभिन्न कार्यक्रम उपस्थिति जनाउनेदेखि लिएर आफ्नो तर्फबाट दिन सकिने सहयोग पनि सधैं रहिरहेको छ। त्यसैले मलाई असहयोगभन्दा सहयोग नै बढी भएको अनुभव छ। यसैलाई नै नारी लेखकप्रति समाजको व्यवहार हो भनेर सम्झनुपर्ने देख्छु म त। हाम्रो समाजले पुरुष लेखकहरूभन्दा नारी लेखकहरूलाई बढी महत्त्व दिएको महसुस हुने गरेको छ मलाई।

५) नारी लेखकमा कतिको निरन्तरता पाउनुभएको छ?

 - तुलनात्मक रूपमा महिला लेखकहरूका थुप्रै बाध्यता छन्। कर्तव्य र जिम्मेवारीहरू छन्। परिस्थिति र परिवेश सधैं एकनास हुने कुरै भएन। एउटी महिलाको भूमिका उमेर अनुसार फरक हुने गर्छ। कहिले छोरी, कहिले बुहारी, कहिले श्रीमती त कहिले आमा मात्रै  होइन जागिर र समाजसेवा आदिआदि। यी जिम्मेवारीहरू पूरा गर्दै जाँदा लेखनमा एकै किसिमको गति नहुनु स्वभाविक नै हो।

निश्चित परिवेशमा पुगेपछि धेरैका कलम रोकिएका पाइन्छन्। अलमलिएका पाइन्छन्। फरक यति मात्र छ-पुरुषको तुलनामा महिलाका कलम बढी रोकिन्छन्। बढी अलमलिन्छन्। वैवाहिक जीवन, सन्तानको पालनपोषण र घरव्यवहारमा व्यस्त बन्नुपरेका र प्रतिकूल समयका कारणले लेख्न नसकेका महिलाहरू धेरै हुनुहुन्छ। अवसर पर्खेर बस्नु भए जस्तो लाग्छ तर पनि साहित्य सिर्जनामा निरन्तर  लागेका महिला स्थापित साहित्यकारहरूलाई हेरेर हामीले भन्न सक्छौं साहित्यमा नारीको लेखन निरन्तरत चलिरहेको छ। चलिरहने छ।

प्रकाशित: २४ वैशाख २०७९ ११:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App