६ जेष्ठ २०७९ शुक्रबार
कला

भोट किन?

लघुकथा

मन्दिरा चापागाई

‘नविनाको आमा एक्लै भोट हाल्न जाँदैछौ, छोरी खै त?’ छिमेकी कमलाले सोधिन्।

‘खै,नपढेको मूर्खभन्दा पढेलेखेको महामूर्खलाई पो सम्झाउनु गाह्रो हँुदोरहेछ । हाल्नुपया छैन भोटसोट भन्छ।’

‘आफूलाई त भोट माग्न आउनेले भोज ख्वाएर पाँच हजार नि दियाको थियो। मोटरबाटो बनाइदिउँला। गाउँमा बिजुली बत्ती ल्याइदिउँला भन्दै गाको छ। दिएन भने मार्छ कहाँबाट तिर्नु त्यत्रो पैसो। सम्झाइदेऊ न कमला।’ उनीले दुख बिसाइन्।

‘ए नविना, किन झोक्राएर बसेको? भोट हाल्न जानुपर्छ नानी! यो  त हाम्रो अधिकार रे! तेरो आमा पीर गर्दै गाकिछ्न्। भोट माग्नेले घर गनेर गाको छ। भोट पुगेन भने मार्छ। फेरि उसको नुन खाको छ भन्दैथिन्।

–मारोस् न त। हामी बाँचेकै पो कहाँ छौं र? हाम्रो नाममा  राजनीति गर्नेहरूलाई पाठ सिकाउन नि भोट हाल्नु हुन्न काकी।

काकी बोल्न खोज्दै थिइन्। उछिनेर ऊ बोल्दै गई, ‘हामीले मासुभात खुवाऔ भनेको हो र? पैसा माग्दै हिंडेको थियो र? किन चाहियो बाटो हाम्लाई? हाम्रो शरीर लुछ्न आउनेहरू बाटो नभएर आको छैन र? रजस्वलै नभै लुटेको कुमारीत्वको मूल्य त्यसको पैसाले फिर्ता आउँछ? गरीबीको नाममा कहिलेसम्म बेचिने हामी? समाजले हामीलाई गरेको तिरस्कारको दाग केले मेटिन्छ? हामीलाई देखेर मान्छेहरू तर्किन्छ्न। हाम्रो शरीर चल्छ जात चल्दैन।’

काकीले प्रतिप्रश्न गरिन्, ‘यहीं नदी किनारबाट नि लखेट्यो भनें कहाँ गएर ओत लाग्ने?’

‘हामी यो देशका नागरिक होइनौं? हामीलाई गाँस, बास कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा र रोजगारीको अवसर चाहिंदैन?अँध्यारोमा सपनाकी रानी बनाउँछु भन्नेहरू उज्यालोमा हामीलाई घृणा गर्छन् किन?

–के थाहा? जीवनको अर्थ। दुखको धरातल।

मैले भनेको मान्नुस् काकी चुनाव बहिस्कार गरौं।’ आक्रोश पोखिरहिन्।

–बाबु छोरीको शरीर बेच्ने ग्राहक खोज्दै हिंड्छ।

आमा अबोध छोरीको कुमारीत्व लुटाउँछे। सरकार मूकदर्शक छ। अनि हामी वादी समुदायको पीडा र चीत्कारले मुटु नछुने नेतालाई भोट किन दिनु किन?

प्रकाशित: २३ वैशाख २०७९ १३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App