५ जेष्ठ २०७९ बिहीबार
कला

चुनाव

लघुकथा

छायादत्त न्यौपाने

मकै गोड्न निस्केकी सविताले माथिबाटै तल्लो पाटोमा कोदालो सित्त्याइन्।

‘ए, के गरेकी, झन्डै बिंड भाँचिएको!’ झस्किँदै उर्मिलाले सतर्क गराइन्।

‘हेर्नु न दिदी हुलका हुल माग्नेहरू आएर फुत्कनै दिंदैनन्।’ मेलामा आइपुग्न ढिला भएकोमा स्पष्टीकरण दिइन् सविताले। उर्मिलाले जिज्ञासा राखिन्,‘किन के भो र सविता?’

‘खै के भनौं दिदी! गाईभैंसीलाई पानी दिन भ्याछैन। भोट माग्नेहरूको एकपछि अर्को लर्काे।’ नानाथरी कुरा फतफताइन् सविता।

–हो भन्या, त्यही भएर म त झिसमिसेमै मेला पसेकी! तिमी पनि अलि बेलामा आउली भन्ठानेकी थिएँ।

हो दिदी म बेलैमा छोरीलाई अहिले पकाउने खर्च पानी देखाएर निस्कँदै थिएँ तर यी मगन्तेले बाटो छेकीछेकी भोट माग्छन्। यता खाने खर्च छैन, धारामा पानी छैन, बत्ती बल्दैन र खेतीपातीका लागि मलबिउ पाइँदैन। दिने कोही आउँदैन! यति मात्र कहाँ हो र! मान्छेले काम गर्न छाडे। हेर्नु त युवाहरू! नेताका पछिपछि हिंडेर आआफ्नो भविष्य अलपत्र पारेका! यो चुनाव त युवालाई जँड्याहा र भत्ताको नाममा बुढाबुढीलाई अल्छी बनाउने खेल बेथितिको वाहन जस्तो लाग्छ दिदी।

–हो है, तिमीले साँच्चै भन्यौ। केटाहरू जति जाँडमा बिके। काम नगरी पछि लाग्ने भतुवाजस्ता। आफ्नो जमिन बँझ्याएर अरूले देला र खाउँला! कस्ता मोरा आसे भाका! तर, सविता बुढाबुढीलाई भने राहत मिलेको छ है। राम्रोलाई त राम्रो भन्नुपर्छ।

–अँ, यो त ठिकै हो तर युवाहरूको सोचाइ ठिक भएन। व्यवहार पनि गतिलो गर्दैनन्। घरधन्दामा पटक्कै ध्यान छैन। तपाईं जे भन्नुस् दिदी, यो चुनावे गतिविधि त केटाकेटी बिगार्ने र पारिवारिक अनुशासन मासेर केही मान्छेको स्वार्थ पूरा गर्ने जालझेल मात्र हो रहेछ!

खै के भा यी युवाहरू! हिंडे पनि ठिक्क मर्यादित भएर स्वाभिमान नकुच्चिने गरी हिंड्नुपर्ने नि! भोलि फेरि यही समाजमा शिर उठाएर डुल्न मिल्ने गरी! कस्तो विचार नगरेका?

प्रकाशित: २३ वैशाख २०७९ १३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App