coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

तीन तपस्वी

अनुभूति

वैशाख ११ गते साँझ सूर्य बिस्तारै पश्चिमाकाशमा ओरालो लागिरहेको थियो। हाम्रो अगाडिको पर्दामा क्रमशः तीन सूर्य त्यही साँझ उदाउँदै थिए।

आकाशको सूर्य अन्धकार हटाउन हरेक दिन आउँछ। धर्तीमा अँध्यारो मात्रै छैन। हरेक अँध्याराविरुद्ध किसिम किसिमका सूर्य उदाइरहन्छन्। यी सूर्य पनि त्यस्तै अँध्यारोविरुद्ध उदाउँछन्; सङ्घर्ष गर्छन्।

हाम्रो देश तीन लोकजस्तो छ–हिमाल, पहाड र तराई। जति माथि गयो, अर्कै लोक। त्यसैगरी तल झर्दै जाँदा अरू नै लोक। ती प्रत्येक लोकलाई उज्यालो दिनेहरू हाम्रो समाजमा छन्।

सबैभन्दा पहिले उदाए–हुम्लाका छिटुप दोर्जी लामा। उनका आँखामा उज्यालो थिएन। अन्तस्करणमा भने घाम लागेको थियो। त्यही घामले उनलाई बाटो देखाइरह्यो। आफ्नो बाल्यकाल उनले शिक्षकका आवाजबाटै बिताए। आवाजका माध्यमबाट उनको हृदयमा उज्यालो प्रवेश गर्‍यो। त्यो ज्ञानको उज्यालो थियो।

वृह्दारण्यक उपनिषद्को मन्त्रजस्तै भयो उनको जीवन; असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय। असत्यबाट सत्यतिर, अँध्यारोबाट उज्यालोतिर। छिटुपको यात्रा त्यही अँध्यारोबाट उज्यालोतिरको यात्रा हो।

त्यो हिमाली दुर्गम बस्तीमा छिटुपले कसरी यात्रा गरे होलान् ? कतिपटक तिनी ठक्कर खाएर ढले होलान्  ? एकदिन हृदयको बत्ती धपक्क बल्यो। उनको मनमा एकाएक आयो–योभन्दा पनि ठूलो ठाउँ अवश्यै हुँदो हो। काठमाडौँ योभन्दा पक्कै ठूलो ठाउँ होला।  

भिन्न क्षमता भएका ग्रामीण बस्तीमा अझै वैकल्पिक सिकाइको उपाय छैन। २०४० सालमा जन्मेका छिटुपले समेत यस्तो स्थिति सामना गर्नुपरेको रहेछ। उनका निम्ति ब्रेललिपि चाहिन्छ भन्ने पनि थाहा भएनछ।

काठमाडौँ आएपछि उनले ब्रेललिपि सिक्न पाए। पछि उनी आफै शिक्षक भए। त्योभन्दा भिन्न भारतको केरलामा पुगेर सिप सिके। छिटुप अँध्यारोबाट उज्यालोमा पुगे। त्यति मात्र होइन; उनीभित्रको सूर्य थप चहकिलो हुँदै गयो। उनी त्यो सूर्यलाई अब आफ्नै क्षेत्रका बालबालिकाका निम्ति प्रकाशित गर्न तत्पर भए।

छिटुप अब ऊर्जावान् भएका छन्। आफूले बाल्यकालमा नपाएको ज्ञानको उज्यालो अहिले छिटुपले भिन्न क्षमताका बालबालिकाका निम्ति हुम्लामा बाँडिरहेका छन्। ढाकाटोपी, चस्मा र सुटमा आएका छिटुपलाई देख्दा कसैले पनि उनी भिन्न क्षमताका व्यक्ति हुन् भन्ने अनुमान गरेनन्। जब उनका बारेमा बनेको छोटो वृत्तचित्र प्रसारित हुन थाल्यो, तब उनलाई सबैले बुझ्न थाले। उनी बोल्न थालेपछि उनीबाट विस्तारित भइरहेको उज्यालोले सबैको आभामण्डल चम्किरहेको थियो।

त्यस्तै अर्को सूर्य उदायो– जनकपुरधामको कबिर बालआश्रम सञ्चालक सत्यनारायण महतो ‘आलोक’। साक्षात्कारका क्रममा जब उनी बोल्दै गए, तब उनको भोगाइ र सामाजिक यथार्थ उद्घाटित हुन थाल्यो। उनी छोरी बचाउन हिडेका छन्। समाज उनलाई दुत्कार्न तत्पर छ। चोरलाई चौतारो र साधुलाई सुली दिने समाज उनले चिनेका छन्। वचनका सुली यिनलाई स्वीकार्य छन्। तर आफ्नो तत्परता यिनले छाडेका छैनन्।

बिहाबारी नगरी बसेका मानिसका साथमा अहिले १२ छोरी र दुई छोरा छन्। ती छोराछोरी यसरी फेला परेका छन्, जसलाई उनी सीतालाई राजा जनकले हलो जोत्दा फेला पारेको त्रेतायुगको कथासँग तुलना गर्छन्। सम्बन्ध बनाउने र स्वीकार गर्न नसक्ने समाजको अँध्यारो परिस्थितिलाई सत्यनारायणको सूर्यले देखाइरहेको छ। आफ्नो कामलाई महर्षि जनकसँग जोड्ने पनि हिम्मत हुनुपर्छ। आफ्नो काममा विश्वास छ भने यो सम्भव छ।

मानिसलाई अहिले एउटा वा दुइटा सन्तान हुर्काउन त हम्मे छ। आफूले नजन्माएका यतिका सन्तानलाई भाग्य र भविष्य दिन एउटा बाबु मात्र होइन; आमा पनि बनिरहेका छन्। झपक्क दाह्रीले छोपेको सत्यनारायणको मुहारबाट चम्किरहेका सूर्यलाई मैले दर्शन गरेँ। उनी मात्र चम्किरहेका थिएनन्; स्टेजमा मुस्कुराउँदै पुगेका उनका दुई सन्तान वन्दना र चिरागको आलोक पनि त्यहाँ देखिन्थ्यो।

सत्यनारायणलाई सत्य थाहा छ। यी सन्तान ठूला र सम्पन्न परिवारबाट आएका हुन्; तर ती परिवारले यिनलाई स्वीकार गर्न सकेनन्। सत्यनारायणले तिनलाई हिलो र मैलोबाट टिपेर आज फूल बनाइरहेका छन्। ती बालबालिकाका निम्ति सत्यनारायण बा हुन्; आमा हुन्; सर्वस्व हुन्। सत्यनारायणले थपेको नयाँ थर आलोक लिएर ती चम्किँदै छन्। अब यी फ्याकिएका हिरा चम्कने पालो आएको छ।

अघिल्लो साँझ हामी सत्यनारायणलाई सुनिरहेका थियौँ। उनी असमञ्जसमा थिए। उनी भन्दै थिए–आज हामीलाई नाता सम्बन्ध चाहिएको छ; हामी कुन जातबाट आएका हौँ भन्ने चाहिएको छ।

उनी जतिजति बालबालिकालाई हुर्काउँदै छन्, त्यतित्यति नै समस्या पनि आउँदै छन्। साना छउन्जेल उनले बढाइरहे। आज एक पोको चाउचाउ ल्याएर समाजसेवी देखिन चाहनेबाट यिनलाई जोगाउनु छ। त्यति मात्र होइन; ती बालबालिकालाई सत्यनारायण सक्कली बाबु होइनन् भनेर चिनाउन आउने समाज छ। समाजको यस्तो खतरनाक प्रवृत्तिबाट उनलाई जोगाउनु छ। बाँच्न चाहनेलाई पलपलमा मार्न तत्पर समाज छ; त्यसबाट बचाउनु छ।

सत्यनारायण दुःखी हुन्छन्। परिवार नबनाउने भनेर हिँडेको एउटा मान्छे आज परिवार बनाउन पुगेको छ। बिहाबारी नगरी प्राप्त भएका सन्तानका निमित्त सक्कली बाबुले दिन नसक्ने प्रेम दिएको छ। तैपनि समाज भन्छ–यो तिम्रो सक्कली बाबु होइन। सक्कली बाबुआमाले तिनलाई राख्न सकेनन्। जुन बाबुले आर्तहरूको चहराइरहेको घाउमा मलम लगाएका छन्; तिनैलाई नक्कली भन्दै छन्।

नानीहरू ठूला हुँदै गएपछि तिनको अन्यसँग भेट हुन्छ। अरूका मामा छन्; हजुरआमा छन्; फुपू छन् तर यिनका कोही छैनन्। उनले मामा बनाएका छन्। नक्कली नै भए पनि मामा हुनुको अर्थ हुन्छ। सत्यनारायण अहिले आफ्ना नानीहरूलाई बेलाबेलामा पठाउन सक्ने मामाघरको खोजीमा छन्। समाजमा सम्बन्धको आवश्यकता हुने रहेछ; त्यसको खोजीमा छन्। सत्यनारायणले यति ठूलो जिम्मेवारी लिएका छन्। कोही छन् नक्कली मामा बन्न तयार ?

धन्य ! सत्यनारायणको ह्ृदयमा उदात्त भावनाको सूर्य छ। त्यही सूर्यको उज्यालो प्रकाशित भइरहेको छ। सहरमा कैयन् यस्ता अनाथ आश्रम खुलेका छन्। तर सत्यनारायणले जे स्थितिलाई उद्घाटित गरेका छन्, त्यो आफैमा कहाली लाग्ने किसिमको छ।  

हाम्रो तेस्रो सूर्य विष्णु गौतम भएर उदायो। उनको वृत्तचित्र हेर्दैगर्दा हामी द्रवीभूत भयौँ। उपस्थित व्यक्तिका आँखामा अश्रुधारा बहिरहे। अन्तरक्रियापछि उनले आफ्नी पत्नी, बाँचेका छोराछोरी र नातिलाई भारी आवाजका साथ मञ्चमा बोलाउँदा कुनै दुःखान्त नाटकको दृश्यजस्तै लागिरहेको थियो।

चौरीदेउराली गाउँपालिका– ४, गुमटी, काभ्रेका विष्णुको जीवन ठीकठाक चलिरहेको थियो। नौ महिनाको बीचमा दुई छोरालाई सडक दुर्घटनाबाट उनले गुमाए। त्यसपछि उनको जीवनले नयाँ घुम्ती लियो। हुन त उनले सपरिवारलाई घुम्न जाने भनेर भोटेकोशीमा हाल्ने विचार गरेका थिए; तर पत्नी लक्ष्मीको एउटा आग्रहले जीवन परिवर्तन भयो।

आज उनले बितेका ती दुई छोराको सम्झनामा सयौँ छोराछोरीमा जीवन खोजिरहेका छन्। तिनको अनुहारको उज्यालो हेरर आफूलाई प्रकाशित गरिरहेका छन्। जीवनलाई यसरी पनि एउटा अर्को सूर्य बनाउन सकिने रहेछ। यी तीन सूर्यको दर्शनपछि भोलिपल्ट प्रातःभ्रमणका बेला पनि तिनैलाई सम्झिरहेको थिएँ। वैशाखको घुर्मैले तुवाँलोयुक्त आकाशमा धेरै टाढा सूर्य देखियो। आकाश जति घुर्मैलो भए पनि सूर्यलाई छेक्न सक्दो रहेनछ।

मैले मनमनै सूर्यनारायणलाई प्रणाम गरेँ; अनि फेरि वैशाख ११ को साँझमा उदाएका तीन सूर्यलाई प्रणाम गरेँ। हामीले पुराणमा तपस्वीका बारेमा सुनेका छौँ। यी तीन समकालीन समयका तपस्वी हुन्। ‘नागरिक नायक सम्मान–२०७९’ बाट सम्मानित यी तीन सूर्यलाई प्रणाम ! 

प्रकाशित: १७ वैशाख २०७९ ०५:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App