२३ मंसिर २०७९ शुक्रबार
कला

कखराः शिक्षा सुधारको चिन्तन

हरिहर तिमिल्सिना सोखले कवि–लेखक हुन् भने पेसाले समर्पित शिक्षक। एउटा समर्पित र प्रतिबद्ध शिक्षकको नाताले हरिहर तिमिल्सिना नेपालको वर्तमान शिक्षा र शिक्षण पद्धतिसँग भलिभाँती परिचित छन्।

वर्तमान शिक्षा नीति र शिक्षण पद्धतिका कमीकमजोरीसँग पनि उनी उत्तिकै परिचित छन्। वर्तमान शिक्षा नीति र शिक्षण पद्धतिले समयको आवश्यकता र विद्यार्थीको रुचिलाई सम्बोधन गर्न नसकेको प्रति उनको गुनासो छ। वर्तमान शिक्षा नीतिले सीपयुक्त दक्ष जनशक्ति भन्दा ठूलो संख्यामा ज्ञानयुक्त बेरोजगार मात्रै उत्पादन गर्न सघाइरहेको र अहिलेको शिक्षण पद्धति पनि सिकाइमा भन्दा पढाइ (घोकाइ) मा बढी केन्द्रित भएकाले विद्यार्थीमा पढ्ने अनि सिक्ने उत्साह र उत्प्रेरणा जगाउन नसकेकोप्रति उनी सजग छन्, सचेत छन्।

त्यसैले वर्तमान शिक्षा नीति र शिक्षण पद्धतिप्रति उनी असन्तुष्ट छन्। यसमा समयानुकूल सुधार हुनुपर्छ भन्ने उनको आग्रह छ। यही आग्रहलाई उनले आफ्नो उपन्यास ‘कखरा’ मा व्यक्त गरेका छन्। शिक्षा सुधारको चिन्ता र चिन्तन ‘कखरा’मा आएको छ। वर्तमान शिक्षा नीति र शिक्षण पद्धतिमा आमूल परिवर्तन र सुधार हुनुपर्छ भन्नेमा उनको विशेष जोड छ। यो उपन्यास एउटा शिक्षकको आत्मस्वीकारोक्ति पनि हो। शिक्षा नीति र शिक्षण पद्धतिमा सुधारको आवश्यकतालाई औँल्याउँदै खुला बहसका लागि चौतारी निर्माण गरिदिएका छन् लेखक हरिहर तिमिल्सिनाले।

यद्यपि वर्तमान घोकन्ते र रटन्ते शिक्षण पद्धतिप्रति गुनासो गर्दै गर्दा सरकारको शिक्षा नीति, रोजगार नीति, विद्यालय तथा विश्वविद्यालयको शिक्षण पद्धति र परीक्षा पद्धति अनि जागिरका लागि लिइने सरकारी परीक्षा पद्धतिबीचको तालमेललाई पनि गहिरिएर हेर्न आवश्यक छ। घोकन्ते र रटन्ते शिक्षण पद्धतिप्रति गुनासो गर्दै गर्दा हाम्रा विभिन्न निकायका परीक्षा पद्धतिमै पनि सुधार गर्नुपर्ने आवश्यकतालाई बिर्सन सकिन्न।

जागिरका लागि लिइने परीक्षा पनि उही घोकन्ते र रटन्ते पद्धतिमै आधारित भएकाले गुणात्मक सीप, क्षमता र दक्षता जाँच्ने परीक्षा पद्धतिको विकासको खाँचो उत्तिकै देखिन्छ। सैद्धान्तिकभन्दा व्यावहारिक र सीपयुक्त शिक्षालाई प्राथमिकतामा राख्न, पढाइभन्दा विद्यार्थीको रुचिअनुसारको सिकाइमा जोड दिन र शिक्षालाई जीवन जिउनका लागि सहायकसिद्ध बनाउन सकियो भने मात्रै शिक्षाप्रति आमविद्यार्थीको रुचि जगाउन सकिन्छ।

शिक्षालाई साहित्यसँग जोडेर हरिहर तिमिल्सिनाले आख्यानमा गैरआख्यानको मिश्रण पस्केका छन् भन्नु उपयुक्त हुनेछ। किनभने ‘कखरा’ आख्यान हो, तर यसको गैरआख्यानिक वर्णनमा पनि आख्यानकै स्वाद पाउन सकिन्छ। यद्यपि आख्यानबाट सुरुआत भएको ‘कखरा’को अन्त्यतिर गैरआख्यान हाबी बन्न पुगेको छ। त्यसैले उपन्यासको अन्त्यतिर पाठकलाई आख्यान होइन, गैरआख्यान र त्यसमा पनि शिक्षण पद्धतिमा आमूल सुधार हुनुपर्ने आवश्यकतालाई जोड दिइएको यथार्थको आभास हुन्छ।

शिक्षाको प्रयोजन जीवन बदल्नु त हो। तर कस्तो जीवन ? शिक्षाको प्रयोजन मानिसलाई बुद्ध बनाउनु मात्रै होइन, संसारकै धनी व्यक्ति बनाउनु पनि होइन र हुनु पनि हुँदैन। सबै मानिस बुद्ध अथवा विवेकानन्द जस्तो ज्ञानी मात्रै भएर पनि संसार चल्दैन, सबै मानिस एलन मस्क र बिल गेट्स जस्तो धनी भएर पनि संसार चल्दैन।

शिक्षाको प्रयोजन असीमित छ, जबकि मानिसको जीवन नै सीमित छ। जीवन जिउनलाई सघाउने शिक्षालाई नै सार्थक मान्न सकिन्छ। जीवनमा गुनासो सबैका हुन्छन्, पढ्ने र नपढ्नेका पनि। नपढ्नेलाई पढ्न नपाएको गुनासो हुन्छ भने पढेकालाई पढेअनुसारको प्राप्ति नभएको गुनासो हुन्छ। यत्ति हो, शिक्षा मानिसको जीवनमा सफलताको सहायक हो र हुनुपर्छ। उपन्यासभित्र यस्तै महŒवपूर्ण सन्देश लुकेको छ।

शिक्षाको नाममा कसैलाई प्रताडीत गर्नुचाहिँ उचित होइन। हरेक छोराछोरीले बाबुआमाकै लागि पढिदिनुपर्ने, बाबुआमाले भनेकै बनिदिनुपर्ने र बाबुआमाकै इच्छामा चलिदिनुपर्ने जस्ता सोच र मान्यतामा परिवर्तन हुनुपर्छ। छोराछोरीका पनि आफ्नै रुचि, इच्छा र चाहना हुन्छन्। तिनले आफ्ना रुचि, इच्छा र चाहना पूर्ति गर्ने अवसर पाउनुपर्छ। यस्तो आग्रह प्रबल रूपमा ‘कखरा’मा आएको छ।

पाठ्यक्रमभित्रकै पुस्तक मात्रै पढेकोलाई पढेको भन्नु र पाठ्यक्रम बाहिरका पुस्तक पढेकोलाई पढाइसँग जोडेर हेर्दै नहेर्नु, शिक्षकले सोधेको प्रश्नको सीधा जवाफबाहेक विद्यार्थीले फरक जिज्ञासा राख्नै नपाउनु, यस्तो जिज्ञासा राख्ने विद्यार्थीलाई असाधारण नभई असामान्य विद्यार्थीको दर्जामा राख्नु, शिक्षक र अभिभावकले देखाएको बाटोभन्दा अलग बाटोमा आफ्नै स्वेच्छाले हिँड्न खोज्ने विद्यार्थीलाई बिग्रेको विद्यार्थीका रूपमा परिभाषित गर्नु वर्तमान समय र समाजको दोष हो भनी यस उपन्यासले भन्न खोजेको छ, जुन सत्य हो। उपन्यासमा बालमनोविज्ञानको पनि निकै मिहीन विश्लेषण गर्ने प्रयास गरिएको पाइन्छ।

भारी बोक्न, खेतालो वा गोठालो जानभन्दा पढ्न किन गाह्रो मान्छन् बालबालिका ? यसबारेमा हाम्रा अभिभावकले कहिल्यै सोच्दैनन्, कमजोरी यहीँनेर छ। के अङ्ग्रेजी, चाइनिज, जापानी, कोरियन, रसियन, फ्रेन्च भाषाजस्तै चराको भाषा सिक्ने इच्छा गर्नु सफल (उपन्यासको मुख्य पात्र) को दोष हो र? बाबुआमाले सोचेजस्तो नगर्ने छोराछोरी बिग्रिएका हुन्छन्? सफलले आकाशमा घर बनाउनुलाई उसको जीवनको लक्ष्य भनेर लेखेको छ।

जसलाई शिक्षकले मात्रै होइन, यो समाजले पनि पागलपन भन्छ। के यो साँच्चै पागलपन मात्रै हो? त्यस्तो परिकल्पना गर्नु गलत हो ? परिकल्पना नै नगरेको भए मान्छे अन्तरिक्षमा कसरी पुग्थे? लाखौं तारा अनि घाम, जून र ग्रहहरू अडिन सक्ने आकाशमा आफ्नो एउटा सानो घर अडिन्न त? यसरी सफलको जिज्ञासासँगै तार्किक क्षमता पनि उपन्यासमा आएको छ।

सफल कोर्स बाहिरका किताब धेरै पढ्छ। त्यसैले ऊसँग अभिभावक र शिक्षक खुसी छैनन्। के कोर्स बाहिरका किताब पढ्नै नहुने हो ? यो प्रश्नको उत्तर खोजेको छ यो उपन्यासले।

‘मैले पढ्न नचाहेको त कहाँ हो र ? मलाई कोर्स बाहिरका किताब पढ्न मन लाग्छ त म के गरुँ? मलाई कक्षामा सरले जेजे भने, त्यही त्यही सम्झेर लेख्न आउँदैन। आफैँ उत्तर बनाएर लेख्न आउँछ, तर आफैँ बनाएर लेखेको उत्तरलाई सर–मिसले राम्रो मान्दैनन् अनि नम्बर दिँदैनन्। किताबमै भएको कुरा मात्रै किन लेख्नुपर्ने? आफैँ उत्तर बनाएर लेख्न किन नहुने ?’ (पृष्ठ ४०) सफलको यो प्रश्नले उत्तर मागेको छ, शिक्षासँग सरोकार राख्ने सबैबाट।

उपन्यासका एक महत्वपूर्ण पात्र प्रेम सरले भनेजस्तै सीप, संस्कार र स्वावलम्बन नसिकाउने शिक्षाको काम छैन। वास्तवमै शिक्षाको उद्देश्य मूलतः तीन मूलभूत कुरामा निहित रहेको मान्न सकिन्छ। मानिसलाई सीपयुक्त बनाउनु, संस्कारी बनाउनु र स्वावलम्बी बनाउनु नै शिक्षाको उद्देश्य र लक्ष्य हो, हुनुपर्छ। प्रेम सरको जीवनको मूलमन्त्रले सम्पूर्ण शिक्षाको सार्थकता बोकेको छ।

उपन्यासका पात्र प्रेम सरको परिकल्पनाजस्तै साँच्चै अब त यस्तो स्कुलको खाँचो छ, जहाँ विद्यार्थीले जाँच दिनुपर्दैन, नम्बर ल्याउनुपर्दैन। फेल र पासको सर्टिफिकेट दिनुपर्दैन। जहाँ विद्यार्थीले पढिसकेपछि आफैँ आफ्नो क्षमताको पहिचान गर्न सकून्। आफू कहाँ छु भनेर पत्ता लगाउन सकून्। मार्कसिटको सट्टा आत्मविश्वास प्राप्त गर्न सकून्। सर्टिफिकेटको सट्टा मानव जीवनको अर्थ र गरिमा पत्ता लगाउन सकून्। यस्तै स्कुल भइदिए विद्यार्थीहरू सफलजस्तै होस्टेलबाट भाग्ने छैनन्।

जयनले जस्तै रस्टिकेट गराई पाऊँ भनी प्रिन्सिपललाई निवेदन लेख्नुपर्ने छैन। अनि पढाइ नामको आतंकले सीपीयुजस्तै अरू विद्यार्थी पागल बन्ने छैनन्। अनि हरेक स्कुल प्रेम शिक्षा शिविरजस्तै सबै विद्यार्थीका लागि प्रिय हुनेछ। उपन्यासको मूल सन्देश यही हो। तर सन्देशभन्दा पनि शिक्षा क्षेत्रमा विद्यमान बेथितिप्रतिको व्यङ्ग्य प्रहार झनै बेजोड छ। जसले शिक्षा नीति र शिक्षण पद्धतिमा आमूल परिवर्तन र सुधार गर्न सम्बन्धित सबै निकायलाई जोडले घचघच्याउनेछ।

उपन्यासको प्रस्तुति निकै सरल, सहज र सुन्दर छ। भाषामा मीठास छ। सामाजिक यथार्थका पाटालाई निकै सुन्दर ढंगले उजागर गरेको छ।

प्रकाशित: १२ चैत्र २०७८ ०९:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App