१३ मंसिर २०७९ मंगलबार
कला

सरल भाषामा लेख्दैमा प्रौढ अनुभूति बालकविता हुन सक्दैन

बालसाहित्यमा कलम चलाउनेहरू धेरै छन्। तीमध्ये रामकुमार पण्डित क्षत्री पनि निरन्तर रूपमा कलम चलाउँदै छन्। उनै बालसाहित्यकार क्षत्रीसित बालसाहित्यमा केन्द्रित भई गरिएको कुराकानी–

१) कस्तो छ बालसाहित्यको अवस्था?

  -साहित्यको अवस्था यस्तै छ भनेर ठ्याक्कै भनिहाल्न सकिंदैन तर हिजोको तुलनामा केही राम्रो छ भनेर भन्न सकिन्छ। हिजोका दिनमा बालसाहित्यका पाठक र सर्जक दुवै कम थिए। आज आएर यसमा केही बढोत्तरी भएको छ।

२) बालगीत, बालगजल र बालकवितामा के फरक पाइन्छ?

    -बालगीत, बालगजल र बालकविता बालकाव्य अन्र्तगत पर्दछन्। तीन वटै भाव प्रधान हुन्छ। प्रौढ काव्यमा जस्तै बालकाव्यमा पनि समानता र असमानता उस्तै हुन्छ।

बालगीत एउटा भावनामा बहेको हुन्छ, जसमा सूत्रभन्दा भाव पक्ष बलियो हुनुपर्छ। बालगजलमा गजलका अवयवहरू रदिफ, काफियाको साथसाथै भाव पनि आवश्यक पर्दछ। बालकविता गद्य या पद्यमा रचना गर्न सकिन्छ। गद्यभन्दा श्रुतिमयताको कारण पद्य बालकविता बढी रुचाइन्छ। बालकविता कुनै एउटा बालविषयमा कविले प्रस्तुत गर्ने कलात्मक भावना हो।

३) कस्तो हुनुपर्छ बालकविता?

   -बालकविता बालबालिकाले बुझ्न सक्ने, उनीहरूकै भावना प्रधान भएको हुनुपर्छ। सरल भाषामा लेख्दैमा प्रौढ अनुभूति बालकविता हुन सक्दैन। यो संसार, यहाँका जीवजन्तु, मानवीय मूल्य मान्यता, मानवीय संस्कार, चाडपर्व, सस्कृति आदि सबै गतिविधि, जससँग बालबालिका प्रत्यक्ष वा अप्रत्यक्ष रूपले जोडिन्छन्, ती सबै आकर्षक छन्, रमाइलो छन्, हरेक पक्षबाट हामीले ज्ञान पाउन सक्छौं भन्ने चेतना बालकविता भित्र भएमा सुनमा सुगन्ध हुन्छ।

४) पाठ्यक्रममा बालकविताको अवस्था कस्तो छ?

   - कथा, निबन्ध, प्रबन्धले जस्तै बालकविताले पाठ्यक्रममा आफ्नो उपस्थिति जनाएको छ। बालबालिकाहरू गेयात्मक कविता पढ्न र वाचन गर्न रुचाउने हुँदा हरेक पाठ्यक्रममा यसका विज्ञले बालकवितालाई पहिलो प्राथमिकता दिन्छन् जस्तो लाग्दछ।

अर्को कुरा साहित्यमा धेरै रचना गरिने विधा काव्य हो। बालकविता पनि अरू बालरचनाभन्दा बढी लेखिन्छ। यस आधारमा पनि बालकविताको अवस्था अरू विधाको तुलनामा बलियो छ भन्न सकिन्छ तर आफू विद्यालयको शिक्षक या पाठ्यक्रम विज्ञ नभएकाले यस्तै अवस्था छ भनेर भन्न गाह्रो छ।

६) बालकविताको महत्व केके हुन्?

    -बालकथा, बालनिबन्ध जस्तै बालकविताको आफ्नै महत्व छ। यो बुझ्न सजिलो हुन्छ। गेयात्मक हुन्छ। भावप्रधान हुन्छ। कविले सुन्दर ढंगमा कला र भावको संयोजन गरेका हुन्छन्। साहित्य सिर्जना गर्नुको उद्देश्य बालकविताले छिट्टै प्राप्त गर्न सक्दछ।

७)बालकविताको माध्यमबाट नानीहरूमा के कस्तो परिवर्तन लाउन सकिन्छ?

  - बालकथा, बालनिबन्धले गर्न नसक्ने काम बालकविताले गर्न सक्दछ। आज पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाका केही बालकवितालाई विशिष्ट मानिन्छ। त्यो बालकविता हामीले पढेका थियौं। आज आएर त्यस्तो कविता धेरै विद्यालयका पाठ्यक्रमबाट हटाइएका छन् तर सोही भावलाई फरक तरीकाले लेखेर केही व्यक्तिले पाठ्यक्रममा राखेका छन्। जस्तो ‘महाकविको नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ’।

यो कविताले सिधै बालबालिकालाई सत्कर्म गर्न प्रेरणा दिएको छ। यदि यो कवितालाई कथा बनाइन्थ्यो भने यसभित्र पात्र र परिवेशको सिर्जना गर्नुपथ्र्यो। कविताले दिएजस्तो सीधा भाव कथाले दिन सक्थेन। विचारको सोझो रूप कथामा रुचाइन्न।

यस आधारबाट बालकविताले नानीहरूमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भनेर भन्न सकिन्छ तर यसो भन्दैमा कविताभन्दा आख्यान कमजोर हुन्छ भन्न मिल्दैन। यो लेखकको क्षमतामा भर पर्ने कुरा हो। लेखकले आफूले चाहेको विषय एकै वाक्यमा कविता मार्फत भनेर बालमस्तिष्कमा भर्न सक्दछ। उदाहरणका लागि आज धेरै बालबालिका बुद्धको जन्मस्थलको बारेमा भ्रमित हुन सक्दछन्। यस सन्दर्भमा मेरै ‘ बुद्ध विचार’ शीर्षक बालकविताको पहिलो पंक्ति ‘ बुद्ध जन्मे नेपालमा बने संसारकै ज्योति’ ले यो भ्रम चिर्न सफल ठान्दछु। यसरी कविले बालकविता मार्फत सोचेझैं परिवर्तन नानीहरूमा ल्याउन सक्दछन्।

८) यहाँले कविताको भाव चोरीको विषयमा कुरा उप्काउनुभएको जस्तो लाग्यो। अर्काको सुन्दर रचनाको भाव चोरेर लेख्ने कविहरूको स्थान कस्तो पाउनुहुन्छ?

  -अर्काको रचनाको भाव चोरेर लेख्ने कविहरूले आत्ममूल्यांकनमा आफूलाई विशिष्ट सर्जक ठाने पनि विज्ञको अगाडि त्यस्ता सर्जकहरू सामान्य ठहरिन्छन्। किनकि ती भाव सिकारु कविहरूले मौलिक सिर्जना गर्न सक्दैनन्।

९) नेपाली साहित्यमा बालकविताको अवस्था कस्तो छ?

  - नेपाली साहित्यमा बालकविताको अवस्था अत्यन्तै सम्मानजनक छ। गंगाधर शास्त्री द्रविडको ‘गोर्खा पहिलो किताब’ १९४९ सालमा छापिएको पहिलो बालसाहित्यिक पुस्तक हो। यो पुस्तक विद्यालयको पाठ्यसामग्री निर्माण गर्ने उद्देश्यले तयार भएको थियो। त्यहाँदेखि हालसम्म झण्डै १३० वर्ष पार भएको छ। जयन्ती स्पन्दन र बालमुकुन्द कार्कीको संयुक्त सम्पादनमा प्रकाशित पुस्तक ‘नेपाली प्रतिनिधि बालकविता’ (२०७४) को आधारमा पनि १ सय १० कविका, सयौं बालकविताको पुस्तक नेपाली साहित्यले पाइसकेको अवगत हुन्छ।

यतिबेला त्यो संख्या अवश्य बढेको छ। यस आधारमा नेपाली साहित्यमा बालकविताको अवस्था गर्व गर्नलायक छ भन्न सकिन्छ।

  १०) पुराना र नयाँ पुस्ताले लेखेको बालकवितामा के फरक छ?

   - पुराना पुस्तामा केही कवि कालजयी रचना सिर्जना गर्न सिद्घ देखिए जस्तै महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल, माधवप्रसाद घिमिरे आदि। नयाँ पुस्ताका कविहरू पत्रपत्रिका मार्फत सर्वविदितै छन्। पुराना पुस्ताका कविहरूले विषयवस्तुलाई कतै उपदेशात्मक त कतै रोमाञ्चकताले भरेर बालकविता सिर्जना गर्दथे भने हालका नयाँ पुस्ताले सकेसम्म आफ्नो बालकवितामा उपदेश दिंदैनन्।

हाल कुनै पनि सिर्जनामा उपदेश हुनु हुँदैन भन्ने मान्यता स्थापित छ। आजका कविहरू रमाइलो पारामा बालविषय केन्द्रित बालकविता लेख्न रुचाउँछन्। त्यस्तै हिजोका कविहरू बालबालिकाको विभिन्न उमेर समूहलाई ध्यान दिँदैन थिए। उनीहरूको विषयवस्तु साँघुरो थियो। आज शिशुदेखि किशोरसम्मका केटाकेटीलाई लक्षित गरी विभिन्न उमेर समूहमा विभाजन गरेर बालसाहित्यको रचना गरिन्छ।

त्यस्तैगरी विज्ञान र प्रविधि एवं यातायातको विकासलाई दृष्टि दिई आजको कविलाई बालकविता रचना गर्न प्रशस्तै विषयवस्तुको आयतन फराकिलो भएको छ।

 ११) बालसाहित्यको बजार कस्तो रहेको छ?

     -भन्न त भन्छन् बालसाहित्यको बजार फराकिलो छ तर सोचेजस्तो ठूलो बजारचाहिं देख्दिनँ। निश्चय पनि प्रौढ साहित्यको तुलनामा बालसाहित्यको बजार ठूलो छ। यो सत्य हो तर के प्रष्ट छ भने हामी कहाँ बालसाहित्यको पुस्तक तब मात्र पढिन्छ जब त्यसले बालपाठ्यक्रमभित्र समावेश हुने मौका पाउँछ। प्रौढ साहित्य पनि त्यस्तै हो।

पाठ्यक्रममा समावेश भएको पुस्तकको बजार ठूलो हुन्छ र अर्को तरीका अपनाएमा हौवाले ठूलो बजार बनाइदिन्छ। तैपनि त्यो बजारले साहित्यकारलाई दालभात खान पुग्ने रकमको जोहो गराउन सकेको हुँदैन।

उदाहरणका लागि केही वर्ष पहिले ‘ह्यारी एण्ड पोर्टर’ भन्ने बालसाहित्यकै पुस्तक युरोपमा लाखौं बिकेको हल्ला थियो। सोही पुस्तक इन्डियामा हिन्दी भाषामा अनुवाद गरी दश हजार प्रति छापियो। सो पुस्तकको पहिलो संस्करण इन्डियामा सबै नबिकेकाले प्रकाशनको केही वर्षपछि काठमाडौंमा भएको पुस्तकको अन्तर्राष्ट्रिय मेलामा हामी नेपालीले किन्ने मौका पाएका थियौं। यसबाट प्रष्ट हुन्छ,  अरबौं जनता भएको मुलुकमा दश हजार प्रति पुस्तक त्यो पनि विश्वमै चर्चित भएकाले समेत सबै बिक्ने बजार पाएन भने तीन करोड जनसंख्या भएको नेपालमा हजार प्रति छापेर राम्रो बजार पायो भनेर कसरी भन्नू? यस आधारबाट बालसाहित्य तथा प्रौढ साहित्यकै बजारको बारेमा अनुमान लाउन सकिन्छ।

१२) बजारमा आएका सबै बालकविताले आफ्नो धर्म निर्वाह गरेका छन् त?

    -सबै कवि प्रतिभावान् हुँदैनन्। यसर्थ कविको सामथ्र्य बमोजिम बालकविताले आफ्नो धर्म निर्वाह गरेका छन्।  

१३)प्रौढ कविताको तुलनामा बालकविता लेख्न कतिको सजिलो छ?

   -अनुभवको आधारमा बालकविता वा बालसाहित्य रचना हुने हो। जसले आफ्नो बाल्यकालको स्मरण गर्न सक्दछन् उसले बालकविता सजिलै रचना गर्न सक्दछन्, जसरी उनीहरू प्रौढ कविता रच्दछन्। उनीहरू आफ्नो बाल्यकाललाई वर्तमानमा समयसापेक्ष उतार्न सफल हुन्छन्।

त्यस्तै आफ्नो बाल्यकालको याद नहुने सर्जकले प्रौढ कविता मजाले लेखेका छन् भने बालसाहित्य रचना गर्न फलामको चिउरा भएको भनाइ उनीहरूबाटै सुन्ने गरेको छ।

१४) बालकविता लेख्नेहरूलाई तपाईको केही सुझाव छ कि? 

  - सबै लेखिरहेका कविहरू उस्तै रहेको मैले पाएको छु। यदि कोही भर्खरै बालकविता रचना गर्न चाहनुहुन्छ भने उहाँको लागि यस्तो सुझाव अथवा मैले बालकविताको रचना गर्नुभन्दा अघि यस्तो गरेको थिएँ।

पाए सम्मको बालकविताहरूको अध्ययन, पुस्तक तथा बालपत्रिका मार्फत। हालको पछिल्लो बालसाहित्यसम्बन्धी विज्ञहरूको धारणाको अध्ययन। बालसाहित्य रचना गर्न विभिन्न संघसंस्थाले तालिमको व्यवस्था गरेको समयमा त्यस अवसरको सदुपयोग। यसपछि बालकविता या बालसाहित्यको सिर्जना। त्यस सिर्जनालाई बालबालिका माझ पेश गरिनु। बालबालिकाले उक्त सिर्जनालाई व्यक्त गरेको प्रतिक्रियाको आधारमा रचनामाथि परिमार्जन। यसपछि मात्र बालरचनाले पूर्णता पाएको अनुभूति गर्न सकिन्छ।

प्रकाशित: ११ फाल्गुन २०७८ १३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App