coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

लताको निधारमा नपुगेको पशुपतिको चन्दन

लता मंगेशकरलाई एकपटक आफ्नो शिरमा पशुपतिको चन्दन पुर्‍याउने रहर र सपना थियो। तर उनको जीवनमा यो रहर कहिल्यै पूरा भएन र अब हुने पनि छैन।

जीवनसँग संघर्ष गर्दागर्दै ९२ वर्षको उमेरमा उनले संसार छाडिन्। भौतिक शरीरले संसार छाडे पनि उनका आवाज र सम्झना आज पनि विश्वका लाखौँ मान्छेसँग जीवित छन्।

उनले नेपाली भाषामा पनि तीनवटा गीत गाएकी छन्। लता नेपालका लोकप्रिय गायक रामकृष्ण ढकालको संयुक्त आवाजमा रहेको ‘फूल भन्छ फूलिरहूँ’ बोलको गीत कालजयी भएर सबैको मानसपटमा बस्न सफल छ।

त्यसो त रामकृष्ण ढकालसँग लताका थुप्रै किस्सा जोडिएका छन्। लताको भौतिक शरीर यो संसारमा छैन भन्ने सम्झँदा आज पनि ढकालको मन अमिलो हुन्छ। लताको शिरमा पशुपतिको प्रसाद पुर्‍याउन नसक्दा उनलाई निकै दुःख लागेको छ। लताको पशुपतिनाथसँग निकै आस्था र विश्वास थियो भन्ने ढकाल सुनाउँछन्।

लता जीवन र मृत्युसँग संघर्ष गरिरहेका बेला ढकाललाई मेसेज आयो, मेसेज महेशले गरेका थिए-दिदीले पशुपतिनाथको पूजा गर्ने इच्छा व्यक्त गर्नुभएको छ। कसो गर्ने होला ?

ढकालले लताको अन्तिम इच्छा पूरा गर्न हदैसम्म प्रयास नगरेका होइनन् तर कसैगरी पनि उनीसम्म प्रसाद पुर्‍याउन सकेनन्।

विश्वमा फैलिएको कोरोना महामारी नेपालमा पनि अछुतो रहेन। कोरोना भाइरसका कारण नेपालका सबै मठ मन्दिर बन्द भए। पशुपतिनाथको मन्दिर सर्वसाधारणका लागि बन्द रहे पनि सरोकारवालाको सहायताले पूजा सम्पन्न भने गर्न सकिएको उनले बताए।

जतिसुकै दुःख र कष्ट भए पनि लताको माया र सद्भावका लागि पूजा भयो। माघ १९ गते बुधबार पशुपतिनाथ परिसर पुगेर मंगेशकरको दीर्घायुको कामना गर्दै पूजा अर्चना गरिएको फोटो लतालाई पुर्‍याइयो।

जुन बिहान उनलाई प्रसाद र चन्दन प्लेनबाट पठाउने तयारी हुँदै थियो, त्यही बिहानको उनको मृत्युको खबर आयो।

ढकाललाई लताको नाम निकै मन पर्छ। उनको विचारमा लता मंगेशकरको नाममा पनि संयोग छ। उनी भन्छन्, ‘उहाँको नाम लता आफैंमा राम्रो छ। त्यसलाई उल्टो गरी पढ्यो भने ताल हुन्छ। ताल त्यहाँ पनि संगीत नै छ।’

सांगीतिक जगतमा सरस्वती माताका नामले सम्बोधन गरिने लता मंगेशकर जतिको प्रतिभा धेरै युगपछि जन्मिने ढकाल बताउँछन्। ‘उहाँ जतिको व्यक्तित्व पाउन धेरै युग कुर्नुपर्ला। उहाँको नाम सदैव अमर छ। हामी उहाँलाई एकदमै आदर्शका रूपमा नाम लिन्छौँ, सम्झन्छौँ र कहिले पनि बिर्संदैनौं।’

लताको निधनले धेरै संगीतप्रेमीका आँखा रसाए। भारतीय जनता र सरकारले देखाएको सम्मान नेपालका लागि पनि एउटा सिकाइको विषय भएको ढकाल बताउँछन्। ‘मेरो सम्झनामा कुनै एउटा कलाकारले यतिको ठूलो सम्मान पाएको यो पहिलोपटक हो। हामी सबैका लागि यो एउटा सिकाइ हो, सन्देश पनि हो। कला जगत पनि त्यो खालको सम्मान पाउने क्षेत्र हो भन्ने यसले देखाउँछ,’ ढकाल भन्छन्, ‘उनले भारत देशलाई प्रतिनिधित्व गरे पनि विश्वले नै चिनेकी प्रतिभा हुन्। नेपाल त त्यसमा त्यसै पनि पर्छ।’

लता मंगेशकरको आवाजको कुरा गर्दा नेपाली गीत संगीतमा तीनवटा गीत रेकर्ड भएका छन्। लताले गाएको पहिलो नेपाली गीत माइतीघर चलचित्रको ‘जुन माटोमा मेरो’ बोलको हो। मबिबी शाह (राजा महेन्द्र)को लेखन र जयदेवको संगीतमा उनले उक्त गीतमा स्वर भरेकी थिइन्। तत्पश्चात हेमन्तकुमार मुखर्जीको संगीत र मबिबीकै शब्दमा ‘आकाशका तिर्मिरे तारा म गन्न सक्दिनँ’ बोलको गीत लताले गाइन्। अर्को गीत ‘बाँचुञ्जेलीलाई’ हो।

आनन्द अधिकारीको शब्द रहेको ‘बाँचुञ्जेलीलाई’मा संगीतकार शिखर सन्तोषले धुन भरेका हुन्। यो गीतमा लता मंगेशकरलाई आवाजमा साथ दिएका छन् रामकृष्ण ढकालले। ‘यो सौभाग्य हामीले पायौँ,’ ढकाल भन्छन्, ‘हाम्रो त जीवन नै सफल भयो। वास्तवमा यो जुनी नै सफल भयो।’ बाँचुञ्जेलीलाई लताको आधुनिक र व्यावसायिक गीतमध्ये अन्तिम बन्न पुगेको ढकालको दाबी छ। ‘त्यसपछि उहाँले हिन्दीमा भजनहरू त गाउनुभयो तर आधुनिक र व्यावसायिक गीत गाउनुभएन,’ ढकालले भने।

आनन्द अधिकारीको शब्दमा शिखर सन्तोषले धेरै पहिलादेखि लता मंगेशकरसँगै केही भारतीय र केही नेपाली गायकलाई समावेश गरेर एल्बम निकाल्ने तयारी गरिरहेका थिए। पछि गएर त्यो प्रोजेक्ट अगाडि बढ्न सकेन। लता मंगेशकरको समय लिन पनि त्यति सजिलो कहाँ थियो र ? धेरै प्रयास गरिरहेका बेला लताले गीत गाउन कम गरेकी थिइन्। ‘गाउनुहोला भनी हाम्रो प्रयास जारी नै थियो,’ ढकाल भन्छन्, ‘मुम्बईमा पडाडको छुकछुके रेल बोलको गीत रेकर्डका लागि जाँदा ‘बाँचुञ्जेलीलाई’को डमी रेकर्ड पनि तयार गरेका  थियौं। त्यो डमी र अन्य केही गीतका सिडीसहित मेरो प्रोफाइल दिदीका मेनेजरमार्फत पठाएका थियौँ।’

प्रस्तावको जवाफका लागि उनले ६ महिना कुर्नुपर्‍यो। ‘त्यसपछि उहाँले गीतका बारेमा सोध्नुभयो। शब्दको अर्थबारे जिज्ञासा राख्नुभयो। मैले गाएको डमी स्वर एकदमै मन पराउनुभयो र मबारे जिज्ञासा राख्नुभयो,’ ढकाल भन्छन्, ‘वास्तवमा योे गीतको शब्द राम्रो छ। अहिलेको परिप्रेक्ष्यमा उहाँलाई फिट हुने देखिन्छ। उहाँको पार्थिव शरीर हामी माझ रहेन तर उहाँलाई हामी बाँचुञ्जेली सम्झन्छौँ।’

‘बाँचुञ्जेलीलाई’ रेकर्डका लागि रामकृष्ण ढकालसहितको टोली मुम्बई गएको थियो। भारतमै पनि कतिपय कलाकारले लतासँग गाउन नपाएको अवस्थामा नेपाली गायकले सहकार्य गर्न पाउनुलाई गर्वकै रूपमा लिन सकिन्छ। गीत रेकर्ड अघिको रात उत्साह र गर्वले निद्रा नपरेको अनुभव गायक ढकालको छ। उनी भन्छन्, ‘त्यो रात निद्रा लागेन। भोलि उहाँलाई भेट्नु थियो। के लुगा लगाएर जाने होला। उहाँलाई के भन्ने होला। यो खालको कुतूहलता थियो।’

मुम्बईमा लता मंगेशकर आफैँले स्थापना गरेको ‘स्वरलता स्टुडियो’ छ। त्यही स्टुडियोमा गीत रेकर्ड गर्ने योजना थियो। त्यही स्टुडियोमा पहिलोपटक भेट भयो, रामकृष्णको लतासँग। भेटको प्रसंगलाई यसरी सुनाउँन्छन् ढकाल, ‘निकै प्रतीक्षापछि पहिलोपटक भेट भएको थियो। मैले पशुपतिनाथको फोटो र रुद्राक्षको माला लगेको थिएँ। साथमा पश्मिनाको सल पनि दिएँ। उहाँले नेपाल र पशुपतिनाथ घुम्न आउने कुरा गर्नुभयो तर उहाँलाई बाथको समस्या रहेछ। लामो समय प्लेनमा बस्न नसक्ने हुँदा नेपाल आउन नसक्ने दुःख पनि उहाँले व्यक्त गर्नुभयो।’

आफूले उपहार दिएपछि लताले एकमुखे रुद्राक्षको इच्छा गरेको ढकाल सुनाउँछन्। ‘शिव पशुपतिको म एकदमै आराधना गर्छु, पाएँ पठाइदिनुस् है भन्नुभएको थियो। मलाई पनि त्यसको मूल्य थाहा थिएन कति पर्छ भनेर,’ ढकाल भन्छन्, ‘पछि एक शुभचिन्तकको सहयोगमा मैले उहाँलाई पठाउन पाएँ। जीवनको आत्मसन्तुष्टि मिल्ने काम पनि थियो त्यो मेरा लागि।’

ढकालका अनुसार, बाँचुञ्जेलीलाई रेकर्ड गर्दा सुरुमा लताले गाइन्। ‘पछि म गाउन तयार भएँ। रेकर्ड गर्दा गितार अलि बढाउनू वा सुर बढाउनू भन्ने गर्छौं,’ ढकाल भन्छन्, ‘कानमा हेडफोन लगाउँदा उहाँको त्यो आवाज आयो। त्यो सुर नै काफी थियो। केही बढाउनुपर्ने आवश्यक थिएन। एकछिन आफैंलाई चिमोटेँ पनि। म आफैँलाई विश्वास थिएन। लतासँग गीत गाइरहेको छु भनेर। यसको प्राविधिक कुरा के भएको छ भने उहाँले पहिलेका गीत धेरै हाई पिचमा गाउनुभएको थियो। सामान्यतः महिलाको पिच पुरुषको तुलनामा अलि कम हुन्छ। तर उहाँको पिच हाइ थियो, ८२ वर्षको भए पनि। उहाँको भन्दा मेरो पिच कम भइरहेको थियो।’

पहिलो दिन रेकर्ड गरेको आफ्नो स्वर ढकाललाई मन परेको थिएन। भोलिपल्ट नेपाल फर्कने टिकट थियो। तैपनि आफूले भोलिपल्ट बिहान पुनः गीत रेकर्ड गरेको ढकाल बताउँछन्।

करिब १० वर्षअगाडि तयार गरिएको उक्त गीतको म्युजिक भिडियो एचडी प्रविधिमा आधारित छ। भिडियो हेरेपछि लताले सकारात्मक प्रतिक्रिया दिएको ढकाल बताउँछन्।

प्रकाशित: ७ फाल्गुन २०७८ ०१:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App