coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘सुन साहिंली’ मेरो कथा

सन् २०१७ को सुरुवातमा एउटा गीत निकै लोकप्रिय भयो। घरदेशदेखि परदेशसम्मका नेपालीहरूको मनमुटुमा गुन्जिरह्यो सुन साहिंली परदेशबाट म आउँला..!

देशको वास्तविक अवस्था र भर्खर विवाह गरेर परदेश पसेका मदनहरूलाई यो  पीडा भुलाउने माध्यम नै बनिदियो।  

कालीप्रसाद बास्कोटाको संगीत, गौरव पहाडी र मेनुका प्रधानको अभिनय रहेको सुन साहिंली गीतलाई हर्क साउदले सिर्जना गरे। उनको रचनामा रहेको यो पहिलो गीतले नै नेपाली सांगीतिक आकाशमा उनको उचाइ बढाइदियो।

देशमा उचित रोजगारीको अवसर नभएको कारणले कैयौं युवा प्रवासिन बाध्य छन्। तत्कालीन समयको यथार्थलाई सिर्जना उतारेकाले पनि उनको गीत बढी लोकप्रिय बन्यो।

संगीतकार बास्कोटाले शब्द संकलन हुुनुअघि नै धुन बनाइसकेका थिए। पुरानो दिन सम्झिदै साउद भन्छन्, ‘सुन साहिंली सामूहिक काम हो। जुन हामी सबैको प्रयासबाट सम्भव भयो। वैदेशिक रोजगारीले आक्रान्त पारेको नेपाली समाजको यथार्थ चित्रण देखाएका छौं। जुन अहिलेको समयमा पनि सान्दर्भिक छ।

साउदको उक्त गीतले नेपाली सांगीतिक आकाशमा तरंग नै ल्यायो। उक्त गीतको लोकप्रियतालाई अहिले पनि युटयूवमा देखिने भ्यूयोर्ससँग तुलना गरिन्छ।

साउद पुराना दिन सम्झिदै भन्छन्, ‘त्यतिबेला युटयूव भर्खरभर्खर आम मानिसको पहुँचमा आएको थियो। अहिलेको जस्तो टेन्डिङमा आउँछ होला भन्ने सोचेको पनि थिइनँ। नेपालमै टेन्डिङमा पर्नु आफ्नो ठाउँमा थियो। ‘सुन साहिंली पहिलो गीत हो, जुन विश्वकै ‘वल्ड टेन्डिङ’मा परेको थियो।’ त्यसो भनिरहँदा उनको अनुहारमा बेग्लै चमक थियो।

‘गाउँका कुरा! जाँतो र ढिकीको परम्परागत हाम्रो जीवन पद्धति! मकैको पिठो! सानो वा ठूलो पहाडको खेतबारीमा काम गर्दा, कुलाबाट पानी लगाएको कुरा वा रोपाइँ गर्दाको कुरा होस्। ती सम्झनाहरू हामीले त्यहाँ सर्लक्कै देखाएका थियौ।’ आफै भावुक हुँदै साउँद सुनाउँछन्, ‘आफूले भोगेको कुरा पराई देशमा भिडियोमार्फत देखेँ त्यसमै जोडिन पुग्ने रहेछ। पराई भूमिमा नेपाली माटो झन् प्यारो हुँदोरहेछ।’ 

शब्द संकलनपछि त्यसका आधारमा धुन तयार गर्ने र स्वर भरेपछि भिडियोको काम गर्ने नेपालमा सामान्यतया म्यूजिक भिडियोको निर्माण प्रक्रिया हुन्। पहिला धुन निर्माण गरेर शब्द संकलन गर्ने नेपालमा कम प्रयोगमा रहेको छ तर नेपाल बाहिर भने कथा तयार गरेर शब्द र धुन निर्माण गर्ने गरिन्छ। ‘हामीसँग कम प्रयोगमा आएका कारण ट्युनसँग पछि काम गर्न गाह्रो रहेको छ। आफैंले शब्द संकलन गरेको छ भनेपछि संगीतकारसँगको सल्लाहमा धुन तयार गरिन्छ। यो कुरा सजिलो पनि छ। तर, धुनपछि काम गर्न पनि मलाई खासै गाह्रो भने लागेन।’ उनले भने।

आफ्नो जन्मभूमि छाड्ने इच्छा कसलाई पो हुन्छ र? तैपनि हजारौं युवा आफ्नो सुनिश्चित भविष्यका लागि प्रवास भासिनु विडम्बना हो। जवानीका सुन्दर वसन्तहरू प्रवासमा नै गुमाएर देश फर्किनु दुखद् पक्ष हो। तैपनि देशको अवस्थाको कारणले प्रवासिएका युवा देश फर्कँदा चालिस वर्ष कटिसको हुन्छ। त्यतिबेलासम्म उनीहरूको आर्थिक हैसियत अलिमाथि उठिसकेको हुन्छ।

उसँगै उसको पारिवारको अवस्थामा पनि केहीमाथि उठिसकेको हुन्छ। विकटबाट सुगममा समाहित गर्ने वा आफ्नै व्यवसायी गरेपछि आफ्नो व्यवहारमा लागेको हुन्छ। त्यतिञ्जेलसम्म बिहे गरिसकेको हुन्छ। बच्चाबच्ची भइसकेका हुन्छन्। त्यो उमेर पछाडि सानोतिनो आफ्नै व्यवसाय गरे पछाडि यही पनि कमाउन सकिन्छ वा यही पनि केही गर्न सकिन्छ भन्ने सोचले लेखिएको ‘सुन साहिंली’ गीतका शब्द सर्जक साउद सम्झिन्छन्।

गीत, संगीत र त्यसमा अभिनय गर्ने पात्र सबैको नजरमा वाहीवाही कमाइरहेका हुन्छन्। नाम मात्रै होइन सँगै दाम पनि कमाइरहेका हुन्छन् तर उक्त गीतको सिर्जना गर्ने मान्छे। गीतको सूत्रपात गर्ने मान्छे। गीतको शब्द संकलन गर्ने मान्छे, गीतकार वा सर्जक दाम त कमाएकै हुँदैन। त्यसमाथि आफैं पनि गुमनाम हुन्छ।

पर्दामा हेर्दा देखिने मान्छेसँग दर्शकले आफूलाई तुलना गर्दछन्  न शब्द संकलन गर्ने मान्छेसँग गर्छन्। गीतकार साउद भन्छन, ‘आम मानिसले भिडियोमा देखिने मान्छेसँग आफूलाई त्यही रूपमा ढालेको हुन्छ। शब्द खेलाउने त पछाडि मात्रै हुन्छन्। भिडियोमा अभिनय गर्ने र गीत गाउने मान्छे अगाडि नै हुन्छन्। पर्दा अगाडि देखिने मान्छेलाई नै सबैले सम्झिने हो नि।’ तर पर्दा पछाडि रहने भनेर हीनताबोध गर्न नहुने उनी बताउँछन्। ‘मान्छेको काम नै उसको पहिचान हो। राम्रो काम इमानदारीपूर्वक गर्दै गए। आम मानिसको नजरमा परिन्छ। मिडिया खोजेर आफ्नो प्रचारप्रसार गरिरहनु पर्दैन।’

‘तीनपाते’, ‘साहिंली’, ‘दुबो फुल्यो’ र ‘के माया लाग्छ र?’ जस्ता लोकप्रिय गीतहरूको रचना गरिसकेका रचनाकार हर्क साउद आपूmले सृजना गरेको गीतमा आफ्नै नाम नदेख्दा भने दुख महसुस हुने गरेको बताउँछन्। ‘हामीले सँगै मिलेर काम गरेका हुन्छौ। कहिलेकाहीं लिनुपर्ने नाममा दिनुपर्ने क्रेडिट नदिंदा अलिकति नमजा त लाग्छ नै।’ तर यो चलिरहन्छ भन्ने कुरा भइसकेपछि त्यो लेबलबाट माथि उठिसकेको उनी बताउँछन्। उनी भन्छन्, ‘हामी पर्दापछाडि भौतिक रूपमा हुन्छौ क्या, सृजना त पर्दा अगाडि नै हुन्छ नि।’

गर्वका साथ उनी भन्छन्, ‘कलाकारले गीतमा अनुभव गरेर अभिनय गर्दा रोइरहँदा त्यो त शब्दमा बगेको हो नि। त्यो शब्द त मेरै हो नि। त्यहाँ त सर्जक छ नि। त्यो रुने अभिनयक्रर्ताभन्दा पनि त्यहाँ गाइएको शब्द र बजेको धुनले न छोएको हो अनि हामी त जहिले पनि अगाडि हुन्छौ क्या। शब्दहरू जसको मुखमा झुन्डिएका छन्। उनीहरूसँग हामी प्रत्यक्ष जोडिएका हुन्छौँ।’

एउटा गीत सफल हुनु–नहुनुमा सर्जकको भूमिका महत्त्वपूर्ण हुने उनी बताउँछन्। ‘सृजना वा शब्द संकलन राम्रो छैन भने राम्रो धुन बन्दैन। राम्रो धुन बनेन भने राम्रो गाइँदैन। राम्रो गाइएन भने मान्छेले सुन्दैन। दृश्यमा जाँदा श्रृव्य पक्ष राम्रो भए भिडियोमा पनि मेहेनेत गरियो भने राम्रो हुन्छ। सुरुवातमा शब्द संकलन नै राम्रो भएन भने बिग्रिंदै जान्छ।’

म्यूजिक भिडियोको काम सामूहिक कार्य भएका कारण सबैको कुराको प्याकेज मिल्नुपर्ने उनी बताउँछन्। सामूहिक कार्य र प्याकेजको कुरा गरिरहँदा आम्दानीका हिसाबले तुलनात्मक भन्दा पनि धेरै कम पारिश्रमिकमा काम गर्नुपरेको सर्जकको गुनासो रहँदै आएको छ। ख्याति कमाएका गीतका सर्जक समेतले रोयल्टी नपाएको गुनासो छ। त्यसका पक्षमा काम गर्ने संस्थाको अभाव भएको पनि होइन। स्रष्टाकै लागि काम गर्ने भनेर वर्षौदेखि रोयल्टी समाज, गीतकार समाज, पफर्मर सोसाइटी, कम्पोजर सोसाइटी र प्रतिलिपि अधिकार समेत नभएको होइन। तर, मेकानिजम के छैन भने त्यसको रेभिन्यू कसरी जेनेरेट कहाँ भइरहेको छ।

कमाएको रकम सम्बन्धित स्रष्टाको कोष सञ्जालमा संकलन भने भएको छैन। व्यक्तिले चाहेर पनि रोयल्टी पाउनेवाला छैन। व्यक्तिगत रूपमा रोजेर पनि पाइँदैन। कहाँकहाँ, कुनकुन प्लेटफर्ममा बज्छ। यो खोजेर पाइने कुरा पनि होइन। कभर गीत बनाएका जति सबैको सञ्जालमा जान पनि सकिंदैन। साधारण मान्छेले त्यो गर्न सक्ने अवस्था रहन्न। त्यसका लागि ठूलो संस्थाको ठूलो लगानीको अवश्यकता पर्छ। त्यसपछि मात्रै सबै सर्जकले प्रतिशतका आधारमा पाइन्छ। संसारको जुनसुकै ठाउँमा बजे पनि त्यसको रोयल्टी सम्बन्धित सर्जकसम्म पुग्छ। त्यसपछि सबैले न्याय पाउँछन्।

गीत लेखेर आफ्नो जीविकोपार्जन र स्तरीय जीवन बाँचेका सर्जक पनि नेपालमा नभएका होइनन्। ‘यही समाजमा म जस्ता मान्छे पनि छन् जो वर्षमा एकदुई गीत मात्रै लेखेर पनि स्तरीय जीवन बाँचिरहेका छांै।’ सर्जकले कम पैसा कमायो वा नाम पनि कमाएन भन्ने कुरामा गुनासो गरिरहनु भन्ने उचित पनि नभएको साउद बताउँछन्।

‘तपाईंलाई कसैले गर्नै पर्छ भनेर पनि भनेको होइन नि। कसैको रहर हुन्छ वा प्यासन हुन्छ। त्यसैलाई पेसा बनाएर रातदिन काम गर्ने हो भने त्यो किसिमको इन्डस्ट्री पनि हुनुप¥यो।’ उनी भन्छन्, ‘अहिले दश जना मान्छेको भिडमा एक जना कवि, एकदुई जना गीतकार र एकदुई जना गजलकार पाइहालिन्छ नि।’  

एउटै सिर्जनाले सधैं धानिंदैन। त्यसको निरन्तरता पनि हुनुपर्ने उनी बताउँछन्। ‘अहिलेका सर्जकलाई पहिलो लोभ भनेको चर्चित संगीतकारको धुन पाउनु वा त्यसमा स्थान पाउनुहुन्छ। त्यहाँ गएर त्यो चर्चा कमाउँछ। राम्रो भइदिन्छ। त्यसपछि गुनासो हुन थाल्छ कि मलाई पैसा पनि भएन मेरो नाम पनि आएन दमदार त चलेकै हो। पहिलो सोच त उनीहरूको पैसा होइन स्थानको थियो। पछि सम्झौता विपरीत जाँदा विवाद उत्पन्न त हुन्छ नै।’ साउद भन्छन्। विवादको समाधानका लागि गीतकार, संगीतकार र अन्य पक्षबिच सम्झौता हुनुपर्ने साउद सुझाव दिन्छन्। सम्झौता भए सबैलाई फाइदा हुने उनी बताउँछन्।

प्रकाशित: २८ माघ २०७८ १३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App