१३ असार २०७९ सोमबार
कला

उपहार जिन्दगी

माघ महिना। घाम प्यारो हुने नै भयो। त्यसमाथि केन्द्रवरिपरि पहेँलिएको तोरीले वातावरण थप रङ्गीन बनाएको थियो। यही पृष्ठभूमिमा रमाइरहेका थियौँ हामी– ‘दिदी सुधार केन्द्र’को वार्षिकोत्सव अवसरमा। सबै आ–आफ्नो जिम्मेवारी कसरी सफलतापूर्वक निर्वाह गर्ने भन्नेमा केन्द्रित थिए– कोही कार्यक्रम सञ्चालक, कोही खानपिन व्यवस्थापक त कोही मनोरञ्जन संयोजक।

चिसो चिसो मौसम भएकाले होला सायद, बिहानको खाजा जेरी, स्वारी र आलुको तातो कवाफ जिब्रोमै झुन्डिनेखालको थियो। खाइवरी सबैजना कार्यक्रमस्थल गएर बस्यौँ। संस्थाकी सञ्चालक भनौँ वा संस्थापक, भर्खरै मात्र ५०औँ वसन्त पार गरेकी भृकुटीदिदीको चहलपहल सबैका लागि आकर्षणको पक्ष थियो। ‘केही गर्छु’ भनेर संस्था खोल्नुभयो। त्यसैले त आजका दिनसम्म अनवरत रूपमा क्रियाशील हुनुहुन्छ, आफ्नो उद्देश्यप्रति।

बिहान ५ बजेपछि उठेको रेकर्ड छैन, न त बेलुका १० बजेअघि सुतेकै। उहाँको यो जागरुकता देख्दा सोध्न मन लाग्छ, दिदीलाई यति धेरै जाँगर कसले दिन्छ होला? यो ऊर्जाको स्रोत के होला? सोच्थेँ– आखिर दिदीको यही अविरल खटाइ त हो, हामीलाई पनि ऊर्जा भर्दै नयाँ सोचका साथ अघि बढ्न प्रेरित गर्ने।

कार्यक्रम हल खचाखच भरिएको थियो। त्यही माहोलबीच दिदीले आफ्नो भनाइ राखिरहनुभएको थियो। यस केन्द्रमा हामी जम्माजम्मी दुई सय ५० जना थियौँ। उहाँले संस्थाले निरन्तर सफलता हासिल गरिरहनुको कारण बताइरहनुभएको थियो। जसमा ‘टिम एफोर्ट’ मुख्य रहेको उहाँको दाबी थियो। आफ्ना सहयोगी, कर्मचारी तथा स्वयंसेवकको राम्रो पक्षको सबै सामु खुलेर प्रशंसा गर्ने उहाँको बानी अनुशरणीय थियो।

‘आकाङ्क्षा शर्मा’– यत्तिकैमा उहाँले मेरो नाम लिएपछि अनायासै जिब्रो निस्क्यो मेरो मुखबाट। अनुशासित व्यक्तित्व पुरस्कार ग्रहणका लागि मञ्चमा निम्त्याइएकी थिएँ म। ‘मोटिभेसनल स्पिकर आकाङ्क्षा शर्मा..., एक्स्ट्रा अर्डिनरी व्यक्तित्व आकाङ्क्षा शर्मा..., उहाँ मेरो नामको अगाडि विशेषणहरू थप्दै जाने अनि सहभागीहरू गडगडाहट तालीका साथ अनुमोदन गर्दै जाने। मानौँ, मप्रति संस्थाले गरेको निर्णय एकदम सही थियो। म भने आफूप्रति संस्थाले देखाएको असीम सम्मान र त्यसमा दर्शकदीर्घाबाट प्राप्त अपार समर्थनले पुलकित भएकी थिएँ। जसले आगामी दिनमा थप बढी जिम्मेवारी वहन गर्नुपर्ने चुनौती थपिएको महसुस पनि गरायो।

यस्तै उत्साह, रमाइलो अनि चहलपहलबीच कार्यक्रम सकियो। एउटी बहिनीको सहायताले पुरस्कारका सामान लगेर आफ्नो कोठामा थन्काएँ। बेलुका डाइनिङमा सबै भेट्ने अनि रमाइलो गर्ने कुरा थियो। म फ्रेस भएर एकैछिन बेडतिर लागेँ, थोरै आराम गर्न।

के म त्यही आकाङ्क्षा हो, जसलाई परिवारले रातदिन चाहिने/नचाहिने आरोप लगाउँदै आएका थिए ? रातदिन श्रीमान्को पिटाइ खाने अनि गालीहरू सहनुपर्ने। त्यसो त मैले आफैँ मन पराएको केटासँग विवाह गरेकी हुँ– अन्तर्जातीय। धन्न मेरा आमा/बाबा, जसले एक शब्द नबोली मेरै इच्छाअनुसार विवाह गरिदिएका थिए।

म पनि घरको इज्जत राख्नुपर्छ भनेर जतिसुकै बाधा/अड्चन आए पनि केही नबोली आफ्नो भाग्य यस्तै रहेछ भनेर चित्त बुझाइरहेकी थिएँ। माइतीमा छउन्जेल माछा/मासु खान्नथेँ तर घरमा सधैँ मासु पकाउनुपर्थ्यो। त्यो पनि ठूलो खसीको। श्रीमान्लाई रक्सी र मासु नभई निदैै्र नलाग्ने। त्यसमाथि अलिकति तल–माथि भयो कि ज्यानै धरापमा पर्ने। श्रीमान्को पिटाइले जिउभरि खाली ठाउँ थिएन, जता हेर्‍यो उतै नीलडाम।

माइतको होस् वा अन्य कुनै कार्यक्रममा, खुसी भएर हाँस्न पनि पाइन्नथ्यो। तैँले त्यहाँ मेरो मुख हेरीहेरी किन हाँसेकी? के मलाई जिस्काएकी भन्ने निहुँ निकाल्थे, पिट्ने बहानाका लागि। कुनै दिन राम्रो लुगा लगायो वा अलिकति टीका/गाजल लगाउन पनि नपाइने। कुटाइका लागि अर्को बहाना बन्थ्यो– किन नक्कल पारिस्? के पोइल जान लागेकी...? कैयौँपटक त यस्तै यस्तै वाहियात बहाना झिकेर घरबाटै निकालिदिएका छन्, त्यो पनि रात/विरात नभनी। कुटाइ पनि यस्तोसम्म कि एकपटक त यही कारण पाँच महिनाको गर्भसमेत खेर गएको थियो।

त्यति धेरै माया गर्ने मानिस अहिले कसरी चेन्ज भयो? आज किन मलाई पाइलैपिच्छे हकार्ने र कुट्ने भयो? जन्मघरको सबै संस्कार छाडेर कर्मघरको संस्कार अँगालैँ। त्यो पनि मात्र प्यारो मान्छे आभाषको खुसीका लागि। तर ऊ दिन/प्रतिदिन कठोर हुँदै पो गयो। ढुङ्गाको बन्दै गयो उसको मन। मैले मन पराएको ऊ। उसले मन पराएको म। मन पराएकोबाटै यस्तो दुव्र्यवहार हुन थालेपछि भनौँ कसलाई? के मलम लगाउँ पीडामा ? कहाँ गएर पोखौँ वेदना? उत्तर थिएनन्। थिए त केवल प्रश्नका चाङ मात्र।

जिन्दगी यसैगरी रातदिन दुःखकै आहालमा बितिरहेको थियो। मसँगै हुर्किएकी मामाकी छोरी आफ्नो सपना पछ्याउँदै पढाइ पूरा गर्दै थिई। मचाहिँ कक्षा ८ पढ्दै गर्दा घर गृहस्थीमा लागेँ। तर जति राम्रो गर्छु भन्दा पनि मेरो केही लागेन। मायाको सागरमा डुबाउने वाचाप्रति उसैले धोका दियो। सायद यो भाग्यको खेल थियो।

खान/लाउन त जसरी पनि बेहोर्थें, यहाँ त शब्दको झटारो अनि हात र खुट्टाको प्रहारले क्षण/क्षणमा, पल/पलमा मारिरह्यो। खुट्टा भाँचिदिनु, चुरोटको ठुटाले पोलिदिनु, गर्मीमा तातो पानी र जाडोमा चिसो पानी जिउमा खन्याइदिनु जस्ता कुकर्म मेरा लागि सामान्य भइसकेका थिए।

बाउको गतिविधिकै कारण छोरी पनि एकदमै डराउने/तर्सिने भएकी छ। एकातर्फ घरमा यस्तो व्यवहार अर्कोतर्फ ऊसँग विवाह गरेकै कारण माइती जान/आउन समेत बन्द छ। एउटी महिलाका लागि योभन्दा विषम परिस्थिति अरू के हुन सक्ला? तर पनि जिउँदै रहन बाध्य छु। कारण–भर्खर १२ कक्षा पास गरेकी छोरी छ।

हाम्रा वेदना जतिसुकै कडा किन नहोऊन्, हाम्रा चित्कार जतिसुकै हृदयविदारक किन नहोऊन्, समयलाई पर्खेर हेर्ने फुर्सद हुँदोरहेनछ। अर्थात् हाम्रा यस्ता पीडादायी क्षणहरूकै बीचबाट समय घर्किरहेको थियो। हन्डर र चोटपटक तथा गालीगलौजले म भने मासुको नभएर फलामको डल्लोमा रूपान्तरण भइसकेकी थिएँ।

शरीरमा थिए त केवल चोटपटकका नीलडाम, ठुटाले पोलिएका खत अनि कतै सुन्निएका त कतै सुकेका। तर पनि आभाषको मप्रतिको ज्यादतीमा कुनै कमी आइरहेको थिएन। उल्टै बढिरहेको थियो, दिन दुगुना रात चौगुनाका दरले।

म भने आभाषले दिएको दुःख भुल्नका लागि विभिन्न उपाय खोज्न लागेँ। यही क्रममा रक्सी, खैनी, लागू पदार्थ मेरा सहयोगी बन्न आए। जे भेट्यो त्यही खान थालेँ। त्यसपछि भने श्रीमान्ले जति दुःख दिँदा पनि महसुस हुन छाड्यो। उठ्नेबित्तिकै एक ग्लास रक्सी नियमित दैनिकी बन्यो। त्यसपछि कति जान्थ्यो, त्यो त आफैँलाई पत्तो हुँदैनथ्यो।

भट्टीमा गएर रक्सी खान सधैँ पैसा कहाँबाट आउँथ्यो र? त्यसपछि नसालु पदार्थ खानकै लागि घरका सामान बेच्न थालेँ। बिहान बिउँझेदेखि राति ननिदाउँदासम्म झुलिरहनु मेरो दिनचर्या बनिसकेको थियो। यस अर्थमा जिउँदो लासको स्वरूपमा यस धर्तीमा ठिङ्ग खडा भएको थुप्रो मात्र भएँ म। यसैबीच आभाष भने मलाई कोठामा ताल्चा लगाइदिएर आफूचाहिँ बाहिरी संसारमा रमाउने भएछ। म घरमा एक्लै हुन थालेँ। छोरी बिहानदेखि बेलुकासम्म पढाइमा व्यस्त हुन्थी। म भने आफ्नो अन्तिम अवस्था नियाल्दै बस्न बाध्य थिएँ।

एक दिन साथीलाई फोन गरेँ। अनि भनेँ– म एक हप्ताभित्र मर्दैछु।

‘चुप लाग्’ भनेर फोन राखिदिई।

अर्काे हप्ता फेरि उसलाई फोन गरेँ– आभाषसँग तलाक लिँदै छु।

उसको जवाफ थियो–हेर आकाङ्क्षा, तिमी अहिले होसमा छैनौ, यस्तो नचाहिने कुरा नगर। मलाई थाहा छ तिमीलाई आभाषले एकदमै दुःख दिइरहेको छ। १० वर्षअगाडि मैले तिमीलाई सुधार केन्द्रमा राख्दा जब तिमीमाथिको अत्याचार थाहा पाएँ, दुई हात जोडेर आभाषलाई छाडिदेऊ भनेकी थिएँ तर तिमीले त्यतिबेला मारे पनि पिटे पनि मलाई आभाष चाहिन्छ भन्यौ। अब छाडेर के गछ्र्याै?

त्यसो भए म भाडामा बस्छु। आफ्नै तरिकाले बाँच्छु। बरु एउटा वकिल छ भने खोजिदेऊ न त।

हेर आकाङ्क्षा, पहिला तिमी आफू बाँच्न सिक। आफूलाई माया गर्न सिक। आफ्नो आत्मसम्मान अरूको अगाडि नखसाल। आफू राम्रो बन्नु भनेको आफ्नो आमा/बुबा र परिवारप्रति पनि सम्मान गर्नु हो। हेर त तिमीले आभाषका लागि के मात्र गरिनौ? आफ्नो माइती, दिदी/बहिनी, साथीसङ्गी सबै तोड्यौ।

एउटा कीराको जीवन बाँच्यौँ। सोच त एकचोटि आकाङ्क्षा, तिम्रो आमा/बाबालाई कस्तो भयो होला? तिम्रो यस्तो अवस्थाबारे अरूबाट थाहा पाएपछि कसरी दिन काटे होलान्? हेर आकाङ्क्षा, आमाको दुःखको मूल्यतिर। माइतीको इज्जत राखिदेऊ। तिमी कसको छोरी हौ, कसको बहिनी हौ भनेर म को हुँ भन्ने प्रश्नको उत्तर देऊ। फेरि एकचोटि म तिमीलाई सुधार गृह लान्छु, तिमी मसँग हिँड अनि एकचोटि आफूलाई फेरि खोज।

अस्तिजस्तै लाग्छ, मेरो साथीले मलाई दिदी सुधार केन्द्रमा ल्याएको। आज म आफ्नो प्रश्नको उत्तर खोज्दाखोज्दै सबैको प्रश्नको उत्तर दिने भएँ। सबैलाई आफूलाई माया गर्न सिकाएँ। आफूलाई माया गरेपछि पो जीवनको जिम्मेवारी थाहा हुँदोरहेछ त। ओहो त्यो भट्टीमा बेहोस भएर भुस्याहा कुकुर र म एउटै भागबाट खाना खाएको...। अहिले यति सम्मान, सयौँ जनाको आशाको प्रतीक। धन्य छ साथी वर्षा तिमीलाई। अहिले म तिमीले दिएका शिक्षाका हरेक शब्द अरूलाई दिइरहेकी छु। आफ्नो आत्मसम्मान खस्कन नदिनू अनि अरूको आत्मसम्मान जोगाउनू।

आकाङ्क्षा दिदी, आकाङ्क्षा दिदी, हामी सबै डाइनिङमा कुरिरहेका छौँ, आउनुस्– एउटा मधुर स्वरले मेरा अतीत स्मरणमा पूर्णविराम लगाइदियो। हतार हतार गर्दै गएँ।

आउ आकाङ्क्षा यता बस, मायालु स्वरकी धनी भृकुटीदिदीले थप्नुभयो– आज जब म तिमीलाई देखिरहेकी छु, तिमी आउँदाको पहिलो दिन सम्झना भइरहेको छ। आउनुभन्दा अगाडि तिम्रो साथी वर्षा तिमीलाई यहाँ राख्न हुन्छ कि हुन्न भनेर हेर्न आउनुभएको थियो। तिमीलाई यहाँ बस्दा केही नहोस् भनेर आफ्नो पूरा परिचय पनि दिनुभएको थियो। त्यो पनि केही नढाँटी।

हामीलाई अचम्म लागेको थियो, यस्तो अवस्थामा मानिसले आफ्नो परिचय लुकाउँछन् तर साथीका लागि यति धेरै त्याग गर्ने मानिस त सायदै होलान्। दुई–चारचोटि हामीलाई फोन पनि गर्नुभएको थियो, तिम्रो अवस्था के छ भनेर। राम्रो छ भनेपछि खुसी भएर फोन राख्नुहुन्थ्यो। हेर आकाङ्क्षा, समाजका यस्ता अनुयायी नै भगवान् हुन्। नत्र भगवान् कसले पो देखेको छ र? त्यसैले सङ्ख्याका सयौँ साथीभन्दा असल एउटै साथी जीवनका लागि काफी हुन्छ। अब मलाई पूरा विश्वास छ कि म नभए पनि दिदी सुधार गृहलाई तिमीले सकुशल अगाडि बढाउन सक्छौ। तिम्रो हरेक सिकाइ र कर्म यस गृहलाई चाहिएको छ।

भृकुटी दिदी ‘म नभए पनि’ भनेर के भन्नुभएको त्यस्तो? समाजमा बाटो बिराएका दिदी/बहिनीलाई हामी सबै मिलेर पथ प्रदर्शकको काम गर्नुपर्छ, त्यसो नभन्नुस् प्लिज— मेरो मुखबाट अनायासै निस्किएछ।

‘हामीलाई दुवै दिदी चाहिन्छ, हामी एउटै परिवार हौँ’– सहभागीको संयुक्त स्वरले माहोलमा सन्नाटा छायो एकछिन।

प्रकाशित: २२ माघ २०७८ ०७:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App