coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अछुत

लघुकथा

दुर्गा वनवासी

सर्वत्र फैलिएको कोरोना कहरमा ऊ पनि अछुतो रहेन। परिवारको मुली, गाउँको मुखिया, ठूलो पहुँच, प्रशस्त रुपियाँ–पैसाको स्वामी ऊ। पहुँच र पैसाकै बलमा अक्सिजन, भेन्टिलेटर लगायत सबै सुविधा समयमै उपलब्ध हुँदाहुँदै पनि नियतिले पक्षपात कहाँ गर्दो रहेछ र? अस्पतालका चिसा भुईंमा अलपत्र र बेस्याहार प्राण छोडेका र आइसियुको भेन्टिलेटरमा गतिलो रेखदेख र उपचारकै क्रममा मरेका सबै शरीरको व्यवस्थापन समान थियो। प्लास्टिकमा बेरिएका मुर्दाहरू ओसारिरहेका शव वाहनहरूले उसको शरीर पनि मसानघाटको भुईंमा लगेर झारिदिए।

–के छ मुखियाजी, कस्तो लाग्दैछ यो बेनामी मृत्यु?

आवाज आएतिर हेरे उनले।

‘ओहो, नरे दमाई पो रहेछ।’ मनमनै सम्झिए, परार एउटा बिहे भोजमा गल्तीले उनको पानीको गिलास छोएको निहुँमा मरणासन्न हुने गरी पिटाएका थिए उनले। दुईचार दिन थलिएर मरेका थिए नरे।

‘यता हेर्नुस् त मुखिया बा, म पनि छु नि!’ दायाँतर्फबाट आएको आवाजतिर फर्किए उनी।

–श्याम सुन्दर?

‘हजुर, चिन्नुभयो नि! पल्लो गाउँका जितबहादुर क्षेत्रीकी छोरी रमासँग प्रेम गरेको निहुँमा ठाडै गोली हान्ने आदेश दिएर मराउनु भा’थ्यो नि मलाई। ‘अछुत’ भएर विष्टकी छोरीसँग प्रेम गर्ने दुस्साहस गरेको भन्नुभा’थ्यो। समयले हजुरलाई पनि बाँकी राखेन नि मुखिया बा! हजुरको त्यत्रो पहुँच, शान, मान र औकात खोई त? जाबो एउटा भाइरसले हजुरलाई त आफ्नै परिवारबाट पो परित्यक्त र सबैबाट उपेक्षित पो बनाएछ त। मान्छे–मान्छेमा विभेदको खाडल खन्ने हजुरजस्ता थुप्रै मुखिया ‘महाअछुत’ भएछन् नि यतिबेला!

निरुत्तर उनले श्यामसुन्दरसँग नजर मिलाउन नसकेर अर्कोतिर हेरे। जता फर्के पनि नरे र श्यामसुन्दरजस्तै उनको अन्यायमा पिल्सिएर मरेका थुप्रै तिखा आँखाले डामिरहे उनलाई र कानमा प्रतिध्वनि गुन्जिरह्यो, ‘अछुत, अछुत, महाअछुत!’

प्रकाशित: १५ माघ २०७८ ०५:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App