१६ चैत्र २०८० शुक्रबार
कला

अमेरिकी सपना र संघर्षको दस्तावेज ‘सपनाको उडान’

पुस्तक

ज्ञानहरि घिमिरे प्रथम औपन्यासिक कृति सपनाको उडान मार्फत नेपाली साहित्यमा उदाएका छन्। लेखकका युवा वयका अनुभूति, प्रवास गमनपश्चात् उनले देखेसुनेका घटना परिदृश्यलाई विषय बनाइएको यस उपन्यासमा वर्तमान नेपाली समाजको मध्यमवर्गीय परिवारलाई आधार बनाइएको छ। सामान्य आयसहितको खान पुग्ने परिवारका किशोरकिशोरीका आकांक्षा, विदेशमोह र मनोविज्ञान यसका विषय हुन्

 वर्तमान नेपालमा विज्ञानप्रविधि विषय लिएर उच्चमाध्यमिक तह पार गर्ने प्रायः किशोरकिशोरी संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र युरोपेली देशहरूमा अध्ययन गर्न जाने अनि उतै बस्ने सपना बुन्छन्। ती पूरा नभए जापान कोरिया जस्ता समृद्ध एसियाली देश गएर पैसा कमाउने सपना पाल्छन्। 

यही सपना नै सपनाको उडानले लिएको केन्द्रीय विषय हो। २०६० को दशकपछि नेपाली समाजमा यो ‘रोग’ ले जरा गाडेको छ। पढ्नु खालि पैसा कमाउनका लागि हो, पैसा भएपछि इज्जत कमाइन्छ, पैसा कमाउन सकेसम्म विकसित पश्चिमी देश नै जानुपर्छ भन्ने युवा मनोविज्ञानलाई तिनका परिवारले पनि साथ दिइरहेका छन्। 

मध्यमवर्गीय परिवारका सदस्य र आफन्त आफ्ना छोराछोरी पश्चिमी देश, तीमध्ये पनि अमेरिकामा भएकामा गौरवान्वित हुन्छन्। भलै तिनले परिवारमा कहिल्यै केही योगदान नगरेका होऊन् वा गएपछि कहिल्यै फर्केर नआएका होऊन्। अमेरिका पढ्न वा कुनै किसिमबाट गएका युवाहरूको अवस्था कस्तो हुन्छ भन्ने कुरा नै यस उपन्यासको केन्द्रीय कथ्य हो।  

एसएलसी वा एसइई पास गरेपछि छोरालाई डाक्टर बनाउने बाबुको सपनालाई तिलाञ्जली दिई क्याम्पस पढ्दा भेटिएकी प्रेमिकाको अमेरिका जाने सपनामा साथ दिंदै अमेरिका पुगेको पवन पात्रको अमेरिकी जीवन वरिपरि यसको कथानक हिंडेको छ। भिसा आवेदनमा प्रेमीको आवेदन स्वीकृत हुनु र प्रेमिकाको अस्वीकृत हुनुले ल्याएको कथानकको मूल समस्यालाई पवन पात्रले नौ वर्ष लगाएर स्थायी समाधानमा पुर्‍याएको छ। 

विद्यालयीय जीवनमा उच्च अंक ल्याई विज्ञान विषय लिएर नेपालमै आकर्षक मानिएका विषय पढ्नेभन्दा अमेरिका गमनले प्राथमिकता पाउने गरेको कथ्य उपन्यासको सुरुमा प्रस्तुत छ। अमेरिका जानुलाई परिवारले प्रतिष्ठाको विषयका रूपमा लिने, भिसा लागेका केटाकेटीलाई भाग्यमानी सोच्ने, त्यहाँ प्रशस्त पैसा कमाइहालिन्छ भन्ने, त्यहाँ केटाकेटी के गरेर बस्छन्, तिनलाई गाह्रो पर्दा कसले मद्दत गर्छ भन्नेभन्दा अमेरिका पुगेपछि सबै ठिक हुन्छ भन्ने सामाजिक मनोविज्ञान पनि यसको कथ्य हो।

अमेरिका पुगेपछि कलेजको शुल्क, डेराभाडा, खाना र घुमफिरका लागि निश्चित समयमा काम गर्न पाउने नियमभित्र रहेर कमाउनुपर्ने बाध्यता, पढाइ नियमित हुनुपर्ने नियमले विद्यार्थी भिसामा पुगेका केटाकेटीको जीवन व्यस्त हुने, उनीहरूको हालखबर सोध्ने मान्छेसम्म नहुँदा भिडमा एक्लिने समस्या आउँछन् भन्ने यसमा देखाइएको छ। पढाइ सकिएपछि त्यहाँको सुखसुविधा छोडेर फर्कन गाह्रो हुने, जाँदा लागेको ऋण तिर्न र केही कमाउन केही समय अझै बस्नुपर्ने तर स्थायी रूपले बस्न ग्रिनकार्ड चाहिने हुँदा समस्या पर्ने गरेको कुरा पनि उपन्यासले उठाएको छ। 

कसैको ग्रीन कार्ड छिटै आइहाल्ने, कसैको बर्सौंसम्म नआउँदा नेपालीले भोग्नुपर्ने सास्तीका कुरा यसमा छन्। वर्तमानमा नेपालीका लागि ग्रीन कार्ड बनाउन सबैभन्दा सजिलो उपाय भुटानी केटा वा केटीसित विवाह गर्ने, कि अमेरिकीसित विवाह गर्ने वा अमेरिकी नागरिक भइसकेकासित विवाह गर्ने रहेकाले धेरै जना तिनै विकल्पतिर लाग्ने गरेको यसले देखाएको छ।

अमेरिकी केटीसित कागजी विवाह गर्दा पनि तिनले माग्ने मोटो रकम लिएर ती सम्पर्कविहीन भइदिने स्थिति समस्या उपन्यासमा आएका छन्। यी कथ्यबाट अमेरिकामा स्थायी बसोवास गर्न नेपालीले भोग्नुपरेका समस्याका विभिन्न पाटालाई देखाउन खोजिएको छ। विद्यार्थी प्रवेशाज्ञामा सजिलै पुगेका मात्र नभई लाखौं रुपियाँ दलाललाई तिरेर जल र स्थलमार्ग हुँदै मेक्सिकोको पर्खाल नाघेर अमेरिका छिर्नेहरूले बाटामा भोगेका दर्दनाक कथा र हैरानीका अनगिन्ती व्यथा पनि यसमा छन्।

 यद्यपि मूल विषय विद्यार्थी भिसामा अमेरिका पुगेका पवन र भिसा नलागेर नेपाल छुटेकी प्रतीक्षाको प्रेककथा भएकाले त्यस्ता कथाले उपन्यासमा कम स्थान पाएका छन्। जल र स्थल हुँदै अमेरिका पुगेकामध्ये केहीको राम्रै व्यवस्थापन भए पनि केहीको कागजी प्रव्रिmया नबन्दा त्यही मानसिक र शारीरिक यातनामा जीवन बिताउनुपरेको यथार्थल यसले प्रस्तुत गरेको छ।  

बलियो कागज नभएकालाई अमेरिकामा पनि साहुले तलब नदिने, दिए पनि भने जति नदिएर श्रमशोषण गर्ने, उजुरीका लागि उनीहरूसित कुनै आधार नहुने जस्ता समस्या आउने रहेछन्। अमेरिका पुगेकालाई साथीभाइले धेरै कमाएको छ भन्ठाने पनि त्यस्ता समस्या पर्दा अमेरिकी जीवन पनि अभिशापै हुने कुरालाई यसमा छर्लङ्ग्याइएको छ। यसबाट अमेरिका पुगेकाका लागि ग्रीन कार्ड कति महत्त्वको विषय हो भन्ने देखाउन खोजिएको छ। ग्रीन कार्ड नहुँदाका समस्या, ग्रीन कार्डका लागि दिएको आवेदन अस्वीकृत हुँदाका पीडा, आफ्नाबाट टाढा हुँदा सोधीखोजी गर्ने केही नहुँदाका निराशा, परिवारका सदस्यको बढ्दो आशा, पारिवारिक असमझदारी आदिका कारण धेरै युवा ‘ड्रग्स’को कुलतमा फस्ने गरेको तितो यथार्थ पनि यहाँ प्रस्तुत छ। 

पवनलाई प्रतिनिधि पात्र बनाएर अमेरिका पुगेका अधिकांश युवाहरू पढाइ र कामको बोझका बिच एक्लोपनले सताउँदा र कानुनी समस्या आउँदा डिप्रेसनको सिकार हुन पुगेको देखाइएको छ। अमेरिका पुगेका सबै खुसी र सुखसाथ बसेका हुँदैनन्। उनीहरू नसोचेका गह्रौं समस्याबाट पिल्सिइरहेका हुन सक्छन् भन्ने यसको कथ्य हो। नकमाईकन खान नपाइने हुनाले सबैको जीवन व्यस्त नै हुने भएकाले त्यस्तो अवस्थामा चिनेजानेकाले पनि उनीहरूलाई भरथेग गर्न नसक्ने कुरा यसमा छ। त्यस्ता अवस्थामा कसैले माया गरिदिए भने कुलतमा फसेकाको जीवनले पुनर्जन्म पाउने तर कसैको सहारा नपाउनेहरूको जीवन नै बर्बाद हुने कुरा पवन, कल्लु र एस्ली मार्पmत देखाइएको छ।

अमेरिका गएका युवाहरूले त्यतै स्थायित्व पाइरहँदा तिनकै कारण प्रेमी वा प्रेमिका, पति वा पत्नी, आमाबुबा र अन्य परिवारजनले नेपालमा कति दुःख पाइरहेका छन् भन्ने कुरा पनि यसको अर्को कथ्य हो। बाबुआमा वृद्ध भएर काम गर्न नसक्ने तर छोराछोरीको सहारा बन्नुपर्नेले अलिलि आर्थिक भरथेग गरेपछि आफ्नो कर्तव्य सकिएको सोच्ने मनोवृत्तितिर पनि उपन्यास संकेतित छ। यसले सामाजिक मनोविज्ञानको अर्को पक्षलाई पनि उठाएको छ।

सपनाको उडान किशोर वय पार गर्दैगर्दाका युवाहरूको प्रेमकथा हो। यस उमेरमा युवायुवती एकार्कासित आकर्षित हुनु, प्रेम गर्नु सामान्य कुरा हो तर उमेरका कारण त्यतिखेर उनीहरूको जीवनमा प्रेमका रंगीन भाका मात्र हुँदैनन्, भविष्यका सपना, परिवारसितको सम्बन्ध र दायित्व पनि जोडिएका हुन्छन्। ती आकांक्षा मेल नखाँदा द्वन्द्व हुनु स्वाभाविकै हो। तिनको व्यवस्थापन गर्दै प्रेमसम्बन्ध अघि बढाउँदा आइपर्ने चुनौतीको दस्तावेज पनि हो यो उपन्यास। प्रेमीप्रेमिकाबिच आकांक्षा र सोचाइ नमिल्दा द्वन्द्व व्यवस्थापन गर्नेले प्रेम सफल पार्न सक्छन् भने नसक्नेको प्रेम दुर्घटित बन्न पुग्छ। द्वन्द्व व्यवस्थापनमा प्रेमीप्रेमिकाले आफ्ना अडानलाई केही खुकुलो बनाउँदै एकार्काप्रति समर्पित हुँदै जानुपर्छ भन्ने कथ्य पनि यस उपन्यासले बोकेको छ।

अमेरिका वा कुनै पनि देशमा केही वर्ष पढ्न वा रोजगारीका लागि जानेले उद्देश्य पूरा भएपछि नेपाल फर्केमा, त्यहाँको शिक्षा र सीप नेपालमै प्रयोग गरेमा अहिलेका धेरै सामाजिक समस्या समाधान हुनेतर्फ पनि उपन्यासले औंल्याएको छ। हरेक व्यक्तिसित समस्या हुने, समस्यासित जुध्न विकल्प रहने, जसले उत्तम विकल्पको छनोट गर्न सक्छ, त्यसैको जित हुने कुरा उपन्यासमा आएका छन्। यसका साथै जतिसुकै अप्ठ्यारा समस्या आए पनि सकारात्मक सोचका साथ धैर्य ग्रहण गर्न सके र पारिवारिक सम्बन्ध कायम गर्न सके समयव्रmममा कतिपय समस्या स्वतः निवारण हुने र कतिपय समस्याको निराकरणका लागि व्यक्तिले आफ्ना अडान छोड्नुपर्ने आदर्शवादी यथार्थलाई पनि यसले कथ्य बनाएको छ। यस उपन्यासको सबल पक्ष नै कथानक हो। कथानकको सबलताले यसमा औपन्यासिक कथ्यको सबलतालाई प्रस्तुत गरेको छ।

निष्कर्षमा सपनाको उडान उपन्यासको केन्द्रीय कथ्य उच्चमाध्यमिक तह पार गर्नेबित्तिकै अमेरिका जाने युवोन्मुख किशोरकिशारीको जीवनको संघर्ष हो। अमेरिकाको भिसा लाग्नेबित्तिकै परिवारको खुसी उचालिने प्रवृत्ति, उता प्रशस्त धन कमाइने सोचाइ, उसलाई भाग्यमानी सोच्ने मनोविज्ञान, अमेरिका बस्ने केटालाई छोरी दिन तँछाडमछाड गर्ने नेपाली समाजको पृष्ठभूमिभित्र अमेरिकामा अधिकांश युवाको जीवन सोचे जस्तो खुसी र सुखमा बित्न नसकेको, उनीहरू एक्लोपन र डिप्रेसनले नशामा फस्ने गरेको जस्ता घटनाका माध्यमबाट विकसित मुलुकमा परदेसिएका युवालाई त्यहाँ चिनेजानेका स्वदेशी र माया गर्ने व्यक्तिको खाँचो पर्ने हुँदा त्यसतर्फ पनि परिवार र साथीहरूले ध्यान दिनुपर्नेतर्फ औंल्याइएको छ। 

पारिवारिक सुख सम्पत्तिभन्दा कैयौं गुणा उत्तम भएकाले खालि धनका पछि लागि पारिवारिक सुखको अन्त्य नगर्न आफ्नो मात्र अडानमा नरही परिवारका अन्य सदस्यको इच्छाको कदर गरी समझदार बन्नुमा खुस र सुख अवस्थित रहेको यस उपन्यासको निष्कर्ष छ। युवाहरूले आफ्ना समस्या, सम्बन्ध र भविष्यको सापेक्षतामा कसरी योजना बनाउने, तिनका परिवारले तिनीहरूका केकस्ता पक्ष सोचिदिनुपर्ने भन्ने कुरा थाहा पाउन सपनाको उडान उपन्यास पढ्नैपर्छ।

अमेरिका जाने सपना बुनेका युवायुवतीका लागि त यो उपन्यास अत्यन्त पठनीय छ। नेपाली साहित्यमा अमेरिकी जीवनका विषयमा यसअघि केही उपन्यास लेखिइसकेका छन्। तर, यस उपन्यासमा युवा वयमा प्रवेश गर्दै गरेको पात्रका अमेरिकी सपना र संघर्षलाई अति सरल भाषाशैलीमा अत्यन्तै सुन्दर र रोचक तरीकाले प्रस्तुत गरिएको छ। सामान्य प्रेमकथाभित्र युगीन सामाजिक समस्यालाई उठान गर्नु यसको सबल पक्ष हो । प्रेममा पटकपटक संकट निम्त्याउँदै सुरक्षित अन्त्य गराइएको यस उपन्यासका उल्लिखित कथ्यका लागि बुनिएको आख्यानका लागि उपन्यास पढ्नैपर्छ। अस्तु

प्रकाशित: १३ माघ २०७८ ०७:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App