अम्बिका खरेल उप्रेती
म हिंडेकै बाटो
तिमीले हिंड्नुपर्छ भने
मैले कुल्चेकै डोबलाई
तिमीले कुल्चिनुपर्छ भने
हामी बिचको असमानता
खै कहाँ रहन्छ र?
बिनापखेटा आकाशमाथि
आफूलाई उडाउन चाहन्छौ
न गन्तव्य छ तिम्रो
न उद्देश्य नै केही छ
बिनाउद्देश्य उड्दैन
कुनै प्राणी आकाशमा
सबैले लक्ष्य निर्धारण गरेरै
भुई छोड्नुपर्छ
नभए त्यो उचाइमा पनि
घृणाका अनगिन्ती पर्खालहरू
अवरोध बनेर
लछार्नेछन्,गिज्याउनेछन्
परिवर्तन केही हुनेछैन
एक पाखुरीका बलले
हुँदैन परिवर्तन कहिल्यै
फलामे छाती बोकेर
गजधम्म बसेकालाई
तिम्रो स्वाभिमानले
केही फरक पार्ने छैन
अहंको दुरी नभाँचेसम्म
सूर्योदयपछि पनि
धमिलिनेछन् दिनहरू
पाखुरीका हड्डी निकाल्दा पनि
हुने छैन केही उन्नति
निरन्तर साधनाले मात्र
उज्ज्वल हुनेछ भविष्य
उदाहरण खोज्छौ भने
मौरीलाई लिन सक्छौउसको निरन्तर परिश्रमले
सधैं त्यो परिभाषित भइरहन्छ
षड्यन्त्रको जाल बुनेर
उच्च ठान्छ चेतनशील प्राणी
अर्काको मिहिनेतमा
बुर्कुर्सी मार्छ सधैं
पहिचान गुमाउँदैछ मान्छे
अस्तित्वको खोजीमा
परिचित हुँदैछ मौरी
सहस्र बगैंचामा
भुनभुनाउँदै
मधुरस पिउँदै
कर्तव्य पथमा सधैं
संघर्षरत छन् मौरी।
प्रकाशित: १२ माघ २०७८ १४:१० बुधबार