८ वैशाख २०८१ शनिबार
कला

राजी

लघुकथा

नारायण कोइराला

धर्तीको अवस्था गम्भीर देखेपछि आकाशमा बादलहरूको मिटिङ सुरु भयो। बादलहरू स्वदेशी नभै  विदेशी भएकाले मिटिङमा चासो अल्ली बढी नै थियो। स्वदेशी बादलले मिटिङमा स्वागत गर्नुपर्ने, त्यस्तो भएन। उल्टै विदेशी बादलले स्वागत गरे। स्वदेशी बादलहरूबाट कुनै प्रतिक्रिया आएन।

एकदम मौन।

विदेशी बादलहरूले  हिम्मत हारेनन्। फेरि विदेशी बादलहरू मिटिङमा बसे। केके सहमति भयो, ती सबै गोप्य राखियो।

एकैछिनपछि पुनः अर्को मिटिङमा विदेशी बादलहरूले स्वदेशीलाई  भिन्दाभिन्दै  प्रश्नहरू गरें। नबोल्ने कारण सोधे। यसपालि पनि असफल। मुन्टो हल्लाए। अनुहार बिगारे स्वदेशीहरू।

फेरि मौनता।

स्वदेशी बादलहरूबारे गहिरो अनुसन्धान गरे। अन्तिम प्रयासका लागि  पुनः मिटिङ बसे।

सबैलाई एकान्तमा लगियो। केही शब्द सुनाइयो। यो सुन्नेबित्तिकै सबैको अनुहार हँसिलो भयो।

विदेशी बादलहरूको मनमा च्वास घोच्यो।

- कस्तो विडम्बना, सेवाका लागि बर्सिन पनि कमिन बाँडेर राजी गराउनुपर्ने?  

प्रकाशित: १२ माघ २०७८ १३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App