८ वैशाख २०८१ शनिबार
कला

जिन्दगीप्रति

कविता

रमेशचन्द्र अधिकारी

जीवनमा

कहिल्यै पनि नचढेको पहाडलाई

जुरुक्कै उचाल्छ मनले कहिलेकाहीं।

बेचैनीहरू बुई चढ्छन्

अनि घोडा दगुराउँछन्

मनको राजमार्गमा।

रेसकोर्सको जगेडा घोडा बनेर

समस्याहरू आइपुग्छन् कबडी खेल्न  

हुतुतुतु...।

बालसुलभ रहरहरूको

अरुणोदय हुन्छ फेरि

हठी रहरहरू

सूर्य निल्न अनि उकेल्न पनि उद्धत भइदिन्छन्।

पानी बोकेर आउनुपर्ने तिर्खा,

गाँसको जोहो गरेरै आउनुपर्ने भोक,

खल्तीको सामथ्र्य साँचेरै आउनुपर्ने मोह,

संकल्प आँखामा राखेर आउनुपर्ने  ईष्र्या,

जीवन हिंड्ने बाटाको नक्सा  

बोकेर आउनुपर्ने भाग्य,

सबैसबै  

खाली हात आउँछन्

अनि देखाएर जान्छन् कालो झन्डा

जिन्दगीलाई।

अनेक सोचहरूका ताँतीहरू

मसाल बोक्छन्  

र घन्काउँछन् मगजमा

अश्लील नाराहरू भाग्यको विरुद्धमा।

दिन छिप्पिंदै जाँदा

यात्रामा निस्केको कलिलो घाम

बूढो  

झनै बूढो हुँदै गए जस्तै

बेचैनीहरू पनि

घामकै बाटामा हिंडेर  

साँझ बनिदेलान्

र फेरि जिन्दगानी

ठीकठाक – ठीकठाक चल्छ होला।

प्रकाशित: १२ माघ २०७८ ०५:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App