८ वैशाख २०८१ शनिबार
कला

अन्धविश्वासको पराकाष्ठा

लघुकथा

अल्पविराम पोखरेली

चेतना मेडम लुड्खु देउराली गाविसको सूर्योदय निमाविमा गत वर्ष मात्र सामाजिक शिक्षा पढाउन नियुक्ति भएकी हुन्। कक्षामा उनी नियमित विषयबाहेक गाउँमा कोढझैं जरा गाडेर बसेको छाउपडी प्रथामा न्यूनीकरण गर्न दृढ संकल्प साथ लागेकी छिन्।

–चेतना मैडम, तपाईंको कारणले विद्यालयमा दिनप्रतिदिन छात्राहरू घट्दै छ र गाउँलेहरूले धम्की पनि दिइरहेका छन्।

हेड सरको कुरा सुनेर चेतना मैडम सनन्न भइन् र भनिन्,‘के भनेर धम्की दिइरहेका छन् सर!’

‘सर,सर–सर, त्यो पार्वता छे नि छ क्लासकी हो त्यो सापले टोकेर मरी। हिजो स्कूल छुटेर घर पुग्दा छाउ भइछ। छाउगोठमा सुतेकी थिई। राति कतिबेला सापले टोकेर मरिछ। कसैले पनि थाहा पाएनन्। त्यो छाउगोठमा सुत्न मानेकै थिइन् रे।’ एउटी छात्राले स्याँस्याँ–फ्याँफ्याँ हुँदै खबर सुनाएर गइन्।

छात्रा गएपछि चेतना मैडमले भनिन्, ‘देख्नुभो सर,फेरि एउटी निर्दोष अबोध किशोरी हाम्रै आँखासामु अन्धविश्वासको सिकार भइन्। तपाई धम्कीको सामु नतमस्तक हुनुहुन्छ। मेरो अभियानमा सहयोग गर्नुको सट्टा हतोत्साहित बनाउन खोज्दै हुनुहुन्छ। मलाई  हदै गरे मार्लान्, त्यति होइन तर म पछि हट्दिनँ सर।’

त्यस दिन पार्वताको शोक बिदा दिइयो।

भोलिपल्ट बिहान विद्यालयमा चेतना मेडम आइपुग्नुअघि गाउँका महिलाहरू चउरमा बसेका थिए। चेतना मैडम आइपुग्नेबित्तिकै एउटी महिलाले भनिन्, ‘ई यही आइमाईले गर्दा हो पार्वता मरेकी। यसले केके पढाउँछे रे। त्यही भएर हाम्रो ईष्टदेवता र कुल देवता रिसाएका हुन्। यस्ती नास्तिक आइमाईलाई यो स्कूलमा राख्न हुन्न।’

सबै महिलाहरूले होमा हो थाप्दै चेतना मैडमलाई घेरे तर चेतना एक सुता पनि पछि हटिनन्। उनलाई राम्ररी थाहा छ सत्कर्मको कोसेली बोकेर यात्रारत बादललाई समस्याको पहाडले बाटो अवरुद्ध तुल्याइरहन्छ तर बादलले यात्रा रोक्दैन ।

प्रकाशित: १२ माघ २०७८ ०४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App