त्रिलोचन ढकाल
‘बा उठ,छिटो उठ!’ बिहानै उठेर भुतुल्ले करायो। ऊ धेरै दिनदेखि भोको थियो। पुसे महिनाको जाडो थियो। थप, लगातारको बादल र कुहिरे वर्षाले हातखुट्टा कठांग्रिएका थिए। परिणामस्वरूप खाना खोज्न जान सकेको थिएन।
पांग्रेले भुतुल्लेको आवाज सुन्यो। टाउको उठायो। अलि पर मान्छेहरूको भिड देखियो। त्यही भिडलाई देखाएर भुतुल्ले चिरियो, ‘हेर त आज त्यहाँ विवाह भोज रहेछ। जाऊँ पेटभरि खाउँला।’
खानेकुराको नाम सुन्दा छाउरीको मुखबाट र्याल बग्नु स्वाभाविक थियो। तैपनि ऊ सतर्क भई,‘हामीलाई निमन्त्रणा छ र? निमन्त्रणा नभएको विवाह भोजमा, पेट जति निचरिए पनि जान ठिक हुँदैन।’
‘भोको पेटका अगाडि कसको के लाग्छ र? हामीले फालिएका सितासिति न खाने हो।’ पांग्रे बोल्यो।
भुतुल्ले अगाडि लाग्यो लड्दै र लडखडाउँदै। उसको पछि पांग्रे। सबन्दा पछाडि छाउरी। भोज बिच भागमा भएजस्तो थियो। वरिपरि मान्छेको पहरा जस्तो पर्खाल थियो। उनीहरू मानिसको टाँगमुनिबाट छिरेर भित्री भागमा पुगे। दृश्य देख्दा तिनै जनालाई पश्चाताप भयो।
त्यहाँ भोज होइन, सिरेटोले कठांग्रिएर प्राणविहीन भएको नथुनीको शरीर थियो।
प्रकाशित: १० माघ २०७८ १६:३६ सोमबार