लक्ष्मीप्रसाद पौडेल
देशमा चुनावको सरगर्मी तीव्र थियो। प्राय दिनहुँ विभिन्न दल विशेषका जुलुस दगुरिरहन्थे।एकजना वृद्ध गाडी मोटर र धुलोसँगै उडिरहेका मान्छे हेरेर आफ्नो बुढ्यौली बिताउँदै थिए।
एउटा युवक नजिकै आएर उनलाई सोध्यो, ‘बाजे तपाईंलाई जुलुसमा जान मन लाग्दैन? मलाई त आमाले जानै दिनुहुन्न?’
उनले युवकको दुखित अनुहार हेर्दै भने, ‘बाबु, तिम्रो उमेरमा हामीले पनि धेरै जुलुस निकाल्यौ। प्रत्येक वर्ष छानीछानी राम्राराम्रा भनेका मान्छे खोजेर जितायौं।’
‘ती राम्रा मान्छे खोई त बाजे? अहिले त सबै फटाहा मात्र छन् भन्नुहुन्छ हाम्री आमा।’ युवकको बढ्दै गएको उत्सुकताले ती वृद्धलाई उनको विगतमा पुर्यायो।
‘वडादेखि केन्द्रसम्म चुनाव नजितिन्जेल सबै आहा कति राम्रा लाग्थें, चुनाव जितेर गएपछि सबैमा खिया लाग्दै जान्थ्यो। भित्रभित्रै सड्थे। अर्को पटक नाक देखाउन नसक्ने हुन्थे।’
वृद्ध रोकिएको मौका छोपेर युवकले सोधी भ्यायो, ‘हजुर पनि वडा अध्यक्षदेखि जिल्लासम्म पुगेको नेता हो अरे! कुन्नि केको आरोपमा कति दिन जेल बस्नुभएको हो अरे, आमाले भन्नुभएको! हो त बाजे?’
‘हो बाबु, माथिको आदेश मान्नै पर्यो, नागरिकतादेखि मूर्तिसम्म ककसले केके कुम्ल्याए। माननीय, मन्त्री, प्रधानमन्त्री अझ अरू पनि शहरमा घर बसाउने भए, विदेशमा धन थुपार्ने भए। म तिनीहरूको झोला बोक्थें। जेल पठाए।’ वृद्धले निरास हुँदै भने। युवकले हालसालै जोशी थरका नेता जेल गएको सम्झ्यो, ‘त्यसो भए ‘मकै खाने भालु चोट पाउने कालु’ उखान साँच्चिकै हो त बाजे?’
वृद्ध सोचमा डुबे। आफ्नो अपराध के थियो गम्न थाले।
नजिकबाट एउटा कालो कुकुर मालिकको पछिपछि पुच्छर हल्लाउँदै गइरहेको थियो।
‘कुकुरले मालिक बदल्न सक्दैन बाजे?’
यसपटक युवकको प्रश्नले वृद्ध झन्झनाए।
प्रकाशित: ९ माघ २०७८ ०५:५८ आइतबार