अनन्त अर्याल
भित्र मन्त्रीको कार्यकक्ष। बाहिर वैटिङ रुम। मानिसहरू मन्त्रीसँगको भेटको व्यग्र पर्खाइमा देखिन्छन्।
पालो पर्खनेहरू हिजोअस्तिदेखिका पनि थिए। भेट्नेहरूको यो भीडले विश्वेश्वरप्रसाद कोइरालाको ‘दोषी चस्मा’ कथाको याद दिलायो। राणाशासनपछि पनि नेपालमा धेरै व्यवस्था फेरिए। सिंहदरबारमा धेरै शासक फेरिए। प्रविधिले पनि धेरै फड्को मार्यो तर मान्छेको काम गराइको तरीकामा कहींकतै परिवर्तन आएन। कर्मचारीका सोच र व्यवहारका त झन् कुरै नगरौं। हिजोका डिठ्ठाहरूको झल्को मेटाउने उहीं बडाहुकुमी पारा।
पालो कुर्नेमध्ये पुरानो फाइल बोकेका एक वृद्ध पनि छन्। अघिअघि पनि त कैयौं पटक धाए होलान्। मन्त्रीलाई भेट्ने निस्कने क्रम चलेकै छ। कसोकसो उनको पालो आयो। कार्यकक्षमा छिरी सोफामा बसे।
मन्त्रीको नजिकै फाइल राख्दै आफ्ना २०२० सालदेखिका फाइल व्यथा सुनाउन थाले। मन्त्रीलाई धैर्यपूर्वक सुनिदिने फुर्सद छैन। प्रधानमन्त्रीको कार्यालयमा बैठक छ रे। तुरुन्तै जानुपर्ने। सचिवलाई मन्त्रीकक्षमा बोलाई आदेश दिइयो, ‘यो फाइल अध्ययन गरी तुरुन्त उहाँको चित्त बुझाउनू!’
मन्त्रीको बैठकतर्फ प्रस्थान भयो। सचिवका समीपमा बूढाले उहीं पुरानो कहानी सुरु गरे। सचिवले पनि नाक र निधार सँगसँगै खुम्च्याउँदै फाइल पल्टाए।
–यस्ता नहुने काम बोकेर हिंड्छौ! उतै मिलाउनु! सचिवले फाइल निष्ठुरी तालमा पर फाली आफ्नो कार्यकक्षमा गए। मिल्किएको फाइल बडो जतनसित उठाई बूढा बाहिर निस्के।
फाइल,भेटघाट, मान्छेका यी भीड अनि कर्मचारीका पारा यी सबै गतिविधि केही दिनदेखि नियालिरहेको म लज्जाबोधले निहुरिएँ।
एक्कासि मुखबाट उच्चारण भएछ, ‘कठै लोकतन्त्र!’
प्रकाशित: ८ माघ २०७८ ०९:५३ शनिबार