७ वैशाख २०८१ शुक्रबार
कला

के अझै ऊ आउँछे?

कथा

विष्णु भण्डारी आचार्य

‘मालती मैले काम गरुन्जेल मेरो छेउमा आएर बसिदेऊ न प्रिय, तिमी छेउमा बसिदिँदा मलाई काम गर्न मजा आउँछ।’

उनीहरूको जोडी त खै के भनौ? उदाहरणीय। साह्रै उदाहरणीय। लैलामजनुजस्तो कि मुनामदनजस्तो।

कि के उपनाम दिऊँ। जति दिए पनि थौरै हुन्छ। शब्दै पुग्दैन।

तिनीहरूको प्रेम देखेर डाहा नगर्ने थोरै हुन्थे होलान्, अनुकरण गर्न खोज्न प्रशस्तै। साँच्चै भनौ त अघिल्लो जन्ममा धेरै तपस्यापछि भगवान् खुसी भएर जुराइदिएको जोडी पो हो  व्यवहार हेर्दा लाग्थ्यो त्यस्तै।

उमाकान्त आफ्नी स्वास्नीलाई छेउमा बोलाउँथे र भन्थे, ‘मालती मैले अलिकति अफिसको काम लिएर आएको छु। मैले काम गरुन्जेल तिमी मेरो छेउमा बसिदेऊ न प्रिय। तिमी छेउमा बसिदिँदा मलाई काम गर्न ज्यादै आनन्द आउँछ।’

उनी थोरै लज्जावती झारझैं बन्थिन्। आँखाको इसाराले बोलाउथे फेरि, ‘आऊ न के प्रिय, आऊ न बस छेउमा।’

मालती छेउमा आएर बसिदिन्थी, उमाकान्त आफ्नो काम गरिरहन्थे, मालतीले खाजा बनाएर ल्याउँथी, दुवैले खान्थे सँगै। कहिले खाजाका बटुका साटिन्थे। साटीसाटी खानुपर्ने। जुठो समेत अमृतसरी हुने। कहिले चियाको कप एउटैले काम चल्थ्यो। पालैपालो खान्थे हाँस्दै र रमाउँदै।

मालती आफ्नो लोग्नेलाई मायालु बोलीले बोलाउँथी, ‘मैले भात पकाउन्जेल भान्सामै आएर बसिदेऊ न प्राण। मेरो छेउमा बसिदिएर गफ गर्दै पकाउन मजा आउँछ। एक्लै बस्नुपर्दा मलाई अति शून्य लाग्छ। खै! तिमीविनाको संसार त म कल्पनै गर्न सक्दिना।’

आँखा चिम्रा पार्दै मालती बोलाउँथी।

‘मलाई चाहिँ तिमीबिना दिन कटाउँला भन्ने छ त?’ मालती लछप्पै देखिन्थी उमाकान्तको प्रेममा। डुबेकी थिई चुर्लुम्मै।  बाँकी थिएन। उमाकान्त पनि उसरी नै डुबेका थिए मालतीको पे्रममा।

देख्नेहरू अड्कल काट्थे, ‘यिनीहरू दुई जोइपोई नभएर भर्खर प्रेममा रमाउँदै गरेका जोडी हुन्। छन् पनि विहे भएर सन्तान हुन्जेलसम्म उस्तै नयाँ, ताजा र रोमान्टिक प्रेम। यस्तो कसको हुन सक्ला?

हरेक बिहानीले ल्याउने ताजा उज्यालो जस्तै थियो दुई  आत्माको मिलन। आत्मिक प्रेम।

बोलीपिच्छे रोमान्स गरिरहनुपर्ने। ठट्टैठट्टा, हाँसो र उमंग। एकैछिन पनि एउटालाई नदेख्दा अर्को छटपटिने। संसारको कुनचाहिं भोगविलास, सुखसयल र धनदौलतले जित्न सक्ला भलै सक्तैन यस्तो प्रेमलाई। धनदौलत, भौतिक सुखसयलविना पनि ढकमक्क फक्रिन सकेको प्रेम आहा! संसारमा सबैको यस्तो होस् त, कोही मानव धनसम्पत्ति, सुखसयल र भोगविलासको पछि दगुर्थे होलान् र! त्यस्तो थियो ती दुईको प्रेम, सामीप्य, उर्वर भूमिमा फस्टाएको बिरुवाझैं।

तिनीहरूको पेट पाल्ने बाटो  सामान्य। स्कुलको सानो जागीर। स्कूलको शिक्षक भनेपछि तल्लै तह माने भयो अरूको तुलनामा आर्थिक हिसाबले  न फाल्टु भत्ता, आवास भत्ता। ती सब शून्य। महिना मरुन्जेल पर्खनै हम्मे पर्ने।

‘यसो टयुसन–स्यूसन पढाउने कोसिस गरे कसो हुन्थ्यो प्रिय? अलिकति भरथेग त हुन्थ्यो होला केही नभए पनि। छोराको खाजा खर्च त टथ्र्यो होला।’ मालतीले आफ्नो लोग्नेसँग नराखेको हैन यो कुरा।

‘अहिले ट्यूसन पढाउने एकएक टिचर निस्क्या छन् शहरमा। कोहीकोही त पेशै त्यही गरेर जीवन पाल्ने छन् त्यसमा पनि आफू परियो नेपालीको टिचर। नेपाली टिचरसंग ट्यूसन पढ्न आउने को हुन्छ र?’

उमाकान्तले आनेकाने गरे। थामथुम पारे। कुरा अन्तै मोडेर पचाउँदै आकाथे। आफ्नी रामप्यारी हृदयले पुजेकी देवीको कुरा कति मात्रै आलटाल गरेर पन्छाऊँ!

कति आघात पुग्ला उनको हृदयमा। केके मात्रै भनेर टारूँ। अब उनले धर नपाउने नै भए। सोचे केही। अहँ, काँ पाउनु? के भनेर खोज्नु खोज्न पनि लाजमर्दो। नेपाली विषय पढाउने आफू, कसरी ट्यूसन पढाउँछु भन्नु। त्यसबारे मुख बाउनै लाज लाग्छ। भन्नै सकेनन्।

‘नेपालीको के महत्त्व? आजकल हरेक कुरा अंग्रेजीमै चल्छ। नेपालीहरूले नेपाली भाषै बिर्सने बेला भैसक्यो। मान्छेहरू अंग्रेजीमै बोल्ने, खाने, हिड्ने, अंग्रेजीमै सबथोक। अंग्रेजीबिना सास फेर्न, पाइला चाल्न समेत नसकिने भैसको। हुँदाहुँदा अब त अक्षरै नचिन्ने निरक्षरले समेत आधा अंग्रेजी मिसाएर बोल्न थालिसके। अंग्रेजी बोल्दा आफूलाई टाठोबाठो सम्झिन्छन् मान्छेहरू। नेपाली भाषा अब त जँड्याहाले प्रयोग गर्ने शब्द ककटेलझै भैसक्यो। कुन नेपाली कुन अरू छुट्याउनै गाह्रो। यही क्रम बढ्दै गए केहीपछि त नेपाली शब्द प्रयोग गर्न नेपाली शब्दकोश पल्टाउनुपर्ने हुनेछ। नेपाली शब्दहरू शब्दकोशमै मात्र सीमित नरहला भन्न सकिन्न।’

उमाकान्तलाई अप्ठेरो महसुस भैसक्यो। ट्युसन नपढाऊँ त आफ्नी रामप्यारीको अनुरोध नकारेजस्तो हुने। पढाऊँ त खोई कसलाई? को आउँछ नेपाली पढ्न?

एकपटक उनले आफ्ना एकजना हितैषी मित्रसँग लर्कासर्कामा कुरा गरेकाथे।े संकोच्याउँदै भनेकाथे, ‘मलाई पनि ट्यूसन पढाउन खुब रहर लाग्छ। तर, आफू परियो नेपालीको टिचर।’

नभन्दै मित्रले कुरा बुझेछन् क्यार। एकदिन उमाकान्तसँग आएर भने, ‘उमाकान्तजी, तपाई ट्यूसन पढाउने रहर गर्नुहुन्थ्यो। एकजना कपडा पसलेकी छोरी पढ्छिन् अरे। विचरी, बोर्डिङ टु बोर्डिङ पढेकी हुन्। नेपालीमा निकै कमजोर रछिन् क्यार। अरू विषयमा राम्रो नम्बर ल्याएर पास गर्छिन रे। नेपालीमा चाहिं पासमार्क नै आउन पनि मुस्किल हुन्छ भनेर साहुजीले नेपाली ट्यूसन पढाउन भेटेदेखि ट्यूसन हालिदिन्थे छोरीलाई भनेकाले मैले तपाईलाई सम्झें।’

‘साहुजी परे, दिन्छन् महिनाको एक हजार त।’

‘मैले कुरा गरिदिएको छु। भोलि बिहानदेखि आउलिन् तिनी।’  

उमाकान्तलाई लाग्यो –एकजना मात्रै....?

‘नपढाउनु पढाउनु परेपछि दुईचार जना अरू पनि भा हुन्थ्यो।’

ठिकै छ त, त्यही पनि। नभेट्नुभन्दा त एकजना नै पढाउन पाए पनि सन्तोष नै मान्नुप¥यो। यति भा पनि आफ्नी मालतीलाई खुसी थप्न पाइने भो। आनेकाने गर्ने, केके भनेर टार्नुपर्ने अवस्था त आउँदैन।

उमाकान्तले आजदेखि ट्यूसन पढाउन थाल्छु भनेकाले मालतीको मन फुरुङ्ङ भो। कल्पना गरी, ‘आहा, यो पैसाले छोराको दैनिक खाजा खर्च आधाउधि त टर्छ केही नभए पनि। कल्पनाको सुन्दर डोरी बाटी।

श्रेया ट्यूसन पढ्न आई बिहान आठ बजेतिर।

उसको फेसन एकदम आधुनिक छ। टाइट जिन्स पाइन्टमाथि स्लिभलेस भेष लगाएकी, अगाडिको बुलबुले छोटो कपालले निधार आधि छोपिएको, बाँकी आधा कपाल पछाडि छाडेकी। केके लगाकी हो केके, चम्किलो र आकर्षक कपाल, छुँदै खुन चुहुलान् जस्ता राताराता गाला, आँखाको कोषमा गाजल लाएर होला ठूलाठूला चम्किला देखिने, तेजस्वी मुहार, बोलीमा स्टायल छ, बंग्याएर बोल्छे।

ऊ अत्तरको बास्ना हरर पार्दे आई। सरासर।

हेर्दै भने उमाकान्तले,‘ए नानी, तिमी नै हौ ट्यूसन पढ्न आकी?’

–हजुर हो त! ओ तपाई नै हो उमाकान्त सर?

उसको बोली गैरनेपाली जस्तो लाग्थ्यो?

–हो त, ल बस भित्र।

–ओके कता बसौं?’ आँखाको इसाराले बस्ने ठाउँ कता प्रश्न गरी। कस्तो शिष्टताविनाकी केटी, नमस्कार समेत भनिन। उमाकान्तले गमे आफैं  मनमा।

श्रेयालाई भित्र बस्न भने। देखाए बस्ने ठाउँतिर इसारा गर्दै हातले। उसले आफ्नो आँखाको आधाभाग छोपिएको कपाल टाउको झड्काएर मिलाई, कपाल पञ्छियो। ऊ बसी। नेपाली किताब निकाली।

पढाउन शुरू गर्नुपर्‍यो। सोचे, ‘कहाँबाट शुरू गरूँ?’

सोच्दै भने श्रेयालाई, ‘ल तिमीलाई के आउँदैन भन।’

उसले सोचेझैं गरी एकछिन। मुख बंग्याउदै भनी, ‘अँ ग्रामर र अरू पनि आउँदैन।’

‘ग्रामर हैन नानी, व्याकरण भन न। ग्रामर त अंग्रेजीमा पो भनिन्छ त’ उमाकान्तले थोरै हाँस्दै भने।

‘अनि अरू केके आउँदैन?’

‘अँ त्यो के भन्छ, कोइसन, यान्सर, एस से, समथिङ त्यस्तैत्यस्तै।

‘फेरि अंग्रेजी?’ उमाकान्तले फिस्स हाँस्दै  दिक्दारीको भाका निकाले।

‘ओच सरी सर!’ उसले दाहिने  हत्केलो चेप्टो पारेर निधारमा छुवाई।

‘कोइसन यान्सर हैन प्रश्न–उत्तर अनि एससे हैन निबन्ध।’

‘यासयास सर, त्यही भन्न खोजेको मैले त!’

‘लौ सकिएन।’ लेग्रो ताने उमाकान्तले र सोचे। मनमनै धिक्कारे अंग्रेजीलाई, ‘हे अंग्रेजी तैंले बिगारिस् नेपाली जिब्रालाई। तैले संसारलाई पेलेर आफ्नो पारामा लाने भइस्, धर्म तेरै, भाषा तेरै र लवाई पनि तेरै। हरेक कुरा तेरै। तेरो कारण मान्छेले आफ्नोपन, संस्कार जस्तै धेरै कुरा बिर्सिसके। तैले नगर्ने बद्मास गरिस्। कसरी सुधारौं नेपाली जिब्रालाई।’

उमाकान्तले फेरि हाँस्दै भने, ‘नेपाली विषयमा त नेपाली नै शब्द प्रयोग गर्नुपर्छ है नानी नत्र यस्तै हो भने नेपाली सिकिंदैन।’

–सरी सर, आई याम मिस्टक, आइ विल ट्राई। उमाकान्तको हाँसो अहिले झन् चर्कियो। जोडसँग हाँसे।

मालती भान्साकोठामा भात पकाइरहेकी थिई। अघि नै एकचोटि हेरेर गकी, उमाकान्त हाँसेको सुनेर फेरि आई हेर्न। हेरी शंकालु आँखाले। सोची, ‘आफ्नो लोग्ने म भात पकाउँदा मछेउ आएर बस्थ्यो। कति मिठामिठा गफ हुन्थे हामी बीच। आज त ऊ यसरी त्यो तरुनीसँग, उसका अगाडि हाँस्दै छ। म नभए एकछिन पनि कहीं नअड्ने मान्छे। यो तरुनीको अगाडि दुई घण्टा भो बसेको।  

 ईर्ष्यामिश्रित नजर फाली उनीहरूतिर तर केही बोलिन। दुख्यो कताकता मालतीलाई भित्र सोला हान्यो चसक्क।

उमाकान्त यसअघि कुनै आइमाई होस् या तरुनी कसैको  अगाडि यसरी बोलेको सुनेकी थिइन् मालतीले। अब अहिले आएर दुई घण्टासम्म त्यही केटीसँग हाँस्छ र बोल्छ।

‘हेर न, तिनेरको बसाइको दूरी एक मिटर पनि छैन।’ मालतीको मनमा जलन भो अझ धेरै।

ट्यूसन पढाइसकेर अफिस तयार भए, जानुपरो पढाउन कलेज।

श्रेया उसरी नै ट्यूसन पढ्न आउँथी। जान्थी पढेर। उसका पहिरन दिनका दिन फेरिइरहन्थे।

श्रेयाले यो चोटि त झन् खैरो रङको पातलो भेट लगाकी, पातलो भएकाले होला भित्रका आकारप्रकार स्पष्ट देखिन्थे। कम्मरमुनि चाहिँ घुँडाभन्दा माथिमाथिसम्मको कालो टाइट मेडी लगाकी खुट्टा पिँडुला सेतासेता टल्केला। मालतीले भान्साकोठाको ढोका छेउबाट चिहाई। देखी, श्रेयाको त्यो रूप र पहिरन।

उनको मनमा हुण्डरी ल्याइदियो। ‘हेर न, कस्तो भअर आकी। तेल्लाई ट्यूसन पढ्न आउँदा पनि खुब काहीं नभएको फेसन देखाउनुपर्ने। त्यो बसेकी छे त्यस्ती, अगाडि आफ्नो लोग्ने बसेको छ। त्यस तरुनीको तुलनामा म कति कमजोर छु। तेस्का तेस्ता छुँदै खुन चुहुलान् जस्ता झरिला अनुहार।

मेरोचाहिँ रस निकालेर फालेको निबुवाजस्तो, फोस्रिएर धर्काधर्का परेको अनुहार। त्यसको कपालसँग दाँजी आफ्नो। कहाँ त्यसको त्यो सलक्क परेको चिल्लो न चिल्लो सलसलाउँदो, कहाँ आफ्नो भने डढेलाले भेटेको जंगलको खरुकी जस्तो। पछाडि लगेर एउटा लावरले टुपुक्क बाँधेकी छु।

कहाँ त्यो अंग्रेजी बोल्ने अंग्रेजी स्कूल पढेकी, कहाँ आफू गाउँको स्कूलाँ नौ पढेर छोडेकी। नेपाली अक्षर कनिकुथी पढ्न समेत मुस्किल पर्ने।

मालतीको जलन झन्–झन् बढ्न थाल्यो। भित्रभित्र डाह हुन थाल्यो। पोल्न थाल्यो पूरै शरीर।

श्रेया दिनका दिन आइरहन्छे, उमाकान्तको अगाडि बस्छे, कुरा गर्छे, बोल्छे स्टायल पारिपारि। मुख बंग्याईबंग्याई, दुई घण्टासम्म बसेर जान्छे, त्यो रूप देखाएर।

मालती पटक्कै खान रुचाउन छोडी। कति कर गर्दा पनि खाएझैं गर्छे, त्यत्तिकै छाड्छे, निद्रा पनि पर्दैन उस्तो। कहिले आधारातमा बिउँझन्छे। शरीर कमजोर हुन थाल्यो। कमजोर भएपछि रोगले पनि ठाउँ पायो। कति मात्रै अस्पताल, उपचार, ओखतमूलो गर्नु। पैसा जुटाउने कसरी? उमाकान्तलाई अत्यास लाग्न थाल्यो।

अघि उति सारो विरामी नहुने मालती, अब त हप्तैपिच्छे जस्तो विरामी पर्न  थाली।  

मालती औषधि खाँदैओर्दै पनि भात पकाउँछे। लोग्नेले अफिस जानुपर्छ, छोरालाई स्कूल पढ्न पठाउनै परो। नसकेर पनि त भएन। पकाउनै परिगो।

ऊ भात पकाउदै गर्दा कल्पना गर्छे, ‘अब यो कोठामा त्यो श्रेया हुनेछे। यी मैले चलाउने गरेको मालतालमा उसको अधिकार हुनेछ। उमाकान्तसँग मिठामिठा गफ गर्दै यहीं भान्साकोठामा भात खानेछे। त्यही पनि यिनै थाल र बटुकामा।’  

उमाकान्तसँग खाजाका बटुका साटीसाटी खानेछे। एउटै कपमा तिनीहरूले चिया खानेछन् अनि ओछ्यानमा मेरो ठाउँमा ऊ ....।’

यस्ता नमिठा कल्पना गर्दागर्दै ऊ एक्कासि ढली र  मुर्छा परी। थाहा पाउँदा ऊ। अस्पतालको बेडमा छे। अघिल्लोचोटि नै सबै अंगको भिडियो एक्सरे भइसक्या हो। डाक्टरले ब्लड क्यान्सर लेखिदियो। रिपोर्ट हे¥यो केही देखिँदैन। केही विराम देखा नपरेपछि ग्यास्टिकको औषधि लेखिदियो। पठायो।

मालती पहिलाकी त्यस्ती फरासिली जहिले पनि हँस्सीमजाक गरिरहनुपर्ने उसलाई। ठट्टा गरिरहनुपर्ने। अब त उसका ओठमा मुस्कान हराउन थाले। अनुहार चेहरा फिक्का हुँदै जान थाल्यो। त्यति बोल्दिन। हँस्सीमजाक र ठट्टा त परैको कुरा। सोधेको कुरा समेत भन्न अल्छी गर्छे। उराठिलो अनुहार परिरहन्छे, सुक्खा मरुभूमिझैं। आफ्नो छेउमा आउन पनि त्यति मन गर्दिन। टाढिन्छे, लोग्नेको परपर बस्न रुचाउँछे।

साटिन छोडे अब खाजाका बटुका अनि भिन्नाभिन्नै हुन थाले चियाका कप पनि। प्रेमको सुन्दर फूलबारीमा खडेरीको संकेत देखापर्न थाल्यो।

उमाकान्तलाई नरमाइलो लाग्न थाल्यो अब।

उमाकान्तले मायालु बोलीले बोलाए एकचोटि ‘मालती, प्रिय मालती।’

परैबाट बोली ऊ, ‘किन बोलाउनुभएको?’ विरक्तिदो भावको बोली निस्कियो उसको मुखबाट।

‘तिमी यहाँ आएर मछेउ बसिदेऊ न। म मेरो काम गर्छु।’

उही विरक्तिएको स्वर ‘भ्याउँदिन, कोठा साफ गर्दैछु।’

‘अहिले एकछिनमा गर्नु नि के, आऊ न।’

‘भ्याउँदिन काम धेरै छ।’ यति भनेर पन्छिन खोजी।

‘आऊ न आऊ’ कर गरेर बोलाए अझै।

मालतीले पुक्लुक्क हेरी उमाकान्तपट्टि फेरि दृष्टि पन्छाई अन्यत्रै। आफ्नै सुरमा काममै अलमलिइरही। चासो देखाइन लोग्नेछेउमा आउन।

विरक्तलाग्दा दिनहरू बित्न थाले। भित्र घाम लाग्न छोड्यो। प्रेमको फूलबारी उजाडिन थाल्यो। फूलका रंग फिक्काफिक्का हुन थाले। प्रेमविनाको सुक्खा मरुभूमिझै दैनिकी हुँदै गयो।

हुन छाडे प्रेमपूर्ण बाचचित, करकापको बोलीले काम चल्न थाल्यो। ओछ्यान उस्तै विरसिलो। एउटै छ ओछ्यान तर गफ निस्किन छोडे, जोइपोईसँगै सुतेका छन् तर एक अर्काको शरीर छोइएलाझै गरी। ओछ्यानको ओल्लोछेउ पल्लोछेउ।

अति भो, मन बहकिन थाल्यो कताकता। हावामै बतासिन थाल्यो मन। कुनै कुराको सीमा हुँदो रहेछ। सीमा नाघेपछि ...।

‘के भयो, कुन तत्त्वले फाटो ल्याइदियो हाम्रो प्रेममा! कुन चिज बाधक बनेर आइदियो?’ उमाकान्तलाई अन्योल भो।

‘अलिक वर आऊ न प्रिय, किन त्यत्ति पर सुतेकी?’

ओछ्यानको डिलमा अर्कोतिर फर्केर सुतेकी मालतीलाई उमाकान्तले बोलाए।

ऊ डगमगाइन। उही प्रकारमा उसरी नै सुतिरही। उमाकान्त आफैं सरेर नजिकै गए।

–तिमी किन रिसाएकी जस्ती छ्यौ प्रिय, के भयो?

किन यसरी विरक्तिएकी? मबाट के भुल भयो? भन न, म केही पनि बुझ्न सकिरहेको छुइन। भन।’

उमाकान्तले धेरैचोटि सोधेपछि मालतीको मुखबाट उसरी नै विरक्तिएको आवाज निक्ल्यो, ‘को रिसाएको छ र! छैन.... रिसाएको?’

‘अनि किन त त्यस्तो व्यवहार देखाइरहन्छेउ ? मबाट कुनै विलम्ब हुन गएको भए ,मौका देऊ मलाई। के हो तेस्तो?’

उमाकान्तले सम्झने हर प्रयार गरे। घडीको काँटाझैं आफ्नो मनको काँटा घुमाए। आफूले उनको हृदयमा चोट पुग्ने कुनै काम गरियो कि।

–अन्जानमा केही भनियो त?

जति सम्झिन प्रयास गरे पनि असफल भए ऊ। यादमा आएन त्यस्तो कुनै कुरा।  

कति मात्रै फकाउनु, केके मात्रै भनेर अनुरोध गर्नु, बोली नै निस्केन मालतीको मुखबाट।

धेरैबेरसम्म बाटो हेरे। उमाकान्त आजित भए।

निकैबेरको प्रतीक्षापछि बल्ल बोली निस्क्यो मालतीको मुखबाट, ‘के अझै ऊ आउँछे त?’

प्रकाशित: ८ माघ २०७८ ०९:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App