coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

जीवनमा व्यापार कि व्यापारमा जीवन?

न्यायोपार्जितं वित्तं दस वर्षाणि तिष्ठति।

प्राप्ते चैकादशेवर्षे समूलं तद् विनश्यति।।

शास्त्रले त भन्छ– गलत तरिका र अन्याय गरेर कमाएको धन १० वर्ष सञ्चित होला, ११औं वर्षमा मूलधनसहित नष्ट हुन सक्छ। यहाँ सम्पत्ति मात्र मूल धन नभएर जीवन हो मूल धन। अलिकति संवेदनशील बनेर सोचौं ! सामान्य अर्थमा बुझ्दा हिजोको असहज जीवनशैलीलाई सहज र सरल बनाउनु परिवर्तन र विकासको मापन मानिन्छ।

आज प्रत्येक व्यक्तिले आर्जन गरेको भौतिक सम्पदाले ऊ स्वयं र आफ्नो परिवारलाई समृद्ध, सुखी र आधुनिक जीवनशैलीमा राख्न चाहन्छ। यसकै लागि अनेक संघर्ष र अनुसन्धान अनि प्रविधिको प्रयोगले आज वास्तवमै मानिसको जीवनशैलीस्तर कहाँबाट कहाँ पुगिसक्यो जस्तो भान हुन्छ।

यति गर्दा पनि मानिस सन्तुष्ट छैन, पूर्णता महसुस गर्दैन किन? हुन त पूर्णता महसुस भयो भने विकासको क्रम रोकिन्छ भन्ने मान्यता पनि छ। अति स्वस्थ जीवनशैली भएको व्यक्ति उमेरको सय वर्ष हाराहारीभन्दा कति आयु जीवन पाउला र त्यो मनन गर्ने हो भने कहिलेसम्म असन्तुष्टि र संघर्ष अनि कहिले शान्ति र आनन्दको जीवन बाँच्ने सहज बोध गर्न सक्ला।

केही महिनाअगाडि मेरा मित्र अमेरिकाबाट आएका थिए। सोधेँ– जीवन कसरी चलिरहेको छ त? नेपाल कहिले फर्कने? हाम्रो संवाद यस्तै हुन्छ। उनले लामो सास फेर्दै भने–खोई नेपाल त के फर्कौंला र अहिले नै। कोरोना कहरमा व्यापारले झन्डै डुबायो, तनावमा बितिरहेको छ जीवन, जता हेर्‍यो त्यतै असन्तोष छ।

मैले सान्त्वना दिने कोसिस गरें– कोरोनाले त तपाईंको व्यवसाय मात्र कहाँ हो र विश्व नै आर्थिक मन्दीमा जालाजस्तो छ। धेरै अर्थशास्त्रीय व्याख्या गर्न खोजेको त होइन, तर प्रसंगवश निस्क्यो। कफी गफकै बीचमा कुरा निस्क्यो–अहिले भने मैले नेपालमा २३ करोडको जग्गा लिएको छु। घर, घडेरी अनि फार्म हाउस बनाउन मिल्ने किसिमको छ। मलाई सुझाव दिनुस् है। उतैको व्यवसायका लागि निकालेको ऋण थियो यता प्रयोग गरें।

ए भइहाल्छ नि, जानेको सल्लाह सुझाव दिउँला। उनी कफीको चुस्की लिँदै मनमनै व्यापारकै हिसाब गर्दै थिएँ। मैले यसो अनुहारमा हेरें, आधाजस्तो जीवन गइसकेको छ।

संघर्ष र मिहिनेतले जति आर्जन गरेका छन् अबको समय त्यसलाई उपभोग गर्नमा लागे त जीवनमा आनन्द र सन्तोष मिल्थ्यो होला।यो सञ्चयमाथि सञ्चय अनि फेरि घाटा? मैले मनमनै आफैंलाई सम्झाएँ– यो जीवन नाफाकै त हो।

सायद व्यापारमा प्रत्येक वर्ष सोचेजति नाफा नहुनुलाई घाटा भनिन्छ क्यारे। अहिलेसम्म जे मिलेको छ त्यो व्यापारमा हिसाब नहुने रहेछ कि ? सोच थियो यो वर्ष यति नाफा होला, घाटा नै भएको त छैन, थप नाफा भएन, सोचेजति नाफा छैन। ओहो ! यही सोचले त जीवन घाटामै आर्यघाट पुगिने देखियो। जीवनप्रति अहोभाव कति नाफा कमाएपछि आउला त? जीवनको सहजताका लागि पुरुषार्थको एउटा माध्यम व्यापार हो या जीवन नै व्यापार? सोचनीय भएँ।

नागरिकको आवाज बतासझैं उड्ने?

निजी कम्पनी र व्यापारिक घरानाको व्यापार व्यवसायले राष्ट्रिय सम्पदा र धरोहर समेत नभन्ने स्थिति देशमा। राजनीतिक नेतृत्वले सानो स्वार्थमा, आफ्नो र आफ्ना परिवारको स्वार्थपूर्तिमा राष्ट्रिय सम्पत्तिको हिनामिना गर्न पछि नपर्ने स्वभाव र चरित्र देख्दा लाग्छ जीवनको लक्ष्य के ठानेका होलान्?

अवश्यमेव राष्ट्रको आर्थिक उन्नतिमा, नागरिकको जीवनशैली स्तरोन्नतिमा निजी क्षेत्रको संलग्नता, व्यापार, व्यवसाय, आर्थिक विकासका सबै माध्यम आवश्यक छन्। तर राष्ट्रिय र सार्वजनिक सम्पत्तिको प्रयोजन व्यक्तिगत फाइदा र पहुँच पुगेकाले मात्र गर्न पाउने स्वार्थपूर्ण व्यापारिक रणनीति कसैको हितमा हुँदैन।

कहिले ओम्नी, कहिले बतास, कहिले के समूह, समाचार आउँछन्, नागरिकलाई उत्तेजना बनाउँछन् र फेरि घटना साम्य हुन्छन्। के यस्तैमा नागरिकका आवाज बतासमै उड्ने र व्यापारिक कम्पनीले जरा गाडेर बस्ने हो? आजको कमजोरीले भोलिका सन्ततिलाई के राष्ट्रिय अस्तित्व बाँकी रहला? हिजो हाम्रा पुर्खाले राखेको अस्तित्व र फल आज हामीले खाएका छैनौँ? प्रेम, सोच,करुणा र दूरदर्शिता कहिले विकसित हुन्छ? उन्नति र प्रगति गर्नु छ त स्वयंको पौरखमा किन नगर्ने ? किन राजनीतिक आड र पहुँचको भरमा सार्वजनिक सम्पदाको दोहन गर्ने ? हो, राज्य, सरकार र व्यापारीबीच समन्वय आवश्यक छ राष्ट्रकै विकासका लागि तर त्यसमा नैतिकता, इमानदारिता र पारदर्शिताको लगानी पहिलो प्राथमिकता र मापन हुनुपर्दछ।

समृद्धिको सोच सही, तरिका गलत

जीवन जिउने कला अवश्य चाहिन्छ। सुख, दुःख, अनुकूल, प्रतिकूल सबैको समता अर्थात् सन्तुलन कायम गर्न जान्ने कला विकास नहुँदासम्म इमानदारीको जीवन बाँच्न सकिन्न। आफू सफल बन्नुको तात्पर्य अरूलाई पछि पार्नु र शोषण गर्नु पनि होइन। स्वभाव, चरित्र र सोचले वर्तमानलाई कसरी प्रेरित गरेको छ र के सिकाइ दिएको छ त्यो महत्त्वपूर्ण छ।

भविष्यको फाइदाका लागि वर्तमानको आदर्श, शील र मानवीयतालाई चुनौती दिने कर्मले जीवनको उत्तराद्र्धमा पक्कै पश्चातापमा लैजान्छ। विकास, सफलता र आर्जनको तरिका अपनाउनु ठीक छ, माध्यम गलत भयो भने परिणाम गलत आउनेमा ख्याल गर्नु जरुरी हुन्छ।

चाहेको समृद्धि तर तरिका र स्रोतको प्रयोग गलत, चाहेको सुखी जीवन तर तरिका उल्टो दुःखी बनाउने। यस्तै सोच्न र दूरदर्शी हुन् नसक्नुका परिणाम नै नेतृत्व वर्गदेखि लिएर जिम्मेवार व्यक्तित्वले आफूले धोका कम खाएका छन् र नागरिकलाई धोका धेरै दिएका छन्।

सत्य तितो लाग्छ तर सुध्रिन हतार भइसकेको छ। आफ्नो जीवनकाल र योगदानको समय कति छ कसलाई थाहा? कुन श्वास अन्तिम हुने हो निश्चित नहुँदा पनि अराजकता र अनैतिकतामा अजम्बरी हुने स्वभाव प्रदर्शनले केवल पश्चाताप दिनेछ। गरेको छ, कमाएको छ, खाएको छ,मोज गरेको छ-यी सब बाहिरी सतहबाट देखिने कुरा हुन्। भित्रबाट शान्त र आनन्द छ कि छैन त्यो स्वयंले मात्र बोध गर्न सक्छ। महान् सोचले नै महान कार्य,महान व्यक्तिसँगको संगत र महान् उद्देश्य सिर्जना गर्दछ।

जीवनको चित्र सजाउन खोज्ने तर चरित्रबारे ख्याल नहुने आचरणले गरेको उन्नति र प्रगति पनि सही मार्गमा नभएको प्रतीत हुन पुग्छ। जीवनका बहुआयाम परिवार, प्रेम, स्वास्थ्य, सोच, शील, मानवीयता, इमानदारिता सबै सन्तुलनमा रहे मात्र समृद्धिको सुगन्ध फैलिन्छ।

खालि स्वार्थी सोचले क्षणिक सुख त महसुस गराउला तर जीवनभरका लागि पश्चाताप पनि बन्न सक्छ। जीवन व्यापार होइन, जीवनमा रोजीरोटी र सहजताका लागि अनि पुरुषार्थको माध्यम व्यापार हो। जीवन त खालि उमंग, स्वतन्त्र, प्रफुल्लित र स्वबोधको अनुभूति हो।

प्रकाशित: ८ माघ २०७८ ०६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App