मिसु श्रेष्ठ
आफ्नै रहरले विदेश पठाएकी हुन् पतिलाई। राम्रो कमाइ, इमानदार दम्पती परेकाले सम्पत्ति पनि सोचे अनुसार नै जोहो भयो। दुवै खुसी नै थिए। पतिले पठाएका र आफूलाई मनपरेको कपडा दराजभरि थिए। सोहीअनुरूप जुत्ता र श्रृंगारका साधनको सेट पनि।
छोराछोरीलाई अनुशासित र मितव्ययी बनाएकी थिइन्। सासूससुरा पनि खुसी नै थिए।
श्रीमान् आइपुगेको दिन लगाएर बस्न पठाएको साडी र जुत्ता हेरिन्।
–यत्रा वर्ष भइसके। खै कहिले लाउनु यी कपडा?
बल्ल पति फर्कने समय हुन्छ। घरिघरिको महामारीको असरले फेरि रोकिन्छ ...!’ खुइय्य सास फेरिन्।
धेरै पल्ट लगाउन मन लागेको हो तर पतिलाई दिएको वचन।
–किनकिन आज यो कपडा नलगाई नछाडुँ लाग्यो।
एउटा जुक्ति फुर्यो।
बुढालाई तुरुन्त भिडियो कल गरिन्, ‘बुढा, दिनभर घर बस्दा छटपटी लाग्छ। कहिले आउने टुंगो छैन। यो साडी लगाएर देखाउँछु ल?’
‘भैहाल्छ नि यति कुरा पनि सोध्नुपर्छ र?’ पति तुरुन्त सहमत बोले।
हाँस्दै भनिन्, ‘वचन नहारूँ भनेर हो नि।’
पतिले फुर्क्याउँदै भने, ‘केही हुँदैन। तिमी न आफू हार्छ्यौ न मलाई हराउँछ्यौ। तिमीप्रति गर्व छ मेरो।’
श्रीमती फुरुङ्ङ परी। साडी लगाउने तयारीमा जुत्ता लगाई तर जुत्ता प्याट्ट फाट्यो।
‘ला प्रयोग नै नभएको महँगो जुत्ता फाट्यो।’ विस्मित भइन्।
–हेर्दा जति नै सुन्दर भए पनि साडी पनि मक्किइसकेको होला। भो अब लाउँदिन।
‘मक्के के भो र? अर्को झन् राम्रो ल्याइदिउँला नि!’ पतिको सान्त्वना थियो।
‘बुढा, जुत्ता र कपडा त नयाँ ल्याइदिनु होला! अनि समय र जवानीचाहिं?’ पत्नीको मनमा खड्किरहेको प्रश्न अनायासै फुत्क्यो।
प्रकाशित: ८ माघ २०७८ ०६:१० शनिबार