७ वैशाख २०८१ शुक्रबार
कला

बुद्धले दिएको उपदेश र बुद्धप्रतिको भ्रम

यो विश्वमा भगवान् बुद्ध एउटा ठूलो रहस्यमय रूपमा प्रज्ज्वलित भएका छन्। बुद्धको पूरा जीवन सत्य खोज्ने र निर्वाण प्राप्त गर्ने उपायमा मात्र बित्यो। बुद्धले मानव मनोविज्ञानलाई बुझेर दुःखका सम्पूर्ण कारणलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा सबैले बुझ्ने गरी बताएका छन्।

बुद्धले जति ज्ञानका कुरा बताएका छन्, जति धर्म देशना उपदेश दिएका छन् अनि जति मानव मात्रको कल्याण र उद्धार गर्ने मार्ग देखाएका छन्, त्यति अरू कसैले पनि गरेको देखिँदैन। यो संसारमा अहिलेसम्म बुद्ध बराबरको व्यक्ति जन्मेकै छैन भन्दा पनि हुन्छ। सैयौं ग्रन्थ छन् बुद्धका प्रवचनले भरिएका तर आश्चर्यलाग्दो कुरा के छ भने बुद्धका जति पनि प्रवचन छन् ती कतै पनि दोहोरिएको देखिँदैन।

बुद्धलाई हामीले भगवान्को रूपमा मान्दै आइरहेका छौं। वास्तवमा बुद्ध भगवान् होइनन्, हामीले भगवान् बनाएका हौं बुद्धलाई। बुद्धले त भगवान् भनेर कसैलाई पूजा गर्नुपर्दैन, मूर्तिपूजा पनि नगर्नु भनी उपदेश दिएका छन्। हामीले नै बुद्धका उपदेश विपरीत बुद्धकै मूर्ति बनाई भगवान् मानी पूजा गरिरहेका छौं। यतिसम्म कि यो संसारमा सबैभन्दा बढी मूर्ति बुद्धकै छन्। कसैलाई उपहार दिनुपर्‍यो बुद्धको मूर्ति, त्यो पनि विभिन्न धातुका।

कसैलाई सम्मान गर्नुपर्‍यो वा पुरस्कार दिनुपर्‍यो भने पनि बुद्धको मूर्ति दिने प्रचलन व्यापक रूपमा बढ्दै गइरहेको छ। यसरी बुद्धको मूर्तिको व्यापक रूपमा व्यापार भइरहेको छ। यतिसम्म कि बुद्धको मूर्तिलाई ढाल बनाएर गैरकानुनी कार्य लागूऔषध बेचबिखन जस्ता अनेकौं अपराध गरिएको देखियो। आजको समयमा मानिस यति स्वार्थी भइसके, जसरी भए पनि पैसा कमाउन पाए पुग्यो-चाहे बुद्धको मूर्ति बेचेर होस्, चाहे शिवको मूर्ति बेचेर होस्।

बुद्धले यसो भनेका छन् यसो यसो गर्नुपर्छ भनी धर्मगुरु बनेका भिक्षुले समेत झूटा कुरा गरेर आफ्नो प्रवचन सुन्न आउने श्रोताबाट दानको नाममा मनग्य फाइदा उठाउन पछि पर्दैनन्। यसरी बुद्धको नाममा नाजायज फाइदा उठाउनेले गर्दा आज कतिपय ठाउँमा बुद्धको दर्शनमै नकारात्मक असर पारेको देखिन्छ।

बुद्ध दर्शन, बुद्धको उपदेश र बुद्धले दर्शाएका गतिविधिको अध्ययन मनन गर्दा के देखिन्छ भने बुद्ध अत्यन्तै सरल र व्यावहारिक थिए। उनले लोक कल्याणकै लागि आफ्नो जीवन समर्र्पित गरे। बुद्धको ज्ञानलाई हामीले बुद्ध धर्म भनी नामाकरण गर्‍यौँ।

बुद्धको ज्ञान धर्म होइन, कुनै सम्प्रदाय पनि होइन तर हामीले सम्प्रदाय बनायौं र धर्मको नाममा नानाथरीका नीति नियम बनाएर उल्टै भ्रम फैलाउने काम मात्र गरिरहेका छौं।

राजा शुद्धोधनका छोरा गौतमले आफूले भोग्दै आएको राजसी ठाँटबाट र सुखसुविधा जस्ता सम्पूर्ण राजसी भोग विलासको त्याग गर्दै आधा रातमा आमाको दूध खाँदै गरेका पुत्र राहुल र पत्नी यशोधरालाई समेत छाडेर वनमा गई तपस्या गरे र सन्न्यासी जीवन बिताए।

चक्रवर्ती सम्राट जस्तै भएर सुखसयलमा आफ्नो जीवन बिताउन सक्ने गौतम बुद्धले आजीवन सन्न्यासी जीवन बिताएर मानिसको वास्तविक दुःखको पहिचान र दुःखबाट मुक्ति पाउने सत्यको खोज गरेरै मानिसको कल्याणका लागि अनेकौं उपयोगी ज्ञानबद्र्धक उपदेश बाँड्दै हिँडेका थिए।

बुद्धका तिनै उपदेशको व्याख्या गर्दै जनमानसमा सच्चा मार्गको उपदेश दिने उद्देश्यले भिक्षु बनेका धर्मगुरुको जीवनशैली र राजसी ठाँटबाँट देख्दा के धर्मको नाममा आडम्बर जस्तो भान पर्दैन र? के धर्मको नाममा शोषण भइरहेको अनुभव हुँदैन र?

वास्तवमा हामीले बौद्ध धर्म भनिरहेका छौं तर बुद्ध धर्म, धर्म नै होइन। त्यो त गौतम बुद्धले दिएको उपदेशको दार्शनिक पक्ष मात्र हो। अर्थात् बौद्धदर्शन, जसले मानिसको जीवनमा आउने उतारचढावलाई सन्तुलित बनाई मानव जीवन सार्थक बनाउन सकियोस्। सिद्धार्थ गौतमले जब बोधिसत्व प्राप्त गरे अनेकौं कष्टपूर्वक तपस्या गरेपछि तब उहाँलाई गौतम बुद्ध भनियो।

बोधिज्ञान प्राप्त गर्ने जो कोहीलाई पनि बुद्ध भन्न सकिन्छ। त्यसैले बुद्ध धर्म नभई दर्शन हो। बुद्ध धर्म वैज्ञानिक धर्म हो। अर्थात् बुद्ध धर्ममा जसले जे जस्ता प्रश्न गरे पनि हुन्छ, तर्क वितर्क जति गरे पनि हुन्छ। त्यसैले त भन्ने गरिन्छ, बुद्ध धर्मलाई त्यसै वैज्ञानिक भनिएको होइन।

बुद्धले भनेका छन्–‘मैले भनेको कुरा सबैले मान्नुपर्छ भन्ने छैन। मैले भनेको कुराको अध्ययन, मनन र अनुसन्धान गरेर ठीक बेठीक छुट्ट्याएर मात्रै मान्ने गर्नु। कसैलाई पनि मैले भनेको कुरा मान्नैपर्छ वा पत्याउनैपर्छ भनी जोर जबर्जस्ती गर्दिनँ।’

‘बुद्धम् शरणम् गच्छामि’ भन्दै हामी बुद्धको शरणमा छौं, हामीलाई बुद्धले कल्याण गर्छन्, हाम्रा सम्पूर्ण समस्या बुद्धले समाधान गर्छन् भन्नेतर्फ हामी ढुक्क हुँदै आएका छौं। यो हाम्रो भ्रम मात्र हो। किनभने बुद्धले मेरो शरणमा आऊ भनेर कसैलाई भनेकै छैनन्। बुद्धले त त्यसको ठीक विपरीत ‘यहाँ कोही कसैको शरणमा जानुपर्दैन, कसैलाई कसैले पनि शरणमा लिँदैन, त्यसैले यहाँ भगवान्को शरणमा जाने कुरा गर्नु निरर्थक हो’ भन्ने खालका उपदेश दिएका छन्।

हामी भने बुद्धलाई भगवान् मानेर बुद्धम् शरणम् गच्छामि भनिरहेका छौं। यहाँ आफ्नो शरणमा आफैं जानु अर्थात् आफ्नै शरणमा जानु भनिएको हो। आफ्नै शरणमा जानु भनेको आफूभित्र आत्माज्योति जगाई स्वयं प्रज्ज्वलित हुनु हो। अप्पो दीपो भवः भनेकै आफैं भित्रबाट प्रज्ज्वलित प्रकाशित भई बोधिज्ञान प्राप्त गर्नु हो।

जसले बुद्धलाई राम्ररी बुझ्न सक्छ र मनन गर्न सक्छ ऊ भिक्षु नभई बस्न सक्दैन। आजका आधुनिक भिक्षुजस्तो होइन वास्तविक सच्चा भिक्षु बन्छ। बुद्धको मार्ग भनेकै दुःखबाट पार भई निर्वाणमा जाने अर्थात् शाश्वत सत्य र आनन्दमा लीन हुने मार्ग हो।

बुद्धको जन्म नै एउटा ठूलो क्रान्ति हो। यो क्रान्ति कुनै पनि देश, धर्म या अर्को कुनै पनि सम्प्रदायका लागि मात्र क्रान्ति होइन, एउटा व्यवस्थित धर्म दर्शनको मार्गमा यो पहिलो बौद्धिक क्रान्ति नै हो। बुद्धभन्दा पहिला धर्म, योग र ध्यान भन्ने दार्शनिकका बीचमा एक किसिमले विरोधाभासको विज्ञान जस्तै भइरहेको थियो। त्यसैले तिनै दार्शनिकले पश्चिमा देशका सम्पूर्ण बुद्धिजीवी अनि वैज्ञानिकले पनि बुद्धका दर्शन, उपदेश र योगलाई गम्भीरतापूर्वक लिई विशेष ध्यान दिन थाले।

जसको फलस्वरूप उनीहरूले चीन, जापान, श्रीलंका र भारतका साथै विश्वका जति पनि बौद्ध राष्ट्रमा भएका बौद्ध विहार, गुम्बामा आकर्षित हुन थाले। ती सबै बौद्ध धर्मबाटै लिइएका हुन्। किनभने बौद्ध धर्म ईशा मसीहभन्दा ५०० वर्षअघि पूरा विश्वमा फैलिसकेको थियो।

विश्वमा कुनै पनि ठाउँ छुटेको छैन जहाँ बौद्ध भिक्षुहरूको पाइला नरोकिएको होस्। विश्वका जहाँ जुन ठाउँमा खनेर हेर्दा पनि बुद्धका मूर्ति वा चैत्य निस्किन्थ्यो। विश्वमा सबैभन्दा बढी मूर्तिको रेकर्डमा पनि बुद्धकै नाम पहिलो श्रेणीमा आउँछ, अर्थात् यति व्यापक रूपमा बुद्धका मूर्ति स्थापना भएका छन् कि त्यसको लेखाजोखा छैन।

जुन देशमा जनताको मन मस्तिष्कमा शान्ति, बुद्धि र जागरुकता हुँदैन, त्यस देशको कहिल्यै विकास हुँदैन। अर्थात शान्ति, बुद्धि र जागरुकताविना विश्वकै भविष्य हुँदैन। अन्तिम दार्शनिक सत्य नै बुद्ध हुन्। त्यसैले भन्ने गरिन्छ सत्यको अध्ययन गर अनि अगाडि बढ। सच्चा व्यक्ति न नास्तिक हुन्छ न आस्तिक। सच्चा व्यक्ति त जहिले वास्तविक भइरहन्छ र सत्यको पक्षमा उभिरहेको हुन्छ। ‘विश्वमा एउटै मार्ग छ, जसले विश्वलाई बचाइराख्न सक्छ, त्यो हो– बौद्ध धर्म।’ यो भनाइ हो वैज्ञानिक अल्बर्ट आइस्टाइनको।

प्रकाशित: ८ माघ २०७८ ०३:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App