१३ मंसिर २०७९ मंगलबार
कला

सहज प्रवाहका सरल कथा

पुस्तक

कथा र कथाको पात्रको खोजी नगरीकन समाजभित्र आफ्नै वरिपरिका परिवेश र पात्रलाई टपक्क टिपेर कथा लेख्न खप्पिस कथाकार हुन् तुलसीहरि कोइराला। उनलाई कथा लेख्न कथा, कथानक र पात्रको खोजीमा भौंतारिनुपरेको छैन भन्ने प्रमाण हो ‘न्यूरोडका झाँकी’ कथासंग्रहभित्रका कथाहरू।

१९ वटा लामा भन्न नपर्ने र छोटा पनि भन्न नसकिने मझौला खालका कथा यसमा सङ्गृहीत छन्। यसअघि उनका झन्डै आधा दर्जन बालकथासंग्रह र सहलेखनमा एउटा लघुकथासंग्रह प्रकाशित छ।

‘न्यूरोडका झाँकी’ संग्रहभित्रमा दिनहुँ हामीले देखेका, चिनेका, बोलेका र देखेर पनि नचिनेका पात्र छन्, तिनै पात्रहरूका कथा र व्यथा छन्। जसले हामीलाई कतै रोमाञ्चित बनाउँछन् र कतै संवेदित बनाउँछन्।

कतै पात्रका पीडाले हामीलाई पनि पीडित बनाउँछन् त कतै तिनका व्यथाले व्यथित बनाउँछन्। कथाकार कोइराला कथाभित्र आफू स्वयंलाई पाउन र आफ्नै कथा र व्यथा भेट्न सक्छन् पाठकले।

तुलसीहरिका कथामा कल्पनाशीलताभन्दा चरित्रचित्रणको आधिक्यता छ। कथामा उडन्ते कल्पनाभन्दा वास्तविक घटना र पात्रका मनोदशा र उसका भोगाइको बाहुल्य छ। उनका कथामा कतै यौन छ कतै यौनकुण्ठा, कतै मनोविज्ञान छ कतै विविध मनोदशा, कतै संस्कृति छ कतै कुरीति, कतै राजनीति छ कतै त्यही राजनीतिभित्रको विकृति, कतै प्रेम छ कतै त्यही त्यही प्रेमले दिएको पीडा।

त्यस्तै कतै व्यंग्यको वाण छ भने सुषुप्त विद्रोहको आवाज पनि छ। आनन्द र मनोरञ्जनमात्रै होइन, केही आदर्श र नैतिकताका पाठ पनि छन् उनका कथामा। समग्रमा भन्नुपर्दा पाठकले खोज्ने सबै खजाना छन् उनका कथामा।

संग्रहभित्र विशेष गरी दुई किसिमका कथा छन्-सामाजिक विषयवस्तुका र राजनीतिक विषयवस्तुका। बाहुल्य भने सामाजिक विषयवस्तुका कथाकै छ। ‘भूकम्पको निम्तो’, ‘बिनापार्टीको मान्छे’ र ‘शान्तबहादुरको सपना’ शीर्षकका कथाहरू राजनीतिक विषयवस्तुलाई आधार बनाएर लेखिएका छन्, तथापि राजनीतिक द्वन्द्व र त्यसको परिणाम कथामा आएका छैनन्। राजनीतिलाई आधार बनाइए पनि कथाको मूलविषय भने सामाजिक रहेका छन्।

यी तीनवटा बाहेकका अरू सबै कथा विशुद्ध सामाजिक विषयवस्तुमा आधारित छन्। अझ सहरका भन्दा गाउँका कथा बढी छन्। ग्रामीण परिवेश र त्यहाँको जीवनशैलीमा आधारित कथाले गुरूप्रसाद मैनाली प्रवृत्तिका कथाको स्मरण गराउँछन्।

ग्रामीण परिवेशमा लेखिएका कथाहरूको विषयवस्तु, पात्र र तिनको चरित्र अत्यन्तै जीवन्त लाग्छन्। हिजोका कथा पनि आजैका जस्ता लाग्छन्।

लेखिनैपर्ने, तर अरूले लेखिनसकेका कथा लेखेका छन् कथाकार तुलसीहरि कोइरालाले। अरूले कथा नमानेका कुरालाई कथा बनाएर लेखेका छन् उनले र ती साँच्चै मन छुने कथा बनेका छन्।

तुलसीहरिका कथाका पात्रहरू गरिबी, कुरीति र शोषणबाट प्रताडीत न्यून र मध्यमवर्गका छन्। उनीहरू त्यसबाट मुक्ति पाउनका लागि संघर्षशील छन्। त्यो संघर्षमा कसैको जित भएको छ भने कोही अझै पराजित नै छन् र त्यो संघर्ष अझै जारी छ।

साहित्यमा यौन एउटा अभिन्न पाटोकै रूपमा रहिआएको छ। हुन त यौन जीवनकै एउटा अभिन्न पाटो हो। त्यसैले यसलाई अलग्याउनै सकिन्न। तुलसीहरिका कथामा पनि यौन आएका छन्। ‘ओदानको फेटा’, ‘थुइक्क पानीमरुवा’, ‘चोख्याइएको गाउँ’, ‘तृष्णा तृप्ति’ आदि कथामा तीव्र यौनेच्छा प्रकट भएको पाइन्छ। अतृप्त यौनेच्छालाई रोक्न नसकेर ‘ओदानको फेटा’ कथाकी पात्र भावना खुलेर भन्छिन्, ‘त्यस्तो घीनलाग्दो बूढासँग को सुत्छ।

तिमीजस्तो हिस्सी परेको, खाइलाग्दो र पढेलेखेको भए त कसले मन पराउँदैनथ्यो।’ त्यस्तै जातभातको सीमा नाघेर लुकिछिपी सम्बन्ध जोड्ने पृथक् समाजको एउटा पाटो आएको छ ‘चोख्याइएको गाउँ’ कथामा। यसैगरी ‘तृष्णा तृप्ति’ कथामा यौन तृष्णाले तृषित एक वृद्धको यौनप्रतिको आशक्तिको चित्रण गरिएको छ।

संग्रहको शीर्षककथा ‘न्यूरोडका झाँकी’ देखि प्रतीकात्मक शीर्षक भएको कथा ‘पिलो’, भ्रष्ट कर्मचारीको मनोदशा बोकेको ‘ठूलोबाको कन्तुर’ आदि कथाले सहरको बेथितिलाई उदांगो पारेको छ।

गाउँ र सहरको परिवेशमा लेखिएका सबै कथा सरल छन्। कथाहरूमा सहज प्रवाह छ। पाठकले यो कथासंग्रहबाट सजिलै पठनको आनन्द लिन सक्नेछन्।

प्रकाशित: ८ माघ २०७८ ०६:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App