coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

थुप्रै भो बलिदानी नतीजामा केही जुका मोटाए

मुक्तक

  नानुमैया दाहाल 

१) मुक्तक

थुप्रै भो बलिदानी नतीजामा केही जुका मोटाए,

भोकै छन् भुई मान्छे अझै न आङ छोप्न वस्त्र पाए।

थुप्रै तन्त्र फेरियो, उही छ शासन र त वाक्क भएर,

तन्त्र व्यापारीविरुद्ध श्रीमान् यी जन मुद्दा लड्न आए।

   २) मुक्तक

विष रोपेर ऊ अमृत फलाउने कुरा गर्छ ,

तुुसारोको खेती गरी वसन्तको स्वप्ना छर्छ।

गर्छ बयान सदैव भागिरथि यात्राको मात्र,

भत्काई सक्यो पुल आफैले खै कसरी नदी तर्छ?

   ३) मुक्तक

दुर्गन्ध छ वरिपरि सुगन्धको कुरा नगर तिमी,

हुस्सु लागेको छ बस्तीमा न्यानोको भ्रम नछर तिमी।

बिना अर्थ मोड्यौ यात्रा अलपत्र छन् सारथीहरू,

पुग्दैनौ अब गन्तव्यमा एक्लै जघाँर नतर तिमी।

   ४) मुक्तक

मुहान थुन्छौ रोपाइँको उर्दी गरेर धर्म हराएको हो,

शीर छेद्न गर्छौ हली र बाउसेको मर्म हराएको हो।

बेठीको बाजा बजाउँदैमा हुक्के, चम्चे र बैठकेले,

नांगै असार नाच्छौ मझेरीमा सर्म हराएको हो!

    ५)  मुक्तक

अभावले कोही रुन्न हाम्रो रक्तिम देशमा,

महँगीले आकाश छुन्न हाम्रो रक्तिम देशमा।

स्रोतसाधन साझा जस्तै अवसर बराबरी,

मालिक-नोकर दुवै हुन्न हाम्रो रक्तिम देशमा।

प्रकाशित: ७ माघ २०७८ ०५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App