८ वैशाख २०८१ शनिबार
कला

दान

लघुकथा

रेणु अधिकारी मौनता

कुसे औंसीको दिन बुबाको श्राद्ध गर्न सरोजले अघिल्लो दिन बेलुका बाहुन बजेलाई फोन लगाए, ‘गुरु, बेलैमा आउनुस् है। मैले तपाईले भनेजस्तै सबै सरसामान तयार पारिसके।

छाता, जुत्ता, बुबालाई मनपर्ने इष्टकोट, सकली ढाकाको टोपी, किताब पढ्दा लगाउने चस्मा, खानामा मनपर्ने मिठापान, पेडा, सबै तयार पारिसके। गुरु, म बुबालाई उहाँले उपभोग गर्न मन पराउने सबै सामान हजुरलाई दान गरेर आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु। यहाँका लागि आरामदायी खाट, डसना अरू केके चाहिन्छ भन्नुस्? नपुगेको भोलि बिहानै किनौला।’

माधवप्रसाद बाजेले भन्नुभयो, ‘बाबु, अब बाँकी बुबालाई केके मनपर्थ्यो, आमालाई भेटेर सोधौं र किनौला।’

भोलिपल्ट बिहानै माधवप्रसाद बाजे र सरोज आमा भाडामा बसेको कोठामा पसे। अँध्यारो सानो कोठाबाट नमीठो गन्ध आइरहेको थियो। बुढी आमा मैलो भुई ओछयानमा एकनास खोक्दै थिइन्।

बाजेले दुई हात जोडेर भने, ‘आमा,नमस्कार आरामै हुनुहुन्छ?’

–के हुन्थ्यो र बाजे म बुढीलाई, बाँचिरहेकै छु। बस्नुस् न बाजे। आमाले पुरानो मुडातिर इसारा गर्नुभयो।

सरोजले आमाको खुट्टामा ढोगे। कान कम सुन्ने आमालाई सरोजले निकै ठूलो स्वरमा सोधे, ‘आमा, म बुबाको श्राद्ध गर्न गोकर्ण जान लागेको, बुबालाई मनपर्ने सबै खानेकुरा र सरसमान बाजेलाई दान दिनपर्यो। बुबालाई मनपर्ने केही कुरा बाँकी छन् कि भनेर तपाईलाई सोध्न आएको हामी।

आमा खोक्दै हुनुहुन्थ्यो। खोक्दाखोक्दै सास फेर्न नसकेर अतासिदै आमाले भन्नुभयो, ‘बाबु, तेरो बुबाले  मर्ने बेला विराजको मेडिकलबाट लिएर खाएको औषधिको पैसा  आफ्नो वृद्धभत्ताको पैसाले तिरिदिनुभन्नुभएको थियो।’

प्रकाशित: ६ माघ २०७८ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App