८ वैशाख २०८१ शनिबार
कला

झुट्टा इतिहास

कविता

आस्था कोपिला

 

म को हुँ?

मैले के गरे?

मेरो परिचय!

मेरो इतिहास!

भूतकालको गर्भमै तुहिएँ

मेरो अस्तित्व

बादशाहको शासनमा

चोक्टाचोक्टा विभाजित भए

एफिल टावर, रोमको पिरामिडमुनि

मेरो हाडको टुक्रा पुरिएको छ

ताजमहल र क्रेमलिनको भित्तामा

थोपाथोपा रगत भेटिन्छ

बर्लिन र ग्रेटवालको पर्खालमा

मेरो पसीनाको गन्ध आउँछ।

अपसोस!

इतिहासको ताम्रपत्रमा

मेरो कुनै पहिचान छैन

निराकार छु

छन् त खालि

बादशाह र सम्राटको नाम

म प्रतिवाद गर्छु–

ती अभिलेख झुट्टा हुन् 

ती इतिहास झुट्टा हुन् 

ती मानव सभ्यताको

निर्माण गर्ने ढुंगा

के राजा–महाराजले उचाले?

असम्भव!

ताजमहलको निर्माणमा जुटेका

मेरा हात काटिए

ती हत्केलाका कंकाल

कुन म्यूजियममा छ्न?

इतिहास बोल्दैन

श्रमिकको निम्ति इतिहास लाटो छ

महजहीन छ

अभिलेखहीन कोरा कागज छ

श्रमिक सर्वहाराको

त्रासदी!

इतिहास लेख्दैन।

लेख्छ खालि–

मुगल सम्राट र बादशाहहरूको

झुट्टा इतिहास।

प्रकाशित: १ माघ २०७८ ०६:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App