coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सन्थाली परम्परागत न्याय प्रणाली

समाज र समुदाय निरन्तर परिवर्तनशील भइरहन्छन्। सधैं एउटै स्थितिमा केही र कोही पनि रहन सक्दैन। समयको आवश्यकतासँगै मानवजाति निरन्तर डटिरहनुपर्दछ।

परिवर्तनका सीमालाई आत्मसात् पनि गर्न सक्नुपर्छ। जन्मदेखि मृत्युसम्म मानिस समाजको नियम र कानुनद्वारा बाँधिएको हुन्छ। आफूलाई अनुकूलित बनाउन कुनै पनि समुदाय सधैं एकै ठाउँ रहिरहन्छ भन्ने छैन। त्यसैले कुनै पनि समुदायको परम्परागत राजनीतिक र सामाजिक संगठन पनि समयानुकूलमा फ्लुइड हुन्छ र नयाँ ढंगबाट अगाडि बढ्दछ।

यो लेखमा झापा जिल्लाको सन्थाल समुदायको परम्परागत राजनीतिक संरचना वा संगठनको चर्चा गर्दै नयाँ राज्य व्यवस्थाका राजनीतिक प्रणालीमा नयाँ ढंगले अभ्यस्त हुँदै गएको कुरालाई उठाउने प्रयास गरिएको छ।

सन्थाल जाति परम्परागत जीवनशैलीलाई अपनाई घुमन्ते जीवन पद्धतिबाट वर्तमानको आधुनिक जीवनशैलीसम्म आइपुग्दा धेरै हन्डर ठक्कर खाँदै समाज, समुदाय र मानवसँगै समायोजित भएको तथा आफ्नो ठाउँ बनाएर अस्तित्वमा रहँदै आएको छ।

झापामा करिब३० हजारभन्दा बढी संख्यामा रहेको सन्थाल जाति उनीहरूको इच्छा र आवश्यकता बढ्दै जाँदा नयाँनयाँ संस्थामा समाहित हुनुपर्ने बाध्यता र जीवन पद्धतिलाई नै बदल्नु पर्ने पनि भयो। समाजले सिर्जना गरेका नियमभित्र बसेर आफ्नै मूल्यमान्यता र विश्वासलाई कायम राख्दै परिवर्तनलाई स्वीकार गर्दै आएका केही राजनीतिक संरचनागत विशेषतालाई चर्चा गर्न आवश्यक छ।

राजनीतिक हिसाबले आफ्ना नीति तथा नियमलाई पालन गर्दै गराउँदै शासन चलाउने पद्धति नै राजनीतिक प्रणाली हो। आफ्ना नीति तथा नियमलाई नियमित गर्नका लागि कुनै पनि संस्थाको आवश्यकता पर्दछ।

सन्थाल समुदायमा पनि गभरनिङ बडीको रूपमा परम्परागत राजनीतिक संस्था रहेका छन् जसले वर्तमान समयसम्म आइपुग्दा सोसियल सोलिडारिटी, समतामूलक न्यायिक व्यवस्था र सामाजिक पारस्परिकतालाई कायम राख्न सफल भएका छन्। ती राजनीतिक संगठनलाई केलाउने प्रयास गरिएको छ।

माझी पारगना

माझी पारगना सन्थाल समुदायको एउटा संरचना हो जसको सञ्चालन सन्थाल समुदायको सामाजिक,सांस्कृतिक र राजनीतिक परम्पराबाट सञ्चालित हुन्छ। यसले सम्पूर्ण सन्थाली पद्धतिलाई नियन्त्रण र नियमित गर्दछ।

यसभित्र रहेका पदाधिकारीको समयावधि तोकिएको हुँदैन र सामाजिक रूपमा देखा परेका समस्यालाई समाधान गर्नका लागि यसभित्रका पदाधिकारी इमानदार र कर्तव्यनिष्ठ हुनुपर्दछ। पारगनाका सदस्यको कार्य सम्पादन मूल्यांकन चुस्त तथा दुरुस्त नभएमा सबैको सल्लाहमा पदाधिकारीलाई प्रजातान्त्रिक प्रक्रियाद्वारा हटाइने प्रावधान पनि यस संस्थामा रहेको पाइन्छ।

पहिले पहिले वंशाणुगत हिसाबले पनि गाउँको प्रमुख नियुक्त गरिन्थ्यो र उसैको जेठो छोरालाई प्रमुखको निरन्तरता दिने चलन थियो तर आजभोलि सामूहिक निर्णयद्वारा प्रमुख नियुक्त गर्ने प्रचलन रहेको छ।

पारगनाभित्र माझी हराम (हडाम), पारानिक, जोगमाझी, नाइके, कुडोमनाइके, गोडेत र राइबर बुढा गरेरविभिन्न भाग रहेका छन्ः

१.माझी हडाम पद्धतिः सन्थाल जातिको परम्परागत राजनीतिक संगठन माझी हडाम हो। यो न्यायिक निरूपणको मुख्य अस्त्र मानिन्छ। यसको उत्पत्ति भारतमा धेरै समयअघि भएको मानिएको छ। सन्थाली संस्कृतिलाई जोगाउन यसको मुख्य भूमिका रहन्छ। सन्थाल समुदायमा आएका विभिन्न खाले विवाद समाधानको यो एउटा माध्यम हो। यसले विवाह, सम्बन्ध विच्छेद (पारपाचुके) जन्म, सामाजिक मूल्यमान्यता आदिलाई एकरूपता प्रदान गर्ने काम गर्दछ।

नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने व्यक्तिलाई माझी हडामको चयन गरिन्छ। माझी हडाम गाउँ परिषद्को (पञ्चायत) एउटा संरचना हो। यो संस्थाले गरेका निर्णय मान्न सम्पूर्ण बाध्यकारी हुन्छन्। माझी हडाम माझी पारगनाको प्रमुख व्यक्ति हुन् जसले परम्परागत न्यायिक प्रणालीलाई कायम गर्दछ। यस्तो प्रक्रियामा सन्थाल समुदायको परम्परागत सामाजिक राजनीनितक मूल्यमान्यता, प्रजातान्त्रिक आस्था र विचारलाई मनासिव ठानी काम गर्ने गरिन्छ।

यो समुदायमा उठेका विविध खाले समस्यालाई सामूहिक रूपमा भेला गराई माझी हडामको उपस्थितिमा समाधान गर्ने गरिन्छ। गम्भीर प्रकृतिका मुद्दामामिला छन् भने निश्चित मिति तोकेर माझी हडामको घरमा छलफल गरी निर्णय गर्ने गरिन्छ। न्यायपालिकालाई जसरी आधुनिक राज्यप्रणालीको प्राण भनिन्छ, त्यसैगरी सन्थाल समुदायको परम्परागत न्यायिकप्रणाली माझी हराम हो। जसले सामाजिक सोलिडारिटी र समान सहअस्तित्वलाई शिरोधार्य गरेको हुन्छ। मुद्दा मामिलामा दोषी ठहरिए  कानुनबमोजिम दण्डजरिवाना गरी निर्दोषलाई सफाइ दिने चलन छ।

२.पारानिकः पारगनाभित्रको अर्को पदाधिकारीलाई पाराणिक (पारानिक) भन्ने गरिन्छ। माझी हडामको अनुपस्थितिमा सम्पूर्ण कामकाजको जिम्मेवारी पारानिकले गर्ने गर्दछ। अर्को शब्दमा यसलाई माझी हडामको कानुनी सल्लाहकार पनि भनिन्छ।

पारानिकले गाउँमा खेतीयोग्य जमिनको व्यवस्थापन गर्ने, रेखदेख गर्ने र जमिनलाई उर्वर बनाई उत्पादकत्व बढाउन मद्दत गर्ने काम गर्दछ।जमिनको समानुपातिक वितरणका लागि र नयाँ मानिस बसोबासका लागि आएमा त्यसको उचित व्यवस्थापन गर्ने दायित्व पनि यसको रहन्छ। माझी हडाम नहुँदा सम्पूर्ण निर्णयको अधिकार यसमा निहित हुने गर्दछ।

३. जोगमाझीः जोगमाझीलाई पनि माझी हडामको कानुनी सल्लाहकार वा अर्को शब्दमा महान्यायाधिवक्ताको रूपमा व्याख्या गरिन्छ। परम्परागत रूपमा रहेका नैतिक मूल्य र मान्यतालाई जोगाई न्यायिक प्रणाली चुस्त र दुरुस्त राख्न यसको भूमिका महत्वपूर्ण रहन्छ। गाउँमा विकसित भएका नयाँनयाँ घटनाक्रमको सूचना सम्प्रेषण गर्ने काम पनि यसले गर्दछ। विवाह, भोजभतेर, सामाजिक सांस्कृतिक चाडपर्व र संस्कारहरूमा जोगमाझीले महत्वपूर्ण जिम्मेवारी वहन गर्दछ।

४.नाइकेः सन्थाल समुदायको पूजारीको रूपमा यसलाई लिइन्छ। पण्डित्याइँ गर्नु एउटा पवित्र धार्मिक कार्य हो र यसलाई कायम राखिनुपर्दछ भन्ने मान्यताका साथ नाइकेले काम गर्ने गर्दछ। यो प्रायः मुुर्मु समुदायबाट छनोट हुने गर्दछ।

जसले जाहेरथानमा रहेका देवीदेवता (बोङ्गा) लाई बलि दिने खास काम पाएको हुन्छ। चाडपर्वको अवसरमा गरिने सामूहिक पूजा, बलि दिने काम, बच्चा जन्मिँदा र मानिस मर्दा पण्डितको भूमिका नाइकेको हुने हुँदा यसको विशेष महत्व रहन्छ।

५. कुदोमनाइके (कुडोम): नाइकेको सहयोगीको रूपमा भूमिका निर्वाह गर्ने कार्य कुडोमनाइकेले गर्ने गर्दछ। धार्मिक कार्यमा नाइके नहुँदाको अवस्थामा विभिन्न कार्य गर्दछ र काम गरेबापत लत्ताकपडा, पैसा र विभिन्न अन्नबाली पनि उपहार पाउने गर्दछ।  

६.गोडेत (गोडित): सन्थाल समुदायमा सूचना सम्प्रेषण गर्ने पद्धती पनि छ। विभिन्न समस्या आइपरे ती समस्याहरू माझी हडामसमक्ष पुर्‍याउने र मुद्दा छिनोफानो गर्नका लागि गाउँघरमा गई उपस्थितिका लागि सूचना दिने काम गोडेतको हुन्छ। यसले ढ्यांग्रो ठोकेर बोलावट गर्ने काम र सार्वजनिक समारोहका लागि चन्दा संकलन गर्ने काम पनि गर्दछ। अर्को शब्दमा माझी हडाम र अन्य सहयोगीको निर्देशनलाई अक्षरशः कार्यान्वयन गर्ने बलियो सेनाको रूपमा यसलाई परिभाषित गरिन्छ।

७. राइबर बूढा

साधारणतः विवाहको कुरा छिनोफानो गर्ने बेलामा लमीको आवश्यकता पर्दछ। राइबर बूढा पनि सन्थाल समुदायभित्रको लमीको रूपमा चिनिन्छ। केटा पक्ष र केटी पक्षलाई मिलाउने मध्यस्थकर्ताको भूमिकामा राइबर बूढा रहन्छन्।

पारगना

त्यस्तै माझी पारगनाबाहेक परम्परागत हिसाबले चलनमा रहेको अर्को संरचना पारगना हो। करिब बीस/पच्चीस गाउँका माझी हडाम यसभित्र गोलबद्ध भई धेरै माझी हडाममध्येबाट पारगना प्रमुखको नियुक्त गरिन्छ। सीमित क्षेत्रका गाउँलेका सीमित मुद्दाहरू निष्कर्षमा नपुगेको अवस्थामा वा गाउँलेले टुंग्याउन नमिल्ने मुद्दा वा दुई वा दुईभन्दा बढी माझी हडामबीच द्वन्द्व रहेका मुद्दा मामिलाको अन्त्यका लागि सन्थालको यो संरचनाले प्रयास गर्दछ।

१. देशममाझी: माझीपारगनाहरूले निचोडमा पुर्‍याउन नसकेका मुद्दालाई सुल्झाउने काम यसले गर्दछ। देशममाझी प्रमुख रहने यस संरचनाले पारगनाहरूले नसकेका वा बाझिएका तथ्यलाई केलाएर निष्कर्ष दिने काम गर्दछ। न्यायिक निरूपणर सामाजिक न्याय स्थापनाका लागि यसको भूमिका महत्वपूर्ण रहन्छ।

२.लबीर बैंसी (सिकार सभा): जसरी नेपालमा न्यायपालिकाअन्तर्गत सर्वोच्च अदालत न्यायिक निरूपणको रूपेक्स अदालत मानिन्छ त्यसरी नै सन्थाल समुदायको जनधन र जिउज्यानको सुरक्षा गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याई निर्दोषलाई इन्साफ दिलाउने काम यसले गर्दछ भन्ने परम्परागत मान्यता छ। न्यायका लागि यसलाई अन्तिम न्यायिक अदालत पनि भन्ने गरिन्छ।

यो अदालतद्वारा अन्तिम फैसला सुनाउने क्रममा झुटो बोल्न पाइँदैन भन्ने पनि छ। यदि कसैले बोल्छ भने त्यसलाई जंगली जनावरले खाएर मृत्यु हुनेसम्मको अनुमान गरेको देखिन्छ। सिकार सभालाई पर्वको रूपमा मनाउने वा वर्षमा एकपटक गाउँका प्रमुख व्यक्तिलाई भेला गराएर जंगलमा सिकार खेल्न जाने र सिकार गरी मासु, जाँडरक्सी खाने, पिउने र निचोडमा नपुगेका मुद्दाको अन्तिम फैसला गर्ने गरिन्छ।

सन्थाली समुदायका यी संस्थाहरूले स्वेच्छिक निर्णय गर्छन् र संस्थाबीच असल शासन व्यवस्था स्थापनाका लागि कोसिस गर्दछन्। न्यायिक व्यवस्थापनका लागि निष्पक्षता, पारदर्शिता, जवाफदेहिता, तटस्थता, जिम्मेवारिता, जनसहभागिता र चुस्त तथा दुरुस्त शासनप्रणालीलाई अपनाउने यी संस्थाले कुनै न कुनै तवरले सामाजिक, आर्थिक र राजनीतिक सम्बन्धलाई परिचालन गरी समाजलाई अगाडि बढाइरहेको देखिन्छ।

३.बितलाहाः यो एक प्रकारको सामाजिक दण्ड हो। एन्डोगामी र एक्सोगामी विवाहको मूल्यमान्यतालाई तोडेको खण्डमा सन्थाल समुदायबाट सामाजिक बहिष्कार गर्ने पद्धति नै बितलाहा हो। तिनीहरूलाई सन्थाल समुदायको सदस्यता पनि नरहने गरी निकाला गर्ने चलन पनि यसमा छ।

सामाजिक रीतिरिवाज तथा विभिन्न परम्परागत चाडपर्वमा भाग लिन नपाउने गरी गाउँसभाको निर्देशनमा यो दण्ड लागु गरिन्छ। जसलाई यो सजायको भागीदार गराइन्छ उसका सन्ततिले सन्थाल समुदायका सदस्यसँग बिहावारी गर्नसमेत नपाउने प्रचलन रहेको बुझिन्छ।

तर आजकल यो पद्धति कडाइका साथ लागु नभएको पनि सन्थाल समुदायका बुद्धिजीवी बताउँछन्। समयसापेक्ष सोचाइमा सुधार हुँदै गएको देखिएको छ। दण्डजरिवानापछि अर्थात् अपराधीले अपराध स्वीकार गरेपछि वा गाउँसभाको सर्त मानेपछि समुदायको सदस्यको रूपमा स्वीकार गर्न पनि थालिएको छ।

४.जाम जातिः आफ्नो समुदायबाट अलगिएको वा अलग्याइएको सदस्यलाई आफ्नै समुदायमा भित्र्याउने पद्धतिलाई जाम जाति भनिन्छ। यो प्रथाले सन्थाल समुदायको अक्षुण्णता कायम गर्न र सामाजिक सहअस्तित्वलाई जगेर्ना गर्न मद्दत पुर्‍याइरहेको छ।

क्रिश्चियन धर्ममा लागेकालाई पनि आफ्नै धर्म परम्परामा फर्काउने क्रममा पनि यो जाम जाति पद्धतिलाई उपयोगमा ल्याइन्छ। जाम जाति नगरी क्रिश्चियनलाई पनि सन्थाल समुदायमा आउनै दिइँदैन। जसलाई बहिष्कार गरिएको छ, उनीहरूलेमाझी हडामकहाँ गई अनुरोध गरिसकेपछि यो प्रक्रिया अगाडि बढ्छ। गोडेतको सूचनाद्वारा दिन तोकी यो प्रक्रियालाई अगाडि बढाउने कुरा गाउँलेसमक्ष पुर्‍याइन्छ।

अपराधी व्यक्तिलाई लोटाको पानीद्वारा मुख धुन लगाई चोख्याएर गाउँ पस्न दिइन्छ। सन्थाल समुदायले त्यस क्रममा तोकिएको जरिवाना तिर्न लगाइन्छ र गैरसन्थाली बनाइएको व्यक्तिलाई सन्थाली समुदायमा ल्याइन्छ। त्यसैक्रममा माझी हडामको निर्देशनअनुसार गाउँलेद्वारा तयार गरिएको विशेष भोज त्यस समुदायले स्वीकार गरेपछि मात्र अपराधी वा सन्थाल समुदायबाट निष्कासित व्यक्तिलाई पुनः सदस्यता दिइन्छ र आफ्नो समुदायको बनाइन्छ। अन्त्यमा माझी हडामले अब यो विषय यही समाप्त हुन्छ भनी घोषणा गर्दछन्।

समग्रमा भन्नुपर्दा सभ्य समाजको निर्माणर सञ्चालनका लागि कुनै न कुनै प्रकारको न्याय प्रणाली रहनुपर्दछ। सन्थाल समुदायको परम्परागत सामाजिक तथा राजनीतिक संरचना सधैं अचल भएर बस्न सक्तैन र सकेन। समाज निर्माणको प्रक्रियासँगै परिवर्तनका बहुआयामिक पक्षद्वारा अथवा अन्य समुदायको सम्पर्कद्वारा राज्यले स्थापित गरेका आधारभूत राज्यव्यवस्थाका न्यायिक संरचनाहरू स्वीकार गर्दै अगाडि बढेको यो समुदायले आफूलाई परिवर्तित पनि गरेको छ।

राज्यको न्यायिक शक्तिको प्रयोग गर्ने, कानुनको व्याख्या गर्ने, विवादित प्रश्नहरू र कानुनी प्रश्नहरूको निर्धारण र निराकरण गर्ने उद्देश्यले स्थापित न्यायपालिकालाई यो समुदायले सहजै स्वीकार गरेको छ। आफ्ना कोर मूल्य र मान्यतालाई जोगाउँदै राज्यले बनाएका न्यायिक निकायका कामकर्तव्यलाई कार्यान्वयन गर्ने गराउने काममा यो समुदाय प्रतिबद्ध भएर लागेकाले पनि उसको परम्परागत सामाजिक तथा राजनीतिक न्यायप्रणालीको महत्व अलि कम हुनु स्वाभाविक नै मानिन्छ। 

प्रकाशित: १ माघ २०७८ ०५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App