coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

गाउँघरमा खेले–हुर्केका र हिंडे–डुलेका ठाउँहरू

संस्मरण

टङ्क भट्टराई

जीवन यात्रा हो। हिंडिरहनुपर्छ। नयाँ ठाउँ, नयाँ बाटो, अनेक घुम्ती, भञ्ज्याङ र मोडहरू जीवनयात्रामा आइपर्छन्। तिनलाई छिचोल्दै हिंडिरहनु, कतै बिसाउनु र फेरि हिंडिरहनु जीवनको एउटा परिभाषा हो।

यात्राका क्रममा जहाँ हिंडे पनि र जहाँ पुगे पनि हामीलाई हाम्रै गाउँठाउँ राम्रो लाग्छ। बालजोवानमा खेल्दै– उफ्रिंदै हिंडेका तिनै धुलाम्मे बाटाहरू, उकालीओराली, पच्याङ र कुइनेटाहरू हामीलाई प्रिय लाग्छन्। धारापँधेरा, खोलाखोल्सी, रूखबुट्यान, वरपीपल चौतारी, खेतका आली र बारीका डिलहरू छाया बनेर हर्दम पछ्याइरहन्छन्। शहरका कंक्रिट बाटा र गल्लीहरू जति हिंडौं उति दिक्क लाग्छ। कहाँ भेट्नु त्यो ग्रामीण माटाको मगमगाउँदो सुगन्ध र घरछेउको हसिना (रातकी रानी) फूलको बासना! जाई–जुही र बेली–चमेलीको मुस्कान! म सानैदेखि एकान्त र प्रकृतिको निर्जन काख मन पराउने। हुन त यो मन नपराउने को होला र!

हाम्रो घरदेखि पूर्व, मतान (जेठा हजुरबाको ठूलो छोरा) को घरदेखि पर्तिर अलि खुला ठाउँ थियो। त्यहाँ एउटा चिलाउनेको रूख र लम्बेतान बसेका केही ढुंगा छन्। मास्तिर सानो पहरो, तल टारमुनि अन्तरे बाउको घर, बाह्रबीसे, चौबीसे खेत, पारि सेरा गाउँ, फलाँटे, तारेभीर यी ठाउँहरूमा आँखा घुमाउँदै प्रायः हरेक साँझ मेरो बस्ने ठाउँ हो त्यो। मतानको काजी, पल्लाघरका रामजी र म त्यही रूखमा चढ्थ्यौं। रूखका धोद्रामा चराका बच्चा खोज्थ्यौं। चिलाउनेका हाँगा झारेर फेदमा गोठ बनाउँथ्यौ। देवाली गथ्र्यौैं। त्यही बालापनदेखि तीस वर्षको उमेरसम्म मेरा हरेक साँझ त्यही चिलाउनको फेद र तिनै ढुंगाहरूमा बिते।

अलि पर्तिर आइतबारे खोल्सो थियो। बर्खामा झरी परेबाहेक त्यहाँ पानी कहिल्यै नहुने। खोल्सा वरिपरि ठूलो बाँस झ्याङ र छेवैको पात्लेको ठूलो बुटामुनि शिकारीको थान थियो। ‘घाम अस्ताएपछि आइतबारे खोल्सामा नजानू, सिकारीले हान्छ’ भन्थे बूढापाका। मतानको काजी र म त्यही आइतबारे खोल्सामा खेल्थ्यौं। घरबाट चामल चोरेर लान्थ्यौं र त्यहीं बसेर खान्थ्यौं। मतानको काजी र मसँगै स्कूल भर्ना भएका। म स्कूल गइरहन्थें तर ऊ स्कूल नगई प्रायः त्यही आइतबारे खोल्सो र तिर्पालीको रातो घर रुँगिरहन्थ्यो। हामी स्कूलबाट झरेपछि हुलमा मिसिन्थ्यो र सँगै घर जान्थ्यो। पछि ऊ स्कूलै जान छोड्यो। उसको विद्या तिनै आइतबारेका शिकारीले खाइदिए क्यार।

हाम्रो घरपछाडि काशीराम बाजे–बज्यैले रोपेका ठूला वरपीपल र उनीहरूले नै खनेको ठूलो पोखरी छ। ‘मेरा सन्तान यिनै वरपीपलका हाँगा र पातजस्तै चारैतिर  फैलियून्, नाम कीर्ति फैलियोस्’ भनेर यी वरपीपल रोपेका अरे बाजेबज्यैले। वरपीपल वरिपरि सिस्नु नै सिस्नुको घारी। उहिले कसैको घरमा ट्वाइलेट हुँदैनथ्यो। त्यही वरपीपलको फेदमा हामी दिसाबपिसाब गथ्र्यौ सिस्नुले चाक पोलेर हैरान पाथ्र्यो। वरका रूखमा लहरा झुन्डिएका हुन्थे। हामी ती लहराहरूमा झुन्डिएर पिङ खेल्थ्यौं। रूखका हाँगाहाँगा चाहार्थ्यौ। पुर्खाले रोपेको त्यो वरपीपल चौतारी र उनीहरूले खनेको त्यो पोखरी हामी भट्टराईहरूको आस्थाको धरोहर हो। पुर्खाकै पालादेखि बेलाबेला त्यहाँ पुराण लगाइरहेको छ। घरघरमा ट्वाइलेट बन्न थालेपछि भने त्यहाँको सरसफाइ पनि राम्रो हुँदै गएको छ। त्यो पुख्र्यौली सम्पदाले मुहार फेर्न थालेको छ।

तिर्पालीको घरमाथि भिराइलो जग्गा। बाक्ला बाँस झ्याङको बीचमा ठूलो ढुंगा छ। म सानैदेखि त्यता पल्लाघरका बासँग गोरु चराउन जान्थें। ठूलो भएपछि पनि किताब लिएर म त्यो ढुंगा, खरपाखो र सिउरामे डाँडामा जान्थें र घन्टौं पढ्थें। वारिपारि हेर्दै पढ्न निकै मजा आउँथ्यो। मैले तिनै ठाउँहरूमा बिहानदेखि बेलुकासम्म पढेर आइए, विए र लोक सेवा पास गरे।

घरदेखि पुग्न पन्ध्र मिनेट जति लाग्ने पूर्व घमाइलो ठाउँ बाँझेमा एउटा धारो थियो। ‘तिर्पालीको धारो’ नामले कहलिएको त्यो धारामा हामी प्रायः शनिबार नुहाइधुवाइ गर्न जान्थ्यौं। मतानका दाइ दुई घण्टासम्म ढाड माडीमाडी नुहाउँथे त्यहाँ। पल्लाघरकी आमोई मोही र कमेरो बोकेर महिना–महिना दिनमा नुहाउन जान्थिन्। आमा–दिदीहरू बेलाबेला खँड्कुलामा खरानीपानी उमाली त्यसमा लुगा पकाएर काठे मुंग्राले लुगा पिटीपिटी धुन त्यहीं जान्थे। ऊबेला लुगा धुने र नुहाउने साबुन पाउनै गाह्रो। हामीले कहिले कमेरो पानी र कहिले रिठ्ठाको बोक्राले खूब नुहाएका छौं त्यहाँ। अलिपछि भने नीलकमल साबुन आयो। रातो साबुन आयो। त्यसपछि पूजा साबुन र बिस्तारै अरू थुप्रै साबुन आए। हामी नुहाइधुवाइ सकेर बाँझेडाँडाका ढुंगामा गएर घण्टौं पल्टिन्थ्यौं।

तिर्पालीकै घरमाथि एउटा ठूलो चुवाको बोट थियो। वस्तु चराउन जाँदा हामी चुवाको बोटमा चढेर सैसैला खेल्थ्यौं। रातो घरमुनि ठूलाठूला काभ्राका रूखहरू थिए। चैतवैशाखतिर काभ्रो फुलेर बोट सेताम्मे हुन्थे। वस्तु चराउन जाँदा पल्ला घरका बा रूख चढेर काभ्राका फूल झार्थे।

चिलाउने खर्कको पँधेराको पानी सार्‍है मीठो। सानो पहरोमुनि वरपीपल बीचमा रहेको गहिरो पँधेरो, पँधेराछेउमा गाग्री बिसाउने चौतारो, पँधेरामुनि सानो पोखरी र पर्तिर एउटा ठूलो ढुंगो। हाम्रा पुर्खाहरूले त्यही पानी खाएका हुन्। आमाहरूले आधा उमेरसम्म त्यहींको पानी गाग्रोमा बोक्नुभयो। हामी केटाकेटी साना ग्यालिन र बाँसका ढुंग्रा बोकेर त्यही पँधेरामा पानी लिन जान्थ्यौं। दशैंका बेला सबै गाउँले जम्मा भएर पँधेरो मर्मत गर्थे। चौतारो बनाउँथे। पोखरी सोहोर्थे। पँधेर्नीहरू त्यही शान्त र एकान्त पँधेरीमा आफ्ना मनका बह फुकाउँथे। पानी भर्दै गीत गुनगुनाउँथे। साँझपख जूनकीरी पिँधमा बत्ती बाल्दै नाचेको दृश्य अलौकिक लाग्थ्यो।

धोवीको धारो पर्तिरको कल्सेको जंगल, ज्यामिरे ठूला खेतमुनिको जंगलमा हामी चिलाउने र पात्लेको सेउला काट्न जान्थ्यौं। माथ्लाघरको दिलिप, गोपाल, मतानको काजी, रामजी, छवि दाइ, ठूलाघरका हरि ऊ बेलाका सेउला बोक्ने साथी थिए। म रूख चढ्न सक्दिनँ थिएँ। अरूले नै झारिदिन्थें। हामी घण्टौंसम्म जंगलमा बसेर गीत गाउँथ्यौं। चैतवैशाखमा रूखले पाउला फेरेको बेला कम्ती राम्रो देखिदैनथ्यो जंगल। धोवीका धाराको पानी सार्‍है मीठो! धारा वरिपरिका ढुंगा, कल्सेको ठूलो ढुंगा अनि यिनमा बसेर पारि सामातुङ र बुइपा हेर्दै बस्नुको मजा बेग्लै। हाम्री बच्ची दिदी र उनका साथीसँगीहरू गीता, गुने, मैया, भगती त्यतैहुँदि हाँसखेल गर्दै घाँस काटिरहेका हुन्थे।

पारि कट्टी जाने बाटामा सिम्ले खोलो पर्छ। देवीथानबाट झरेको ढोडे खोला नै निकै तल पुगेपछि सिम्ले खोला नामले चिनिएको हो। सिम्ले खोलाको ठूलो काली दहमा पौडी खेल्नेको घुइँचो हुन्थ्यो। खिला कान्छो, हिमाल, कैलाश लगायतका साथीहरू स्कूल छोडेरै पौडी खेल्न झर्थे। एक बाँस जति नै गहिरो दह थियो। पौडी खेल्ने पारखीहरू माथि अग्लो ठाउँबाट झ्वाम्म दहमा हाम फाल्थे र फेदको ढुंगा टिपेर ल्याउँथे। हेर्न खूबै मजा आउँथ्यो। म पनि कहिलेकाहीं स्कूलबाट भागेर साथीहरूसँग जान्थें तर मैले पौडी खेल्न कहिल्यै जानिनँ। काली दहमुनिको अलि सानो दहमा खुट्टा टेकेर पौडी खेल्थें। पौडी खेल्न साथीहरूले सिकाउँदा पनि नजानेकोमा अहिले पछुतो लाग्छ।

सिरानघर माथि एउटा रहरलाग्दो डाँडो छ। ‘च्यानडाँडा’को नामले प्रसिद्ध त्यो डाँडामा बसेर पारि सेरा, डाँडाखर्क, सामातुङ, बाम्राङ, दिक्तेल, नूनथला, बाह्र बिसे, इँजारे बेंसी, ज्यामिरेका फाँटिला खेतहरू देखिन्छन्। दशैंको बेला गाउँका रहरिया ठिटाहरूले त्यहाँ रोटे पिङ हाल्थे। छेउमा अर्को लिंगे पिङ हुन्थ्यो। केटाकेटी र ठूलाहरू जतिखेरै भेला भएर तँछाडमछाड गर्दै पिङ खेल्दा डाँडामा औधी रौनक छाउँथ्यो। अनि त्यही दशैको बेला च्यानडाँडाबाट चंगा उडाउँदा कम्ती आनन्द आउँदैनथ्यो।

कसको चंगा राम्रो, कसको चंगा माथि पुग्ने ठिटाहरूमा होडबाजी नै चल्थ्यो। ऊ बेला त्यस्तो रौनक छाउने च्यानडाँडा अहिले प्रायः उदास छ। न त चंगा उडाउने, न त रोटे पिङ हाल्ने रहरिला ठिटाठिटीहरू नै छन् यो बेला। खालि छेउका बूढा वरपीपल र पर्तिरको चिलाउने खर्क हेर्दै उराठ मन लिएर त्यसैगरी गजधम्म बसेको छ च्यानडाँडा।

दिक्तेल जाने बाटामा चन्द्रमानेले रोपेका वरपीपल र उनैले बनाएको चौतारो छ। ढोडे खोलाको ठाडो उकालोमा पर्ने त्यो चन्द्रमानेको वरपीपल चौतारीमा बिसाएर शीतलु हावाको धेरैले आनन्द लिएका छन्। जातले तल्लो (विश्वकर्मा) भए पनि वरपीपल रोपेर धेरै मान्छेले बिसाउने त्यो चौतारी बनाउने चन्द्रमाने कामी कति धर्मात्मा होलान्। पारिपट्टि उत्तीसका अग्ला रूख र छेवैको ढोडे खोलाको संगीत कति मीठा! त्यो वरपीपल रोप्ने चन्द्रमानेलाई मेरो सलाम।

भट्टराई गाउँको माझमा भोर्लाबोटेको धारो छ। छेउमा वरपीपल, वरिपरि बाक्ला बाँसघारी, नजिकै चौबिसे खोलो र एउटा अग्लो ढुंगो रहेको चौबाटोको बीचमा त्यो धारो छ। खेतीपातीको सिजन अनुसार बालीनाली लाउन–उठाउन कोही खेतमा धाउँदै गरेका, कोही जाँदै गरेका, कोही घाँस दाउरा गरिरहेका, कोही खेतबारीमा मल बोकिरहेका, कोही वस्तुभाउलाई आहाल बसाइरहेका, कोही पानी भरिरहेका, कोही नुवाइधुवाइ गरिरहेका, चौतारीमा बिसाएर कोही बात मारिरहेका, कामले धापिएर आउनेहरू पानी खाइरहेका यस्तो छ त्यहाँको दृश्य। 

बिहान झिसमिसेदेखि झमक्क साँझ नपरूञ्जेलसम्म त्यो धारो र मान्छे बस्ने चौतारी एकैछिन खाली नहुने। भोर्लाबोटेको धारो हाम्रो भट्टराई गाउँको एउटा मुटु नै हो। अहिले त त्यहाँ त्यो पुरानो मौलिक धारो छैन। त्यही पानीलाई पाइपबाट अलि तल लगेर सिमेन्टको धारो बनाइएको छ।

कटुवा चौतारो हवाइलो ठाउँ। बुढादेखि भर्खरकाहरूको बिहान–बेलुका बात मार्ने थलो। गाउँका मान्छेहरू उँधोउँभो, वारिपारि गर्दा, भारी बोकेर घरगोठ गर्दा र खेतबारी धाउँदा एकैछिन भए पनि बिसाउने ठाउँ। गाउँभरिका खबरहरू बुझ्ने, बूढाबूढीहरू बसेर पुराना बात मार्ने, बालानाली कुरा गर्ने त्यो चौतारी गाउँका सबैको मन बिसाउने ठाउँ हो। गाउँका कति बूढा पुरानाहरू मरिसके, कतिले ठाउँ छोडिसके तर त्यो कटुवा चौतारी अझै त्यहीं छ। मरी जानेहरूलाई सम्झिरहेको छ। छोडी जानेहरूसँग चित्त दुखाइरहेको छ।

गाउँको पुछारमा हाम्रो आठमुरे बारी छ। त्यहाँ हजुरबाको पालामा हाम्रो बर्खे गोठ हुन्थ्यो। भैंसी, गाई, गोरु, पाडापाडी, बाछाबाछीले  भरिमराउ हुन्थ्यो। छेउमा सेरा खोला, बाँस झ्याङ, उत्तीस र बडहरका रूख वरपर वस्तु चराउने ठाउँ थियो। हजुरबा धेरैजसो पारि कागुनेका पाखामा वस्तु चराउन लानुहुन्थ्यो र आपूm ठूलो चप्लेटी ढुंगामा बसेर शिलोक गुनगुनाउनुहुन्थ्यो। पल्लाघरका बा, आठमुरेका बढाउ, कटुवाका बा पनि त्यहीं वरिपरि  गोठ राख्थे। म पनि कुराउनी र दूधका लोभले सानामा बासँगै गोठमा बस्थें।

चौबीसे खेत, बाह्रबिसे खेत, इँजारे, झगडिया र पाँचगरे खेतमा हिउँद याममा मल बोकेको, खेतमा पानी लाएर बाँझो मारेको, मकै छरेको, मकै गोडेको, बर्खा याममा पानी चुहाउँदै मकै र टुप्पा बोकेको, आलीभित्ता गरेको, खेत हिल्याएर, गोरु साएर धान रोपेको, खेतको समाहाबाट पानी बगेको, धान गोडेको, मंसिरमा खेतमा धान झुलेको, धान काटेको, खले गरामा धान झारेर कुन्यू लाएको, धानका बोरा बोकेर ठसठसी कन्दै उकालो लागेको सम्झनाहरू ताजा छन्।

झगडिया र पाँचगरे छेउमा ठूलो चिउरी ढुंगा। ढुंगाछेउ ठूलाठूला चिउरीका रुखहरू भएकाले त्यो ढुंगाको नाम चिउरीढुंगा रहेको हो। उँधोउँभो गर्ने बटुवा र खेतमा काम गर्नेहरू त्यहाँ पल्टेर थकाइ मार्थे र सुर्ती सल्काउँदै ठूलाठूला चिउरीका रूखको हावा खाँदै बात मार्थे। म खेतमा पानी लाउन जाँदा, भटमास रुँग्न जाँदा त्यही चिउरी ढुंगामा पल्टेर पारि फलाँटे र तारे पहरो हेर्दै सुसेल्थें। घरिघरि निदाउथें।

हामी दिखुवा खोलो तरेर खाम्तेल मावल जान्थ्यौं। बगरका ठूला ढुंगामा बसेर खोलो बगेको हेर्थ्यौं। पुल थिएन। हिउँदका बेला त खोला सजिलै तरिन्थ्यो तर बर्खामासमा सार्‍है पर्ने। कहिले वारिपारि काम गर्नेहरूलाई गुहार्नुपर्थ्यो। भलबाढी आएको बेला उनीहरूले हात समाईसमाई तारिदिन्थे अनि त्यही मावल जाने बाटामा बसेरीको पुछारामा एउटा ठूलो थुम्को आउँथ्यो। गोरुको जुरोजस्तो देखिने हुँदा त्यो थुम्कालाई सबैले जुरे थुम्को भन्थे। त्यो थुम्काबाट ठ्याक्कै मावली गाउँ देखिन्थ्यो। थुम्काबाट पश्चिमतर्फ ठाडो ओरालो झरेपछि लिपे खोलो आउँथ्यो। हामी खोलामा मुन्टो जोतेर पानी पिउँथ्यौं। खोलैछेउ बगरका ठूला चिप्ला ढुंगामा बस्थ्यौं। खोलो बगेको हेथ्र्यौं र बढाकाको उकालो लाग्थ्यौं।

घरको पूर्वपट्टि चौबीसे खोलो र सेरा खोलो थियो। चौबीसे खोलो बर्खा मासमा ठूलो पानी परेको बेला निकै गड्गडाउँथ्यो भने हिउँद याममा कमिला हिंड्थे। सेरा खोलो भने सानो भए पनि हर्दम बगिरहने। सेरा गाउँमा मङ्सिर पुसमा पहेंलै सुन्तला फल्थे। फलाँटेका फलैंचामा बसेर वारिपारि हेर्दा सार्‍है आनन्द आउँथ्यो। फलाँटे पर्तिरको पहरामुनिको पानी सार्‍है मीठो!

तारे पहरो त झन् हेरिरहूँ लाग्ने। उहिले त्यहाँ लट्टे झाँक्री बस्थे अरे। हेर्दैमा कलात्मक लाग्ने पत्रैपत्र भएको ठूलो ओढार। कुइभीर पाखाका बुटा–पोथ्रा छिचोल्दै र गोरेटो पहिल्याउँदै तारे पहराको शीरमा म धेरै चोटि बसेको छु र दिक्तेल, नूनथला, खत्रीगाउँ, बसेरी, बुइपा, खाम्तेल, दाप्सा, याम्खा, मात्तिम, टेम्मा, धिप्लुङ छाँगो, डाँडागाउँ, लहरेपैंयु हेर्दै सल्लाघारीको सुसेलीसँगै सुस्ताएको छु। त्यहाँबाट दिखुवा र साप्सुको नागबेली संगीत सुनेको छु।

कुइभीर पर्तिर उदाङ्ग परेको खुरखुरे डाँडो छ। थचक्क बसेको गैरी चौतारो छ। र वरपर होचा–अग्ला डाँडा र वनपाखाहरू निकै छन्। हाम्रा आमा, दिदीहरूले त्यहींबाट हिउँदमा दाउरा बोक्थे। उता साप्सु नजिक पुगेर घर छाउने अर्थुङ्गे खर ल्याउँथे। गैरी चौतारामुनिको आलेडाँडो सार्‍है रमाइलो ठाउँ। ठूलाठूला वरपीपलका छेउमा दुईचार पसलहरू। मधेस ओहोरदोहोर गर्दा धेरै बटुवा बिसाउने र बास बस्ने ठाउँ। हाम्रा पुर्खाहरूले त्यही बाटो भएर साप्सु गड्तीर, खोतेपा, बेलडाँडा, रेग्मीटार, भँडारेघाट, रमाइलो, रसुवा, खयरबास, फोक्सिङटार, बेतालीको भीर र अँधेरी खोला हुँदै बेल्टार पुगेर नूनका भारी ल्याउँथे।

कुसुमजीको जन्मघर मेरो ससुराली जाने बाटोको याद धेरै आउँछ । गैरी चौतारामाथिको डाँडा काटेर उँधो झरेपछि पेवा खोला आउँछ । पेवा खोलामा माथिदेखि तलसम्म लम्पसार परेका ढुंगामा पल्टेर थकाइ मार्दा सार्‍हैआनन्द आउने। साप्सु खोलाको बगरमा बसेर अञ्जुलिमा पानी खाँदै साप्सु बगेको हेर्नुको मजा अर्कै।

प्वाँला फेदीको बटुवा चौतारो, जाँड पसल, माथिबाट हान्निदै झरेको टुकुरे खोलो, टुकुरेको ठाडो उकालो काटेपछिको रमाइलो गाउँ, रातमाटे, कोटगाउँमाथिका वरपीपल, चारतले भीर सिरानको मनै हर्ने त्यो लहरे पैयुँ, वारिपारिका टाढाटाढाका दृश्य देखिने त्यो देशपाले डाँडो, स्यालगौंडे भञ्ज्याङ, हिउँदमा पहेंलपुर तोरीले हराभरा, गोगुन, दुधिला र उत्तीसका रूखहरूले भरिभराउ त्यो नाली र कोप्चे गाउँ यी सबै सम्झिदा अहिले पनि मन हुरुक्क भएर आउँछ।

सेरा खोलाछेउको धुलौटेमा एउटा ठूलो ढुंगा छ। त्यही ढुंगाको फेदमा मेरी साहिंली बहिनी जलीलाई गाडिएको छ। जली ठ्याक्कै ममुनिकी। हामी सँगै खेल्थ्यौं। सँगै सुत्थ्यौं। ऊ लामो जामा लाउँथी। पाँचछ वर्षको उमेरमा ऊ पखाला लागेर ठहरै भई। माथ्लाघरका काका, पल्लाघरका दाइहरूले हातमा बोकेर त्यही धुलौटेको ढुंगामुनि लगी खाल्डो खनेर उसलाई त्यहाँ पुरेर आए। आमा घाँस काट्न जाँदा त्यही ढुंगामा बसेर जली गाडेको ठाउँ हेर्दै घण्टौंसम्म रुनुहुन्थ्यो। म पनि पछिसम्म वारिपारि गर्दा त्यो ढुंगामा एक्लै बसेर जलीलाई सम्झिन्थें। उसलाई गाडेको ठाउँमा एउटा ठूलो चिलाउनेको रूख थियो। पछि त्यसलाई काटेछन्। जली अहिले पनि सेरा खोलाको संगीत सुन्दै त्यही ढुंगाको ओढारमा गट्टी र सिन्की धुलो खेल्दै होली जस्तो लाग्छ।

जन्मेदखि आज यो उमेरसम्म देशभित्र र बाहिरका धेरै ठाउँ घुमियो। कति सुन्दर ठाउँहरू चाहारियो तर बालापनमा आमासँग ताते गर्दै कहिले थिग्रिंंदै र लड्दै, कहिले धुलाम्मे र हिलाम्मे हुँदै टुकुटुकु हिंडेकोे त्यो आँगन, त्यो दलान, ती भित्ता र पर्खालहरू टाढाबाट सम्झिदा मात्रै पनि कति प्रिय हुँदा रहेछन् आज।

बाला–दौंतरीहरूसँग खेले–हुर्केको, घाँसदाउरा, मेलापात, उकालीओराली गरेको त्यो आफ्नो ठाउँ अरूका लागि जस्तो होस् तर आफ्ना लागि त स्वर्गै हुँदो रहेछ। संसारका जुनसुकै ठाउँमा पुगे पनि, जहाँ बसे पनि बिपनामा टोलाउँदा होस् या सपनामा होस् हरबखत गाउँठाउँका तिनै दृश्यहरू एकपछि अर्को गरी आइरहँदा रहेछन् र जीवनका सर्वाधिक प्रिय वस्तु तिनै हुँदा रहेछन्।  

प्रकाशित: २८ पुस २०७८ ०८:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App