coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

नयाँ वर्षको प्रचलन

जनवरी १ अहिले संसारभरिको नयाँ वर्ष मानिन्छ। रोमन सम्राट जुलियस सिजरले आफ्ना दुईटाउके भगवान् जानुसको सम्मानमा राखेको यो महिनाको नाउँभित्रको कथा अहिले धेरैलाई थाहा छैन।

रोमनहरूले पूजा गर्ने दुईटाउके मिथकीय भगवान्को एउटा हातमा साँचो र अर्को हातमा ठूलो लौरो हुने गर्छ। यिनको प्रिय वाहन भाले कुखुरो हो। नहोस् पनि किन, यसले हरेक बिहान सर्वसाधारणलाई ब्युँझाउने काम जो गर्छ। त्यो बेलाका रोमनहरूको विश्वास थियो, हरेक दिन बिहानको संकेत जानुसले सर्वसाधारणलाई ब्युँझाउने गर्छन्। बिहानीको त्यो बेला हिजोका कामको समीक्षा गर्ने र आजको भविष्यका लागि तयारी गर्ने हो।

जुलियस सिजरले सोही धारणा वर्षको पहिलो महिनामा गाँसिदिए। जानुसको सम्मानस्वरूप सिजरले वर्षको पहिलो जनवरी बनाए। यसरी अहिले हामीले मान्ने गरेको महिनासँग रोमन सम्राट जुलियस सिजर र उनका भगवान् जानुस जोडिएका छन्।

त्यसो त जहाँजहाँ सभ्यता जन्मियो, पृथ्वीवासीले त्यहाँत्यहाँ नयाँ वर्ष मनाए। उनीहरूले काल्पनिक भगवान् बनाए, तिनलाई पूजा गरे र अनेक कथा गाँसेर भोजभतेर, उत्सव तथा कसम खाने प्रचलन बसाले।

प्राचीन मिश्रवासीले ईशापूर्व ३००० वर्षअघि ‘विपेट रिन्पेट’ (नयाँ वर्षको स्वागत) भनेर मनाउने गर्थे। तर त्यो स्वागत जनवरी १ मा होइन, मध्य जुलाईमा मनाइन्थ्यो। जुन बेला मज्जाले नाइल नदीमा बाढी आउँथ्यो, उनीहरूले त्यसलाई स्वागत गर्थे। यो स्वागतचाहिँ गर्भधान र पुनर्जन्मको उत्सवका रूपमा मनाइन्थ्यो। यस्तो उत्सवमा नाचगान, भोजभतेर, मदिरा तथा पेयको उच्च खपत हुन्थ्यो।

योभन्दा पनि पहिले बेबिलोनवासीले चार हजार वर्षअघि १२ दिने नयाँ वर्षको उत्सव मनाउँथे। त्यसलाई ‘फिस्ट अफ अकिटु’ भनिन्थ्यो। त्यो बालीनाली भित्र्याइसकेपछि वसन्त ऋतुको स्वागतमा मनाइन्थ्यो। यो उत्सवमा विभिन्न देवीदेउताका प्रतिमा बोकेर सहर डुलाइन्थ्यो, भोजभतेर खुवाइन्थ्यो। कुनै राजाको राज्याभिषेक गर्नुपरे नयाँ वर्ष कुरिन्थ्यो। पुरानै राजा छन् भने आफ्नो राजकीय शक्ति संकेतात्मक रूपमा पुनर्नवीकरण गरिएको घोषणा गर्न यही समय रोज्थे।

चिनियाँहरूले भने औपचारिक रूपमा नयाँ वर्ष मनाउन थालेको तीन हजार वर्ष पुगेको छ। जाडो याम सकिएको दोस्रो सातालाई उनीहरूले नयाँ वर्ष मान्ने गर्छन्। हामी नेपाली तथा हिन्दू प्रभावित भारतमा भने विक्रमादित्यले चलाएको विक्रम संवत् चल्तीमा छ। यो मनाउन थालिएको पनि २०७७ वर्ष पुगिसक्यो। बौद्ध धर्मको प्रभाव भएका मुलुकले नयाँ वर्ष वैशाख पूर्णिमा वरिपरि मनाउने गर्छन्। यस्तो चलन बर्मालगायत दक्षिणपूर्वी एसियामा प्रचलित छ। अहिलेलाई भने हामी अंग्रेजी नयाँ वर्ष प्रचलनका बारेमा चर्चा गरौँ।

ईशापूर्व ४५ मा रोमका सम्राट जुलियस सिजरले पहिले चल्तीमा रहेको चन्द्रपात्रोलाई व्यापक रूपमा अदलबदल गरे। जुलियस सिजरले चलाएको पात्रो भएकाले त्यो पात्रोलाई जुलियन क्यालेन्डर पनि भनियो। उनले यो क्यालेन्डर बनाउँदा वैज्ञानिक रूपमा ‘लिप इयर’ समेत जोडेर बनाएका थिए। उनले नै वर्षका १२ महिना बनाएका थिए। उनीअघि क्यालेन्डर चल्तीमा भए पनि १० महिना मात्र थिए वर्षमा तर उनले आफ्नो नाउँ र आफ्ना पुत्र अगस्टससमेत जोडेर जुलाई र अगस्त महिना थपेका थिए।

जनवरी १ लाई उनैले वर्षको पहिलो महिनाका रूपमा मान्यता दिलाएका थिए। नत्र त्यसअघि मार्च महिनामा नयाँ वर्ष मनाइन्थ्यो। अचेल सेप्टेम्बर, अक्टोबर, नोभेम्बर तथा डिसेम्बरजस्ता नाम अंककै आधारमा बनाइएका हुन्। सेप्टेम्बर भनेको सात, अक्टोबर आठ र नोभेम्बर नौ थियो।

जनवरी नाम जानुसबाट बनेको हो, जुन त्यो बेला रोमनहरूका दुईटाउके भगवान् थिए। जनवरीलाई दुई तरिकाले हेर्ने आग्रहस्वरूप जानुसबाट प्रेरित भएका थिए, सम्राट जुलियस सिजर। एउटा मुखले विगत हेर्ने र अर्को मुखले भविष्य नियाल्ने अर्थ प्रायः निकाल्ने गरिन्छ। जनवरीको पहिलो दिन रोमवासीले जानुसको पूजाआजा गरी मनाउँथे र एकअर्कामा मह र अञ्जीरको फल चढाउँथे।

जहाँजहाँ रोमनले प्रभाव जमाए, त्यहाँत्यहाँ जनवरी १ मा नयाँ वर्ष मनाउने प्रचलनले व्यापकता पायो, तर नयाँ वर्ष पृथ्वीमा हरेक ठाउँमा बेग्लाबेग्लै समयमा मनाइनु स्वाभाविक थियो। खासगरी वसन्त ऋतुका बेला पृथ्वीका अधिकांश ठाउँमा नयाँ वर्ष मनाउने प्रचलन थियो। रोमनको जुलियन क्यालेन्डर रोमन साम्राज्यभर चल्तीमा भएको निकै वर्षपछि कैयौँ ठाउँमा जनवरी १ मा नयाँ वर्ष नमनाई पहिले मनाइआएको नयाँ वर्षलाई नै जारी राखेका थिए।

१६औँ शताब्दीमा भने रोमन पोप ग्रेगोरी १३औँले अनिवार्य रूपमा जनवरी १ मा नयाँ वर्ष मनाउने उर्दी जारी गरे। यसको विरोधस्वरूप धेरैले मार्च २५ लाई नै मनाउने कार्य जारी राखे। जसलाई उनीहरूले नयाँ वर्षको पर्व नभनी ‘घोषणा पर्व’ भन्थे। यस्तो घोषणा पर्व भने सन् १७५२ सम्म जारी रह्यो।

खासगरी सारा संसारभरि एकरूपता ल्याउन बेलायती तथा बेलायती औपनिवेशिक क्षेत्रमा जनवरी १ लाई नयाँ वर्ष मान्न थाले। नयाँ वर्षको उत्सव भन्नु भोजभतेर र रामरमाइलो गर्नु मात्र थिएन। यसलाई नयाँ संकल्प गर्ने दिनका रूपमा समेत मनाइन्थ्यो र यो प्रचलन भने प्राचीनकालदेखिकै हो। मेसोपोटेमियाको सभ्यतामा भगवान्लाई नयाँ वर्षको भोग चढाइन्थ्यो। उनीहरू अझ बढी मिहिनेत गर्ने, ऋण निमिट्यान्न पार्ने, कसैबाट लिइएको उधारो सामग्री (घरेलु सामग्री, थाल, बटुका लगायतका भाडाकुँडा) फर्काउने दिनका रूपमा लिइन्थ्यो।

सिजरका बेलामा भने जनवरी १ का दिन भगवान्लाई बलि चढाउने र सबैका अगाडि आफूले अरूप्रति राम्रो व्यवहार गर्ने कसम खाइन्थ्यो। मध्यकालीन समयमा युद्ध सरदारहरू (नाइट्स)ले मयूरलाई छोएर क्रुसेडमा निस्कने कसम खान्थे।

१८औँ शताब्दीताका मेथोडज्म सम्प्रदाय निर्माण गर्ने जोन विस्लेले १८औँ शताब्दीताका ईश्वरका अघिल्तिर आफ्ना पुराना वचन पूरा गर्ने प्रचलन गराएका थिए। जस्तो कि, कसैले रक्सी खान छोड्छु भनेर पनि उसले छाड्न सकेन भने नयाँ वर्षको पहिलो दिन आयोजना गरिने भोजमा पुरानो कसम सम्झाउँदै अब आइन्दा आजदेखि पुनः प्रण गर्छु भनी जोन विस्लेका चेलाहरूले कसम खान्थे।

आधिकारिक रूपमा नयाँ वर्षका बेला लिइने कसमलाई अमेरिकाको बोस्टनबाट निस्कने ‘बोस्टन’ अखबारले लिखित रूपमा सर्वसाधारणका वाचाकसम प्रकाशन गरेको तथ्य पाइन्छ। उसले ‘न्यु इयर्स रिजोल्युसन’ शीर्षकमा पाठकहरूले स्वघोषणा गरेका महिनाभरिका पाप र आइन्दा त्यो पाप नदोहोर्‍याउने कसम छाप्ने गथ्र्यो। त्यो पछि निकै लोकप्रिय भएकाले अरूले पनि त्यसको नक्कल गरी प्रकाशन गर्न थालेका थिए।

प्रकाशित: १० पुस २०७८ ०३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App