coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

इलाममा नेपाल र भारतका साहित्यकारको जमघट

नेपाली तथा भारतबासी नेपाली साहित्यकारले साहित्य र पर्यटनबीच अन्योन्याश्रित सम्बन्ध रहेको निष्कर्ष निकालेका छन्। साहित्यका माध्यमबाट पर्यटन विकास र पर्यटनका माध्यमबाट साहित्य सिर्जना हुने अनुभव दुवै देशका साहित्यकारले आदानप्रदान गरे।

सदरमुकाममा जारी ‘अन्तरदेशीय इलाम पर्यटनमैत्री साहित्य सम्मेलन’ मा सहभागी दुवै देशका सय हाराहारी साहित्यकारले पर्यटन प्रवद्र्धनमा साहित्यको महŒवपूर्ण भूमिका रहने औंल्याए। ‘पर्यटनको विकासमा साहित्यको भूमिका’ विषयक अवधारणापत्र प्रस्तुत गर्दै साहित्यकार डा.देवी क्षेत्री दुुलालले साहित्यजन्य गतिविधि, सृष्टि, सिर्जना, दृष्टि र कृति नै साहित्यिक पर्यटन भएको बताए। उनले स्रष्टाहरू नै साहित्यिक पर्यटक भएको पनि जनाए।

‘पर्यटन एउटा व्यवसाय र उद्योग हो । यो एक प्रकारको अवसर पनि हो,’ उनको कार्यपत्रमा उल्लेख छ, ‘साहित्यिक पर्यटन अन्तरदेशीय र स्वदेशी हुन्छ। साहित्यिक पर्यटनले भाइचारा सम्बन्ध पनि विकास गर्छ।’

डा.दुलालले साहित्यका माध्यमबाट पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुनेमात्र नभई विभिन्न साहित्यिक जमघट, महोत्सवलगायतले पर्यटन व्यवसायमा महŒवपूर्ण टेवा पुर्याउने बताए। ‘इलामलाई समेटेर लेखिएका गीत हुन् या २००९ साल असोज १८ देखि २२ सम्म करफोकमा भएको साहित्य सम्मेलन, यी पर्यटन र साहित्यको सम्बन्धका दृृष्टान्त हुन्,’ उनले भने, ‘पर्यटकलाई स्थानीय संस्कृति, कला, नाटक, नृत्य प्रस्तुत गरेर देखाउँदा साहित्यको भूमिका झल्किरहेको हुन्छ तर यस्ता विषयमा खासै चर्चा–परिचर्चा भइरहेको पाइँदैन।’

दुुलालले इलामको परम्परा, संस्कृति, साहित्य, कला र कृषि उत्पादन यहाँको पर्यटनका आधार भएकाले साहित्यकारले तिनीहरूको प्रचारप्रसारमा उल्लेखीय योगदान गर्न सक्ने बताए।

डा.दुलालको अवधारणापत्रमाथि टिप्पणी गर्दै झापाका अगुवा पत्रकार चन्द्र भण्डारीले साहित्य र पर्यटनमा ‘मोफसल’ शब्दले सबैलाई पीडाबोध गराइरहेको बताए। उनले काठमाडौंले बाहिरलाई र जिल्ला सदरमुकामले गाउँहरूलाई मोफसल देख्ने भएकाले दूरदराजको दुःख, पीडा, परम्परा, संस्कृति, वैभव ओझेलमा परेको टिप्पणी गरे। ‘अबको पर्यटकीय क्षेत्र सगरमाथा, हिमाल, घाम, जूनमात्र होइनन्। प्रकृतिसँगै स्थानीय कला, संस्कृति, भेषभूषालाई हामीले पर्यटकीय बनाउन सक्नुपर्छ,’ उनले भने, ‘सीमा क्षेत्रमा बसोबास गर्ने व्यक्तिका पीडा, दुर्गममा जीवनयापन गर्नेहरूका कथालाई साहित्यमा उन्नुपर्छ। यसले साहित्य र पर्यटन विकासमा सघाउँछ।’

त्यस अवसरमा साहित्यकार युवराज नयाँघरेले ‘यात्राः भाव, भाका र भाषा’ विषय अवधारणापत्र प्रस्तुत गरे। उनले यात्रा साहित्य पनि अभिव्यक्तिको उत्तम माध्यम भएको जनाए। देशका ऐतिहासिक महŒवका स्थलहरू आफैंमा साहित्य सिर्जनाका विषय भएकाले सर्जकहरू यात्रा साहित्यमा आकर्षित भएको उनको भनाइ छ।

अर्का साहित्यकार प्रमोद प्रधानले इलामको पर्यटनमा लेखनको भूमिका महत्वपूर्ण रहेको बताए। ‘पर्यटनको कुरा गर्दा लेखनको चाहिँ पहिला छलफल गर्नुपर्छ,’ उनले भने, ‘अमूर्त वा गाउँ–ठाउँमा लुकेका विशेषता लेखनका माध्यमबाट उजागर गर्न सकिए पर्यटनमा सहयोग पुग्छ।’

इलाम नगरपालिकास्थित साहित्य, कला तथा संगीत प्रतिष्ठान, नगर पर्यटन प्रवद्र्धन समिति र काठमाडौंस्थित साहित्य पत्रकार संघले आयोजना गरेको सम्मेलनमा भारतको दार्जिलिङ, सिलिगुडी, असम, सिक्किम, मिरिकलगायत क्षेत्रकै ५० भन्दा बढी साहित्यकार सहभागी छन्।

सम्मेलनमा इलाम, झापा, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, चितवन, पोखरा, काठमाडौंलगायतबाट पनि साहित्यकार भेला भएका छन्।

त्यस अवसरमा इलामको पर्यटकीय क्षेत्रबारे सञ्जीव पौडेलले अवधारणापत्र प्रस्तुत गरे। विभिन्न स्थानबाट भेला भएका साहित्यकारले कविता, गीत, गजल वाचन गरेको इलाम नगर पर्यटन प्रवद्र्धन समिति संयोजक प्रकाश अधिकारीले जानकारी दिए।

त्यसै अवसरमा इलामका गायक नन्दकुमार श्रेष्ठ र चित्रकार प्रेम केसीलाई सम्मान गरियो।

सम्मेलनमा साहित्यकारहरू डा.गार्गी शर्मा, आख्यानकार विन्द्या सुब्बा, हिरन्यकुमारी पाठक, साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठ, साहित्यकारहरू अषेश मल्ल, नन्दु उप्रेती, गायत्री श्रेष्ठ, दिव्य गिरी, बुलु मुकारुङ, मुरारी सिग्देल, मञ्जिला अनिल, रामप्रसाद पन्त, युद्धप्रसाद वैद्य, विमल वैद्य, समालोचक प्रा.डा.सवित्री मल्ल कक्षपतीलगायतको सहभागिता छ।

भारतको नयाँदिल्लीस्थित नेपाली भाषा परामर्श समितिका पूर्वसंयोजक प्रेम प्रधान, दार्जिलिङस्थित नेपाली साहित्य सम्मेलनका पूर्वअध्यक्ष गोपीचन्द्र प्रधानसहित भारतस्थित नेपाली साहित्यकारहरू मुक्ति बराल, नारायण हुमागाईं, लतिका जोशी र किशोर पहाडीलगायतको पनि सम्मेलनमा सहभागिता छ।

प्रकाशित: १८ मंसिर २०७८ ११:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App