७ वैशाख २०८१ शुक्रबार
कला

ज्येष्ठ नागरिक घर

लघुकथा

नवराज शर्मा

जब ऊ पहिलोचोटि मलाई भेट्न आएको थियो, त्यतिखेर ऊ दस वर्षको थियो। प्रविधिले पहिले पनि हाम्रो भेट नभएको होइन तर प्रत्यक्ष भेट पहिलोपटक भएको थियो।

एउटा रमाइलो साँझ, हामी तीनपुस्ता रमाइलो मान्दै नयाँसडक, वसन्तपुर, ईन्द्रचोक अनि ईन्द्रचोक हुँदै असनतिर घुम्न गएका थियौँ। बाटोमा बसेका बसाहालाई देखेर हाँस्दै उसले भनेको थियो, ‘यी बुढा गोरुहरू क्या राजसी ठाँटले बाटै छेकेर बसिरहेका छन्।’

‘लोकतन्त्र भएर होला।’ उसको बुबा मुसुक्क हाँसेको थियो।

‘शिशु लोकतन्त्र भएर हो।’ म पनि मुसुक्क हाँसे।

उसले कुरा बुझ्यो बुझेन तर ऊ पनि मजाले हाँसेको थियो।

आज बाह्र वर्षपछि ऊ फेरि आयो। म दङ्ग थिएँ, नातिसँगको भेटले। यसपालि हामी धेरै ठाउँमा घुम्न गयौँ। अकासिदै हिमशृङ्खला हेर्यौँ, सगरमाथा भेट्यौँ। बञ्जी जम्पिङ, प्यारा ग्लाइडिङ,  र्‍याफ्टिङ गर्दा ऊ निकै  खुशी र रोमाञ्चित देखिन्थ्यो । एक महिने घुमाइमा हामी कहिले सुदुर पूर्व पुग्यौँ त कहिले सुदूरपश्चिम पुग्यौँ।

मेरो देशको सौन्दर्य देखेर ऊ पुलकित हुन्थ्यो। म उसको खुशी देखेर हर्षविभोर हुन्थेँ।

अन्ततः उसको फिर्ने दिन आयो। म भित्रभित्रै भाँचिएको थिएँ। सायद ऊ पनि भित्रभित्रै दुखी भएको थियो। बिदाइको हात हल्लाउनुअघि मैले सोधेँ, ‘तिमीलाई मेरो देश कस्तो लाग्यो?’ 

उसको जवाफ सुनेर मेरो मुटु चसक्क चस्कियो। तर,  मसँग यथार्थलाई स्विकार्नुको कुनै विकल्प थिएन। अनि मेरो मौन ओठबाट एउटा चिसो मुस्कान फुत्त बाहिरियो।

उसको जवाफ थियो, ‘देश सुन्दर छ, कुनै दुई मत छैन तर हजुरको देशको न निकास देखेँ न विकास। कुनाकन्दरा, गाउँघर, सडक शहर अनि भवन सदन जता हेर्‍यो वृद्धहरूको मात्र वर्चस्व देखेँ। लाग्यो म झुक्किएर कतै ज्येष्ठ  नागरिकको घरमा त आइपुगिन!’

प्रकाशित: १६ मंसिर २०७८ ०७:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App