१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

कन्यादान

कथा

दुर्गा वनवासी 

हिजो एउटा बिहेको भिडियो हेरें। वरवधू दुवै ब्राह्मण परिवारका भएकोले हिन्दू संस्कारअनुसार गरिएको उक्त विवाहमा दुलाहाको घरबाट दुलही लिन जाने तयारीदेखि दुलही भित्याइसकेर प्रीतिभोज गरेसम्मको उक्त भिडियो हेरिसकेपछि केही लेख्न मन लाग्यो।

हुन त कति विवाहमा सरिक पनि भइयो होला, कति आफ्नै परिवार नाताभित्र पनि देखियो होला तर यसरी पूर्ण रूपमा विवाहका सम्पूर्ण विधितिर ध्यान पुगेको रहेनछ। मेरो सुरुदेखि यी सबै विधि हेरिएको रहेनछ। केटाकेटी अवस्थामा बेहुला या बेहुली हेर्ने, मीठो खाने,नाचगान हेर्ने र मनोरन्जन लिने सायद यही बिहेको अर्थ थियो।

आफन्त या परिवारभित्रका बिहेमा सहभागी हुँदा पनि कार्यव्यस्तता तथा कुनै न कुनै अभिभारा वहन गर्नुपर्ने हुनाले दुलाहादुलहीसँगै बसेर यी सबै विधि हेर्न पाइएको रहेनछ। त्यसमाथि पनि म सानैबाट नै भिडभाडसँग अलि तर्किने किसिमकै थिएँ।

दुलही लिन आउँदा स्वयम्वरका निम्ति दुलाहाले पर्खिरहँदादेखि नै हातमा अक्षता बोकेर बस्ने जमातका आँखाहरू बेहुला र बेहुलीले एक–अर्कालाई लगाइदिने वरमालातिर भन्दा पनि औंठी, सिक्री, घडी आदि जेवरहरू कति तोला या कुन ब्रान्डका भनेर हेर्न नै बढी उत्सुक भएझैं लाग्छ।

मानवीय स्वार्थ र त्यसले जन्माएको औपचारिकताभित्रको खोक्रोपन यहीँबाट सुरु भएजस्तो लाग्छ मलाई। वरभन्दा पनि उसको आम्दानी र वधूभन्दा पनि उसको रूप र कूल आपसमा विनिमय भएझैं लाग्छ विवाहमा।

मान्छेले यसलाई जतिसुकै आदर्शको लेप लगाए पनि र महानताको उचाइमा  पुर्‍याए पनि यो फगत एउटा आवश्यकता हो,सृष्टिको निरन्तरता हो। कथामा पढेजस्तो या फिल्ममा हेरेजस्तो आदर्श प्रेम कतै छैन एकदुई अपवादबाहेक।

जतिसुकै गाढा प्रेम गर्छु भने पनि श्रीमतीको मृत्युपछि दोस्रो घरजम नगर्ने पुरुष विरलै भेटिन्छन्। यसलाई पारिवारिक बाध्यता,सामाजिक समस्या जे जस्तो नाम दिए पनि यसको केन्द्रमा रहेको कुरो भनेकै मान्छेको स्वार्थ नै हो।

दोस्री श्रीमतीको अँगालोमा बाँधिएर पहिलीको सम्झनामा हराउने श्रीमानहरू होलान् र कोही? श्रीमान् बितेर गएपछि आफ्ना इच्छा र चाहनाहरू दबाएर महिलाहरूले विधवाको जीवन जिउनु पनि जीवनभरि त्यही लोग्नेको सम्झना नभएर साना छोराछोरीहरूको अभिभारा र सामाजिक एवं पारिवारिक बन्धन नै हो। दिनभरिको कार्य व्यस्ततासँगै शिथिल भएको शरीर ओछ्यानमा बिसाउन पाउँदा कुन महिला दस वर्षअगाडि मरेको पति सम्झेर रुँदी होलिन् र? कहिलेकाहीँ आकलझुकल याद आउनु, सपनामा देख्नु या कुरा गर्नु बेग्लै कुरा।

वर्तमानमा सामाजिक र पारिवारिक बन्धन महिलाको हकमा पनि केही खुकुलिएसँगै महिलाहरूले पनि दोस्रो घरजम गर्न थालेका छन्। यथार्थको धरातलमा ती भावनात्मक कुरा, ताराजून झार्ने कुरा र सात जन्मसम्म साथ निर्वाह गर्ने कुरा केही पनि टिक्न सक्दैनन्। फेरि पनि मानिस भएपछि गर्नुपर्ने एउटा अनिवार्यता हो विवाह।

विवाहका विधि तथा रीतहरू आआफ्नो जात, धर्म, भूगोलअनुसार भिन्नभिन्न होलान् तर सृष्टिलाई गतिमान राख्ने यो प्रक्रिया जहाँ पनि देख्न, सुन्न सकिन्छ। हिन्दू संस्कारकै कुरा गर्ने हो भने स्वयम्वरपछि वरवधू दुवैलाई यज्ञ जग्गेमा राखिन्छ।

यज्ञको पवित्र अग्निलाई साक्षी मान्दै दुवैले एक अर्कालाई सदैव साथ दिने र एक अर्कासँग केही नलुकाउने वाचा गर्छन्। यसका साथै एक अर्काको अस्तित्वलाई बराबर सम्मान दिने प्रतिबद्धता पनि व्यक्त गर्छन्।

साँच्चै भगवानप्रति आस्था र डर हुँदो हो त यसरी विवाह गरिसकेर पुरुषहरू किन परस्त्री गमन गर्छन्? श्रीमतीसँग केही समय टाढा हुनुपर्दा किन अन्य महिलामा श्रीमतीको न्यानो खोज्छन्? श्रीमती रोगाइन् भने उनको रेखदेख गर्न झर्किएर र पन्छिएर किन अर्कैतिर कथित प्रेम गाँस्न पुग्छन्?

किन महिलाहरू पनि मनमा अरू कसैलाई बसालेर दाम्पत्य सम्बन्धको औपचारिकता मात्र निर्वाह गर्छन्? लोग्नेसँग केही समय दूरी हुनासाथ त्यसको भरपाई अर्को पुरुषबाट किन गर्छन्? खै श्रद्धा? खै विश्वास? खै प्रेम? पवित्र अग्निमा लिए, दिएको वचनको खै सम्मान? 

हिजोआज महिलाहरू आत्मनिर्भर छन्, शिक्षित छन् र चेतनशील छन्। त्यसो भन्दैमा यौन स्वतन्त्रता नै समानताको द्योतक हो त? पुरुषले विश्वासघात गरे, आफ्नो स्वतन्त्रताको दुरुपयोग गरे भने महिलाले आफ्नो हकका लागि लड्ने कि आफू पनि त्यतै लाग्ने? समानता हरेक क्षेत्रमा हुनुपर्छ तर विवेकहीन यौन स्वच्छन्दता कुनै हालतमा स्वतन्त्रता होइन र हुन पनि सक्दैन।

पुरुषले वेश्यागमन गरेर गृहस्थीलाई वास्ता गरेन भनेर महिलाले पनि स्वतन्त्रता र समानताको भ्रममा त्यही बाटो अपनाउने हो भने त्यो गृहस्थीको नाउ डुब्ने पक्का छ। असम्भव भए कानूनी उपचार छ, सम्बन्धविच्छेद गरेर अलि सोचविचार गरेर दोस्रो घरजम गर्नुपर्ने अवस्था पनि आउन सक्ला कसैको जीवनमा।

मैले यहाँ भन्न खोजेको खास कुरा भनेको विवाह संस्कारमा दिइएको वचनको पूर्ण निष्ठाका साथ दुवैले पालन गरे भने त्यो गृहस्थी सफल हुन्छ। भवितव्य परेर कुनै एकको असामयिक विछोड हुनु बेग्लै कुरा। विवाहअघि दुवैका जीवनमा जे जति गल्ती,कमजोरीहरू थिए भने पनि दुवैले एक अर्कालाई ती विषयमा घोचपेच या खोजी गरिरहनुभन्दा वर्तमान र भविष्यमा ती गल्तीहरू नदोहोर्‍याउने  प्रण गर्नुपर्दछ। चाहे महिला होस् या पुरुष एकपल्ट बाटो बिराउनु अपराध होइन तर त्यसलाई मन,वचन र कर्मले सुधार गर्नुपर्छ।

विवाह संस्कारकै कुरामा मलाई सबैभन्दा धेरै भावुक र संवेदनशील बनाउने कर्म कन्यादान लाग्यो। विवाहका स्वयम्वर लगायतका अन्य कर्म र अन्त्यको बिदाइ पनि त्यति धेरै दुखेन,जति कन्यादान विधि दुख्यो। जन्मदाता र माइती पक्षका अभिभावकहरू बिहानदेखि यही कर्मलाई पूर्णता दिनकै निमित्त उपवास बसेका हुन्छन्।

उनीहरूका हातले वधूको हातसँगै राखेर मन्त्रोच्चारणसहित उसको कूल, गोत्र र थर सारिन्छ। एक धर्को सिन्दूर र एक लुंग हरियो पोते लगाइदिएर उसको अस्तित्वमाथि अर्को परिचय थप्दा पनि त्यति पीडा हुन्न जति उसले धारण गरिराखेको थर गोत्र सार्दा हुन्छ।

त्यो विधि सँगसँगै उसको क्रियाकर्म पनि सरेर अर्को परिवारमा जान्छ र जन्मदाताहरू त्यो बन्धनबाट मुक्त हुन्छन्। कदाचित उसले असमयमै धर्ती यात्रा विसर्जन गरी भने उसका जन्म घरकाले माया बार्ने हुन्, विधि होइन।

यति ठूलो त्याग र बलिदान गरेर पनि उसले उता त्यो ठाउँ बनाउन समय लाग्छ, संघर्ष गर्नुपर्छ र अपार धैर्यशाली हुनुपर्छ। परिवारका सबै सदस्य जोड्ने साँघु हुनुपर्छ। दुई परिवार जोड्ने कडी हुनुपर्छ। केही भुलचुक भए आमाको नाम जोडेर गाली गरिन्छ,संस्कारमाथि औंलो ठड्याइन्छ।

 यही दायित्व बेहुलाले ससुरालीप्रति निर्वाह गर्छन् त? यदि गरे भने उनी हिरो बनाइन्छन् प्रशस्ति गानले। यसलाई उनको दायित्व भनिन्न, महानता भनिन्छ। पक्षपाती छ हाम्रो सामाजिक तराजु।

आफ्नो मुटुको टुक्रालाई क्रियाकर्मसमेत सारेर गरिने कन्यादानभन्दा ठूलो दान  संसारमा अरू के होला त? यति ठूलो सम्पत्ति सबै सुम्पिएका ती अभिभावकसँग लाज पचाएर अझ दाइजो पनि मागिन्छ। यहाँभन्दा कृतघ्नताको पराकाष्ठा अरू के होला र?

आफ्नो कलेजो झिकेर दिएका हुन् ससुरालीले, तिम्री बेहुलीको अस्तित्व र उपस्थितिको कदर गर्नु है बेहुला! तिमीले माया,विश्वास र सम्मान गर्‍यौ भने अरू सबैले स्वतः गर्नेछन्। ऊ वस्तु होइन,कसैको मुटु हो, सधैं तिम्रो धड्कन बनाउनू है!                  

प्रकाशित: १६ मंसिर २०७८ ०६:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App