१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

जसले ज्ञान बाँड्न लाखौं खर्चिए, तर आफ्नै उपचारमा पैसा छैन

घरको एउटा कोठाको सामान्य ओछ्यानमा लम्पसार छन् ७५ वर्षिय चुडामणी खनाल। जो आफै उठ्न सक्दैनन्। उठ्न मात्रै होइन, बोल्न समेत सक्दैनन्। कहिले ईशारा बुझ्छन् त कहिले बुझ्दैनन्। सुन्छन् तर प्रतिक्रिया जनाउन सक्दैनन्,। उनी हुन् पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व प्राध्यापक तथा हास्यव्यंग्यकार चुडामणी खनाल।

खनाललाई यस्तो भएको झण्डै १३ महिना भयो। २०७७ कात्तिक १७ गते विहान २ बजे घरमै सुतेका बेला उनलाई ‘व्लड प्रेसर’ ले हान्यो। जसका कारण उनलाई प्यारालाइसिस भएको छ। झण्डै एकवर्ष उपचार गरेर नसा सम्बन्धी औषधी खुवाउनुका साथै दिनहुँ थेरापी गराइयो। तर, बीसको उन्नाईस भएन।  

चिकित्सकीय उपचारबाट सम्भव नभएपछि थप उपचारबारे छलफल भयो। पारिवारिक सल्लाहपछि उनलाई अहिले आयुर्वेदिक उपचार थालिएको छ। आयुर्वेदिक उपचार पश्चात उनलाई केही सुधार भएको छ। बोल्न नसक्ने उनी फाट्टफुट्ट बोल्न थालेका छन्। पहिले भन्दा बढी चल्मलाउन र प्रतिक्रिया जनाउन थालेका छन्। चुडामणी आफै खान सक्दैनन्। खान मात्र होइन उनी आफै दिशापिसाब समेत तर्काउन सक्दैनन्। उनलाई डाईपर लगाई दिनुपर्छ। चुडामणीलाई ह्वीलचेयरमा राखेर खुवाउनुपर्छ। यी सबै गर्नका लागि श्रीमती मञ्जु र दुई छोराहरु अवदेशमणि र विश्वमणी खटिन्छन्।

चुडामणीलाई अहिले दैनिक रुपमा आयुर्वेदिक औषधीको प्रयोग गरेर थेरापी गर्नुपर्छ। थेरापी गर्न नजिकैको थेरापी सेन्टरबाट थेरापिस्ट आउँछन्। जसका लागि दैनिक १५ सय रुपैयाँ तिर्नुपर्छ। त्यसबाहेक महिनामा झण्डै १५ हजार औषधी लगायतमा खर्च गर्नुपर्ने बाध्यता छ। उनको उपचारका लागि हालसम्म झण्डै २० लाख रुपैयाँ खर्च भइसकेको कान्छा छोरा अवदेशमणिले बताए। अहिले उपचारका लागि मासिक झण्डै ६० हजार खर्च लाग्ने उनले जानकारी दिए।

चुडामणी सुतेको छेउकै अर्को कोठामा उनले लाइब्रेरी बनाएका छन्। जहाँ उनले लेखेका तथा संगालेका पुस्तक छन्। चुडामणीले गण्डकी अञ्चलमा पाइने लोकपद्य (सोधखोज), भैंसीको साग (हाँस्यव्यंग्य निवन्ध संग्रह), मर्न त शनिबार नै पर्छ कि ? (हाँस्यव्यंग्य निवन्ध संग्रह), चिप्लेढुंगाका महामानवसँग सहवार्ता (हाँस्यव्यंग्य निवन्ध संग्रह), कान्तिपुरेय र अरुहरु (हाँस्यव्यंग्य निवन्ध संग्रह), मुद्धा दायर गर्नुपर्छ कि ? (हाँस्यव्यंग्य निवन्ध संग्रह), खेत बाँझो छ, छोरो बेरोजगार छ (हाँस्यव्यंग्य निवन्ध संग्रह), चक्रपाणी चर्चा (परिचर्चा) पोखरा–ज (हाँस्यव्यंग्य निवन्ध संग्रह), पारखीका कसीमा माधवीय केहि काव्यकृति लगायतका पुस्तक प्रकाशित छन्। उनको मोतीदेखि कदीसम्म (समीक्षा) पुस्तक भने प्रकाशोन्मुख छ।

घरभरी आफैले लेखेका पुस्तकहरु अनि संगालेका सयौं पुस्तकहरुले उनलाई अहिले गिज्याईरहेको छ। त्यहि पुस्तक प्रकाशन गर्न लाखौं खर्च गरेका उनी अहिले उपचारका लागि आर्थिक अभाव भएर बस्नुपरेको छ। लाजपनि लजाउँछ होला भनेजस्तै उनको हालत देखेर ती पुस्तकहरुपनि लज्जाबोध गर्दा हुन् सायद ! छोरा अवदेशमणिले बुबाको उपचारका लागि खर्च अभाव भएको बताए। ‘अहिलेसम्म जेनतेन खर्च ग¥यौं तर, अब थप उपचार गर्न गाह्रो भयो, कसैले सहयोग गरिदिए हुन्थ्यो,’ उनले भने।

परिवारलाई आयुर्वेदिक उपचारबाट केहि सुधार हुन्छ कि भन्ने आशा छ। तर, खर्चले ढाड सेक्न लागेकाले सहयोगको अपेक्षा गरिएको उनको भनाई छ। उनलाई काठमाडौं न्यूरो अस्पताल वा भारत लगायतका विदेशी अस्पताल लैजाँदा बुबाको उपचार हुन्थ्यो कि भन्ने लागेको छ। तर, खर्च नभएकाले मन खुम्च्याएर बस्नुपरेको उनले बताए। भने, ‘सहयोग पाए त राम्रो ठाउँमा उपचारका लागि लैजान हुन्थ्यो, के गर्नु खर्च नभएपछि चुप लागेर बस्नु परेको छ।’

साहित्यकार खनाललाई स्थानिय, प्रदेश र संघ कुनैपनि सरकारले सहयोग गरेको छ। त्यतिमात्र होईन ४० वर्षसम्म पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गरेका उनलाई सोहि क्याम्पसले पनि सहयोग गरेको छ। बरु उनका सहकर्मी, अग्रज तथा अनुज पुस्ताका साहित्यकारहरुले पनि व्यक्तिगत रुपमा सहयोग गर्ने गरेको छोरा अवदेशमणिले जानकारी दिए।

प्रकाशित: १५ मंसिर २०७८ ०९:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App