coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

नन्दलाल आचार्यका तीन लघुकथा

तीन लघुकथा

१) डाक्टर खेती

    नन्दलाल आचार्य

‘म गरिप बाबुको छोरो हुँ। धन खर्च गरेर भए पनि बाँच्न चाहन्छु तर दबाई खाएरै मर्न चाहन्नँ।’

जति पटक जाँच्न डाक्टर आउँछन् उत्ति पटक फरकफरक औषधि लेखेर र किनाएर हैरान पारेपछि मैले भनेको थिएँ।

ब्लड क्यान्सर भएर अस्पताल भर्ना भएको हप्ता दिन भएको थियो। उपचार शुरुवात भएपछि बिमार घट्नुको साटो बढेको थियो। खर्चको हिसाब थिएन।

बिरामीलाई जाँचेजस्तो गर्ने, पहिलेको रिपोर्ट हेर्दै नहेर्ने, मात्रै नयाँ जाँच र औषधि लेख्ने डाक्टरको प्रवृत्तिबाट म वाक्क थिएँ।

त्यसकारण मेरो मन कुरा मथ्न मस्त भयो–

बिराम खान्छ भनेर बिरामी अस्पताल धाउँछन्।

–धन भएका बुद्धि कम रहेका मुस्किलले बाँच्छन्।

–धन कम भएका बुद्धि रहेका सजिलै बाँच्छन्।

–धन र बुद्धि हुँदै नभएका अलिकता बाँच्छन्।

–धन र बुद्धि हुँदै भएका मजैले बाँच्छन्।

आफ्नो बुझाइ व्यक्त गर्नासाथ एक नर्सले भनेकी थिइन्, ‘हाम्रो हात बाँधिएको छ। मुखमा ताला झुन्डिएको छ। हामी टमटमे घोडा हौं। चालकको इसारामा नाच्छौं। उसकै मनका लागि अनुहारमा हाँसो ल्याउँछौं।’

नर्सको कुराले सुषुप्त अवस्थामा रहेको मेरो चेतना जागृत भएको थियो। म होसमा आएको थिएँ। बेहोसीको समूल नष्ट भएको थियो।

औषधि र इन्जेक्सनले गर्दा म दिनानुदिन भित्रभित्रै जल्ने र गल्ने भइरहेको थिएँ। न खाना रुच्थ्यो न त शरीरमा तागत थियो। औषधि नदेऊ; रियाक्सन भयो भन्दा ‘हामी डाक्टर कि बिरामी आफैं डाक्टर?’ भन्ने प्रश्न सुन्नुपर्थ्यो।

नर्सले हातमा दिएको औषधि खाटमुनि हुर्याउँदाहुर्याउँदा एक थुप्रो भइसकेपछि बल्ल मेरो शरीरमा त्राण आएको थियो।

मेरो मनले ठानेको थियो,‘डाक्टर देवतुल्य पेशा हो। यद्यपि मानवता बेचेर कमाइखाने भाँडो बनाउनु मानव संसारको दुर्भाग्य हो।’

२)अवसर

‘यो अन्तरी त पूरापूरी नाङ्गी पो रहिछ ! लाज छोप्न न होस छ। लगाएको कपडामा प्वाल पर्नाले बेहोस हुन बाध्य छे। देखिने कुरा त देखिएकै छ। नदेखिने पनि देखिएर पो बर्बाद भयो!’

मनभित्र खेलेको कुराले मलाई अन्तरीका बाउआमाको आर्थिक हैसियत अवलोकन गर्न बाध्य गरायो। उनीहरू मिठो खान्थे। आफू राम्रो लाउँथे। छोराछोरी सानै छन् भनेर कपडा प्वाल पर्दा पनि वास्ता गर्दैनथे।

खासमा अन्तरी मेरै भतिजी थिई। ऊ उमेरमा क्रमशः उकालो चढ्दै थिई। उसको इज्जत र बेइज्जत मेरो पनि थियो।

‘अन्तरी चुप छे भन्दैमा उसले लगाएका कपडा चुप छैनन्। तिनले धर्म छाडेको टुलुटुलु हेर्नु परेको छ। शिघ्रातिशिघ्र व्यवस्थापन गर्नुपर्यो नि!’

मेरो कुरा सुनेर बुहारीचाहिँ बोलेकी थिइन्, ‘भ’को पैसो दशैँ मनाम्दै तुरिगो। काँबाट किन्दिनु?’

पैसाको समस्या नै परेको होला भन्ठानेर हजारको नोट थम्याउँदै भनेको थिएँ, ‘यसले माथिदेखि तलसम्मको जामाको कपडा र धागो किन, बाँकी बचे फिर्ता लेऊ,कम भए आफैँ थपथाप गर। सिलाउन तिमी आफैं छँदैछ्यौ।’

आलटाल गर्दै र सकस मान्दै बुहारी नजिकैको पसल गएकी थिइन्। फर्कँदा अन्तरीको अनुहार मलिन थियो। बुहारी भने मन्द मुस्कानका साथ पोलिथिन झोला हल्लाउँदै आएकी थिइन्।

कपडा देखाउँदै भनेकी थिइन्, ‘दाजु, जुन आवश्यकता बढ्ता महत्त्वपूर्ण छ, त्यो पहिला पूरा गर्नुपर्छ भन्ने तपैँको सिद्धान्तअनुसार नै स्कुल पोशाक किन्देकी हुँ।’

म चकित भएको देखेर अगाडि थपेकी थिइन्, ‘त्यसको पोशाक हावाहुन्डरीले बेपत्ता पारेको थियो। दुई महिनादेखि स्कुल जान बन्द थियो। दाजुको त्यै पेसोले अब जान पाउने भई।’

३) नयाँ माइती

‘मैले गरे जति सबै तेरै लागि थियो। म तँसँग सम्झौता गर्न चाहन्थें। तैंले नै अविश्वास गरिस्। सम्बन्धको गाँठो एक्कै झट्कामा चुँडाइस्।’

निवर्तमान ससुराको यस्तो बोली सुन्नासाथ मेरो मन तर्सिएको थियो। उनले छोराको बारेमा चर्चा गरेका थिए। छोराको कुरा सुनेर मेरो मन खिन्न भएको थियो। छोरो उनीहरूसँगै थियो। सासूससुरा दुवै मेरो नयाँ दाम्पत्य जीवन सञ्चालन भएको घरमा आएर कुरा गर्दै थिए।

पतिले पारिवारिक कचिङ्गल बहन गर्न अस्विकार गरेका थिए। त्यसैले स्वविवेकले धरती त्यागेका थिए। उनीबिना पाँच वर्ष बिताएकी थिएँ। सासूससुराले हामीलाई पहिले नै अंश दिएर छुट्याइदिएका थिए।

यत्तिखेर भने मैले छोरो र आफ्नो अचल सम्पत्ति त्यागें। नयाँ जीवन शुरुआतका लागि दाम्चे गाउँबाट भागेर यहाँ गल्फडिया आएँ। दश वर्षको छोरासँग बजार पुगेर फर्किन्छु भन्दै बिदा भएकी थिएँ।

छोरो रोइरहेको छ भनेको सुन्दा दगुरेर छोरालाई भेटूँ र काखमा राखेर म्वाइँ खाइरहूँ भन्ने लागिरह्यो तर व्यवहारमा त्यसो गर्न समाजले दिँदैनथ्यो।

म निरीह मुहार लगाएर खडा भइरहेको देखेर निवर्तमान सासूले गह टिलपिल पारेर भनेकी थिइन्, ‘सोधखोजबिना नै घर त्यागिस्। आफ्नो छोरो भेट्ने दैलो सदाका लागि थुनिस्। एक शब्द पनि सोध्ने हिम्मत गरेकी भए तँलाई छोरी बनाएर अनमनाइदिन्थ्यौं। सप्पै काम निको गरिस् तर प्रक्रिया मात्र गलत गरिस्।’

ससुराको बोली सुनिएको थियो, ‘जे भा पनि नातिकी आमा होस्। घर सम्झन नसके पनि माइत सम्झेर आउने गर् है!’

प्रकाशित: १५ मंसिर २०७८ ०७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App