७ वैशाख २०८१ शुक्रबार
कला

पोखरामा विद्यालय नाटक महोत्सवको तयारी

गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवको दोश्रो संस्करण हुने भएको छ। आगामी माघ ११ देखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना गरिने आयोजक पोखरा थिएटरले बताएको छ।  

‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल मन्त्रका साथ आयोजना हुने  महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका विद्यालयबाट सहभागिता रहने महोत्सव संयोजक तथा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए। ‘महोत्सवमा सहभागिताका लागि विभिन्न छनोट चरण पार गर्नुपर्नेछ। पहिलो चरणमा नाटकको कथावस्तु अध्ययन गरिनेछ। त्यसको लागि पुस ३ गतेभित्र नाटकको कथावस्तु पठाइसक्नुपर्ने उनले बताए।  

गतवर्षदेखि पोखरा थिएटरले गण्डकी विद्यालय स्तरीय नाटक महोत्सवको आयोजन गर्न थालेको हो। त्यसभन्दा अगाडि पोखरा महानगरपालिका स्तरीय नाटक महोत्सव समेत आयोजना हुँदै आएको थियो। महोत्सवमा गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्य रहनेछ।  

कथावस्तुको अध्ययन पश्चात केही सिमित नाटक दोस्रो चरणको लागि छनोट गरिने आयोजकको भनाई छ। दोस्रो चरणमा छनोट भएका नाटकको रिहर्सल हेरेर निर्णायक मण्डलले अन्तिम चरणको लागि छनोट गर्नेछ। यसरी अन्तिम चरणमा छनोट भएका नाटक गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ।

उत्कृष्ट नाटक छनोटका लागि वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति बनाइएको छ । जसको सदस्यमा कलाकार माओत्से गुरुङ र प्रमिला तुलाचन रहेका छन्। महोत्सवमा गण्डकी प्रदेश भित्र माध्यामिक तहसम्म अध्यनरत विद्यार्थीहरुले सहभागीता जनाउन सक्ने उनले बताए।  

निणार्यक संयोजक समेत रहेका कलाकार प्रकाश घिमिरेले पछिल्लो क्रममा रंगमञ्चतर्फ विद्यालयमा अध्ययनरत विद्यार्थीको आर्कषण बढ्न थालेकोमा खुशी व्यक्त गरे। महोत्सवमा प्राप्त नाटकलाई गहन तरिकाले अध्ययन गरेर अन्तिम चरणको लागि छनोट गरिने उनले बताए। ‘महानगर स्तरीय हुँदा होस् या गतवर्ष प्रदेश स्तरीय आयोजना गर्दा, विद्यार्थी तथा अभिभावकको निकै चासो थियो। यसपटक अझै बृहत हुने अपेक्षा छ,’ उनले भने, ‘यसले रंगमञ्चको प्रवद्र्धन हुनेमा विश्वस्त छौं।’  

युथ क्रिएशन थिएटरका अध्यक्ष कपिल शर्माले यो विषम परिस्थितीमा महोत्सवको आयोजना गर्नु महत्वपूर्ण भएको बताए। यतिबेला पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक चरणदास चोर मञ्चन भईरहेको छ। रेनेसा थिएटरको प्रस्तुती तथा पोखरा थिएटरको सहकार्यमा मंसिर १ गतेबाट मञ्चन सुरु भएको यस नाटकको मञ्चन मंसिर १४ गतेसम्म निरन्तर हुनेछ।

प्रकाशित: १२ मंसिर २०७८ ०८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App