१९ मंसिर २०७८ आइतबार
कला

बिग् टक्

व्यंग्य

कृष्ण प्रधान

मानिसको स्वाभाव अचम्म उदेकलाग्दो र विचित्रको हुन्छ। कोही साह्रै कुरौटे हुन्छन् भने कोही अर्काकै मात्रै खोइरो खन्ने हुन्छन्। कोहीचाहिँ ठूल्ठूलो कुरा गर्ने, हाँक लाउने पनि हुन्छन्। यस्तो ठूल्ठूलो कुरा, हाँक लाउने कुरालाई दार्जिलिङे कथ्य भाषामा बीटी वा बिग् टक भनिन्छ। कोही फेरि ढाँटढुँटे पनि हुन्छन्। ढाँटेरै मान्छेलाई लट्याउने स्वभावको पनि देखिँदो छ। ढाँट कुरा गर्नेलाई दार्जिलिङे कथ्य भाषामा ‘बिग् टक’ गरेको वा ‘बीटी’ दिेएको भनिन थालेको छ। यो ‘बिग् टक’ वा ‘बीटी’ हिजोआज निकै प्रचलित भइसकेको छ।

बिग् टक् गर्ने वी बीटी दिनेहरूमध्ये एकजना हुन् विषको ब्राचापा गाईँ। यिनले अवसर ग्रहण गरेका दस वर्ष हुँदैछ। मान्छे सौम्य शान्त देखिए पनि बिग् टक् गरेरै मान्छेलाई छक्कै र पक्कै पार्नु, वाल्लै पार्नु, हेरेको हेर्यै पार्नु मात्र होइन उनीहरूबाट सराहना, स्यावासी, टिठ्याइँ पनि देखिन्छ।

गाउँघर, शहरबजार यिनलाई विषकोब्रा चापागाईं नाउँले कसैले चिन्दैनन्। किनभने अचेल गाउँघर शहर बजारतिरका सबैले यिनलाई बूढाबूढीदेखि भुराभुरी समेत बीटी (बिग् टक) बाजे भन्छन् भने कतिले बीबीबी (बिग् टक् बाजे) भन्छन्। कतिले बी क्यूब (दघ)  भन्छन्। बिग् टक् गरेरै एकक्षणमै बिग् टक् सुन्नेहरूको भीड पार्छन्। साउँभन्दा सूदको माया भनेजस्तो नाति भनेपछि भुत्तुकै छन् विषक्रोबा चापागाईँ। नातिबिना कतै हिँड्दैनन्।

बेलुकी इभिनिङ वकमा जाने यिनको दैनिक अभ्यास छ। नातिलाई लिएर इभनिङ वक गर्दै जाँदा छेवैको विशाल मैदानमा पुग्छन्। जहाँ मान्छे धेर देख्छन् त्यहीँ उनको बिग् टक् सुरु भइहाल्छ। उनको बिग् टक् ढाँट हो भनेर जान्दाजान्दै पनि यिनको बिग् टक् सुन्न नचाहने थोरै देखिन्छन्।

अचानक गाउँमा चितुवा पसेको कुरा निस्कियो। बस बाँदरलाई लिस्नु लाएको जत्तिकै भयो विषक्रोबा चापागाईंलाई। उनी अविराम बोल्दै गए,‘अरे तिमेरु चितुवाको कुरा गर्छौ? मैले त फेस टु फेस बाघ भेटेको छु अन्त।’

उनको कुरा साह्रै चाखलाग्दो हुन्छ। छक्क पर्दै एकजनाको जिज्ञासा, ‘आम्बो...फेस टु फेस बाघ अनि सरलाई एटेक गरेन?’

बिग् टक् बाजेको बिग् टक् , ‘मलाई बाघले एटेक गर्छ? त्यत्रो साहस कहाँ मेरो छेउमा। काँ.....दस माइलको फारस छेउको दोकानमा मोमो खाँदै थिएँ। चौध फुटजस्तो लामो बाघ लमकलमक गर्दै मतिर आयो। त्यहाँ भएका सबै चिच्याउन थाले। मैले सबैलाई चूपचाप बस्न हुकुम गरेँ। सबै सास न वास भएर बसे। डँडाक बाघ मेरो छेउमै आएर मैले मोमो खाको हेरिरह्यो। बाघको चोखे लाग्छ भनेर एउटा मोमो त्यसको मुखैमा फ्याँकिदे। मुटु थर्काउने पाराले गर्जियो त्यो। मैले रिसले केही देखिनँ। मेरो पाला छेउमा भएको मोमोको तातो सुप बाघको मुखैमा छ्यापिदिए। बाघ पुच्छर लुकाएर टाप।’

सबै छक्कै परेँ। एकजना अवकाशप्राप्त प्रहरी अधिक्षकले कुरालाई अझ टेसिलो बनाउँदै थपे, ‘होहो, फारसबाट शिकार खेली आउँदै गर्दा डँडाक  बाघ निराश भएर आको देखेँ....गाडी न्यूट्रल राखेरै रोकेँ। बाघ आएर ठिंग मेरो गाडी अघि उभियो...मुख डल्लै भिजेको थियो।

बिग् टक् बिचैमा बोले, ‘यस... यू आर हण्ड्रेड पर्सेन्ट राइट। त्यसको मुख भिजेको थियो भने पक्कै पनि मैले बाघको मुखमा मोमोको सुप छ्यापेकै बाघ हो।’

त्यसपछि के भयो, के भयो भनी प्रहरी अधिक्षकलाई सबैले सोधे। प्रहरी अधिक्षक गम्भीर भावमा बोले,‘बाघ ठ्याक्कै हल्ले ता के। मेरो पाला बन्दुक ताकेँ। बाघले पनि पोजिसन लियो। मैले पनि पोजिसन लिएँ। शुट गरेर सालालाई ठहरै पारिदिऊँ भनेर बन्दुक ताकेको ता बन्दुकमा बुलेट नै छैन रहेछ। मेरो पालो बिस्तारो ब्याक पाकिटबाट बन्दुकको लाइसेन्स बाघलाई देखाइदिएँ। बन्दुकको लाइसेन्स देखेर बाघ हार्ट एटेक भएर भुइँमा लोट्यो।’

फेरि बिग् टक बाजेको बिग् टक्, ‘मैले मोमोको सुप मुखमा छ्याप्दै त्यो बाघको सातो गएको थियो। नत्र सरलाई ठाडै गाँज्ने नि!’

बिग् टक् बाजेलाई कसले सक्ने तर उनको एउटा ठूलो कमजोरी थियो ठिक ब्रिटिस कवि लर्ड बायरन (जर्ज गर्डन बायरन) जस्तो। तर बायरन झोकी थिएँ भने यी विषक्रोबा चापागाईँ नम्र मिजासका। बायरन जन्मजात खोरण्डो थिए। उनी खोच्याउँदै हिँड्थे।  विछट्टै सुन्दर भएकाले बाटामा हिँड्ने जोसुकैले उनलाई मक्ख परेर हेर्थे। तरुनीहरू ता उनको सुन्दरता देखेर भुतुक्कै हुन्थे।

बाटामा हिँड्नेले उनको रूप हेर्नेलाई सोझै निहुँ खोज्थे, ‘म खोचिँदै हिँडेको किन हेरिस्? हाम्रा बिग् टकको पनि निधारको माझमै ठूलो टुटुल्को थियो। खोरण्डो भएकोमा बायरनलाई आत्मग्लानि थियो भने टुटुल्को भएकोमा विषक्रोबालाई पनि। आत्मग्लानिमा मलमपट्टी गर्न उनको निधारमा टुटुल्को उठेको कारण  बताएर मात्र सास बिसाउँथे।

यसकारण कतै मान्छेको भीड देखे वा कतै जनसभा हुँदै गरेको देखे कि त्यहाँ गएर टुटुल्कोबारे कैफियत दिनल उनको मुख स्याउँस्याउँ हुन्थ्यो। जस्तै भीडमा पनि नातिको हात समातेर तान्दै भीडको अघिल्लो पंक्तिमा उभिन्थे वा बस्थे। उनलाई नचिन्ने कोही थिएन। उनलाई बोल्ने मौका दिइहाल्थे।

शहीद दिवसको आयोजना हुँदैथ्यो। नाति चेपेर बिग् टक् त्यहाँ पुगे। शहीद दिवसको वेदीअघि उभिएर एकएक जनाले भाषण दिँदै थिए। आयोजक मण्डलीबाट विषक्रोब्रा सरलाई पनि बोल्ने मौका दिइयो। के खोज्छस् कानो आँखो भनेझै विषक्रोबा सरले पनि भाषण दिन थाले, ‘आफ्नो स्वतन्त्रताको निम्ति हामीले पनि प्रशासनविरुद्ध निकै लडाइँ गर्नुपरेको थियो।

हामीले आन्दोलन गर्दा तपाईहरू कति ता जन्मिनु पनि भएको थिए। विशाल जुलुस लिएर हामी आन्दोलनमा सडकमा ओर्लका छौं।  प्रहरी, सेना तयार छ। पुलिसले जुलुसलाई ट्राफिक चौकदेखि ठ्याम्मै अघि बढ्न दिएको छैन। पुलिससित ठेलमठेल चल्दैछ। विशाल जुलुसले पुलिसलाई मिच्दै गएपछि पुलिसले हार खाएर लाठी चार्ज गरयो। भागाभाग। हामी पनि के कम्ती र! ढुंगामुढा, सोडाको बोतल फ्याँक्यौं पुलिसको भीडमा। उनीहरू कति घाइते भए। कतिको टाउको फुटे। यता पुलिसको लाठी प्रहारले हाम्राहरूको पनि टाउको फुट्यो। एकजनाले मेरो टाउकैमा प्रहार गर्यो।

रगतपच्छे भएर म डंगै भुइँमा लोटेँ। होस आएर हेर्दा म ता अस्पतालको बेडमा पो रहेछु। (विशाल जनसभा स्तब्ध)। त्यसको परिणाम के भो थाहा छ तपाईहरूलाई? हेर्नोस् मेरो निधारको माझमा (निधारको टुटुल्को देखाउँदै) यो टुटल्को...देख्नुभो? यो  पुलिसको लाठी प्रहारको परिणाम हो।’

विषक्रोबा अधिकारीले जनसभामा समवेत जनसाधारणको दृष्टि आकर्षण गरे। विशाल जनसभाको गगनभेदी करतल ध्वनिले उनको टुटुल्को स्याप्पै सुकेको अनुभव गरी गजक्कै हुँदै कसैसित नबोली विषक्रोबा चापागाईँ नातिको हात तान्दै जनसभाबाट बाहिरए।

फुटबल खेल्दै गरेको ठाउँमा उही नाति लिएर पुगे विषक्रोबा चापागाईं। मैदानभित्रै पसी खेल्दै गरेको फुटबल च्याप्पै समाती उफार्दै फुटबल खेल्नेहरूलाई भाषण दिन थाले, ‘तिमीहरू फुटबल खेल्नै जान्दैनौ। उहिले हामीले फुटबल खेल्दा विरोधी टिमलाई आच्छुआच्छु पार्थ्यौं। म ब्याक खेल्थेँ। विरोधी टिमको कसैलाई डिफेन्स एरियामा ढिम्किनै दिँदिनँ थिएँ। जस्तै जण्डाले गोली लिएर आए पनि त्यसको खुट्टाबाट फुडटबल खोसेर फुटबल डाँडा  कट्टाइदिन्थे। त्यतिबेला म चीनको पर्खालजस्तै भएर डिफेन्स बक्समा उभिन्थे। मैले फुटबल रोकेको देखेर साइड लाइनमा बस्ने केटीहरू चिच्याउँथे,‘ब्याक कस्तो? हम्बर जस्तो।’

उताबाट अर्को आवाज आउँथ्यो,‘ब्याक कस्तो ? बुल्डोजरजस्तो।’

फेरि अर्को कुनाबाट,‘ब्याक कस्तो? भित्ताजस्तो।’

मैले ठ्याम्मै गोल हुन दिँदिनँ थिएँ। एकदिन आर्मी र हाम्रो क्लबमाझ घमासान फुटबलयुद्ध भयो। आर्मीका फुटबलरहरू प्रेसर कुकुरमा हाल्दा बीस सिटीमा पनि नपाक्ने खालका थिए। उनीहरूको फिला हेरेर हाम्रो फिला हेर्दा आफैंलाई हरेस लाग्ने। आर्मी टिमले हामीलाई पेलेको पेल्यै छ। प्रथमाद्र्धसम्म म्याच बराबरीमै सिद्धियो। द्वितायार्द्धमा हामीले एक गोल दियौं।

एक गोल खाएपछि आर्मीकाहरू घाइते बाघझैं आक्रमण गर्न थाले। काँडजस्तो गोली लिएर आउने मैले डङ्ङै दिएर उनीहरूको गोल हाल्ने सपना भताभुंग पारिदिन्थें। पछिपछि ता आर्मीहरूका गुल्चे खेल्न थाले। एकजना छिप्पेको प्लेयरले रिसैले उनको बुटले मेरो टाउकोमै हिर्कायो। म दंगै भुइँमा लोटेँ। निधारबाट तरतरती रगत चुहुन थाल्यो। रेफरीले म्याच एकक्षण स्थगित गरेर मेडिकल टिमलाई मैदानभित्र आउने ईसारा गरेको मात्रै थाहा छ। त्यसपछि के भयो थाहा भएन।’

बिग् टकको कुरा सुन्न ग्वारग्वार्ती मान्छेहरू बिग टकलाई घेर्न थाले। सबै उत्सुकतापूर्वक बिग् टकको कुरा सुन्दैछन् ध्यानमग्न भएर। कतिले टिठ्याउँदैछन् पनि। बिग् टकले आफ्नो निधारको टुटुल्को मुसार्दै गम्भीर र टिठलाग्दो स्वरमा भने,‘देख्नुभो? त्यसको परिणाम। त्यो कौडको बुटले लागेर मेरो यो टुटुल्को (टुटुल्को देखाउँदै) भएको हो।’

बिग् टकको मर्मस्पर्शी, च्यूँच्यूँलाग्दो कुरा सुनेर कति दुःखित भए कति पीडित। कतिले उनको प्रशंसा गरे। यस्तो प्रशंसा सुनेर गजक्क र मसक्क हुँदै बिग् टक् नातिको हात समाती चूपचाप भीडबाट प्रस्थान भए ।

निकै दिनपछि गाउँमै नारी उत्थान संस्थाले आयोजना गरेको कार्यक्रममा नातिसित विषक्रोबा चापागाईं टुपलुक्कै। बिग टकलाई देख्नेबित्तिकै उनलाई मञ्चमा भाषणको निम्ति बोलाइयो। पहिले ता नाइँनास्ति गरेकोजस्तो मात्र के गरेथ्यो एकजनाले जबर्जस्ती हात समातेर मञ्चमा ल्याए। उनको भाषण सुरु भयो, ‘नारी  उत्थान संस्थाले आयोजन गरेको यस आयोजनालाई हार्दिक कृतज्ञता प्रकट गर्दछु।

म मेरो वक्तव्य एउटा रोमाञ्चक कथाबाट यहाँहरूमक्ष राख्न चाहन्छु  (करतल ध्वनि )। ठण्डाको या। छिट्टै रात पर्छ होइन? अफिसको काम धेर भएर अबेर गरी अफिसबाट घर जाँदै थिएँ। यस्तै साँढे सात/पौने आठ बजेको हुनुपर्छ। अचानक एउटी युवतीको चीत्कार सुनेँ। चारपाँचजना केटाहरूले ती युवतीलाई खेद्दै रहेछन्। मैले बाधा हाले। केटी उम्किइन्। ती युवाहरूसित मेरो घमासान लडाइँ भयो। उनीहरू चारजना म एकजना। सकेसम्म लडाइँ गरें नि! दुई जनालाई ता ढालेँ। एकजनाले ता बाँसले मेरो निधारमै हान्यो। त्यसपछि उनीहरू भागे। बाँसले निधारमा लागेर मेरो यो टुटुल्को (टुटुल्को देखाउँदै) भएको हो।

‘यति बोलेर विषक्रोबा चापागाइँ मौन हुन्छन्। गोजीबाट रुमाल निकाली आँसु पुछ्दै मञ्चबाट ओर्ली नातिको हात च्यापेर बाहिरिन्छन्।

सधैं सुगाजस्तो बोल्ने नाति आज ता ठ्याम्मै बोलेको छैन। चूपचाप छ। विषक्रोबा अधिकारीले टुटुल्कोको स्पष्टीकरण दिएर सबैलाई सन्तुष्ट पारेकाले आत्मतृप्तिको खुशीले गजक्क र मसक्क भइरहेका थिए।

उनको टुटुल्को स्याप्पै भएको कल्पनाको बाइपंखी घोडामा उडिरहेका थिए। केही समयसम्म चूपो लागि हिँडेपछि नाति बोल्यो, ‘ठूला बाबा, तपाई ढाँट बोल्नुहुन्छ हई! यू आर लायर ग्राण्ड पा...यू आर लायर।

हाम्री म्यामले ता हामीलाई ढाँट बोल्नु पाप हो भन्छिन्। तपाई ता कत्ति झूटो बोल्नुहुन्छ। तपाईलाई पाप लाग्दैन ठूल्बा? मैले तपाईलाई आज पक्रे...तपाई कति ढँटुवा।’

विष्णुक्रोबा चापागाईं उर्फ बिग् टकका मुहार–आँखामा अपराधीको हण्टरले सोड्क्याउन थाल्यो। आफैलाई निकै असहाय ठान्न थाले। साँच्चै तिनले ढाँट बोलेरै संसार पिटेकै हो। दस  रुपियाँको नोट निकालेर नातिको हातमा दिँदै भने, ‘कसैलाई पनि नभन्नू ल!’

पैसा पाएपछि नाति भक्कुचूर खुशी। दुवै मौन हिँडिहेका छन्। बिग् टक् सुर्तामा परे।

घरमा आउनेबित्तिकै जेठो छोरालाई भने, ‘ठूले, मलाई सार्जन दोर्जेकहाँ लैजा। यिनी विख्यात प्लास्टिक सार्जन हुन्। मेरो टुटुल्कोको अपरेशन गरिदे बाबु। छोरो बिलवन्द परे।’

बुहारीले मनमनै भनिन्, ‘बूढालाई यो उमेरमा आएर भीमरत्ति भयो कि क्या हो?’

नातिले बाज्येलाई निर्निमेष दृष्टिले हेरिह्यो। बाजे र नातिमाझ दृष्टि विनय भयो।खास गाँठी कुरा नाति र बाजेमाझ मात्रै सीमित रह्यो।

जेसुकै होस्, निधारमाझको टुटुल्को स्याप्पै भए पनि वा जर्मनबाट प्लास्टिक सर्जरी नै गरेर आए पनि  विषक्रोबा चापागाईंको नाम बीटी (बिग् टक्), बीबीबी (बिग् टक् बाजे) वा बी क्यूब (दघ) नामहरू परिवर्तन हुने होइन नै।  

               –सिलिगुडी, भारत

प्रकाशित: ९ मंसिर २०७८ १३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App