१५ मंसिर २०७८ बुधबार
कला

रथका पांग्रा

लघुकथा

रचना शर्मा 

‘सिर्जना! हिजो तिम्रो फुपाजुले फोन गर्नुभएको थियो।’

‘ए.. के भन्नुभयो त’

‘मंसिर ८ गते बहिनीको बिहे छिनियो रे! लाइमिली गर्नुपर्छ एक दुई दिन अघिदेखि आउनु है ज्वाइँ साप भनेर भन्नुभा’थ्यो।’

‘ए राम्रो भयो। अहिले फोन गर्नुपर्ला!’

‘अँ साँच्चि, हजुरले कुन लुगा लाउनुहुन्छ नि बिहेमा?’

पोहोर सिलाएर मात्र राखेको कोटपाइन्ट छँदै छ त! सुरेशको बिहेमा सिलाएको, हजुरबा कोरोना लागेर बितेपछि बिहे नै क्यान्सिल गरे। त्यै लाउँछु।’

–ए हो त!

दुईचार दिनमा अन्य आफन्तले बिहेको कार्ड उनको घरसम्म ल्याइदिए। ऋषिले लुगा धुँदै गरेकी पत्नीलाई कार्ड देखाउँदै भने,‘तिम्री फुपूकी छोरीको बिहेको कार्ड आयो, लौ लिऊ?’

–त्यहीँ राख्नुस् न!

कार्डमा चुल्हे निम्तो लेखिएको थियो। हेर्दाहेर्दै बिहेको दिन पनि आइपुग्यो। कार्ड नआउँदासम्म बिहेको तयारीमा धमर्धोस लागेका उनी कार्ड आएपछि बिहेमा जान नभ्याउने कुरा जनाए र पत्नीलाई भने, ‘छोराछोरी लिएर जाऊ तिमी! मिटिङ छ। म जान भ्याउँदिन होला! भ्याएँ भने पछि आउँला।’

त्यसपछि पत्नीले पतिको मनोभाव बुझिन् र बिहेको कार्डको खोल राम्रोसित हेरिन्। खोलमा चुल्हे निम्तो भनेर लेखिए पनि नाम भने ‘सिर्जना दिदी’ भनेर लेखिएको रहेछ।

प्रकाशित: ९ मंसिर २०७८ १२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App