१९ मंसिर २०७८ आइतबार
कला

धर्म प्राप्ति

लघुकथा

रामकुमार पण्डित क्षेत्री

एउटी बूढी आमा सखारै आश्रममा जान्थिन्। पुराण लाउने कोठा सफा र चिटिक्क पार्थिन्। दैनिक रूपमा गरेको यस्तो सेवादेखि अधबैँसे धर्म गुरु प्रभावित भए। उनले ती आमैको घर हेर्न चाहे। पुराण सकिएपछि गुरु आमाको पछिपछि लागे।

टायलले छाएको सानो दुई तले घर थियो। घरभित्र मूल ओछयानमा एउटा पक्षघातको रोगी लम्पसार परेर सुतिरहेको थियो। गुरुले थाहा पाए, त्यो बूढी आमैको कान्छो छोरो रहेछ। जेठो छोरो पैसा कमाउन विदेश गएछ।

पति मधुमेहको उपचार गराउन एक्लै अस्पताल गएछन्। दुइटै छोरीको विहे भइसकेको रहेछ। त्यस रोगी केटाले मलमूत्र त्याग पनि त्यहीँ गर्दो रहेछ। गुरुले दुर्गन्धबाट जोगिन रामनामी फेटाले नाक थुने। त्यो देखेर आमैले छोरालई हप्काइन्, ‘बेला न कुबेला हगेर मरेछ। कालले बिर्सेको मोरो!’

गुरुले सुनेको नसुनै गरी यताउति आँखा लाए। मझेरीभरि मैला थुप्रिएका थिए। भाञ्छामा यत्रतत्र जुठोभाँडा छरिएका थिए। झिगाँहरूलाई आनन्द लाग्ने वातारण थियो त्यहाँ। गुरुलाई पिर्कामा बस्न आग्रह गरिन्। पिर्का मैलो थियो। उनले मानेनन्।

मुख छोप्दै बोले, ‘मेरो आश्रम चिटिक्क पार्ने मान्छेले घरमा किन फोहोर राखेको? घर त झनै स्वर्गजस्तो हुनुपर्ने होइन? अबदेखि पहिला आफ्नो घर सफा गर्नु नि!’

‘आफ्नो घर त जुनबेला सफा गरे नि हुन्छ नि गुरु। आश्रममा ढिलो पुगे अरूले सफा गर्ला। अरूले गर्‍यो भने आफूले पाउने धर्म त्यसलाई किन दिनु र?’

                                                           –सिमलटार, काठमाडौं।

प्रकाशित: ९ मंसिर २०७८ १२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App