१५ मंसिर २०७८ बुधबार
कला

घोर्ली बाख्रो

बालकथा

होमनाथ खनाल

घोर्लीले अघिल्लो वर्ष जन्माएका दुई सन्तान, काली र खैरी अहिले वर्ष नाघिसकेका छन्। आमाको दुध टन्न आउने हुँदा  काली र खैरी एक वर्षमै धेरै ठुला देखिन्छन्।

घोर्लीले बर्सेनि जुम्ल्याहा जन्माउँदै आएकी छ। यसपटक पनि दुई वटा पाठैपाठा जन्माएकी छे मुने र बुने। मुने बुने सारै चञ्चले छन्। उफ्रदै कहिले कता कहिले कता दौडिरहन्छन्। बुर्कुसी लगाउँछन्। आमाको पोषिलो दुधले दुवै बच्चा स्वस्थ छन्। घोर्ली पनि स्याहारचाकर पाएर निरोगी छे। बर्सेनि बच्चा जन्माइदिने, त्यो पनि जुम्ल्याहा पाठापाठी पाउँदा घोर्लीका मालिकको खुसीयाली झनै थपिदै गएको छ। घोर्ली नै त्यो परिवारको मुख्य आयस्रोतको रूपमा खडा भएकी छे।

अघिल्लो वर्ष  जन्माएका काली र खैरी  पनि बच्चाकी आमा हुने भएका छन्। दुवैको यो अवस्था देखेर घोर्ली पनि  नातिनातिना देख्न पाइने भयो भनेर मक्ख छे भने घोर्लीका मालिकको खुशीको सीमा नै छैन आजकाल। यसरी बर्षैपिच्छेको वृद्धिले उनका हरेक सपना पूरा हुँदै गएका छन्।

आजकाल मुने र बुने पनि निकै ठुला भैसकेका छन्। टाट्नामा आमा दिदीहरूसँगै घाँस खान पनि थालेका छन्। खोले खान्छन्। गेडागुडी र दाना समयसमयमा खान पाउँदा मक्ख त छन् तर घोर्लीलाई भने आजकाल पीर पर्दै गएको छ। मनमा अनेक कुरा खेल्छन्। अनेक कुराको कल्पना गर्दै चिन्तित हुन थालेकी छे।

हिजोका मुने र बुने अहिले बोकाका नामले चिनिन्छन्। मुने बोको र बुने बोको। यसरी परिवर्तन हुँदै छन्। छोरीहरूसँग लामो समयसम्म सँगसँगै  बस्न  पाइने तर छोराहरूसँगको बसाइँ दिनैपिच्छे घट्दै जान्छ भन्ने कुरा राम्ररी थाहा छ उसलाई।  

छोराहरू बढ्दै गरेको देख्दा उसका मनमा चिन्ता आउनु स्वाभाविक नै हुनेछ। एक दिन मुने र बुनेको अप्रेसन भयो। धेरै चिच्याए, धेरै रोए र पीडाले छटपटाए तर उनीहरूको पीडा कसले सुनिदिने र यस्तो अवस्थामा छोराहरूलाई देख्दा घोर्लीका आँखा आँसुले भरिए।

यस्तो अवस्था हेर्न नसकेर अर्कापट्टि फर्केर झोक्राएकी छे विचरा। निकै दिनसम्म अररिए। हिँडडुल गर्न सकेनन। पीडाले खाना पनि खाएनन्। बिस्तारबिस्तार घाउ निको हुँदै गयो। पीडा कम हुँदै गयो। खाना रुचि हुन थाल्यो। बिहान र बेलुका खोले दाना राम्रोराम्रो मिठो घाँस पाउन थाले। आजभन्दा भोलि धेरै राम्रा चिल्ला र बलिया देखिन थाले। आजकाल बोकाबाट उनीहरूको नाम पनि फेरिएको छ। मुने खसी र बुने खसी, मालिकको नजरमा धेरै प्यारा भएका छन्।

यता कालीले खैरीभन्दा बाह्र दिन छिटो पाठापाठीलाई जन्म दिएकी छे। जुम्ल्याहा भने खैरीले पनि बाह्र दिनपछि जुम्ल्याहा पाठै पाठाको जन्म दिई। घरभरि छोराछोरी र नातिनातिनाले ढाकेको देखेर घोर्ली पनि कम खुशी भा’की छैन। पाठापाठी उफ्रेनाचेको छोरीहरूको खुशी देख्दा हजुर आमा त रमाउने नै भई। आउने दिन सम्झेर  कहिले तर्सिन्छे पनि।

यो खुसीयाली कति दिन रहला भन्ने सोच उसमा आइरहन्छ आजकाल। एकदिन घोर्लीले आफ्ना सबै सन्तानसंग भविष्यबारे कथा बनाएर सुनाउन मन गरेकी छे। कस्तो कथा बनाउने भनेर सोचमग्न हुन थालेकी छे अचेल।

एकदिन सबैलाई आज कथा सुनाउने भनेर उर्दी गरी टाट्नामा घोर्लीले। हजुरआमाले आज कथा सुनाउने भनेर नातिनातिना र छोराछोरीहरू सबै दंग भएका छन् कथा सुन्न पाइने भयो भनेर। घोर्ली भने कसरी सुनाऊ कथा, जुन कथाले उनीहरूलाई पनि भोलिको बारेमा जानकारी होस्। कालगतिबाहेक हाम्रो आयुबारे थाहा होस्। यस्तै सम्झिन्दै कथा थालिन् घोर्लीले।

एकादेशमा एउटा  भेडापालक किसान थिए। उनको गोठमा धेरै भेडा थिए। धेरै समूहमा बसेका ती भेडाहरू ज्यादै खुशी थिए। किसानले ती भेडाहरूलाई पहाड हिमाली भेगतिर लगेर चराउने गर्दथे। हिमाली विभिन्न जडीबुटी खान पाएर भेडाहरू ज्यादै सप्रेका थिए। सबै निरोगी थिए। बर्सैपिच्छे बच्चा जन्माएर भेडीगोठ धेरै ठुलो थियो। भेडी पालक किसान खुशीले रमाएका थिए। भेडाहरू पनि मिठोमिठो खान पाएर  सबै आफ्ना परिवारसँग बस्न पाउँदा सधैं दंग हुन्थे। खुशी हुन्थे। आफन्तसँग कहिल्यै छुट्नुपरेको थिएन। कसैले पनि। यसरी कहिले हिमाल कहिले पहाडको बसाइँमा रमेका थिए उनीहरू।

एकदिन एउटा किसानन भेडा किन्न भनेर भेडी गोठमा आइपुगेछन्। त्यो गोठबाट सबैभन्दा राम्रो मुकुन्दे नाम गरेको भेडो र मनमति नामकी भेडी किनेर  किसानले घरमा ल्याएछन्। त्यत्रो समूहबाट आफ्ना परिवारबाट छुट्टिएर बस्नुपर्दाको पीडाले धेरै दिनसम्म रोईकराई गरेछन्। खाना पनि खान मन लागेनछ। पहाड र हिमाल उफ्रिदै रमाउँदै साथीहरूसँग हिँडेको याद आइरहयो।

खानपिन फरक, यहाँ त किसानले टाट्नामा दिएको घाँसपात  खानुपर्ने  दाना खोले खानु नै भए पनि  स्वतन्त्र भएर हिँडेको बानीले धेरै दिनसम्म बन्धनमा बांधिएको जिन्दगी पीडादायी भएको महसुस गरेछन्।

यसरी स्वतन्त्रबाट बन्धनमा बाँधिदाको पीडा भोग्दै बिस्तारबिस्तार पुराना भोगाइहरू भुल्दै गएछन्। अब यस्तै यसरी नै कति दिन बिताउनुपर्ने हो। हाम्रो किनबेच चलिरहन्छ। आयु छोटो छ।

मानिसले चाहे एकैछिनमा आयु सकिन्छ। के गर्नु मिठो खान दिए भनेर दंग पर्नु पनि छैन। तागतिलो  मिठो खुवाएर बलियो बनाएर हाम्रो शरीरमा धेरै मासु उत्पादन होस् भन्छन् मानिसहरूले। हामीलाई त्यसरी मात्र हेरेका हुन्छन् सधैं। यसरी कथा सुनाउँदै गई घोर्लीले।

सबै पाठापाठी, आमा र छोराछोरीहरूले आफ्नो जिन्दगी सम्झे। आफ्नो आयुबारे सोचे। हामीलाई मिठोमसिनु दानापानी ख्वाएको कारण बुझे। मानिसको निष्ठुरीपन स्वार्थीपनलाई नियाले। खसीको भन्दा आमाहरूको आयुबारे थाहा पाए।  यस्तै सम्झन्दासम्झिन्दै हजुरआमा को कथा सकिएको घोषणाले सबैको मनमा पीडाको बोध गर्दै एक आपसमा हेराहेर गर्न थाले।

प्रकाशित: ७ मंसिर २०७८ १३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App