१५ मंसिर २०७८ बुधबार
कला

रहरमा नथाकेका पाइलाहरू

यात्रा

एलपि अनन्त

हिँडेर दुई दिन लाग्ने बाउबाजेहरूले सुनाउनुहुन्थ्यो बास चै बस्तीमै हुन्छ भन्न नसकिने उहाँहरूको अड्कल थियो। बाटोमा जंगल बढी भेट्ने भएकाले जंगलको कतै कुनातिर रूखमा ओत लागेर बस्नुपर्ने हुन्छ भन्नुहुन्थ्यो उहाँहरू  तर यो धेरै वर्ष पहिलेका कुराहरू भए। अहिले धेरै ठाउँमा बजार। हामी कतै गाउँ अथवा घरमा त पक्कै पुगिएला?

नपुगिए कतै रात काटौला। यही संकल्पले हाम्रो प्लानअनुरूप ट्रेक सुरु भयो। खाँडादेवीबाट हामी बिहानको पाँच बजेतिर निस्कियौ घरबाट। मौसमले खुल्ने कुनै छनक देखाएको थिएन।  तर पनि हाम्रो पाइलाहरू रोकिएनन्। उज्ज्वल मोक्तान भाइ र मेरो कालिञ्चोक जान्छु भनेपछि जसरी पुग्नुपर्छ भन्ने जनमानसको पनि धारणा पाइन्छ।

हिजो बेलुका गाउँका योभन्दा पहिला जानुभएकासँग केही ट्रेक रुटबारे जानकारी लिएको थिए। त्यही रुटलाई फलो गर्ने र केही बाटोमा जानकारी लिँदै जाने निधो गरयौ धाराभिरको उकालो लाग्यो हामी। भूगोलले जति हाइट लिँदै जान्थ्यो चिसो त्यति नै थपिँदै जान्थ्यो। कुहिरो छिनछिनमा डम्म ढाकिन्थ्यो। पारि देखिएका बस्तीहरू पूर्वतिर देखिएका क्षितिजहरू  एकाएक समुद्रमा  परिणत हुन्थ्यो।

यतिबेला हामी दोरम्बाको मानेभन्ज्याङ हुदै राजभिर गुम्बाको आसपासबाट डढुवा शेर्पा गाउको नजिकतिर थियौ। अहिले मौसम केही खुलिएको छ। घाम पनि टाउकामै आएर बाज्रिएका छ। पारितिर कुहिरोको गस्तीहरू अझै घुमिरहेको प्रसस्तै देखिन्थ्यो। कुन बेला नजिकै आएर बेहुलीलाई झैँ घुम्टोले छोपिने हो पत्तो थिएन। हिँडाइको तापक्रम र झुक्किएर खुलिएको घामको तापक्रमले शरीरलाई तातो बनाएको थियो।

भित्रको गन्जी निथ्रुक्कै भिजेको थियो। पछाडिबाट भाइले कतै बसौ भनेर इसारा गर्यो। तिर्खा पनि लागेको थियो। अलिमाथि चौतारो देखे। त्यहीँ गएर बस्ने भाइलाई इसारा गरे।

–हामी अहिले कति जति हाइटमा आए होला? भाइले सोध्यो।

– शेर्पा गाउँ पच्चीस सय मिटर हाइटमा पर्छ।

–भाइ, अब हामी यहाँबाट एक घण्टा हिँडेपछि सैलुंग आउँछ जसको हाइट बत्तीस सय मिटर छ।

मचै योभन्दा पहिले पनि यो रुट हुँदै मुडेसम्मको सोलोट्रेक गएको थिए। त्यसो हुनाले केही जानकारी भने पक्कै छ। झोलाबाट पानीको बोतल निकाल्यो भाइले र दुवै जनाले पानी पियौं। घडी हेरे। साढे नौ बजिसकेको थियो।

– लु हिँडौ अब। समय हामीसँग निकै कम छ।

– हामी यतिबेला सैलुंग उक्लियौ। खोलाखर्कमा खाना खाएर निक्लिएका थियौ।

खोलाखर्कदेखि सैलुंगको सयौ थुम्कासम्म आउने बाटोमा सिँढी बनाएको छ जसले हिँड्न सहज बनाउँछ। बत्तीस सय मिटर हाइटमा रहेको थुम्कैथुम्काले बनेको प्राकृतिक सुन्दरताले भरिपूर्ण सैलुंग  जहाँ सयौ थुम्का छन्। पुसमाघमा सबै थुम्का हिउँले पूरै ढाक्छन्। हामीले धेरै फोटो खिच्यौं। टिकटक पनि बनायौ। एक थुम्काबाट अर्को थुम्को उक्लियौ। एक थुम्का  अर्को थुम्काहरू उत्तिकै सुन्दर देखिन्छन्। अर्को थुम्कामा उक्लियो झनै सुन्दर देखिन्छ।

कहिल्यै नअघाउने हेरेर ती थुम्काहरू जति हेर्यो उति नै हेरौहेरौ मन लाग्ने थुम्काहरू। साँच्चै प्राकृतिक स्वर्गको टुक्रा हो। त्यसैले त हरेक मान्छे पीरचिन्ताबाट मुक्त रहन घुम्न समय लिएर आउने गर्छन् यहाँ नजिकै देखिने गौरी शंकर हिमाल अन्या हिमालहरू, हाँसिरहेका देखिन्छन्। मुसुक्क दिल खोलेर तिनै हिमालको मुस्कानसँगै सेताम्मे लहरै उभिएका दातहरूले शरीरमा एकखालको ऊर्जा भरिदिन्छ। तिनै ऊर्जाले थाकेका शरीरहरू एकाएक खुशीले नाच्न थाल्छन्।

मौसमले पनि साथ दिइरहेको थियो दृश्यहरू हेर्न  तर कुनै बेला कुलेलम भाग्दै आउँथ्यो। हुस्सुका टुक्राहरू  फेरि निमेषभरमै पन्छिन्थ्यो।  हामी मनग्य रमाउँदै घुम्यौ। हाम्रो गन्तव्य लामो रहेकाले समयको निकै ख्याल गर्नुपर्ने थियो। समय झन्डै दिउँसोको दुई बज्ने लागिसकेछ। भाइ अलि तल सेल्फी लिँदै रहेछ।

– ए भाइ हिँडौ अब। हामी आज चरिकोट पुग्दैन जस्तो लागिरहेछ। अब यो सैलुंगपछि कुन ठाउँ आउँछ?भाइले गन्तव्यतिर देखाउँदै सोध्यो।

– अब हामी कालापानी हुँदै ओरालो झर्छौ।

– कालापानीमा त हाम्रा पुर्खाहरू लडेर वीरता देखाएको ठाउँ हैन र। यो फेरि कहाँको कालापानी आयो? भाइले मतिर हेर्दै हाँस्यो।

कुन्नि एउटा ठाउँको नाम अर्को ठाउँसंग जुधिएको मैले धेरै भेटेको छु। हामी सैलुंगका थुम्काहरूबाट बिस्तारै ओझेल भए। अलि तल पुगेपछि घण्टीको निरन्तर टङटुङ आवाज आइरह्यो।

–चौरी यतै कतै हुनुपर्छ है भाइ फोटो खिच्नुपर्छ।

वरिपरि जंगल थियो। पहिला पुर्खाहरू यो बाटो हुँदै मुडेबाट नुन बोकेर हिँडेको सुनाउनुहुन्थ्यो। जंगल बाग्लो रहेको एक्लै हिँड्न डर लाग्ने सुनाउनुहुन्थ्यो। तर अहिले त्यस्तो थिएन । फराकिलो गोरेटको बाटो बनाएको थियो। ठाउँठाउँमा थकाइ बिसाउने ठाउँ बनाएको थियो।

मान्छे झुक्किन्छन् भनेर एरो चिन्ह सहित ठाउँको नाम लेखिएको प्लेट कार्ड राखिएको थियो।

–ऊऊ चौरी भेटियो भाइ भन्दै भाग्दै गएर चौरीको छेउमा सेल्फी लिन थाल्यो।

–चौरीले हान्लान् है।

–हान्दैन म देखेर भागिरहेका छन्। उसले मोबाइल सेल्फी हान्न माथि उठाउँदा हान्न लाग्यो भनेर गुरुरुरु भाग्दो रैछ चौरीहरू।

–मेरो पनि है भाइ फोटो।

म अलि अगाडि गएर घन्टीवाला तन्नेरी चौरीको छेउमा गएर उभिएँ। मेरो पनि भन्दै भाइले मलाई मोबाइल हात थमाइदियो। उसले आफ्नो शैलीमा पोज बनाई मैले खिचिदियो।

जंगलमा चरिरहेका चौरीहरू धेरै भेटिन्थे। जंगलभरि चौरीका घाटीमा झुण्डाइएका घन्टीका आवाज गुन्जिरहेका हुन्थे  जसले जंगलको सुन्दरतासँगै यात्रामा रोमान्चक थपिरहेको थियो। यी गुराँसका रूखहरू चैतवैशाखमा रातै हुने गर्छन्। जंगलमा झ्याउँकिरीको संगीत भने गुञ्जायमान थियो। अचेल झ्याउँकिरीको सुन्दर संगीत सुन्न पाइन्छ जंगलमा।

कालापानी हुँदै देउराली झर्यो। त्यहाँबाट तेर्सो लाग्यो। लगातारको हिँडाइपछि हामी माका देउराली बजार पुग्यो।

माका देउराली पुग्दा झन्डै साँझको पाँच बज्न लागिसकेको थियो। जहाँबाट चरिकोट जाने बाटो र मुडे जाने बाटो छुटिन्छ भनेको थियो हामीले बाटोमा सोध्दा। मलाई यहाँसम्मको मात्र बाटो थाहा थियो।

बजारमा एउटा दाइलाई सोधे – हामी चरिकोट जानुपर्ने। कुन बाटोबाट जाँदा हुन्छ दाइ?

उहाँले मतिर पुलुक्क हेर्दै भन्नुभयो–यो उत्तरतिरको उकालो नलाग्नु। ओरालो जुन बाटो छ त्यताबाट लाग्नु। तपाईहरू चरिकोट पुग्नुहुन्छ।

–तर भाइ यतिबेला चरिकोट त पुगिँदैन त? हिँडेर त तिनचार घण्टा नै लाग्छ। उहाँले मेरो हातको लठ्ठी हेर्दै भन्नुभो। उहाँले हामी हिँड्दै आएको अड्कल गर्नुभो पक्कै। जुन सही थियो। –दाइ, हामी सके चरिकोट पुगौला। नभए कतै बास बसौला। हाम्रो हिँडेरै पुग्ने छौं दाइ बरु बीचतिर कतै बजार भेटिन्छ कि भेटिँदैन?  

–भेटिन्छ भाइ यहाँबाट डेढदेखि दुई घन्टामा त तपाईहरू सेरा बजार पुग्नुहुन्छ। त्यहाँ होटलमा बास बस्नु अनि भोलि बिहानै जानु चाँडै पुग्नुहुन्छ।

–हस दाइ तपाईलाई धन्यवाद।

हामी दुई भाइ उहाँको मौखिक म्यापको फलो गर्दै ओरालो झर्यो। साँझ पर्दै गएपछि हुस्सु बाक्लिदै थियो। बिस्तारै गाउँबस्तीहरू ढाक्दै ल्यायो। अचेल छ बज्दा नबज्दै अँध्यारोले धर्ती छोप्छ। जसरी अँध्यारो बढ्दै थियो। उसैगरी हुस्सु र कुहिरोले पनि वरिपरि ढाग्दै लग्यो। हामी निरन्तर हिँडिरह्यो। अब त केही मिटर अगाडिको वस्तु चिन्न पनि हम्मेहम्मे हुन थाल्यो।

माका देउरालीको दाइले गाडी हिँड्ने मेन रोटैरोट जानु भन्नुभएको थियो। त्यसैलाई फलो गर्दै हामी बिचबिचमा आउने सबैलाई बेवास्ता गर्दै हिँडिरह्यो। उज्यालोलाई अँध्यारोले निलिसकेको थियो।

कार्तिक पाँच गते आज यो बेला जून हुनुपर्ने थियो। जूनलाई पनि हुस्सु र कुहिरोले निलिसकेका थिए। अँध्यारो बक्लिदै गएपछि हामी दुवैले मोबाइलको टर्च बाले। दुवै जनासँग लठ्ठी थियो। बाटो जंगलको भएकाले हामी दुवै सतर्क थियौ। कुनै जंगली जनावर अथवा केहीबाट आक्रमण भइहाले प्रतिकार्य गर्न। गनगन आवाजसंगै दुई मानव आकृति हाम्रो सामुन्ने उभियो।

– दाइ अब सेरा बजार आइपुग्न कति समय लाग्छ?

– कस्सेर हिँड्यो भने एक घण्टा नभए डेढ दुई घण्टा लाग्न सक्छ। रातको बेला हो चाँडै पुग्नुहुन्छ कतै नअल्झी गयो भने। दुई जनामध्ये अलि पाकाजस्तो बोल्यो।

– तपाईहरू त यताबाट निकै घुमाउरो पर्छ। अलि माथिबाट अघि अर्को रोट देख्नुभयो होला। त्यताबाट गयो भने चै अलि बाटो छोटिन्छ।

– धन्यवाद तपाईलाई। हस हामी माथिबाटै लाग्छौ। बाटो ओरालो थियो। भर्खर खनेको भिरको बाटो डिल हेरौ। भिर भित्ता हेर्यो भिर। बाटो ओरालो भएकाले घुम्ती धेरै थियो। हामी छिटो पुग्न छोटो गोरेटो बाटो सकेसम्म रोज्थ्यौं। रात छिप्पिदै थियो। कुनै बेला छोटो बाटो हिँड्दा रोड भेट्दैन थियो। सेरा बजारसम्मै रोडैरोड जानु भनेको थियो। किनभने छोटो बाटोमा अलमलिने सम्भावना उच्च हुन्छ त्यसैले। तर हामी सेरा बजारको मान्छे सुतिसक्ने पो हो कि भन्ने डारले पनि छोटो बाटो बढी प्रयोग गर्थे।

बाटो जंगलको थियो। चारैतिर निस्पट्ट अँध्यारो छ। अँध्यारो भए पनि पारि कतै बत्ती बलेको कुनै घर देखिएको छैन। अँध्यारोमा बत्ती चम्किनुपर्ने हो तर हुस्सुले धोका दिएको थियो। यतिबेला न कुनै बस्ती भेटिन्छ न कुनै मान्छे। दिउँसोभरि कराउने झ्याउँकिरी पनि थाकेर निदाइसकेछन्। कतै आवाज सुनिएन। कतै कुकुर भुकेको पनि सुनिँदैन। त्यसैले बस्ती नजिक छैन भन्ने अनुमान लगाएँ।

हिँडिरह्यो लगातार।भाइ खुट्टा दुख्यो भन्दै थियो। कान पनि बन्द भयो भन्दै छ। सिंगानमाथि तान त खुल्छ तुननन बजेको कान। मेरो पनि कान कतिबेला बन्द भैसकेछ। सिंगान तान्दै खोले। खोला बगेको आवाज आयो त? मैले भन्नै लाग्दा भाइले प्याच्चै बोल्यो।

–हो अब हामी सेरा बजार नजिक आए जस्तो छ। अलि तल कुकुर भुकेको आवाज पनि आयो। हुस्सु पनि खुलेछ। पारि राँके बत्ती जस्तै लस्करै बत्तीहरू देखिन थाले। तलतिर पनि बस्तीहरू देखिन थाले। बत्तीको इसारामा खोलाको आवाज पनि नजिकिदै गयो।  मन खुशीले हलौं हुँदै आयो। बल्ल बाटैमा एउटा घर भेटिए। कुकुर निकै जोडजोडले भुकिरहेको थियो।

हामीलाई देखेर झन् भुक्न थाले। भित्रबाट घर्याक्क ढोका उघार्दै कोही निक्लियो।

–अलि नजिक गएर सोधे –यहाँबाट अब सेरा बजार पुग्न कति समय लाग्छ?

–पन्ध्रबिस मिनेट। कता हिँड्नु भ’को नानीहरू? –रात परिसक्यो। कहाँको हो नानीहरू? एकैपटक दुई प्रश्न तेस्र्याए बुढाले।

–हामी रामेछापबाट आएको अंकल पुग्ने कालिन्चोक आज सेरा बजार बास बस्छु।

–कि यतै बसौ नानीहरू। खाना चै हामीले खाइसक्यौं। सुत्ने मिलाइदिन्छौ।

–पर्दैन अंकल, हामी तलै पुग्छौ सेरा बजार। –यहीँबाट ओरालो लाग्नु।रोड नछोडी हिँड्नु छिटै पुग्नुहुन्छ।

उहाँको यो खालको व्यावहारिक शैलीले होटेल नपाए पनि बास पाइने रहेछ भन्नेमा ढुक्क भयौ। समय साढे सात बजिसकेको थियो। सेरा बजार नजिकै छ भन्ने खोलाले संकेत दिइरहेको थियो।

हामी रातको आठ बजे सेरा बजार पुग्यो। सेरा बजारको मान्छे सुत्ने तर्खर गर्दै रहेछन्। सेरा बजर निकै तल खुँजमा जस्तो लाग्यो। ठुलोठुलो खोला वरिपरि ठुलो आवाजमा बगिरहेको सुनिन्थ्यो। बर्खामा झन् कति ठुलो आवाज बनाउँदो हो खोलाले। सायद रातमा निद्रा लाग्दै होला सेरा बजारबासीको।

हामी हिँड्दै जाँदा चार ओटा खोला भेटिए। तिन ओटामा पुल नै बनाएइएको थियो। खोला ठुलै थियो। हामी एउटा होटलमा बास बस्या।

बिहानै उठेर हामी चरिकोटतर्फ उक्लियो। बाटो उकालो थियो। होटेलको दिदीले भनेअनुरूप नै हामी हिँड्दै गयौं। पहिलो किर्तन मावि पुग्यो। त्यसपछि मकैबारी हुँदै चोथाङ छिचोलेर हामी चरिकोट उक्लियो। अहिले साढे छ बजिसकेको थियो। चरिकोटबाट कालिञ्चोक जान बुलेरो रिजर्ब गर्नुपर्ने रहेछ। एक जना दाइले रोकिराख्नुभा’को रहेछ। हामी दाजुभाइ पुगेपछि तिन जना भयौ। अझै दुई जना आए पुग्छ भनेको थियो ड्राइभर दाइले। कालिञ्चोक दर्शन गर्ने मान्छेको कमी थिएन।

एकैछिनमा दुई दिदीभाइ आइपुग्यो र हाम्रो टिम पुग्यो। हामीले पैतिस सयमा रिजर्ब गर्यो अपन –डाउन। हाम्रो गाडी उकालो लाग्यो। ु बिहानैबाट हुस्स डम्म लागिरहेको थियो। चरिकोट बजार पनि राम्रोसँग देख्न सकिरहेको थिएन। म एलपी अनन्त भाइ र उज्ज्वल मोक्तान भाइतिर देखाइँदै भने – हामी चै रामेछापबाट आएको ।  मैले परिचय खण्ड अगाडि बढाए, तपाइँ? छेउको साथीलाई सोधे।

मनिष कार्की, ऊ चै मनिषा कार्की उसले दिदीतिर इंगित गर्दै भन्यो। हामी काठमाडौ बौद्धबाट्र अर्को दाइलाई सोधे–मचाहिँ ललितपुरबाट श्रवण केसी।

हामी सबैको परिचय सकेपछि हामी झन् नाजिकियौ र खुलेर रमाउन थाले। गाडीमा बेलाबेला डिजे बज्थ्यो। हामी चिच्याउँदै कराउँथ्यो। अगाडिपछाडि गाडीहरूको लाइन थियो।

ती गाडीका मान्छेहरू हुर्रे भन्दै थपिदिन्थे। हामी मुसुक्क हासिदिन्थ्यौं। उनीहरू पनि हासिदिंन्थे। यात्रामा यही त हो रमाइलो। कहिल्यै नदेखेको मान्छे छिनभरमै साथी हुन्छ। परिचयबिना नै खुलेर मुस्काउँछौ। खुलेरै रमाउँछौ। वर्षौ पहिलेदेखिको साथी जसरी खुलेर कुरा गर्छौ।

अहिले सुनिल गिरीको गीत गुन्जिरहेको छ–

लेकबेसी भन्ज्याङमा माया साट्ने ठाउँ,

बाँचुञ्जेली सम्झनाको यहीँ प्यारो गाउँ।

म सबै गीत गाउन नआए पनि आए जसरी गाउँदै छु ठुलोठुलो स्वरमा। अरू साथीहरू पनि गाउँदै छन्।

हामी कुरी बजार उक्लियो। अचानक घाम लाग्यो। कुरी बजारमा। हाम्रो टिम हतारहतार उकालो लाग्यो। केबुल कार नचढ्ने हिँडेरै मन्दिर पुग्ने सल्लाह गर्यो हामीले। श्रवण दाइसँग क्यामेरा रहेछ क्याननको। हामी पालैपालो फोटो खिचिदिन आग्रहसंगै पोच दिन थाले आआफ्नै शैलीमा। निमेष भरमै हुस्सुले गम्लंग कुरी बजार छोपिदियो। धुम्म वरिपरि सबै ढाकियो।

माथि मन्दिर पनि देखिएन। धन्न फोटो खिच्न पायो। मनिषाले भन्दै थिइन्।

–फोटो खिच् भनेर खुलेको हो के। मैले थपिदिएँ।

–फेरि माथि मन्दिर पुगेपछि खुल्छ पक्का मनिषले मुसुक्क हाँस्दै बोल्यो। अर्को श्रवण दाइ मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो। उज्ज्वल भाइ हिँड्दै थियो।

मन्दिर पुग्दा पनि अघि जसरी छयांग मौसम खुलेन थोरै खुल्थ्यो। फेरि छोपिहाल्थे हुस्सुले। हामी त्यही हुस्सुमै रमाउन थाले। झन्डै ३८ सय मिटर हाइटमा कालिञ्चोक माताको दर्शन गर्यो। मनले चाहेको पूरा गरिदिने भन्दै कसैले जोडी मागिरहेको थियो। कसैले जागिर, त कसैले घर होस् काठमाडौमा भनेर मागे कसैले जीवन सुख होस् भन्दै मागे।

मैले पनि त्यही भनें– जीवन सुख र शान्तिले बितोस्। यही मागे कालिञ्चोक मातासँग।

हामी पूर्वतिरको रुट हुँदै फोटो खिच्दै तल झर्यो। मौसमले लुकामारी गरिरह्यो। हामी फोटो खिच्दै रमाइरह्यौं। गौरीशंकर हिमाल  टप्लुक्क देखापर्थे। निमेषभरमै कुहिरोले कता लुक्थ्यो कता। हामी जिल्ल पथ्र्यौ। यता पनि गुराँसको बोट मात्रै देखियो। सिजनमा मात्र फुल्ने, अहिले फुलेको थिएन हामी मनग्य रमायौ। मनग्य फोटो खिच्यौ र हामी त्यही गाडीमा चरिकोट ओर्लियो। मनिष, मनिषा, श्रवण दाइ, उज्ज्वल भाइ म हामी निकै नजिक भैसकेका थियौ। चरिकोटबाट हामी आआफ्नो बाटो लाग्यो। कहिल्यै नभेटेका हामी यात्राले जुराएका हामी नजिकको साथी भएका थियौ। हामी बिदा हुँदा केही छुट्टिएजस्तो, केही भुलिएजस्तो, मन कताकता भारी जस्तो हुँदाहँुदै बिदा भयौ। हामी र उज्ज्वल भाइ पनि चरिकोटबाटै काठमाडौं लाग्यो। म चरिकोट हुँदै तामा कोसीको किनारैकिनार मन्थली ओर्लेर गाउँ आउने निधोसंगै हामी दाजुभाइ पनि छुट्टियौं

प्रकाशित: ६ मंसिर २०७८ १४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App