१४ मंसिर २०७८ मंगलबार
कला

अन्तिम श्रद्धाञ्जलि आफ्नै मृत्युलाई

कविता

बोधराज पौडेल

 

पिउँदै दुःखका आँसुहरू

घोटेर श्रमका करङहरूमा

पसीनाको धारामा पौड्दै

आफ्नै परिवार पाल्न जुटिरहँदा

म नाङ्गो भएँ

बेजमान भएँ

साँचो अर्थमा तिरस्कार भएँ।

 

स्वास्नीको माग,

बा आमाको फर्माइस

र, छोराछोरीको रहरलाई टाउकोमा बाँधेर

झिसमिसेमा गर्जो टार्न हिँडेको म

झम्के साँझमा घर पुग्दा पनि

छायाको चाल उस्तै छ  

तर शरीरले थकान बोकिरहेको छ।

अलिकति सास चल्छ

शरीर तातो छ

सायद पीडाको राप होला

धुमिल हुँदै गएका आँखाले ठम्याउँदैन

मलिन भएका कानले सुन्दैन

तर, चटक्क देख्छ केटाकेटीको व्यवहार

र, झट्ट सुन्छ बाआमाको गनगन

अनि स्वास्नीको करकर।

 

मैले जीवनलाई हिँडाउँछु कि!

जीवनले मलाई हिडाउँछ?

मेरो परिवार त सधैं जवानमा छ  

उनीहरूकै खुसी खोज्दा  

म बेजमान भएँ।

 

अब त के बोक्नु यो गन्हाउने शरीर

किन घिस्याउनु पटपट फुटेका पैताला

कति पटक टाल्नु फाटेको लुगा

आखिर म नै परिवारको बोझ हुँ भने

म आफ्नै मृत्युलाई श्रद्धाञ्जलि दिन्छु

अब बाँच्न नै कहाँ सजिलो भो र?

मृत्यु तैँले मलाई जीवनमा जति दुःख दिइस्

ती सारा अब तेरै पेवा भयो

म खालि बदलामा दिन्छु तँलाई  

अपमानको भारी बोकेर पनि

प्रकाशित: ६ मंसिर २०७८ १२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App