coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

निर्वस्त्र घाम र लोलाएको साँझ: एक अध्ययन

समीक्षा

चूडामणि काफ्ले

१.विषय परिचय

दामोदर पुडासैनी ‘किशोर’(२०१९) नेपाली साहित्याकाशका एक चम्किला नक्षत्र हुन्। नेपाली साहित्यका नियात्रा र कविता विधामा उनको समान योगदान रहिआएको छ। उनका यात्राका प्रेमिल तरङ्गहरू (२०६५), नमेटिएका चित्रहरू (२०७०), मायालु हुम्ला (२०७१),सिमानाका रङ्ग : सिमानाका तरङ्ग (२०७२), पर्खालभित्रको राजधानी(२०७३), जस्ता उत्कृष्ट नियात्रा कृति प्रकाशित छन्।

त्यसै गरी २०३४ सालको ‘शहीद’ कविताबाट काव्ययात्रा प्रारम्भ गरेका पुडासैनीका अहिलेसम्म आफन्तका अनुहारहरू (२०४९), आँखाको खोजीमा (२०६२), आलोकित आयाम (२०६३), आकारको खोजीमा (२०६३), समयको सहीछाप ( २०६९), पहाड र प्रेम (२०७१), उज्यालो खोजिरहेको घाम (२०७४), सहरबिनाको सहर (२०७५), हिमालका आवाज (२०७६) र निर्वस्त्र घाम र लोलाएको साँझ (२०७७) गरी जम्मा १० कवितासङ्ग्रह प्रकाशित भइसकेका छन्। उनी जीवन र जगत्को गहन र सूक्ष्म अध्ययन र निरीक्षण गरी कवितात्मक अभिव्यक्ति दिने कवि हुन्। उनका कवितामा जीवनसत्यको कलात्मक अभिव्यक्ति पाइन्छ। यहाँ उनको नवीनतम कवितासङ्ग्रह निर्वस्त्र घाम र लोलाएको साँझको अध्ययन गर्ने प्रयास गरिएको छ।

२.विषयप्रवेश

निर्वस्त्र घाम र लोलाएको साँझ (२०७७) दामोदर पुडासैनी ‘किशोर’द्वारा रचित पछिल्लो तथा नवीनतम कवितासङ्ग्रह हो। तन्नेरी प्रकाशनद्वारा प्रकाशित यस कवितासङ्ग्रहमा जम्मा ५४कविता सङ्गृहीत छन्। यस कविता कृतिको भूमिकामा विद्वान् समीक्षक ताराकान्त पाण्डेय(प्राडा)ले  गम्भीर अध्ययनपश्चात् गहकिलो समालोचना नै गरेको पाइन्छ। उनले यस लेखमा कवि पुडासैनीलाई जीवनको पक्षमा गीत गाउने स्रष्टाका रूपमा प्रस्तुत गरेका छन्। उनले यस कवितासङ्ग्रहलाई जीवन गीतसङ्ग्रहका रूपमा व्याख्या गरेका छन्(पाण्डेय, २०७७ : ६–१६)।

मानिस संसारको सर्वोत्कृष्ट एवम् विवेकशील प्राणी हो। यस सृष्टिलाई विकसित र समृद्ध तुल्याउने मानिस नै हो। मानिसले विध्वंस मच्चाउने होइन रचनात्मक काम गर्नुपर्छ र सभ्यता र संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने मान्यता आत्मसात् गर्ने कविको रूपमा  प्रस्तुत भएका छन् कवि पुडासैनी यस सङ्ग्रहमा।

वास्तवमा कवि पुडासैनीले आफ्ना कवितामा आदर्श जीवनको अनुसन्धान गरेका छन्। उनी आफू सुसाइड नोट लेखेर मृत्यु रोज्न चाहँदैनन्। त्यसको सट्टा लिभिङ डिक्लेरेसन गरी जीवनको गीत गाउन चाहन्छन्। उनी सुकिलो आवरणमा दिउँसो भाषण छाँट्ने र राति निर्दोष प्राणीको ज्यान लिन तम्सने छद्मभेषीहरूको आडम्बरप्रति कडा व्यङ्ग्यवाण प्रहार गर्छन्।

कवि पुडासैनी धर्मका नाममा गरिने पाखण्डी कार्यलाई पटक्कै रुचाउँदैनन्। उनी ढुङ्गामा अबिर दलेर ईश्वरका नाममा समाजलाई ठग्ने अन्धपरम्परा पोषक पुजारीप्रति रोष प्रकट गर्छन्। समाजको उन्नतिमा अवरोध गर्ने यस्ता क्रियाकलापको उनी घोर  भर्त्सना गर्छन्। कविको परलोकभन्दा इहलोकमा विश्वास छ।

परलोकको आस देखाएर समाजलाई लुट्न र चुस्न पल्केका मान्छे यहाँ धेरै छन्। मानिसले आफ्नो कर्ममा विश्वास गर्नुपर्छ। यस लोकमा गरेको कामको परिणाम हामी यहीँ अर्थात् यसै लोकमा प्राप्त गर्न सक्छौँ। ईश्वरले परलोकमा सुख दिन्छ भनेर सोझासिधा मान्छेलाई झुक्याउने र उनीहरूको शोषण गर्नेप्रति उनी आक्रोश प्रकट गर्छन्। उनी लेख्छन्–

मैले

परलोक छैन

यो लोकमा गरेको कामको फल

यहीँ जीवनमा पाइन्छ

पाइन्न परलोकमा

भनेँ

तर केही मान्छेहरूले परलोकको कठोर नाटक रचेर

सोझा मान्छेहरूलाई

चुसे,चुसिरहे

(पुडासैनी,२०७७: ५०)

यसरी समाजमा देवता, मूर्तिपूजा र परलोकबारेमा रहेको अन्धविश्वासको उनले विरोध जनाएका छन्। उनले ईश्वरको नाम जप्ने होइन कठोर परिश्रमपूर्वक काम गर्नुपर्छ भन्ने धारणा अघि सारेका छन्। उनले सुख मात्र खोजेर भौँतारिनेहरूलाई दुःख र सुख एकै सिक्काका दुई पाटाजस्तै हुन्; दुःख र जीवन एकअर्काका परिपूरक हुन् ; दुःखमा नै उज्यालो जीवनको रहस्य लुकेको हुन्छ भनेका छन्। परिश्रमका पसिनामा सफलता रहेको हुन्छ भनेर कविले आफ्ना पाठकलाई कर्मयोगी बन्न आग्रह गरेका छन्।

कवि पुडासैनी स्वच्छ तथा आदर्श समाजका परिकल्पनाकार हुन् । उनी सामाजिक वर्गभेद, दलाली, घुसखोरी, कालोबजारीजस्ता कुप्रवृत्तिको विरोधमा उभिने गर्छन्। अहिले सिङ्गो देशमा दलाल, बिचौलिया, नाफाखोर आदिको विगविगी रहेकोमा लेखकको चिन्ता छ। 

यहाँ आफ्नो कर्तव्य वा जिम्मेवारी पूरा गर्नुभन्दा आडम्बर र खोक्रो आदर्श अँगाल्ने धेरै छन्। हाम्रो देशका तीनै तहका सरकार तथा कार्यालयहरूमा यो प्रवृत्ति निकै मौलाएको छ। यहाँ आत्मविश्वास नहुने र परनिर्भरतामा उन्नतिको सपना देख्नेहरूको धेरै छन्। ‘टेको’ कवितामा कवि पुडासैनीले यसको राम्रो चित्रण गरेका छन्। उनी लेख्छन्:  

घर, परिवार, समाज, गाउँ

सहर, कार्यालय र शासनकेन्द्रहरू

बल्लतल्ल उभिएका छन् टेकाको भरमा

दलाल, बिचौलिया, नाफाखोर, कालाबजारिया

एकसे एक टेको बनेर उभिएका छन्    

                                 (पुडासैनी, २०७७ :२४)  

अर्काको बल र बुद्धिको सहारामा हिँड्नेहरू नै अहिले आफू हर्ताकर्ता भएको भ्रममा परेका छन्। यस कुप्रवृत्तिको कारणले मुलुक दिनदिनै अधोगतितिर लागेको छ। धमिराले काठ खाएजस्तै बिचौलिया तथा दलालरूपी टेकाले  आफैँलाई घर न घाटको बनाइसकेको समेत पत्ता पाउँदैनन्। यसले मुलुकको घरबारदेखि व्यापार,राजनीति, प्रशासन आदि क्षेत्रलाई जर्जर पारिसकेको छ। 

कविले यसलाई ब्वाँसाले पशुहरूलाई कन्याएर ज्यानै समेत लिनसक्ने अर्थमा लिएका छन्। यिनले त जोसुकैलाई दलाली तथा नाफाखोरीका दाह्रा र नङ्ग्राले चिथोर्ने र कोपर्ने गरी रक्तमुछेल पार्छन् र सर्वस्व लुट्ने गर्छन्। टेको थाप्नेहरूको प्रशस्तिगान हुन्छ। टेकाहरूले आफैं उभिन चाहनेको खोइरो खन्दछन् र उछित्तो काढ्छन्।

कविले यसरी हाम्रो मुलुकमा बढ्दै गएको अनुशासनहीनता, गैरजिम्मेवारीपन र परनिर्भरताप्रति घुमाउरो व्यङ्ग्य गरेका छन्। उनले कर्तव्यपरायणता, अनुशासन, जिम्मेवारीबोध र सुशासनलाई बढावा दिनुपर्ने सन्देश प्रवाहित गरेका छन्।

समाजमा दिनानुदिन विकृति र विसङ्गतिहरू बढ्दै गएका छन्। सहरबजारहरू धुवाँ, धुलो र प्रदूषणले विषाक्त बनिराखेका छन्। यसको निराकरणमा कसैको चासो र चिन्ता छैन। सबै आआफ्नो स्वार्थको मुरली बजाउनमा नै तल्लीन छन् ; व्यस्त छन्। सम्बन्धित निकाय कानमा तेल हालेर बसेका छन्।

यति हुँदाहुँदै पनि सहरबजारमा जग्गाको भाउ अक्कासिँदो छ; दलाली कारोबार मौलाउँदो छ। धमाधम गगनचुम्बी महलहरू उभिँदा छन्; मानिसहरू रङ्गीबिरङ्गी फेसनको आवरणमा चिटिक्क परेका छन् तर उनीहरूको मनभित्र एउटा एउटा षड्यन्त्र हुर्कँदो छ; एउटा एउटा जालको व्यूह रचिँदो छ।

गोयबल्स प्रवृत्तिका नेता तथा प्रशासक घुम्ने मेचमा आसीन छन्। स्वार्थको भुमरीमा फन्फनी घुमिराखेका तिनका अगाडि कोसेली र नजरानाका पुलिन्दा चढाइँदा छन् तर सामाजिक उन्नतिका लागि सोच्ने एक निमेषको फुर्सद कसैसँग छैन। यसै भावविशेषलाई कवि पुडासैनीले ‘यो सहरमा’ कवितामा रोचकतापूर्वक अभिव्यक्त गरेका छन्। उनी भन्छन्ः

यो सहरमा

हरेक मान्छेहरू

क्षण क्षणमा कतै न कतै

दौडने सुरसारमा छन्

सहरलाई नै दौडाउन कोही सोच्दैन....

जग्गाको भाउ बढिरहेको

होटल व्यवसाय चलिरहेको ...

फोहोरको थुप्रो चुलिँदै गएको

ज्यान जोखिममा पर्दै गएको

धुवाँ, धुलो र विषादी असाध्यै बढेको ....

सुन्दर मान्छेले मनमा

जाल,झेल र षड्यन्त्र हुर्काएझैं

पापी मनका कुरुसमा जाली रुमाल बुन्ने

मान्छेहरू धेरै छन् ...

(पुडासैनी,२०७७ :५९-६०)

कविले यसरी नेपालमा दिनदिनै  सामाजिक, प्रशासनिक, आर्थिक आदि क्षेत्रमा अव्यवस्था, विकृति र विसङ्गति बढ्दै गएको वर्णन गरेका छन्। उनले समाजका अगुवा नै बदमास हुनाले यहाँ उन्नतिभन्दा अवनतिको गर्त गहिरो हुँदै गएको वास्तविकता बताएका छन्।

कवि पुडासैनीले यस सङ्ग्रहमा विसङ्गति, विकृति र आदर्शको विचलनको मात्र सन्दर्भ उठाएका छैनन्; जीवनका उज्याला पक्षहरूको पनि उल्लेख गरेका छन्। उनले ठाउँठाउँमा जीवनका सुमधुर गीतहरू पनि गाएका छन्। यो संसार मानवले प्राप्त गरेको एक अमूल्य उपहार हो। हामीले सृष्टिका सौन्दर्यमा रमाउन जान्नुपर्छ। यहाँ रहेका खराबीहरूको निर्मूल भावी पिँढीका लागि अझ सुन्दर र रमणीय संसार सिर्जना गर्नुपर्छ भन्ने धारणा अघि सारेका छन्। हिलोमा सुन्दर कमल मुस्कुराएझैँ यहीँ विसङ्गतिका बिचबाट अस्तित्वको अन्वेषण गर्नुपर्छ।

सहरबजारका कर्कश आवाज र होहल्लाका बिचबाट नै सुमधुर स्वरलहरी पहिचान गर्नुपर्छ। संसारका भिडभाडकै बिचबाट आफ्ना प्रियजनसँग भेटघाट र भलाकुसारी गर्नुपर्छ। विघ्नबाधा, अड्चन र अवरोध कहाँ हुँदैनन्? लक्ष्य हासिल गर्न तिनलाई छिचोल्दै पन्छाउँदै अघि बढ्नुपर्छ। बनजङ्गल, रुखबुटा र जूनघाममा पनि आफ्नै प्रियजनको सुस्पर्शको अनुभूति गर्नुपर्छ भन्ने भाव अभिव्यक्त गरेका छन्।

कवि यहाँको प्रकृति, झरना र शीतका थोपालाई गीत र सङ्गीतमा रूपान्तरण गर्नुपर्छ। झमझम परेको असारे झरीमा आफैँलाई बिर्सेर स्नेहका सागरमा डुबुल्की लाउनुपर्छ। मायालुका मिठा संवादमा झ्याउरेको गुन्जन अनुभूत गर्नुपर्छ भन्दै कवि जीवनगीतको मिठो लयमा आफूलाई लीन गराउँछन्। असारे झरीले कविको जीवनमा नयाँ रङ्ग पोतिदिएको छ; नयाँ तरङ्ग पैदा गरिदिएको छ। उनले झरीलाई जीवनको उपमाले सिँगारेका छन्। उनी लेख्छन् -

एउटा जिन्दगी त हो रहेछ झरी

बिस्तारै बिउँझियो

गुनगुनायो, फर्कियो, फैलियो

बिलायो बिस्तारै कता कता

(पुडासैनी,२०७७ :३५)  

मान्छेको जीवन ताल सदृश छ। ताललाई धुलो, मैलो, ढुङ्गा, बालवा, फोहर, कसिङ्गरको कुनै पर्वाह छैन। उसले ती सबैलाई आफूमा समाहित गरेको छ। मान्छे पनि मनमा हजारौँ बेथा, वेदना, पिर, दुःख, कष्ट भए पनि बाहिरबाहिर मुस्कुराएर हिँडिराखेको हुन्छ।कविकै शब्दमा-

हजारौँ बेथा बोकेर पनि

हाँस्दै जीवनको रङ खोजिरहने मान्छे

र सङ्लो तरङ्गमा फैलिरहने ताल

किन किन मलाई उस्तै लाग्छ

(पुडासैनी,२०७७ :३८)

कविको विचारमा जीवन क्रियाशील रहनुपर्छ। बेसरी चपाएपछि आउने छुर्पीको मिठो स्वादजस्तोकठिन परिश्रमपछि प्राप्त हुने सफलता मिठो हुन्छ ; स्वादिलो हुन्छ। जीवन झरना झरेजस्तो गतिशील र ऊर्जाशील हुनुपर्छ। निष्क्रियता जीवनको परिभाषा होइन। ढुङ्गो मात्र निष्क्रिय हुन्छ; जीवनको आदर्श ढुङ्गो बन्नु हुँदैन।

एउटै लक्ष्यमा निरन्तर क्रियाशील हुनेले गन्तव्य हासिल गर्छन् ; उद्देश्यको शिखर आरोहण गर्दछन् । कठोर सङ्घर्ष, लगन र मेहनत नै जीवनका पर्याय हुन् तर यहाँ यसको ठिक विपरीत परिदृश्यहरू देखिएका छन्। आफ्नी मातासमान जन्मभूमिलाई  विछ्यौनाको तकियाजस्तै गिजोल्ने र आआफ्नो स्वार्थपूर्तिको साधन बनाउनेहरूको यहाँ लामो ताँती छ।

मान्छेको बोली र व्यवहारमा ठुलो अन्तराल छ। मान्छे एउटा कुरा गर्छ; व्यवहार त्यसको ठिक विपरीत प्रदर्शन गर्छ। मान्छेका यस्तै व्यवहारले देशको उन्नति हुन नसकेको हो। मान्छेको यस्तो द्वैध चरित्रको लेखकले सटीक वर्णन गरेका छन्। उनी लेख्छन् : 

उदास तकियाजस्तो

कतिन्जेल जीर्ण खोलमा बाँधिएर

कसैको बिछ््यौनाको रमाइलो मात्र

बनिरहन सक्तछ हँ देश?

(पुडासैनी,२०७७ -११७)

यस कवितासङ्ग्रहमा कवि पुडासैनीले जीवनका विभिन्न सन्दर्भको सुन्दर चित्र प्रस्तुत गरेका छन्। समाजका विकृति,स्वार्थान्धता, गोयबल्सवादजस्ता विसङ्गतिहरूलाई पनि उनले सुन्दर बिम्ब, प्रतीक र उपमाहरूको माध्यमबाट अभिव्यक्त गरेका छन्।

कतिपय कवितामा उनले हार्दिक तथा आत्मिक प्रेमभावका सन्दर्भहरूलाई सजाएका छन्। उनले जीवन सङ्घर्षको मैदानमा सदैव क्रियाशील रहनुपर्छ र यसलाई सार्थकता दिनुपर्छ भन्ने धारणा अघिसारेका छन्।

आफ्नो जीवनलाई मार्गदर्शन गर्ने र  लक्ष्यमा अडिग रहन उत्प्रेरित गर्ने पिताश्रीका चट्टानी यादलाई स्मृतिका रूपमा प्रकट गरेका छन्। उनी मुक्तलयका कवि हुन्। बद्धलयमा जस्तो बाह्य रूपमा लयको आयोजना नभए  पनि भावनालाई आन्तरिक लयले सुन्दर र सुललित बनाइएको पाइन्छ।

३.अन्त्यमा

समग्रमा कवि दामोदर पुडासैनी ‘किशोर’को यस कवितासङ्ग्रहले वर्तमान समाज तथा जनजीवनका विभिन्न बिम्बलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। कविको भावनालाई अभिव्यक्त गर्ने शैली अपरम्परित तथा अनौठो किसिमको छ। जस्तोसुकै भावलाई कवितामा बुनेर अभिव्यक्त गर्ने कलाले पाठकमा एउटा मोहनी नै लगाउँछ।

मानव जीवनलाई एक अनमोल उपहारका रूपमा लिई आफ्नो कर्मपथमा अग्रसर हुनेहरूलाई  कवि पुडासैनीको यो कवितासङ्ग्रहले नयाँ उत्साह तथा ऊर्जा दिनेछ भन्ने कुरामा द्विमत नहोला। यस्तो महत्त्वपूर्ण कृतिका स्रष्टा पुडासैनीलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी काव्ययात्रा अझै गरिमामय बनोस् भन्ने शुभकामनाका साथ यो कलमलाई विश्राम दिन्छु।

सन्दर्भ स्रोत

पाण्डेय, ताराकान्त (२०७७), ‘लिभिङ डिक्लेरेसनका क्रममा लेखिएका जीवनगीत’ निर्वस्त्र घाम र लोलाएको साँझ, काठमाडौं : तन्नेरी प्रकाशन पृ ६–१६।

पुडासैनी ‘किशोर’,दामोदर(२०७७), निर्वस्त्र घाम र लोलाएको साँझ , काठमाडौं : तन्नेरी प्रकाशन, काठमाडौं।

प्रकाशित: ३ मंसिर २०७८ ०६:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App