१३ असार २०७९ सोमबार
कला

जिम्मेवारी बोध

बाहिर लगातार मोबाइलको घन्टी बजिरहेको थियो। कसको फोन होला यति बिहानै, फेरि गर्न पनि कति गरेको होला, हे भगवान् बिहान नुहाउन पनि आनन्दले नपाउने भइयो।

फोन त उठाउनैपर्‍यो। हतार हतार नुहाएर बाहिर आएँ। ‘हेलो, हेलो, भाउजु! के भयो? किन बिहानै लगातार...।’ मेरो वाक्य टुंगिन नपाउँदै उताबाट आत्तिएको स्वर सुनियो, त्यो पनि ननस्टप–बाबु छिटो घर आइहाल्नुस्,बिन्ती छ अहिले नै आउनुस्, मलाई एकदमै गाह्रो भयो...।

किन, के भयो र भाउजू? घरमा सबै ठीक छ नि! नानी, बाबु, आमा, दाजु, सबै ठीक हो नि ! किन आत्तिएको यसर?  

म बोलिरहेको थिएँ तर भाउजू भने ‘आउनुस् बाबु, छिटो आउनुस्’ भनिरहनुभएको थियो, एकनाशले। उहाँको आवाजमा रुवाई मिसिएको थियो। सुँक्क, सुँक्ककाे आवाज प्रस्टै सुनिन्थ्यो।  

ल ल मेरो एउटा जरुरी काम छ, त्यो सिध्याएर म ९ बजेसम्म आउँछु–त्यति सुन्नेबित्तिकै भाउजूले फोन काटिदिनुभयो। अब छटपटी हुने पालो मेरो थियो। किन भाउजू यसरी आत्तिनुभएको होला? दाइले नगरी किन भाउजूले फोन गर्नुभएको होला? रुँदै गर्नुपर्नाको कारण पक्कै केही हुनुपर्छ तर किन उहाँले बताउनुभएन? आदि इत्यादि प्रश्न लहरै उब्जन थाले, एकपछि अर्को गरेर।

खासमा उहाँहरू मेरो मीतदाइ र भाउजू हो। साइनो मीतको भए पनि उहाँहरू मलाई एकदमै माया गर्नुहुन्थ्यो। मैले आफ्नो पढाइ उहाँहरूकै घरमा बसेर पूरा गरेको थिएँ। त्यसैले पनि म आफ्नो दाइभन्दा पनि मीतदाइ र आमासँग नजिक थिएँ। मलाई जे/जस्तो पर्दा पनि साथ र सहयोग गर्नुभएको थियो। काठमाडौं बस्दा उहाँहरूबाट पाएको न्यानो माया र साथ जीवनभर भुल्न सक्दिनँ, चाहेर पनि। त्यसैले त आज ठूलै दुःख परेर मलाई सम्झनुभयो, सायद।  

हतार–हतार काम सकेँ। अनि सवा ९ जति बजेको हुँदो हो,उहाँहरूको घर पुगेँ। भाउजूका आँखा एकनाशले रसाइरहेका थिए। दाइ भने एक ठाउँमा चुपचाप बसिरहनुभएको थियो, पुर्पुरोमा हात राखेर। १२ वर्षको अभियान र नौ वर्षकी भतिजी आशीका आँखा पनि ओभाना थिएनन्। उनीहरू आँखाको डिलैसम्म टल्किएका आँसु लुकाउन खोज्दै घरी आमालाई घरी बाबालाई हेरिरहेका थिए।

कोठा एकदमै लथालिंग थियो। मलाई देख्नेबित्तिकै काकु काकु भन्दै दुवै बच्चा म नजिक आए। दुवैले अँगालो हाले। मैले उनीहरूका गाला सुमसुम्याएँ र आँसु पुछिदिएँ। अनि फकाएर भनेँ– जाऊ अब आफ्नो कोठामा, आफूलाई मनपर्ने गेम खेल। प्लिज जाऊ अब काकु आएँ, तिम्रो आमापापु दुवैलाई गाली गर्छु। 

के तमासा गरेको यस्तो? बच्चाको मानसिक स्थितिमा के असर पर्छ थाहा छ? यस्तो पढे/लेखेर पनि बच्चाको अगाडि के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने थाहा छैन? यस्तो वरिष्ठ वकिल भएर पनि दाजुबाट यस्तो व्यवहार कसरी हुन सकेको? अरूलाई न्याय दिलाउन वकालत गर्नेले आफ्नै बालबच्चालाई, त्यसमाथि पनि आफ्नै घरभित्र यसरी आतंकित तुल्याउन मिल्छ? कम्तीमा बच्चाको मानसिक र शारीरिक वृद्धिमा हुने हानितर्फ त ध्यान दिनुपर्ने? 

मेरो मुखबाट प्रश्नका छर्रा एकपछि अर्को गर्दै निस्किरहेकाले होला, दाइ अवाक् भएर चुपचाप सुनिरहनुभएको थियो। घरको सहयोगी केटो रामु यताउता गरिरहेको थियो। एक प्रकारले सन्नाटा छाएको थियो वरिपरि। यत्तिकैमा मैले विषयवस्तुलाई सहज बनाउने उद्देश्यले रामुलाई अदुवा हालेको मीठा चिया बनाउन अह्राएँ। 

भाउजूको रुवाइको आवाज ;सुँक्क सुँक्कबाट ठूलो हुन थाल्यो– घ्वाँ घ्वाँ। अनि रुवाइकै बीचमा मतर्फ हेरेर भन्न थाल्नुभयो,

हजुरको दाइले तलाकको कागज तयार गरेर ल्याउनुभएको छ। मलाई सही गर् कि गर् भनेर दबाब दिइरहनुभएको छ। कहिलेकाहीँ जानी/नजानी गल्ती हुन्छ। म पनि दिउँसो कार्यालय जान्छु। कति कुराको टेन्सन हुन्छ। कहिलेकाहीँ यही कारण घरमा पनि विवाद हुन्छ। यस्ता सामान्य कुरा पनि नबुझी त्यसैलाई आधार बनाएर यत्तिको आवेशमा त आउन हुन्न नि बाबु।

भाउजू रुँदै सबै कुरा बताइरहनुभएको थियो। मैले स्थिति सम्हाल्न सहज देखिनँ। त्यसपछि भाउजूसँग आमाको सोधखोज गरेँ। आमालाई बोलाउनुस् त, म उहाँसँग कुरा गर्छु मात्र के भनेको थिएँ, फेरि दाजुको रुवाइको आवाज तीव्र हुन थाल्यो। 

भाइ, आज तीन दिन भयो आमा वृद्धाश्रममा बस्न थाल्नुभएको। म लाचार छोराले आफैँ पुर्‍याएर आएको हुँ भाइ, म आफैँले। मैले मेरो परिवारलाई खुसी राख्न यो निर्णय लिएको हुँ। म यसमा कसैको गल्ती औँल्याउँदिनँ। मैले नै उहाँलाई सुखी राख्न सकिनँ। चौबीसै घन्टा उहाँको अघि–पछि दौडिन सक्ने बुहारी ल्याउन सकिनँ। बुहारी र सासूबीच एकअर्काप्रतिको गुनासो सुन्दासुन्दा हैरान भएँ। मैले उनीहरूका समस्या समाधान गर्नै सकिनँ। दुई–तीन वर्षदेखि मिलून् भनेर आँखा चिम्म गरेँ। हरसम्भव प्रयत्न गरेँ। तर अहं, मेरो केही लागेन। त्यसपछि मसँग कुनै विकल्प बाँकी रहेन। र, आमालाई वृद्धाश्रम पुर्‍याएर आएँ। 

उहाँले यसो भनिरहँदा आँखाबाट बलिन्द्र आँसु खसिरहेका थिए। तर पनि आँसु पुछ्दै आफ्ना भनाइ राख्ने क्रम जारी राख्नुभयो–आमा जति अबुझ, रुढीवादी भए पनि आफूलाई जन्म दिने आमालाई हेर्नैपर्छ। म बाँचेको समाजले पनि त्यही खोज्छ। अब म आफैँ वृद्धाश्रम गएर बस्छु। त्यहीँ केही न केही काम गर्छु र आमालाई पनि हेरविचार गर्छु। जब म एक/डेढ वर्षको थिएँ, मेरो बुवा बित्नुभयो। अनि आमाले अरूको घर–घरमा गएर काम गरेर मलाई स्कुल पढाउनुभयो। आफू काम गर्दा पनि मलाई पिठ्युँमा बोकेरै गर्नुहुन्थ्यो। धेरै मेहनत गरेर मलाई हुर्काउनुभयो। त्यसैले त आज म वकिल बन्न सकेँ, त्यो पनि वरिष्ठ। जसमा शतप्रतिशत देन उहाँकै छ। संसारलाई न्याय दिलाउँदै हिँडे तर आफैँलाई यो ठाउँमा पुर्‍याउने आफ्नै आमालाई भने न्याय दिलाउन सकिनँ। धिक्कार छ मेरो जुनी...। 

म निःशब्द थिएँ। सुनिरहनुको विकल्प पनि थिएन। दाजु भने रुन्चे स्वरमा एकोहोरो सुनाइरहेका थिए– जब म कक्षा १२ को परीक्षा दिँदै थिएँ, रातभर आमा मसँगै बस्नुहुन्थ्यो, पढोस् भनेर। मलाई उत्साह प्रदान गर्नुहुन्थ्यो। कतिपटक त कामको बोझले गर्दा ज्वरो नै आउँथ्यो आमालाई। तर पनि मैले थाहा नपाओस् भनेर खाना पकाउँदा जिउ तातेको भन्नुहुन्थ्यो। उहाँले मलाई कुनै पल छाड्नुभएन। तर आज..., तीन दिन भयो, म आमाबिना बस्न बाध्य छु। आमाले मेरा लागि गर्नुभएको त्याग/तपस्या र मेहनत सम्झेर रोइरहेको छु, हरदम..., हरदम...। मैले पनि आमा गएदेखि अर्थात् तीन दिन भयो केही नखाएको, अब तिमी नै भन भाइ, म कसरी बाचुँ आमा छाडेर?  

उहाँको कुरा अझै टुंगिएन– मलाई हुर्काउन आमाले गरेको दुःख सम्झन्छु। मलाई पढाउन लिएको उधारो सम्झन्छु। जे/जस्तो भए पनि मेरी आमा हो, मैले आमासँगै बस्नुपर्छ। बरु सक्छौ भने भाइ मलाई वुद्धाश्रम छाडिदेऊ। अनि तिम्रो भाउजूलाई पारपाचुके कागजमा सही गर्न भनिदेऊ। जसरी म मेरो बुवाबिना बाँचेँ, मेरा छोराछोरी पनि त्यसैगरी बाँच्न सक्छन्। मसँग भएको सबै सम्पत्ति तिम्रो भाउजूको नाममा गरिदिएको छु। म अब बाँकी जीवन आमासँगै बिताउँछु। अहिलेको आधुनिक सोचाइमा आमा जति गलत भए पनि मलाई जन्म दिने त आखिर आमा नै हुन्। मैले आमालाई माया नगरे कसले गर्छ ? आज नगरे कहिले गर्ने?  

दाजु एकोहोरो रोइरहनुभएको थियो। मेरो पनि मन पग्लियो। यसो भाउजूको मुख नियालेँ, उहाँ पनि रोइरहनुभएको। सबैलाई आफू सम्हालिन गाह्रो भइरहेको थियो। के भएर यस्तो अवस्था आयो? कसले नबुझ्दा र नचाहँदा आज यी दृश्य देख्नुपरिरहेको छ? कुनै पत्तो थिएन।  

एकापसको रोइलोबीच दिन बितेको पत्तै भएनछ। घडीले साँझको ८ बजाइसकेछ। यत्तिकैमा मलाई के मुड आयो कुन्नि, गाडी झिकेँ र दाजुलाई हिँड भनेँ। भाउजू र बच्चाबच्ची सबैलाई गाडीमा राखेँ। त्यहाँबाट हुइँक्याएको गाडी एकैचोटि वृद्धाश्रम पुगेपछि रोकेँ।  

तर सुरक्षा कर्मचारीले ढोका खोल्न मानेनन्। भने, ‘आज राति भयो, ढोका खोल्न मिल्दैन, भोलि आउनू।’ सुरक्षा कर्मचारीको कुरा सुनेर दाजु रुन लाग्नुभयो– मेरी आमा भित्र हुनुहुन्छ, म आमासँग बस्न आएको, बिन्ती छ दाइ, ढोका खोलिदिनुस्। दाइले धेरै बिन्ती गरेपछि सुरक्षा कर्मचारीले सोधे–के काम गर्नुहुन्छ?  

म वकिल हुँ, वरिष्ठ।  

त्यसपछि त के चाहियो र? बलेको आगोमा घिउ थपेझैँ सुरक्षा कर्मचारीले पनि दिइहाले– आफ्नै घरमा त न्याय गर्न सक्नु हुँदोरहेनछ, अरूलाई कसरी न्याय गर्नुहुन्छ?  

त्यसपछि सबैजना वृद्धाश्रममा पस्यौँ। केही पर गएपछि आमाबुवाहरूको स्याहारसुसार गर्ने दिदीसँग भेट भयो। दाजुले बोल्नुभन्दा पहिले नै म बोलिहालेँ–हाम्री आमा तीन दिनदेखि यहीँ हुनुहुन्छ। हामी आमाबिना बाँच्न सक्दैनौँ। आफूले गरेको गल्तीप्रति हामीलाई पश्चाताप भइरहेको छ। हामी हाम्रो आमा लिएर जान्छौँ प्लिज।  

उनले भनिन्– हामी आफ्नो आश्रममा आएका बुवाआमालाई यसरी राति लैजान अनुमति दिँदैनौँ। के बेर, रातको समय, आमामाथि केही दुर्घटना भइहाल्यो भने मैले भगवान्लाई के उत्तर दिन ?  

ठीकै छ, आमाको कोठामा लगिदिनुस् भन्यौँ हामीले। जब हामी आमाको कोठामा पुग्यौँ, उहाँ हामी परिवारका सबै सदस्यको फोटो सुमसुम्याउँदै रोइरहनुभएको थियो। त्यो दृश्यले हामीलाई पनि भक्कानो फुटायो। उहाँ हामीलाई देखेर यति खुसी हुनुभयो कि भनिसाध्यै छैन। हतारिएर सबैभन्दा पहिले भाउजूलाई रुँदै अँगालो हाल्नुभयो– बुहारी मलाई माफ गर, मैले तिम्रो पक्षबाट सोचिनँ। तिमीले त्यसै पनि यही घर, छोराछोरी अनि मेरो छोरालाई स्याहार्न यति धेरै मेहनत गरेकी छ्यौ। नातिनातिनाको हेरविचार गरिदिएर तिम्रो कामलाई मान्यता दिएको भए घरमा कलह हुने थिएन।

मेरो बुद्धि भ्रष्ट भयो बुहारी, मलाई माफ गर। मैले छोरालाई तिम्राविरुद्ध धेरै नचाहिने कुरा लगाएँ। यो तीन दिन मैले तीन जुनी काटेको जस्तो गरी बिताएँ। यहाँ आएपछि मैले आफूले गरेका गल्ती एक एक गरी सम्झेँ। जसबाट मलाई अति नै ग्लानि भयो। म मुख्य घरमूली, परिवार बाँध्नुको सट्टा विखण्डन गर्नतर्फ पो लागेछु।

आफ्नो मात्र स्वार्थ हेरेँ। मलाई भएन, मलाई गरेनन् भन्ने गुनासो मात्र गरेँ। मैले नाति/नातिनालाई अनि बुहारीलाई के गरेँ भन्ने प्रश्न आफैँपट्टि फर्केर कहिल्यै गरिनँ। परिवार बाँध्न धेरै समय लाग्छ, तर तोड्न एकै क्षण काफी हुन्छ। मलाई माफ गर बुहारी, मेरोतर्फबाट ठूलो पाप हुनबाट मलाई बचाऊ बुहारी। 

माँ यस्तो नसोचिबक्स्योस्। मैले पनि हजुरको धेरै मन दुखाएकी छु। अन्जानमा एउटी छोरीले गरेको गल्ती भनेर माफी दिस्यो। माँ सबै कुरा बिर्सेर घर/आँगनमै रमाऔँ अब। बिन्ती छ माँ, जाऊँ अब हामीसँगै घर। जाऊँ..।  

लाग्यो– नाटकको सबैभन्दा रोमाञ्चक दृश्य मञ्चन हुँदैछ। फरक दृश्यसहित गुञ्जिरहेका सबैको कुरा सुनेर मेरो मन भने हल्का भइरहेको थियो। दाजुको मुख नियालेँ। त्यहाँ खुसी चम्किरहेको थियो। बाबु/नानीको मुहार पनि हँसिलो पाएँ। हजुरआमा हामीसँगै घर जाने रे। अब वृद्धाश्रममा नबस्ने रे। उनीहरू उफ्री उफ्री खुसी मनाइरहेका थिए। उता वृद्धाश्रमका सबै हामीलाई बिदा गर्न बाहिर आएका थिए। मानौँ, त्यहाँ कुनै ठूलै उत्सव हुन गइरहेको छ। आमाले रुँदै उनीहरूलाई बाइबाई गर्नुभयो, अनि गाडीमा बस्नुभयो। आमा र भाउजूले गाडीभरि हँसीमजाक गरिरहनुभयो। लाग्थ्यो– उहाँहरू सासू/बुहारी नभएर आमा/छोरी हुनुहुन्छ।  

दाजु ड्राइभिङ सिटको छेउमा बस्नुभयो। म गाडी चलाउँदै सोच्दै थिएँ– यो जीवन मोतीको माला जस्तै रहेछ। मिलाएर लाउँदा झलझल परेको राम्रो तर माला चुँडियो भने सबै टुक्राटुक्रा। दाजुको परिवार पनि सम्हाल्न नजान्दा केही समय अघिसम्म छरिएको मोतीजस्तो थियो, अहिले यो परिवार गाँसिएको मालाजस्तो भएको छ। करिब करिब आँधी बनिसकेको थियो परिवार तर आज स्थिति बदलियो। सबैको मुहारमा देखिएको हाँसोले शान्ति सुनिश्चित गरेको छ अब।  

परिवार चलाउन सबैको आआफ्नो भूमिका हुन्छ। त्यही भूमिका निर्वाहमा चुक्दा बेलाबेलामा आँधी आउने गर्छ। अझ यसबारे सबैभन्दा सतर्क त घरमूली हुनुपर्छ। मूली नै चुके भने अरूले सम्हाल्न गाह्रो पर्ने रैछ। मैले जीवनमा सिकेको सबैभन्दा ठूलो पाठ यही हो, जुन आज प्राप्त भयो– दाजुले भावुक भएर व्यक्त गर्दैगर्दा नेपथ्यमा गुञ्जेको आमा, भाउजू र केटाकेटीको हाँसोले मलाई भने आजको दिन निकै सार्थक बनेकामा खुसी लागिरह्यो।

प्रकाशित: २७ कार्तिक २०७८ ०८:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App